दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल कहिले ?

राजन पोखरेल

काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यतिखेर हवाई ट्राफिकको चापका कारण सिर्जित समस्याबाट आक्रान्त बनिरहेको छ । विशेषगरी मध्यान्ह १२ देखि अपरान्ह ४ बजेसम्म यहाँ अवतरण गर्ने अन्तर्राष्ट्रिय उडानका वायुयानले करिब एक घन्टासम्म ओर्लन आकाशमै पालो कुर्नुपर्ने अवस्था सामान्यजस्तै हुनपुगेको छ ।

मौसमका कारण केही गरी बिहान विमानस्थल खुल्न ढिलो हुनगयो भने यसबाट वायुयानहरूको उडान तालिका बेलुका अबेरसम्मै प्रभावित भइरहन्छ । यसबाट हवाई यात्रुले व्यहोर्नुपरेको सास्तीको वर्णन गरिसाध्य छैन । 

काठमाडौं उपत्यकाभित्र अत्यन्त सीमित भूभाग ओगटेर बसेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थप पूर्वाधार विकासको सम्भावना अत्यन्तै न्युन छ । उपत्यकाको भौगोलिक स्वरूप र वायुयान आगमनको एउटै मार्गका कारण उडान तथा अवतरणका लागि तर्जुमा गरिएका कार्यविधि जटिल भएकाले अन्यत्रभन्दा यहाँ वायुयान उडान र अवतरण बीचको अन्तर अपेक्षाकृत बढी हुने गर्छ । त्यसैले जमिनमा केही हदसम्म पूर्वाधार विकास गर्न सकिए पनि आकासमा हुने हवाई ट्राफिकको समस्यालाई भने निराकरण गर्न सकिने देखिंँदैन । धावनमार्गको लम्बाइ अपर्याप्त हुने भएकोले त्यसै पनि त्रिभुवन विमानस्थलमा पूर्ण क्षमतामा ठूला जेट विमानहरू सञ्चालन गर्न आर्थिक दृष्टिले सम्भाव्य छैन । 

Yamaha

यिनै यथार्थलाई दृष्टिगत गरेर २३ वर्षअघि तराई क्षेत्रमा पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सम्बन्धमा अध्ययन गरिएको थियो । सन् १९९५ को उक्त अध्ययनले निजगढ क्षेत्रलाई भौगोलिक, प्राविधिक तथा आर्थिक सम्भाव्यताको दृष्टिले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि उपयुक्त स्थानका रूपमा पहिचान गरेको थियो । तापनि विमानस्थल आफ्नै क्षेत्रमा बनाउनुपर्ने खिचातानीका कारण २००७ मा गएर मात्र निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिने औपचारिक निर्णय हुनसक्यो । तत्पश्चात ८ मार्च २०१० मा नेपाल सरकार र दक्षिण कोरियाको ल्यान्डमार्क वल्र्डवाइड कम्पनीबीच दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन गर्न सम्झौता भएको थियो । कम्पनीले २०१५ भित्र एउटा धावनमार्गयुक्त विमानस्थल निर्माण सम्पन्न गर्नेगरी विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन अप्रिल २०११ मा नेपाल सरकारसमक्ष बुझाएको थियो । अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको उक्त प्रतिवेदन ६ वर्षदेखि फाइल बन्द अवस्थामा थन्किएर रहेको छ । 

त्रिभुवन विमानस्थलको साँघुरोपनालाई समाधान गर्न यहाँबाट साना विमान तथा हेलिकप्टरलाई अन्यत्र सार्नुपर्ने कुरा पनि बेलाबखत नउठेको होइन । तर काठमाडौंबाट सिधा उडान हुने लुक्ला तथा पूर्वका पहाडी जिल्लाहरूमा काठमाडौंको सबैभन्दा नजिक रहेका विमानस्थलहरू भरतपुर वा सिमराबाट उडान सञ्चालन गर्ने कुरा व्यावहारिक देखिँदैन । अर्को नजिकको विमानस्थल रामेछाप रहेको छ, तर साँघुरो भएकाले यहाँ आन्तरिक उडानहरू स्थानान्तरण गर्न सकिने अवस्था देखिँदैन । बरु काभ्रेको धुलिखेल आसपास आन्तरिक विमानस्थल निर्माण गर्ने सम्बन्धमा प्रारम्भिक अध्ययन ६ वर्षअघि गरिएको थियो । उक्त अध्ययनले काठमाडौंबाट करिब ३० किमिको दूरीमा रहेको धुलिखेल नजिकै पर्ने ठूलेचौर आन्तरिक विमानस्थल निर्माणको सर्वाधिक उपयुक्त स्थान रहेको देखाएको थियो । तर दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत अध्ययनको कार्य थालनी भएसँगै उक्त अवधारणा ओझेलमा पर्न गयो । 

छ वर्षको अवधि एउटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि पर्याप्त समय हो । प्रारम्भमा १० अर्बभन्दा बढी लगानी हुने आयोजना लगानी बोर्डमार्फत गर्ने भनी बोर्डले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको लागि गृहकार्य प्रारम्भ गर्‍यो । प्रधानमन्त्री अध्यक्ष रहने बोर्डले समेत यस दिशामा केही गर्न सकेन । केही अलमलपछि उक्त विमानस्थलको लागि केही बजेटको व्यवस्था गरी नागरिक उड्डयन प्राधिकरणलाई प्रारम्भिक कार्य गर्ने जिम्मेवारी दिइयो । तर अझै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल कुन ‘मोडालिटी’मा निर्माण गर्ने भन्नेमा राज्य स्पष्ट भइसकेको छैन ।

विमानस्थल आफैंमा एक व्यावसायिक संरचना हो, जसको निर्माण, सञ्चालन र व्यवस्थापनका आफ्नै व्यावसायिक मान्यता रहेका छन् । हाल विश्वमा स्वायत्त कम्पनी स्थापना गरी अन्तर्राष्ट्रिय विमानस्थलहरूको निर्माण तथा सञ्चालन गर्ने प्रचलन बढ्दो छ । जापान, कोरिया, अष्ट्रेलिया, न्युजिल्यान्ड, सिंगापुर, मलेसिया तथा एसिया एवं अफ्रिकाका मुलुकहरूमा यस्तो अभ्यास भएको छ । दक्षिण एसियाकै श्रीलंका र माल्दिभ्समा पनि यस्तो प्रयोग गरिएको छ । छिमेक भारतमा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ७४ प्रतिशत स्वदेशी–विदेशी निजी क्षेत्रको सेयर र २६ प्रतिशत सरकारी संस्थाको सेयर रहनेगरी छुट्टाछुट्टै सार्वजनिक कम्पनी स्थापना गरी ४ वर्षभित्र निर्माण सम्पन्न भई हैदरावाद र बेङलुर अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेका छन् । त्यही मोडालिटीमा मुम्बईमा चार वर्षभित्रमा सञ्चालन गर्नेगरी नयाँ अन्तर्राष्ट्रिय विमानस्थल बनाइँदैछ । 

विडम्बना, हामी भने २० वर्षदेखि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको चर्चा गरिरहेका छौं,  हवाई नीति, २०६३ मा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आवश्यक स्रोत जुटाउन विभिन्न मोडालिटी अध्ययन गरी स्वदेशी–विदेशी निजी लगानीकर्तालाई आकर्षित गर्नेगरी कार्यान्वयन गर्ने उल्लेख छ । तर त्यसअनुरूप काम हुनैसकेको छैन ।

अहिले विमानस्थल निर्माणको जिम्मा नागरिक उड्डयन प्राधिकरणलाई दिइएको छ, जसका आफ्नै सीमा छन् । प्राधिकरण नियामक निकाय हो, तर यसले आफैं विमानस्थल सञ्चालन र व्यवस्थापन गरिरहेको छ । बैतडीदेखि ताप्लेजुङसम्मका चल्ने–नचल्ने हरेक विमानस्थलको स्तरोन्नति गर्नेदेखि सांसदहरूको चाहनामा आधारित आन्तरिक विमानस्थल निर्माणको कार्यमा ऊ भासिएको छ । हवाई यातायात क्षेत्रमा वायुसेवा सञ्चालन र विमानस्थल सञ्चालनलाई उच्च व्यावसायिक दक्षता आवश्यक पर्ने व्यापारिक कार्य मानिन्छ । नागरिक उड्डयनको अत्यावश्यक स्वरूप, उडान सुरक्षाको संवेदनशीलता र प्रतिस्पर्धायुक्त वातावरणमा यस्ता कार्यलाई स्वायत्तता, व्यावसायिकता र सरल निर्णय प्रक्रिया आवश्यक पर्छ । कर्मचारीतन्त्रबाट यस्ता कार्य प्रभावकारी तवरले सञ्चालन हुन नसक्ने भएरै अन्य मुलुकमा विमानस्थल निर्माण तथा सञ्चालनको वैकल्पिक व्यवस्था गरिएको होला । 

नेपालको दु्रततर आर्थिक विकासका लागिसमेत एउटा पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल यथाशीघ्र निर्माण गरी सञ्चालनमा ल्याउनु ढिलो भइसकेको छ । निजगढमा विस्तृत सम्भाव्यता अध्ययनपश्चात विभिन्न विदेशी लगानीकर्ता कम्पनीले विमानस्थल निर्माण र सञ्चालनमा सहभागी हुन इच्छा व्यक्त नगरेका पनि होइनन्, तर समस्या छ, हाम्रै दृढ इच्छाशक्तिको । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण तथा व्यवस्थापनका लागि निजी क्षेत्रको साझेदारीमा सार्वजनिक कम्पनी स्थापना गरी अघि बढ्नु एउटा उपयुक्त विकल्प हुनसक्छ । 

पोखरेल नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक हुन् ।

Esewa Pasal

प्रकाशित : जेष्ठ २, २०७४ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्

महिनावारी र ‘पाप’

डा. अरूणा उप्रेती

भारतको आसाममा हिन्दुहरूले असाध्यै मान्ने कामाख्यादेवीको मन्दिर असारमा ४ दिन बन्द हुन्छ । किनभने असार महिनामा देवीको महिनावारी हुन्छ भन्ने विश्वास छ । यो बेला कसैले पनि देवीको दर्शन पाउँदैन । देवीको अनुमानित योनिको अगाडि पुजारीले सफा कपडा राखिदिन्छन् र ४ दिनपछि ‘रगतले भिजेको कपडा’ भक्तजनलाई बाँडिन्छ ।

देवीले महिनावारीका बेला प्रयोग गरेको कपडा पाइयो भने भाग्योदय हुन्छ भन्ने जनविश्वास छ । ‘त्यो रगतले भिजेको कपडा लिन चाहने भक्तको भिड हुन्छ । सानो–सानो टुक्रा पारेर बाँडिन्छ, ताकि यस्तो दिव्य प्रसाद सबैले पाउन सकुन् । तर पनि कतिजना भक्तजन यो दिव्य प्रसाद पाउनबाट बञ्चित हुन्छन् र अँध्यारो अनुहार लिएर फर्कन्छन्,’ मन्दिर घुमाउन लैजाने व्यक्तिले मलाई भनेका थिए, ‘कति भक्त त रातिदेखि नै लाइन बस्छन् ।’

कति जनाले त यही बेला आसाममा ब्रह्मपुत्र नदीको पानी पनि केही रातो हुन्छ, देवीको महिनावारीको रगतले भन्ने विश्वास गर्छन् । भक्तजनले देवीको महिनावारी भएको उत्सव मनाउँछन्, उनको रगतले भिजेको कपडा भाग्योदय भनेर राख्छन् । नेपालको सुदूर पश्चिम र कर्णालीमा चाहिँ त्यही महिनावारीलाई अपवित्र मानेर घरबाट धकेलेर बाहिर छाउगोठमा बस्न लगाउँछन् । किशोरी र महिलाको जीवनमा रोग, अपमान, यौन शोषण र मृत्युको खतरा ल्याइदिन्छन् ।

यो त महिनावारीप्रति दोहोरो चरित्र देखाएको भएन र ? ढुर्गाकी देवीको महिनावारीचाहिँ पवित्र, जीवित देवीको महिनावारीचाहिँ अपवित्र ? सुदूर पश्चिमको छौपडीबारे पहिले मैले बोल्दा र लेख्दा त्यहाँका कतिपय राजनीतिक नेता र पत्रकारले भनेका थिए, ‘तपाई बेकारमा छौपडीबारे लेखेर सुदूर पश्चिमलाई बदनाम गर्न‘हुन्छ । अहिले त पश्चिममा यो व्यवस्था हटिसकेको छ । अब अरू कुरा लेख्नुस् । सुदूर पश्चिमको सुन्दरताबारे, विकासबारे ।’

मैले उनीहरूलाई के जवाफ दिनु थियो र ? छौपडीमा बसेका बेला दुई युवतीको मृत्यु भएको खबर पढेर उहाँहरूलाई पक्कै पनि लाग्यो होला, ‘ओहो, हाम्रो सुन्दर पश्चिममा त अझै पनि महिलालाई महिनावारीका बेला अपवित्र मानेर छाउघरमा राख्ने चलन त रहेछ नि ।’
मैले बारम्बार भन्दै आएकी छु, ‘महिनावारीमा अपवित्र मानेर छाउगोठमा राख्ने चलन सुदूर पश्चिममा छ । तर त्यही मानसिकता बोकेर काठमाडौं र अन्य सबै ठूला–साना सहर र गाउँमा महिलालाई महिनावारी हुँदा अपहेलना गर्ने चलन त सबै ठाउँमा छ नि ।’

यही अवहेलनाबाट बच्न र दसैंको बेला दक्षिणा र मिठो खाना पाइँदैन भन्ने डरले मैले पहिलोचोटी महिनावारी हँ‘दा र त्यसपछि ३ वर्षसम्म पनि घरमा कसैलाई भनिन । त्यो बेला मैले मन्दिर गएर पाप गरें भन्ने कसैलाई लाग्न सक्छ, तर मैले कहिले पनि त्यसको लागि अपराधबोध गरिन । अहिले चाहिँ एउटै कुराले म छक्क पर्छु, ४ दशकअघि जब नेपालमा अहिलेको जस्तो स्यानिटरी प्याड आइसकेको थिएन, मैले कसरी महिनावारी व्यवस्थापन गरेँ होला ? अलिअलि याद छ, आमाको पुरानो सुती धोती र पुरानो सिरकको खोल च्यातेर प्रयोग गर्थेँ । प्रयोग गरेपछि ती कपडा धँ‘दा घरमा पत्ता लगाउँछन् भनेर कागजमा पोकापारी स्कुलमा लगेर फोहोर फ्याल्ने भाँडोमा हाल्थेँ । त्यसो गर्दा पनि कसैले देख्ला कि भन्ने भय भने भइरहन्थ्यो । 

त्यो बेला एक गलत सामाजिक मान्यताविरुद्ध थाहै नपाएर एक प्रकारको विद्रोह गरेकी रहेछु । धन्य, मेरा छोरीहरूलाई त्यो विद्रोह गर्न‘परेन । उनीहरूलाई लऽकाएर कपडा फ्याल्नु परेन । उनीहरूले अरू किशोरीजस्तै ‘म नछुने भएँ, मलाई भोक लाग्यो आमा, खाजा वा खाना देऊ न’ भनेर माग्नु परेन । किनभने उनीहरूले महिनावारी भएका बेला अपवित्र भइन्छ भन्ने सिक्दै सिकेनन् । उनीहरूले महिनावारी प्राकृतिक कुरा हो, यो बेला सफा बस्नुपर्छ, पौष्टिक खाना खानुपर्छ, पेट दुखे तातो पानीले सेक्नुपर्छ र अझ कम नभए दुखाइ कम हुने औषधी खानुपर्छ भन्ने बेलैमा सिके । 

तर अपशोच यो छ कि अझै पनि धेरै किशोरी र महिला महिनावारीका बेला अपमानित हुन्छन् । उनीहरूको स्वास्थ्यमा नराम्रो असर पार्ने संस्कृति पछ्याइन्छ । काठमाडौंमा बसेका पढेलेखेका विभिन्न सरकारी अफिस र अन्तर्राष्ट्रिय संस्थामा काम गर्ने महिला पनि सुदूर पश्चिमको छौपडीचाहिँ नराम्रो तर आफ्नो घरमा भनेर बारेको चाहिँ राम्रो भन्छन् । केही दिनअघि एक दिदीसँग यही विषयमा कुराकानी हँ‘दा उहाँले भन्नुभएको थियो, ‘म अरू कुरा त मान्दिन, तर महिनावारी हँ‘दा पूजापाठ गर्न र भान्छामा छुन भने सक्दिन । मेरी छोरी बंैककमा काम गर्छिन् । म त उनलाई पनि नेपाल आउँदा महिनावारी भएका बेला भान्छामा नआउन, पूजाकोठमा पनि नजान भन्छु ।’ मैले उनलाई कामाख्या देवीको महिनावारीको किंवदन्ती सुनाए र सोधेँ, ‘के तपाई असारको बेला महिनावारी भएकी कामाख्यादेवीको महिनावारीको रगतले भिजेको टालो भक्तजनले लिए जस्तै गरेर लिनुहुन्छ ?’ अनि मैले आफूले महिनावारी हुँदा कसैलाई पनि नभनेको कुरा बताएँ । उहाँले विस्फारित नेत्रले मलाई हेर्नुभयो । सबैलाई मेरो प्रश्न छ, के मैले महिनावारीका बेला छुट्टै नबसे, भान्छामा छोए, मन्दिर गए पाप लाग्छ ? नेपालका विभिन्न जनजातिका महिलाले पनि त महिनावारी बार्दैनन् । उनीहरू पापी भए त ? महिनावारीका बेला छौपडीको विरोध गर्नेहरूले आफ्नो मानसपटलमा रहेको छौपडीचाहिँ कहिले हटाउने ?

प्रकाशित : जेष्ठ २, २०७४ ०८:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT