कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लागूऔषध दुर्व्यसनले निम्त्याउने समस्या

अपिलराज बोहरा

लागुऔषधका दुव्र्यसनीले आक्रान्त छोराको उपचारनिम्ति आउन बारम्बार अनुरोध गर्दा पनि नेपाली सेनाका अवकाशप्राप्त उच्च तहका अधिकृतले आँट गरेनन् । लामो करकापपछि ‘आउनु नै पर्ने हो र’ भनी अन्काएर उनी छोराको उपचारमा तयार भए ।

लागूऔषध दुर्व्यसनले निम्त्याउने समस्या

लागुऔषधका दुर्व्यसनीले आक्रान्त छोराको उपचारनिम्ति आउन बारम्बार अनुरोध गर्दा पनि नेपाली सेनाका अवकाशप्राप्त उच्च तहका अधिकृतले आँट गरेनन् । लामो करकापपछि ‘आउनु नै पर्ने हो र’ भनी अन्काएर उनी छोराको उपचारमा तयार भए । तर छोरालाई लिएर आउँदा उनको अनुहार हेर्दा अनुमान गर्न सकिन्थ्यो, उनको छट्पटी । सेनाको कडा मर्यादामा रहेर उच्च पदबाट निवृत्त हुँदा समाजमा पाएको सम्मानको एक गर्वानुभूति र आफ्नो छोरालाई सामान्य अनुशासनमा समेत राख्न नसक्दाको दु:ख सजिलै बुझ्न सकिन्थ्यो । दुर्व्यसनको सिकार छोरालाई पटक—पटक प्रहरीले नियन्त्रणमा लिएपश्चात जिम्मा लिन जाँदा जति उनी आफूलाई अभाग्यशाली पिता ठान्थे, त्यति नै आफूलाई असफल पिताको प्रतीक पनि मान्थे ।

लागुऔषध दुर्व्यसनको कारण प्रहरीको नियन्त्रणमा आएका छोरालाई बुझ्न आएकी एक आमाको बयान झनै मुटु कुँडिने खालको छ । उनी भन्थिन्, ‘प्रत्येक बिहानीको प्रार्थना गर्दा म मेरो छोराको मृत्युको कामना गर्ने संसारका थोरै अभागी मध्येका एक आमा हुँ । तपाईले मेरो छोरालाई जे गर्नुछ, त्यही गर्नुस्, तर मलाई जिम्मा लगाउने प्रयत्न नगर्नुस् ।’ जन्मदिने आमाको मुखबाट यस्तो वाक्य त्यसै आएको छैन । यसले उनको मनभित्र गुम्सिएको अपरिमित कुण्ठालाई उजागर गरेको छ । यी यथार्थमा हाम्रो समाजमा घटेका प्रतिनिधि दृष्टान्त र परिवेश मात्र हुन् । यसैबाट बुझ्न सकिन्छ, लागुऔषधको दुर्व्यसनले गर्दा हाम्रो समाज कतातिर उम्मुख छ भन्ने ।

निमेष भरको संगतले मान्छे लागुऔषधको दुर्व्यसनमा फँस्ने होइन । दुर्व्यसनका विभिन्न तह पार गरेर अन्तत: सामान्य जीवनमा फर्कनसमेत नसक्नेगरी यसको कुलतमा लागेको देखिन्छ । समाज जुन रफ्तारमा परिवर्तनको दिशामा बढिरहेको छ, यो सँगै आएका विसंगतिलाई समयमा नै सम्बोधन गर्न सकिएन भने लागुऔषध दुर्व्यसनको पृथक खाले प्रवृत्ति जन्मनेछ । यसले कालान्तरमा निम्त्याउने सामाजिक, पारिवारिक संरचनाको विघटनको साथै कानुन कार्यान्वयन निकायहरूलाई समेत गम्भीर चुनौती दिनेछ । लागुऔषध बारे एउटा मान्यता यो छ कि– यसको दुर्व्यसन गरिबी र अशिक्षाको उपज हो । तर विकासको उन्नतम नमुनामा रहेका देशहरूलाई अवलोकन गर्दा लागुऔषध दुर्व्यसनको उपज वास्तवमा सामाजिक संरचनाको विखण्डीकरण, पारिवारिक संरचनाको क्षयीकरण र सुखसयलमा रम्न रोज्ने र त्यही आत्मरतिमा रमाउने मनोकारणले गर्दा बढ्न जाने हो विश्वमा अमेरिकामात्र यस्तो देश हो, जसले अर्बौं रुपैयाँ लागुऔषध नियन्त्रणको लागि खर्च गर्छ । भनिन्छ, अमेरिकाले स्पेनको एक आर्थिक वर्षको बजेट बराबर लागुऔषध अन्तर्राष्ट्रिय अवैध बजारबाट किनेर नष्ट गर्ने गर्छ । ताकि आफ्नो नागरिक लागुऔषधको कुलतमा नलागोस् । तर पनि अमेरिकी सरकारको टाउको दुखाइ नै वास्तवमा लागुऔषधको दुर्व्यसन र यसले ल्याएको पारिवारिक विखण्डन, ध्वस्त पार्नलागेको सामाजिक संरचना नै छ । संयुक्त राष्ट्र संघको लागुऔषध सम्बन्धी हेर्ने निकायले वार्षिक रूपमा प्रकाशन गर्ने लागुऔषधको रेकर्डलाई हेर्ने हो भने विश्वमा मलेसियाको कुल जनसंख्या बराबरको संख्या लागुऔषध दुर्व्यसनी छन् । यसमा विशेषत: युवाको संख्या अधिकतम छ ।

सुन्दर घरको एक कुनामा गएर लुकेर खाने लागुऔषधले आफ्नो पारिवारिक विरासतलाई नामेट गर्न केही गर्नै पदैन । किनकि लागुऔषध दुर्व्यसनकर्ता आफै नैतिक जिम्मेवारी बोध गर्नुपर्ने सामाजिक प्राणीबाट क्षितिज परपर पुगेर क्षितिजमै हराउँछ, मानौं फिर्ता नै हुन नसक्नेगरी । अझ दुर्व्यसनीबाट आश्रित परिवार उपचारको लागि पहल गर्नुभन्दा लुकाउन उद्वेलित हुन्छन् । अनि कालान्तरमा लागुऔषध उपचारको लागि उपयोगी सबै विधि अप्रभावकारी बन्न जान्छन् । दुर्व्यसनीकर्ता स्वयम् निस्तेज, निरस जीवनको समिपबाट गुज्रिरहेको हुन्छ नै, तर उसको परिवार र ऊबाट आश्रित परिवारजन र आफन्तको अवस्था कति पीडादायी र विदारक हुन्छ, अनुमान लगाउन गाह्रो छ । सामाजिक संरचनामा सुखद आयाम थप्नुपर्ने कर्ता नै वास्तवमा समाज भित्रभित्र कुहिरहेको हुन्छ । मानौं, थाहा पाएर पनि थाहा नपाएको जस्तो अनुभूतिमा ।

लागुऔषध दुर्व्यसनको कारण सिर्जित सामाजिक विखण्डनलाई आँकलन गर्न जति परिष्कृत सोचको आवश्यकता छ, त्यति नै यसको कारणले अनपेक्षित र परोक्ष रूपमा निम्तने अपराध निकै दर्दनाक छ । लागुऔषध दुर्व्यसनको कारणले गर्दा दुई वर्षअघि बारामा एक नाबालिका बलात्कारको सिकार हुनुपरेको थियो । किनकि त्यो बलात्कारी वास्तवमा गाँजाको कुलतमा फँसेको थियो । लागुऔषध खानको लागिमात्र पनि लागुऔषधका दुर्व्यसनीहरूले पछिल्लो गम्भीर असरलाई नजरअन्दाज गरी जघन्य खालका हत्या गर्नसमेत पछि पर्दैनन् । हालसालै काठमाडौंमा नेपाली सेनाका एक कनिष्ठ अधिकृतले लागुऔषध दुर्व्यसनीहरूको हातबाट अनाहकमा जीवन गुमाउनुपरेको थियो । आफ्नो घरको ग्यास सिलिन्डरमा खाना पकाइरहेको अवस्थामा पाइप काटेर बेच्न लानेदेखि घरको सबै समान हराउने तथा परिवारका अन्य सदस्यलाई समेत थर्काउने तथा अति नै भएपछि लुकेर, ढुकेर गरगहना चोर्ने तथा अन्य गम्भीर खालको अपराधमा संलग्न हुने समस्या दिन—प्रतिदिन बढिरहेको छ । अझ आफूलाई सम्भ्रान्त परिवारको रूपमा प्रस्तुत गर्नेहरूभित्र लागुऔषध दुर्व्यसनीको संख्या बढिरहेको छ ।

युरोपियन युनियनको लागुऔषध अनुगमन गर्ने संस्थाले यसबाट सिर्जित अपराधलाई दुई प्रकारले देखाएको छ । एक, लागुऔषध सेवनपश्चात त्यसको असरले हुने अपराध र अर्को लागुऔषधको सेवनको लागि लालायित हुन आर्थिक जोहो गर्न गर्ने अपराध, जसले अन्तत: सामाजिक संरचनाका धरोहरलाई नै स्खलित पार्नुका साथै कानुनी कार्यान्वयन निकायहरूलाई समेत प्रत्यक्ष चुनौती दिइरहेको हुन्छ । त्यतिमात्र नभई अपराधका विज्ञहरू लागुऔषधको दुर्व्यसनबाट हुने अपराधलाई अन्य अपराधको जननीको रूपमा चित्रित गर्छन् ।

प्रहरी प्रधान कार्यालयको अपराधको तथ्यांकलाई हेर्ने हो भने कुल अपराधको तुलना लागुऔषध अपराधको बढोत्तरी अत्यधिक छ । लागुऔषध सेवन गरेपछिको असरले गर्दा हुने अपराधलाई समेत विश्लेषण गर्ने हो भने आपराधिक संख्या झन् बढी हुन जान्छ । उजागर गर्नुपर्ने प्रवृत्तिलाई चौघेराभित्र लुकाएर राख्ने प्रयत्न गरिन्छ । अनि उजागर गरेमा आफ्नो सामाजिक प्रतिष्ठामा आँच आउँछ कि भनेर कसैसँग पनि निवारणको अन्तरंग कुराकानी गर्न डराइन्छ । त्यही चौघेरमा लुकाएर राखेको परिदृश्य निकै गहिराइसम्म पुगेर सतहीकरणमा आउने समयसम्म समयले नेटो काटिसकेको हुन्छ र पश्चतापबाहेक केही रहँदैन । स्वरूपमा विभिन्नता होला, प्रयोगमा पृथकता होला, अनि उपयोगमा फरक होला । तर लागुऔषध सेवन गर्नुचाहिँ विडम्बना हो ।

प्रकाशित : चैत्र १४, २०७३ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?