कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रिचमन्ड फर्निचर

विमल निभा

स्वर्गका राजा इन्द्रको सिंहासन जोड–जोडले हल्लिरहेको थियो । यो कुनै शुभसंकेत थिएन । त्यसकारण अत्यन्तै आत्तिएर इन्द्रदेवले स्वर्गका दरबारिया देवगणको आकस्मिक बैठक डाकेका थिए ।

रिचमन्ड फर्निचर

एकनासले डगमग–डगमग गरिरहेको इन्द्रासनमा गएर थपक्क बस्नु असम्भवप्राय: भएकोले खडाखडी देवताहरूलाई भने इन्द्रले, ‘देवगण, यो के भइरहेको हो ?’
‘कसैले फेरि स्वर्गको गद्दी ताकेर तपस्या गरिरहेको छ, देवराज ।’ इन्द्र वरिपरि हात जोडेर उभिएका देवताहरूले उही पुरानो जनाऊ दिए, ‘कोही घोर तपस्या गरिरहेको छ ।’
‘को हो, त्यो दुष्ट ?’ इन्द्रको स्वर क्रोधले चर्को भयो ।
सम्पूर्ण दरबारिया देवताहरू प्रत्युत्तरहीन अवस्थामा शिर निहुराएर उभिइरहे ।
‘अब त्यो तपस्वीको तपस्या भङ्ग गर्न उर्वशीलाई पठाउनुपर्‍यो, देवराज ।’ केही समयपछि एक पाको देवताले मुख खोले ।
‘उर्वशीलाई छिट्टै पठाऊ ।’ इन्द्रले आफ्नो प्रधान अनुचरलाई ठाडै आदेश दिए ।
‘देवराज, उर्वशीमैया त यस वर्षको विशेष ‘फेयर एन्ड लभ्ली’ ब्युटी कन्टेस्टमा भाग लिन विदामा छिन् ।’ एक हातमा लामो खड्ग लिएको भयंकर आकृतिको अनुचरको विनम्र उत्तर आयो ।
‘त्यसो भए, रम्भालाई पठाऊ ।’ इन्द्रदेवले तत्कालै वैकल्पिक उपाय सुझाए ।
‘रम्भामैया पनि अहिले स्वर्गमा हाजिर छैनन्, देवराज ।’
‘कहाँ गई, रम्भा ?’
‘केही दिनदेखि हाम्रो छिमेकी नगरी नर्कमा महिला मुक्ति आन्दोलन चलिरहेको छ ।’ भयंकर अनुहारको अनुचरको बाक्लो जुंगा चलमलायो, ‘त्यसैको लिडरसिप लिन रम्भामैया त्यतै गएकी छिन्, देवराज ।’
‘अनि तिलोत्तमा नि ?’ इन्द्रको मुखमण्डल क्रोध र निराशाले बिग्रियो ।
‘तिलोत्तमा पोहोर नै युरोपको पेरिसमा हुने ‘इन्टरनेसनल फेसन परेड’को प्रमुख जज भएर तल झरेकी होइनन् र देवराज ?’ एक दरबारिया देवताले विस्तारै भने, ‘अहिले हलिउडको सिनेमामा हिरोइन हुन स्ट्रगल गरिरहेकी छे, तिलोत्तमा ।’
यसैबखत स्वर्गनगरीको बराबर भ्रमण गरिरहने देवर्षि नारद टुप्लुक्क आइपुगे । अहिले नारद पुरै फरक परिहनमा थिए । नयाँ फेसनको चम्किलो सुटबुटमा । उनको एक हातमा सदैव झंकृत भइरहने कलात्मक वीणाको स्थानमा कुनै अर्कै वस्तु थियो । एउटा गाढा कालो रंगको सानो बाकसजस्तो । र नारद आफ्नो स्वाभाविक शैलीमा ‘नारायण–नारायण’ को अविराम उच्चारण पनि गरिरहेका थिएनन् ।
‘यो केको बैठक हो, देवराज ?’ यो प्रश्न गर्नासाथ देवर्षि नारदको चञ्चल नयन हल्लिरहेको इन्द्रासनमा पुग्यो, ‘ए, इन्द्रासन फेरि हल्लियो ?’
सम्पूर्ण दरबारिया देवता उही भाव–भंगिमामा हात जोडेर उभिएका उभियै थिए, चुपचाप ।
‘हो, देवर्षि ।’ इन्द्रदेवले पनि हल्लिरहेको इन्द्रासनतिर एक नजर दिएर झन्डै पुकारा गरे, ‘अब देवर्षिले नै यो संकटबाट निस्कने कुनै राम्रो आइडिया दिनुपर्‍यो ।’
देवर्षि नारदले दु:खकाँतर देवराज इन्द्रतिर पर्याप्त सहानुभूतिको नजरले हेरे । त्यसपछि आँखाको गगल्सलाई हातमा लिएर केही चिन्तन–मनन गर्न थाले । र अन्त्यमा मृदु स्वरमा भने इन्द्रलाई, ‘मेरो विचारमा कुनै बदमास दानवको लोभी आँखा इन्द्रासनमा परेको हुनुपर्छ, देवराज ।’ अनि फेरि रेवन गगल्स लगाएर सोचमग्न भए ।
‘को दानव देवर्षि ?’ इन्द्रले अत्यधिक क्रुद्ध बनेर हुंकार गरे, ‘म आफ्नो कठोर बज्र चलाएर त्यसलाई मार्नेछु ।’
एकाएक देवर्षि नारदले आफ्नो हातमा रहेको गाढा कालो रंगको सानो बाकसलाई खोले । र त्यसमा फटाफट दुई औंला चलाउन थाले । केही समय यसैमा व्यस्त रहे । अनि शतप्रतिशत सन्तुष्ट मुद्रामा टाउको उचालेर इन्द्रलाई सम्बोधन गरे, ‘देवराज, यो कुनै दानवको नभएर मानवको काम हो ।’
‘को हो, त्यो पापी मानव ?’ इन्द्रदेवको क्रोध नियन्त्रणमा थिएन ।
‘तपाई नआत्तिनोस्, देवराज ।’ नारदको औंलो सानो बाकसमा तीव्रतापूर्वक चलिनै रहेको थियो, ‘म पत्ता लगाइहाल्छु नि †’
‘यो के हो, देवर्षि ?’ एक युवा देवताको सानो बाकसतिरको प्रश्नात्मक इसारा थियो यो ।
‘यो ल्यापटप नामको दिव्य मेसिन हो, देवगण ।’ नारदको ओठमा स्मित देखियो, ‘यसको चमत्कारिक सहयोगले जे पनि थाहा हुन्छ, हामीलाई ।’
देवर्षि नारद फेरि ल्यापटपमा निहुरिएर औंला चलाउन थाले । सायद उनी कसैलाई च्याटादि गरिरहेका थिए । केही बेरपछि नारद अनायास मुस्कुराए । अनि लगत्तै विलकुलै गम्भीर बनेर भने इन्द्रलाई, ‘देवराज, पृथ्वीलोकमा एक नेपाल नामक देश छ । त्यहींको एक नेता टाइप मानवको काम हो यो । त्यसैको घनघोर तपस्याले इन्द्रासन हल्लिएको हो ।’ यति भनेर फेरि ल्यापटपमा निहुरिए, देवर्षि नारद ।
‘को हो, त्यो मानव देवर्षि ?’ इन्द्रको त्वरित प्रश्नमा सक्रोध उत्सुकता थियो ।
‘होइन, यो शेरबहादुर देउवा नामको कांग्रेसी नेता त प्रधानमन्त्री कुर्सी प्राप्तिको प्रतीक्षामा घोर तपस्यामा रहेको छ ।’ नारदको ल्यापटप चलाउँदैको स्वगत कथन, ‘उसो भए, स्वर्गको राजा बस्ने इन्द्रासन कसरी हल्लियो त ?’
‘भन्नोस् । देवर्षि, को हो, त्यो मानव ?’ तमाम दरबारिया देवताहरूले पनि एक स्वरमा प्रश्न दोहोर्‍याए ।
‘यसरी डिस्टर्व नहुनोस्, तपाईहरू ।’ नारदले स्वगतबाट निस्केर आफ्नो आवाजलाई केही उँचो पारे, ‘हेर्नाेस्, देवराज इन्द्रको इन्द्रासनलाई यो तपस्याले कुनै खतरा रहेको छैन । तपाईहरू ढुक्क रहनोस् । अब बुझ्नुभयो त मेरो कुरा ?’
‘अनि कसलाई खतरा छ त ?’ एक दरबारिया देवताको प्रतिप्रश्न थियो यो ।
‘यो नेपालको प्रधानमन्त्रीय कुर्सीको खास मामला हो ।’ देवर्षि नारद उवाच् ‘नेपालका वर्तमान प्रधानमन्त्री कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’पश्चात परस्परको ‘आलोपालो’ नियम बमोजिम अब नेपालको प्रधानमन्त्री हुने पालो शेरबहादुर देउवाको हो । त्यसैले देउवाले प्रधानमन्त्री कुर्सीको प्रतीक्षामा कडा तपस्या गरिरहेको अवस्था हो । यसर्थ कुनै खतरा–सतरा भए पनि त्यो नेपालको प्रधानमन्त्री कमरेड प्रचण्डको कुर्सीलाई छ । तर एउटा के कुरा बुझिनसक्नुको छ भने देउवाको घोर तपस्याले स्वर्गको इन्द्रासन किन हल्लिरहेको हो ?’
‘हो, इन्द्रासन किन हल्लिरहेको छ, देवर्षि ?’ सबै दरबारिया देवताले नारदको प्रश्नमा आआफ्ना प्रश्न मिलाए ।
देवराज इन्द्रदेव त यो प्रश्नको सही उत्तर जान्न व्यग्र थिए नै । अर्काे शब्दमा आकुल–व्याकुल । छोटकरीमा छटपट ।
देवर्षि नारद पनि आफ्नो ल्यापटपसहित यो प्रश्नको समुचित उत्तर खोज्न सकिरहेका थिएनन् ।
यस सम्बन्धमा देवर्षि नारद देवराज इन्द्रदेव र सकल देवगण एउटा लम्बेतान छलफलमा अबेर रातसम्म लागिरहे । र अन्तत: के निष्कर्षमा पुगे भने स्वर्गका राजा इन्द्रदेव आसिन हुने इन्द्रासन पुरानिएर थोत्रोलाई प्राप्त भएकोले यसरी हल्लिएको हो । यो अकारण हल्लाइ हो । अथवा यसको एकमात्र कारण जीर्ण–शीर्ण भई पेचकिलाविहीन इन्द्रासन हुनु नै हो । त्यसकारण नेपालका आफ्नो पालोको प्रधानमन्त्रीत्व प्राप्तिको प्रतीक्षामा घनघोर तपस्यारत नेपाली कांग्रेस पार्टीका सभापति शेरबहादुर देउवालाई कुनै पनि किसिमको दोष दिनु व्यर्थ छ । वास्तवमा सम्पूर्ण दोषको भागिदार थोत्रो इन्द्रासन नै भएकोले यसलाई नफेरि हुँदै भएन । अतएव यसका लागि मल्टिनेसनल ‘सर राल्फ रिचमन्ड’को सुप्रसिद्ध फर्निचर कम्पनीलाई ठेक्का दिने एकमतले निर्णय गरी स्वर्गको आकस्मिक बैठकलाई समाप्त गरियो । 
स्वर्गका राजा इन्द्रदेव समस्त दरबारिया देवताहरूका साथ रिचमन्ड कम्पनीलाई नयाँ इन्द्रासनको अर्डर दिने तरखरमा लागे ।
देवर्षि नारद ‘डेल’ ब्रान्डको आफ्नो ल्यापटप बोकेर एउटा अर्काे निरुद्देश्य भ्रमणमा निस्किए ।

प्रकाशित : चैत्र १९, २०७३ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?