कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यो हास्य होइन

विमल निभा

यसपालिको चुनावमा कोही पनि मसँग भोट माग्न आएन । नेपाली कांग्रेस पार्टी त मकहाँ कहिल्यै भोट माग्न आउँदैन । यस पटक पनि आएन । यही चुनावी सन्दर्भमा मेरो र नेपाली कांग्रेसको संयुक्त इतिहास हो ।

यो हास्य होइन

हो, पुराना पञ्चहरूका गाईछाप राष्ट्रिय प्रजातन्त्र पार्टी आफ्नो एकीकृत मित नेकपा एमालेको पछि–पछि लागेर आउला भन्ने मलाई ठूलो डर थियो, आएन । राम्रै भयो । कहाँसम्म भने नेकपा एमाले र नेकपा माओवादी (केन्द्र) का उम्मेदवार कमरेडहरू पनि मसित भोट माग्न भनेर आएनन् । 

नेकपा एमाले र नेकपा माओवादी (केन्द्र) मेरो घरमा भोट माग्न नआएको गाँठी कारण के हो भने नेकपा एमालेका कमरेडहरू मलाई निर्धक्कसँग नेकपा माओवादी भन्न थालेका छन् । र नेकपा माओवादीका कमरेडहरूले त मलाई आरम्भदेखि नै एक जन्मजात एमाले ठान्ने गरेका छन् । यस्तो वर्तमान अवस्था रहेको छ मेरो । के गर्ने ? तसर्थ आज म मेरो सम्पूर्ण यथार्थको पोको–पुन्तुरो खोल्ने अतिरिक्त जाँगरका साथ अघि सरेको छु । वास्तवमा म दुवै होइन । न नेकपा एमाले न ता नेकपा माओवादी (केन्द्र) नै ।

मेरो व्यक्तिगत अतीतसँग अलिकति पनि वास्ता राख्नेहरूलाई थाहै छ, म एकताका नेकपा एमालेमा थिएँ । अझ त्यसभन्दा अघिको नेकपा मालेको एक समर्थक भन्नोस् । त्यही भूमिगत माले सतहमा आएर नेकपा एमालेमा परिणत भएको हो । अर्थात एकीकृत माले । समग्रमा नेपाल कम्युनिष्ट पार्टी, एकीकृत माक्र्सवादी र लेनिनवादी । अँ त, एकदिन एकाएक भयो के भने म आफ्नो दुई पयर चालेर नेकपा एमालेबाट नेकपा मालेको दिशातर्फ सरासरी लागेँ । र त्यसबेलादेखि हालसम्म यहींको यहीं डेरा गरेर बसेको छु । म नेकपा मालेमै छु । कतै गएको छैन । 

‘कमरेड सीपी मैनालीको अहिलेको नेकपा मालेमा विमल निभाजी ?’ तपाईहरू एउटा उत्सुक्ता लिएर यस्तो भन्नुहोला मलाई । 

‘होइन–होइन, यस्तो होइन ।’

‘अनि कहाँ त ?’

‘असलमा म त्यो नक्कली नेकपा मालेमा छैन ।’ म जवाफमा यो भन्छु । (अब झापा आन्दोलनताकाका नेकपा मालेका क्रान्तिकारी महासचिव रहिसकेका अहिलेका नक्कली नेकपा मालेका महासचिव कमरेड सीपी मैनालीलाई मैले असली र नक्कली नेकपा मालेको भेद सम्झाइरहनुपर्छ ??)
यसको प्रतिप्रश्नमा तपाईंहरू अरू उत्सुक बनेर मसँग फेरि भन्नुहोला, ‘त्यसो भए, तपाईं कुनचाहिँ नेकपा मालेमा निभाजी ?’

‘त्यही नेकपा मालेमा, जसको कुनै बेला हालका ‘पुनर्एमाले भव:’ नेता कमरेड वामदेव गौतम महासचिव थिए । हो, नेकपा एमालेबाट त्यस समयका कट्टर ‘महाकालीवादी’ कमरेड वामदेवको साथमा लागेर म नेकपा मालेमा गएको थिएँ ।’ त्यही सिलसिलामा म भन्छु, ‘र आजसम्मको ठोस वास्तविकता के हो भने नेकपा मालेमै आरामले रहिरहेको छु म ।’

अब यहाँनेर एउटा विराट स्वरूपको प्राविधिक प्रश्न उत्पन्न हुनसक्छ । किनभने म नेकपा एमालेबाट गएको तारा छाप नेकपा माले अहिले कतै दृश्यमा उपस्थित छैन । मूलत: यो अस्तित्वहीनतामा छ । यो त एक प्रकारले ऐतिहासिक नेकपा माले भइसकेको छ । अतएव म आफ्नो वर्तमानसहित इतिहासमा कसरी अटाउन सक्छु ? यो त हुँदै हुँदैन । मिल्दैन । याने म के गरी यसरी हुँदै नभएको नेकपा मालेमा छु ? यस प्रकारको तपाईंहरूका जबर्जस्त प्रश्नको मैले सामना नगरेर सुखै छैन । 

‘अब कोही कसरी अनस्तित्वमा रमाएर रहन सक्छ, निभाजी ?’ तपाईंहरू मसँग आश्चर्यपूर्वक भन्नुहोला । 

यो विलकुलै सही प्रश्न हो । र यसको कुनै पनि गलत खालको उत्तर दिने आँट मसँग छैन । यसको बदलामा एउटा ठोस आशंका भने मेरो जरुर छ । मेरो भन्नु के हो भने म रहिरहेको नेकपा माले अस्तित्वमा नरहेको पार्टी हो भने नेकपा एमालेचाहिंँ के हो नि ? हेर्नोस्, यसको यावत् ढाँचाकाँचाबारे मलाई केही भन्नु छैन । यो सशरीर ‘यहाँदेखि त्यहाँसम्म’ फैलिएकोमा कुनै सन्देह छैन । यसको अर्थ के हो भने एमाले ठूलै कम्युनिष्ट पार्टी भइसकेको छ । ठिकै हो । तर जस्तो यसको नाम रहेको छ– नेकपा एमाले अर्थात नेपाल कम्युनिष्ट पार्टी, एकीकृत माक्र्सवादी र लेनिनवादी, त्यस अनुरूप यसको वैचारिक अस्तित्व रहिरहेको छ त ?

यो मेरो नेकपा एमालेका कमरेडहरूसँगैको प्रश्न हो । तर यसको समुचित उत्तरको आस मैले पटक्कै गरेको छैन । किनभने ‘सध: गाईवादी’ कमरेड खड्गप्रसाद शर्मा ओलीहरू विचार, नीति, सिद्धान्त, मत, चिन्तन आदिको उठान मनपराउँदैनन् । यसको प्रस्टाप्रस्टी उच्चारण किञ्चित मात्रामा पनि सुन्न तयार छैनन् । कदाचित् सुने पनि तुरुन्तै खित्का छाडेर हाँस्न थाल्छन् । सम्भवत: यसरी नै अहिले पनि खितखित पाराले हाँसिरहेका होलान् । हें हें हें हें.....यो बेवकुफ कलमबाज त अहिलेसम्मन विचार–सिचार भनिरहेको छ बा... हीं हीं हीं हीं...बडो वैचारिक हुन खोज्छ यो (भद्दा गाली लेख्न सकिएन)... हा हा हा हा... बेवकुफ कवि.... हो हो हो हो.... ।

वस्तुत: यो हास्यलेखन नभएकाले म चुनावी बातचितको समसामयिकतामा फर्कन्छु । यही उचित हुनेछ । त यो चुनावको एक चरणको मतदान कार्यक्रम सकिइसकेको छ । यसक्रममा कुनै मेयर, उपमेयर, वडाध्यक्ष आदिका उम्मेदवारले मसँग भोट माग्न नआएर बेसै गरे । मसँग भोट माग्न आएका भए पनि कुनै फाइदा हुने थिएन । किनभने भोटरलिष्टमा मेरो नाउँ छैन । एक भोटर नै नभइसकेकोले कसरी भोट दिन सक्छ ? मेरो नाउँ भोटरलिस्टमा नभएको वास्तविक कारण निर्वाचन गराउने आयोग होइन । यो राजनीतिमा शास्त्रकै एक लेख्नैपर्ने महत्त्वपूर्ण विषय भएकाले छुट्टै लेख्नेछु । अहिलेलाई यति नै । 

प्रकाशित : जेष्ठ ६, २०७४ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?