कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मलम प्रयोगमा सतर्कता

डा. सृष्टि श्रेष्ठ

हाम्रो देशको तथ्याङ्कअनुसार छाला रोग एउटा अस्पतालको बहिरंग विभागमा हेरिने रोगमध्ये छैठांैमा पर्छ । सर्वसाधारणको सोचाइ के छ भने छालाको रोगले केही हानि गर्दैन । त्यसैले कुनै दाग, दाद, एलर्जी भए घर नजिकैको औषधी पसलमा गई सोधेर ल्याएको औषधी लगाउने गरिन्छ । यस्तो गर्नुमा केही गलत त छैन, तर त्यो औषधी सही हुन जरुरी छ ।

मलम प्रयोगमा सतर्कता

अहिले छाला रोग विशेषज्ञका लागि सबैभन्दा ठूलो चुनौती छालाको रोग नभई रोगको लागि जथाभावी औषधी प्रयोग गरेपछिको असर हो । 

हालको औषधी बजारमा छालाको कुनै पनि रोग (खटिरा, दाद, एलर्जी, पोतो वा अन्य) मा ‘स्टेरोइड’ नामक औषधीको व्यापक प्रयोग भइरहेको देखिन्छ । यो औषधी त हो, तर सही रोगका लागि प्रयोग भए यो अमृत हुन्छ, नत्र यसको प्रतिकूल असरले छालालाई धेरै किसिमबाट बिगार्न सक्छ । धेरैले यो मलम शरीरको ढुसी र अनुहारको कालो चायाँ/पोतोमा प्रयोग गरेको पाइन्छ । नेपाल मेडिकल कलेज शिक्षण अस्पतालको छाला रोग बहिरंग विभागको रेकर्ड हेर्दा पुरा बिरामीमध्ये लगभग ५ प्रतिशत यो मलमको दुरुपयोगबाट भएको प्रतिकूल असरपछि जाँच्न आएको देखियो ।

शरीरको ढुसी (फङ्गल इन्फेक्सन) लाई दाद भन्ने गरिन्छ । त्यसमा स्टेरोइड औषधी एन्टिब्याक्टेरियल र एन्टिफङ्गलसँग मिसिएको मलमका रूपमा बृहत प्रयोग भइरहेको छ । हरेक १० जनामा ५ बिरामीले यो औषधी प्रयोग गरेको देखिन्छ । मलम लगाएको दुई–तीन दिनमै चिलाउने कम, रातो दागको रातोपना कम हुनेहुँदा जादु भएछ भन्ने अनुभव धेरै प्रयोगकर्तालाई हुन्छ । १ सातामा त पुरै निर्मूल नै भएजस्तो देखिन्छ र मलम लगाउन छाडिन्छ । तर अर्को सातामा अलिअलि चिलाएर फेरि निस्किन थाल्छ । त्यो जादुगर मलम फेरि सुरु गर्नुपर्‍यो भनेर बिरामीले लगाउन थाल्छ । फेरि ३–४ दिनमा हराउँछ, तर बन्द गरेको ४–५ दिनमा फेरि बल्झिन्छ । यो दाद आउने–जाने क्रममा औषधी लगाउने र छाड्ने क्रम पनि चलिराख्छ र ६–७ महिना पुगेको थाहा हुँदैन । ८–९ महिनापछि त्यो भागमा राम्ररी हेर्‍यो भने छालामा खत बसेको जस्तो देखिन्छ । 

छाला ठाउँ–ठाउँमा पातलो भएर लामो–लामो धर्सो देखिन्छ र चिलाउँदा पनि सजिलैसँग रगत आएको महसुस हुन्छ । स्टेरोइड नामक औषधीको प्रतिकूल असरको कारण छाला पातलो बन्छ, जसले गर्दा यस्तो असर देखापर्छ । यो औषधी प्रयोग गरिसकेपछि सामान्य दादको किटाणु मार्ने औषधीले सजिलो काम गर्दैन । रोग हटाउन हटाउन डाक्टरलाई नै गाह्रो पर्छ । त्यस बाहेक किटाणु शरीरको अन्य भागमा फैलिने क्रम बढेर दादले नराम्रो रूप लिन्छ । यसले गर्दा अरूलाई संक्रमण हुने सम्भावना पनि बढ्छ ।

यो औषधी बृहत रूपमा प्रयोग हुने अर्को समस्या हो, अनुहारको चायाँ/पोतो जसमा कालो दाग देखिन्छ । यो औषधीले कालो दाग छिट्टै कम गरेर अनुहार राम्रो बनाउँछ, तर यो क्षणिकमात्र हुन्छ । यो मलम बन्द गर्ने बित्तिकै दाग फेरि दोहोरिन्छ र राम्रो वा राम्री बन्ने चाहनामा एउटा दैनिक अनुहारको क्रिमको रूपमा यसलाई प्रयोग गर्न थालिन्छ । अनुहारको छाला अन्य भागको भन्दा पातलो हुने भएकोले यसमा कुनै पनि औषधीको प्रतिकूल असर छिटो देखिन्छ । अनुहारको छाला पातलो बन्छ र विस्तारै रातो भएर जान्छ । 

बाहिर घाममा निस्कँदा झन् रातो हुने र पोल्ने समस्या सुरु हुन थाल्छ । त्यस बाहेक यो औषधी २–३ महिना लगाएर एक दिनमात्र छोडे रातो चिलाउने खटिरा आउँछ वा अझै कालो दाग देखापर्छ, जसले गर्दा त्यो मलम लगाउन छाड्न गाह्रो हुन्छ । केही महिनामा गाला झन् रातो हुन्छ र त्यसबाहेक रौं पनि उम्रिने गर्छ । यो औषधीले अनुहारमा डन्डिफोरको समस्या पनि निम्त्याउँछ र छाला एकदम संवेदनशील भएर जान्छ । यो स्टेरोइड क्रिम अनुहारको चायाँमा हाइड्रोक्युइनोन र ट्रेटिनियन नामक औषधीसँग मिसिएको क्रिमको रूपमा पनि बृहत प्रयोग हुन्छ । तर यो डाक्टरको सल्लाह वा निगरानीमा मात्र प्रयोग गर्न उपयुक्त हुन्छ । अहिले बजारमा स्टेरोइड र स्यालिसिलिक एसिड मिसाएको क्रिम अनुहारको कालो दाग हटाउन भनेर मार्केटिङ गरेको पनि देखिएको छ । यसको त झन् धेरै प्रतिकूल असर छ । 

स्टेरोइड औषधी धेरै लगाए छालामा मात्र नभई शारीरिक रूपमा पनि प्रतिकूल असर देखापर्न सक्छ । त्यस्ता प्रतिकूल असरमध्ये मोटाउनु, शरीरमा चिनीको मात्रा बढ्नु, उच्च रक्तचाप हुनु, आंँखामा मोतीबिन्दु वा जलबिन्दु हुनु, हाड कमजोर हुनु, बालकमा शारीरिक विकासमा अवरोध आउनु जस्ता डरलाग्दा दुष्प्रभाव पर्छन् । त्यसैले नेपाल चर्म तथा यौनरोग संस्थाले स्टेरोइड अथवा स्टेरोइड मिश्रित मलम जथाभावी प्रयोग नगर्न आग्रह गरेको छ । संस्थाले पनि ‘आफ्नो छालालाई माया गरौं र स्वस्थ रहौं’ भन्ने सन्देशका साथ चैत १९ मा पहिलो चर्म दिवस मनाउँदैछ ।

प्रकाशित : चैत्र १९, २०७३ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?