सार्वजनिक सुविधामा वितरणात्मक न्याय

विशाल भारद्वाज

गरिबी निवारणको दृष्टिकोणले होस् वा सुशासन स्थापनाका लागि, राज्यको प्रयास समानता उन्मुख हुनुपर्छ । सार्वजनिक सुविधा प्रयोगको लाभहानि वितरण समानतामुखी हुनुपर्छ । तर के नेपालको शासकीय प्रबन्ध र कानुनी व्यवस्थामा सार्वजनिक सुविधाको उपयोगमा वितरणात्मक न्याय कायम गरिएको छ त ?

गरिबी निवारणको दृष्टिकोणले होस् वा सुशासन स्थापनाका लागि, राज्यको प्रयास समानता उन्मुख हुनुपर्छ । सार्वजनिक सुविधा प्रयोगको लाभहानि वितरण समानतामुखी हुनुपर्छ ।

तर के नेपालको शासकीय प्रबन्ध र कानुनी व्यवस्थामा सार्वजनिक सुविधाको उपयोगमा वितरणात्मक न्याय कायम गरिएको छ त ? शासनले वैधानिक शक्ति प्रयोग गरी कानुन निर्माण र त्यसको निष्पक्ष कार्यान्वयनलाई समेट्छ, तथापि यो उद्देश्यविहीन यात्रा भने होइन । सार्वजनिक साधनको वितरणात्मक न्याय कायम गरी राम्रो कार्यलाई प्रोत्साहन र गलत प्रवृत्तिलाई दण्डित गर्नुपर्छ । कानुन नै नबन्नु, उपयुक्त नीति नबन्नु, बनेको नीतिको कार्यान्वयन विभेदमुक्त नहुनु नै शासनबाट असमानतातर्फका मुख्य कारण हुन् ।

Yamaha

राज्यले असमानता घटाउने हो । यसका लागि कानुन नबन्नु वा गलत कानुन बन्नु शासकीय गैरजिम्मेवारी हो । यस्ता प्रशस्त क्षेत्र छन्, जसमा कानुनको अभावमा सानो समूहले लाभ लिइरहेका छन् । उदाहरणका लागि गाडीको आयु निर्धारण नहुनु वा पटके निर्णयबाट अवधि तोकिनु थोत्रो गाडी गुडाएर नाफा कमाउन दिनु । विषाक्त धुवाँ र दुर्घटना हजारौं व्यक्तिको मृत्युको कारण बन्छ भने राज्यले अस्पतालमा लगानी थप्नुपर्छ । यस्ता नीतिको सार्वजनिक औचित्यमा प्रश्न उठाउन सकिन्छ । आम उपभोक्ता ठग्दा पनि अत्यन्त न्युन जरिवाना तिरेर छुटकारा पाउनेगरी निर्माण भएका कानुन हुन् वा आवधिक संशोधनको अभावमा नगन्य मूल्यमा ठेक्का लाग्ने नदीजन्य सामग्री, आखिरमा उपभोक्ता र राज्यले व्यहोर्ने नोक्सानी केही व्यक्तिमा सञ्चय भइरहेको देखिन्छ ।

राम्रो कानुन बन्ने तर कानुनको कार्यान्वयन नहुने अवस्थाले पनि असमानता बढाउँछ । प्रशासनले प्रभावकारी नियमन नगर्दा कानुन मिचेर व्यक्तिगत लाभ लिने होडबाजी चल्छ । एउटा नेतृत्व आए कडाइ हुने, अर्को आउँदा फितलो हुने अवस्था पनि छ । आँखाले जाँच गर्न नसक्ने विषयमा प्रशासन निर्धारक रहन्छ । जस्तै– प्रदूषण जाँचको हरियो स्टिकर । यस्तो स्टिकर नपाउनुपर्नेले पाउने हो भने प्रदूषण नियन्त्रणमा गाडीधनीको इच्छा घट्ने र प्रदूषण बढ्ने देखिन्छ ।

व्यक्तिगत स्तरमा कुनै पनि कानुन जसको उल्लंघनले उपभोक्तामा लागत वितरण गरी उल्लंघनकर्तामा लाभ संग्रहित गर्छ, त्यस्तो कानुनको नि:सर्त पालना सम्भव छैन । सडकमा लेन मिच्ने चाँडो पुग्छ भने नियमानुसार हिँड्नेले लामो जामको सामना गर्नुपर्छ । लेन मिचेबापत जरिवाना हुने हो भने सवारी चालकले नियम उल्लंघनले दिने लाभ (समय) र पक्राउ पर्ने सम्भावना र पक्राउ परेपछिको हानि (जरिवाना, हीनताबोध) आदिको हिसाब गर्छ र लाभ धेरै हुने अवस्था आए मात्र उल्लंघनको प्रयास गर्छ । यसर्थ पक्राउ पर्ने सम्भावना र जरिवाना नै नियम परिपालनाका निर्धारक तत्त्व हुन् ।

धेरै जरिवाना भएर पत्राउ पर्ने सम्भावना कम भई कार्यान्वयन आउन नसकेको नियम धूमपान सम्बन्धी हो । व्यक्तिगत स्तरका पक्राउ पर्ने सम्भावना कायम गराउन धेरै लगानी लाग्छ । तसर्थ उच्च जरिवाना र आकस्मिक अनुगमनमार्फत पक्राउ परिहाल्यो भने त डुबिन्छ भन्ने डर उत्पन्न गरी नियम उल्लंघन दुरुत्साहित गर्नुपर्छ । अर्कोतर्फ कानुनमै रकम तोक्ने र वर्षौंसम्म कानुन संशोधन नगर्ने परिपाटीले जरिवाना कम भई नियम पालना नगर्न प्रोत्साहन मिलेको अवस्था छ ।

संस्थागत स्तरको विषय फरक छ । कुनै नियमले व्यवसाय सञ्चालन वा नाफा प्राप्तिमा अवरोध गरे नियम पालना गर्नुपूर्व तीनवटा प्रयास सम्भाव्य रहन्छन् । प्रथम, पक्राउ पर्ने सम्भावना थोरै भए र जरिवानासमेत कम भए, जरिवानाको जोखिम स्वीकार गर्ने । दोस्रो, जरिवाना धेरै भए प्रशासनलाई राजनीतिक दबाब वा प्रलोभनमा पारी पक्राउ पर्ने सम्भावना न्युन पार्ने । तेस्रो, जरिवाना र पक्राउ पर्ने सम्भावना अत्यन्त धेरै भए कानुन नै परिमार्जन गरी आफूअनुकूल वातावरण सिर्जना गर्ने रणनीति लिने । पहिलो आम स्वभावमा पर्छ, दोस्रो प्रशासनिक परिवेशको उपज हो भने तेस्रो शासकीय स्थिरताको विम्ब हो । तसर्थ नियम उल्लंघनको मनस्थिति हटाउन शासकीय स्थिरता, असल राजनीतिक संस्कार र प्रभावकारी प्रशासन अपरिहार्य छ र यो नै समानता कायम गर्नेतर्फको प्रशासनिक सोच पनि हो ।

प्रभावकारी नियमनका लागि कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका विभिन्न तह र निकायको आदर्श भूमिका चाहिन्छ । कारबाही गर्न लामो समय लाग्ने भएकोले समेत नियम मिच्ने मनोबल बढेको देखिन्छ । लामो न्यायिक प्रक्रिया र हानि–नोक्सानीमा ब्याज नजोड्ने अवस्थाले गलत मनसायलाई उत्प्रेरित गर्छ । ठूलो अपराधमा समेत नगन्य जरिवाना तिरेर छुटेको उदाहरण खोज्न टाढा जानु पर्दैन । हानि–नोक्सानीको हिसाब संकीर्ण बनाइनु हुँदैन । बरु समाज र उपभोक्तालाई परेको लागत पनि जोड्नुपर्छ, जसले क्षतिपूर्तिको अंक वृद्धि भई सर्वसाधारणलाई ठग्ने प्रवृत्ति घट्छ ।

स्रोत परिचालन र उपयोगको विषयमा कानुन कार्यान्वयन मात्र भएर हुँदैन । नेपालमा जरिवानाको रूपमा रकम उल्लेख गर्ने प्रचलन छ । यस्ता प्रावधान वर्षांैसम्म संशोधन नहुँदा उल्लेखित जरिवानाको क्रमिक अवमूल्यन हुन्छ । गल्ती वा हानि–नोक्सानी सापेक्ष जरिवाना लिने वा राजस्व तोक्ने गरिए कानुन उल्लंघन गर्ने वा न्युन राजस्व दाखिला भई रकमजति केहीमा थुप्रने अवस्था रहँदैन । अस्थिर राजनीति, नीति तर्जुमामा व्याप्त कमजोरी, प्रशासनिक व्यवसायिकताको स्खलनजस्ता कारणले प्रभावकारी कानुन बन्ने र त्यसको कार्यान्वयन हुने सम्भावना कमजोर बन्दै जान्छ । कानुनी आधार राम्रो भएर मात्र हुँदैन । त्यसको कार्यान्वयनमा राजनीतिक र प्रशासनिक संयन्त्रको आदर्श मनसाय र व्यावसायिक संलग्नता आवश्यक छ ।

हुन त हरेक जनता सार्वजनिक चासोको विषयप्रति जिम्मेवार रहन्छन् भनिन्छ । तर सामाजिक परम्परागत मूल्य–मान्यतामा आएको परिवर्तन, बढ्दो दण्डहीनता र समाजभन्दा पैसाप्रतिको बढ्दो चासोले जनतादेखि नीतिसम्म जोड्ने प्रक्रिया जटिल बन्दैछ । समाजमा आधारित हाम्रो संस्कृति र कानुनी व्यवस्थालाई क्रमश: लाभलागतमा आधारित र वितरणात्मक न्यायको दृष्टिले नियमन नगर्ने हो भने परिवर्तित परिवेशमा विकृति नियन्त्रण गर्न सकिन्न । तीव्र राजनीतिक परिवर्तनले अधिकारसम्पन्न बनाए पनि समाजमाघट्दो नैतिक मूल्य–मान्यतालाई क्रमश: कानुनी व्यवस्थाको कार्यान्वयनले प्रतिस्थापन गर्दै नजाने हो भने अनुभूतीयोग्य सुधार असम्भव छ ।

नीति निर्माता र कार्यान्वयनकर्ताले बुझ्नुपर्ने के हो भने हामी राजनीतिक मात्रै होइन, मूल्य–मान्यता र व्यावहारिकताको समेत संक्रमणमा छौं । आर्थिक लाभलागतको व्यवस्थित वितरणलाई सम्बोधन गर्ने कानुनी व्यवस्था कायम गरेमात्र समाजमा समानता कायम गर्न सकिन्छ । शासनद्वारा असमानता सिर्जना हुने अवस्थामा सुधार गरी नीतिदेखि जनतासम्म जोड्ने समानतामुखी सोचयुक्त शासकीय प्रबन्ध कायम गर्न संविधानको कार्यान्वयन अवसर हो ।

भारद्वाज केन्द्रीय पञ्जीकरण विभागका निर्देशक हुन् ।

Esewa Pasal

प्रकाशित : चैत्र २१, २०७३ ०७:५८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

६० तोला सुन लुट्ने ६ पक्राउ

प्रहरी नै अपराधमा
कान्तिपुर संवाददाता

काठमाडौं — सुन लुटपाटमा संलग्न एक प्रहरी जवानसहित ६ जनालाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ । झन्डै ६० तोला सुन लुटपाटमा संलग्न रहेको आशंका गरिएका २ प्रहरीसहित अन्य ३ जना फरार छन् ।

पक्राउ परेकाको साथबाट ५९ तोला ९८ लाल सुनका गहना, नगद १ लाख २५ हजार र ६ थान मोबाइल बरामद भएको छ । लुटपाट भएको २४ घण्टा नबित्दै ती सामान बेच्ने तयारी गरिरहँदा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नुवाकोट खरानीटार दरबन्दी भई महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा कार्यरत २६ वर्षीय प्रहरी जवान अजय गुरुङ पनि छन् । शुक्रबार मरुहिटीमा लुटेका सुनका गहना बेच्ने तयारी गरिरहेकै अवस्थामा उनीहरूलाई शनिबार सोह्रखुट्टेबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी दिनेश अमात्यले बताए । पक्राउ पर्ने अन्यमा डान्स बारका कर्मचारी, टुरिस्ट गाइड, बाउन्सर, सवारी चालक छन् । काभ्रे बिर्ता देउरालीका २२ वर्षीय सुभाष खरेल पेसाले टुरिस्ट गाइड हुन् ।

धादिङ छत्रेदेउरालीका ३३ वर्षीय राजकुमार तामाङले सवारी चलाउँछन् । पक्राउ पर्नेमा बाउन्सर काम गर्ने १९ वर्षीय पाल्देन भनिने क्षितिज तामाङ र २८ वर्षीय लाप्साङ लामा छन् । डान्सबारमा काम गर्ने देव भनिने काभ्रे नमोबुद्धका २१ वर्षीय सुन्दर तामाङ पनि घटनामा संलग्न थिए । प्रहरी वृत्त लैनचौरमा कार्यरत ३२ वर्षीय प्रहरी हवल्दार बलबहादुर मगर र २८ वर्षीय प्रहरी जवान नवीन ढकाल भने फरार छन् । धादिङ छत्रेदेउरालीका ३२ वर्षीय हर्कबहादुर तामाङ पनि फरार रहेको प्रहरीले जनाएको छ । शुक्रबार बेलुकी ७ बजे काठमाडौं १९, मरुहिटीमा प्रेमरत्न शाक्यको घरको पहिलो तलामा भारतका शिव माइतीले सञ्चालन गरेको सुन पसलमा उनीहरूले लुटपाट गरेका थिए । त्यहाँ कार्यरत कामदारलाई पेस्तोल र हतकडी देखाएर सुन र नगद लुटेका थिए । ‘बेलुका ७ बजेतिर साहु थिएनन् । केही मान्छे आएर तिमीहरू गैरकानुनी काम गरिरहेका छौ भनेर ५/६ मिनेटमै सबै गरगहना, मोबाइल, पैसा लिएर फरार भए,’ त्यहाँ कार्यरत भवेश कपटले भने । प्रहरीले उनीहरूमाथि डाँका मुद्दामा कारबाही अघि बढाइने जनाएको छ ।

३ महिनामा ७ पक्राउ
काठमाडौं (कास)– सुनका गहना बनाउने कारखानाबाट ६४ तोला सुन चोरी भएको घटनामा प्रहरी जवानको संलग्नताले गम्भीर प्रश्न खडा गरेको छ । सुरक्षा व्यवस्थाको जिम्मेवारी बोकेका प्रहरी नै चोरीका घटनामा संलग्न भएको यो घटना नयाँ भने होइन । पछिल्ला ३ महिनामा मात्रै राजधानीबाट चोरी, अपहरण र तस्करीका घटनामा प्रत्यक्ष संलग्न भएको आरोपमा ६ प्रहरी जवान र १ उच्च पदस्थ अधिकारी पक्राउ परिसके । आव ०७३/७४ को फागुनसम्ममा मात्रै देशभरबाट ९३९ प्रहरीले विभिन्न कारबाही भोगिसकेको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ ।
यसरी विभिन्न कारबाही वा सजाय खेप्नेमा तल्लो तहका प्रहरी जवानहरूको संख्या धेरै छ । जसमा ५ सय ७१ प्रहरी जवानले विभिन्न खाले कारबाही भोगेका छन् । तीमध्ये ५१ निलम्बनमा परेका छन् भने ११ जागिरबाटै बर्खास्त भएका छन् । ३४ को ग्रेड घटुवा भएको छ भने ४७ जनाको रोक्का भएको छ । ५४ को पदोन्नति रोक्का र ४ जना दर्जा घटुवामा परेका देखिन्छन् । ‘धेरैजसो प्रहरी जवान सानातिना आर्थिक प्रलोभनको सिकार बनेको देखिन्छन्,’ प्रहरी प्रधान कार्यालयका एक अधिकारीले भने, ‘अर्थिक लाभ हुने धन्दामा अपराधिक समूहसँग मिलेका केही प्रहरीले गर्दा संगठनलाई नै लज्जित बनाइरहेको छ ।’ २१ पुसमा विमानस्थलबाट बाहिरिएको झन्डै ३४ किलो सुन तस्करीलाई सघाएको आरोपमा एसएसपी श्याम खत्री माघ २३ मा प्रहरी प्रधान कार्यालयबाटै पक्राउ परेका थिए । फागुन ३ मा अपराध महाशाखाले म्यानपावर व्यवसायी बद्री राईको अपहरण र फिरौती संकलनमा अन्य दुईसहित प्रहरी जवानलाई पक्राउ गरेको थियो । अवैध बाटो हुँदै कामदार विदेश पठाउनेमा संलग्न प्रहरी जवान नितेश दाहाल माघ १० मा पक्राउ परेका थिए ।

प्रकाशित : चैत्र २१, २०७३ ०७:५७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT