कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कक्षा १ मै प्रवेश परीक्षा अनुचित

सम्पादकीय

वैशाखबाट नयाँ शैक्षिक सत्र सुरु हुँदै छ । अभिभावक आफ्ना छोराछोरीका लागि स्कुल खोज्न दौडधुपमा छन् । यस्तो बेला स्वभावैले राम्रो भनेर चिनिएका विद्यालयमा भर्ना हुन खोज्नेहरूको चाप बढी हुन्छ । तर, पूर्वाधारलगायत कारण विद्यालयले सबैलाई पढाउन सक्दैनन् र क्षमताअनुसार सीमित विद्यार्थीलाई भर्ना लिन्छन् ।

कक्षा १ मै प्रवेश परीक्षा अनुचित

तर केही विद्यालय, विशेष गरी निजीले १ कक्षाकै लागि विद्यार्थी छान्ने आधार प्रवेश परीक्षा बनाएका छन्, जुन प्रक्रिया निन्दनीय छ । कलिला बालबालिका छान्न अपनाइएको यो विधि १० कक्षासम्म विद्यार्थी फेल नै नगराउने सरकारी नीतिको भावनाविपरीत पनि हो । निजी विद्यालयहरूले कक्षा १ मा भर्नाको माध्यम प्रवेश परीक्षालाई बनाएकाले धेरै बालबालिकाले पहिलो असफलता अर्थात् ‘फेल’ ५–६ वर्षकै उमेरमा भोग्नुपर्छ । स्कुल जीवनको प्रवेशबिन्दुमै बालबालिकालाई सयौंमाझ परीक्षा सामना गर्न लगाएर यसरी असफल देखाउनु मनोवैज्ञानिक र व्यावहारिक दुवै दृष्टिले अनुचित छ । 

राम्रा भनेर चिनिएका निजी विद्यालयलाई चैतमा नयाँ विद्यार्थी छनोटको चटारो छ । उनीहरूले अपनाउने प्रक्रियाका कारण अभिभावक पनि उत्तिकै व्यस्त बन्छन्, त्यसले तनाव सिर्जना गर्ने छँदै छ । कुनै एउटा विद्यालयमा भर्ना सुनिश्चित नहुनाले बालबालिकालाई अभिभावकले दुई–तीनवटा विद्यालयमा प्रवेश परीक्षा लेखाउँछन् । प्राय: निजी विद्यालयले अभिभावकको समेत परीक्षा (मौखिक) लिने गर्छन् । राम्रा स्कुलले प्रवेश परीक्षा लिने हुनाले त्यसलाई कतिपय इन्स्टिच्युट र प्रारम्भिक बाल कक्षाले तयारी कक्षाका नाममा पैसा असुल्ने माध्यमसमेत बनाएका छन् । कहलिएका अधिकांश विद्यालयले लिने प्रवेश परीक्षा स्वच्छ र निष्पक्ष हुँदैन भन्ने गुनासो उत्तिकै छ । त्यसैले आफ्ना छोराछोरीलाई विद्यालय भर्ना गराउने बेला अभिभावकहरू पहुँचवालाकहाँ धाउनेसमेत गर्छन् । 

निजी विद्यालयहरूले प्रवेश परीक्षाका बेला जथाभावी शुल्कसमेत लिने गरेका छन् । संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका, २०६९ अनुसार भर्ना फाराममा २५ र परीक्षा शुल्कमा सय रुपैयाँभन्दा बढी लिन पाइँदैन । तर राजधानीका निजी विद्यालयले तीन सय ७५ रुपैयाँसम्म लिने गरेको देखिएको छ । तोकिएभन्दा बढी शुल्क लिनु ठगी नै हो । नियमनकारी र अनुगमनकारी निकायसमेतले यस विषयमा बेवास्ता गर्नु विडम्बनापूर्ण छ । यस्ता बेथिति अन्त्यको विकल्प विद्यार्थी छनोट गर्ने विधि परिवर्तन नै हो । काँचो माटोजस्तै बालबालिकालाई शिक्षाले आकार दिनुपर्नेमा भर्नाका लागि परीक्षामार्फत सफल र असफल वर्गमा राखिदिनु गलत हो । सरकारले बालबालिकालाई फेल नगराउने भनेर १० कक्षाको अन्त्यमा लिइने एसईईमा ग्रेडिङ प्रणालीसमेत कार्यान्वयन गरिसकेको अवस्थामा तल्लो कक्षामा प्रवेश परीक्षा लिने प्रचलन रोक्नैपर्छ । विद्यालयले विद्यार्थी छान्ने नयाँ विधि अपनाउनुपर्छ । गोलाप्रथा वा पिछडिएका परिवारका विद्यार्थीलाई प्राथमिकता विकल्प हुन सक्छ । सहज आवागमनका लागि नजिककालाई पनि प्राथमिकतामा राख्न सकिन्छ । विद्यार्थी छनोट भने निष्पक्ष तरिकाले गर्नुपर्छ । पहुँच र पैसाका भरमा छान्ने अवस्था आउनु हुँदैन । 

अभिभावक पनि आफ्ना छोराछोरीको मनोविज्ञानमा पर्ने असरप्रति सचेत हुनुपर्छ । राम्रो स्कुल खोज्ने नाममा आफ्ना कलिला छोराछोरीलाई चारतिर परीक्षा लेखाउन दौडाइरहनुभन्दा नजिकै पायक पर्ने ठाउँको विद्यालयलाई प्राथमिकता दिनुपर्छ । विद्यालयको पढाइ सन्तोषजनक नभए सुधारका लागि आग्रह/सहयोग वा दबाबै पनि दिन सक्नुपर्छ । सरकारी निकायले पनि विद्यालयमा देखिएको विद्यार्थी भर्ना प्रक्रिया र शुल्क नियमन गर्दै यस्ता बेथिति र समस्यालाई तत्काल अन्त्य गर्न तदारुकता देखाउनुपर्छ । दण्डहीनताले बेथिति बढाउने भएकाले नीति, नियमविपरीत चल्ने विद्यालयलाई कारबाही पनि गर्नुपर्छ । 

प्रकाशित : चैत्र २०, २०७३ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?