कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुर्तीजन्य पदार्थका असर

सन्दर्भ : विश्व धूमपानरहित दिवस
डा. धनरत्न शाक्य

काठमाडौं — लत लगाउने पदार्थहरूमा साह्रै बानी पर्ने तर अक्सर बिर्सिने नशालु चिज हो, निकोटिन। निकोटिनयुक्त पदार्थमा चुरोट, बिँडी, सिगार, तमाखु, कक्कड, सुल्पाजस्ता धूवाँ तान्ने र सुर्ती, जर्दा, पान, मसला, नस, गुट्खाजस्ता धूवाँरहित हिसाबले सेवन गर्ने चिज पर्छन्।

सुर्तीजन्य पदार्थका असर

निक्कै पहिलेदेखि सुरु भएको यसको प्रयोग बीसौं शताव्दीमा उल्लेखनीय हिसाबले बढेको थियो। सन् १९५० को दशकदेखि यसबाट विभिन्न रोग हुने तथ्य अगाडि आउन थालेको हो।

१९८८ तिर प्रकाशित धूमपानको स्वास्थ्य असर सम्बन्धी शोध लेखले विकसित देश, विशेषत: अमेरिकामा ठूलो हलचलै मच्चायो। अनि यसबारे विविध तरिका र कार्यक्रम अगाडि आए। ती मुलुकमा विशेषत: जनचेतनाको प्रसारले यसको प्रयोग र असर कम हुँदै गएको देखिन्छ। 

विकसित मुलुकको आँकडा अनुसार, तीन चौथाइजति मानिसले कुनै बेला कुनै रूपमा यसको सेवन गर्ने, एक चौथाइ जतिमा यसको लतै पर्ने र सेवनकर्ताहरूमा एक तिहाइ जतिमै दुव्र्यसन हुने गर्छ। यस हिसाबले यो अरू कुनै पनि दुव्र्यसनजन्य पदार्थभन्दा खतरनाक सावित हुन्छ। थोरबहुत भिन्नता भए पनि यो तथ्य विश्वका सबैजसो भागमा लागू हुने देखिन्छ। विश्वभरि १ अर्बभन्दा धेरै मानिसले यसको सेवन गर्छन् र सन् २०३० सम्ममा हरेक वर्ष १ करोडजति मानिसको मृत्यु यसको सेवनकै कारण हुने अनुमान गरिएको छ। 

नेपालमा यो अझ भयावह देखिन्छ। धरानमा हालै भएको एक शोधले समुदायमा करिब ४० प्रतिशत, मानसिक बहिरंग विभागमा ५५ प्रतिशत र अन्तरंग विभागमा भर्ना भएका ६२ प्रतिशत बिरामीमा निकोटिनमा लत परेको देखायो। विशेषत: ग्रामीण जनसमुदाय यसको असरबारे अनभिज्ञ र बेपर्वाह छन्, तिनीहरूमा अझ बढी सेवन छ। नेपाली महिलाको धूमपानको दर विश्वमै उल्लेख्य मानिन्छ। सुर्ती, पानपराग, खैनीलाई अम्मल वा लत भनी हेर्ने बुझाइसम्म छैन। यो समस्याको उपचार गर्नुपर्छ, उपचार हुन्छ भन्ने जानकारी नेपाली जनमनमा नगन्य मात्र छ। अम्मलीलाई सम्झाउने नाममा अक्सर होच्याउने, चरित्रमाथि प्रश्न लगाउने गरिन्छ।

धूमपानका अम्मलीलाई पनि यसका असरबारे यथार्थ जानकारी छैन। शिशु, बच्चा र परिवारसँगै बन्द कोठामा धूवाँ तान्ने गरिन्छ। भेटघाटमा चुरोट, बिँडीमार्फत आत्मीयता दर्शाउने चलन छ। चुरोट वा सुर्तीजन्य पदार्थको प्रयोग विनाको भोज, पार्टी वा भेला खल्लो र अपूर्ण हुन्छ। सरकार यसको उत्पादन, बिक्री–वितरणमा नियन्त्रण, जनचेतना प्रसार लगायत यसबाट उब्जिने समस्या सम्बोधन गर्नमा असफल देखिएको छ। अमेरिकामा २५ प्रतिशतले धूमपान गर्ने, २५ प्रतिशतले हालै छाडेका र ५० प्रतिशतले कहिल्यै धूमपान नगर्ने भए पनि त्यहाँ स्वास्थ्य खर्चको ६० प्रतिशत यस सम्बन्धी समस्याको उपचारमा खर्चिने तथ्यांक छ। नेपाल जस्ता विकासशील मुलुकमा भने यसको सेवन, खपत र असर बढ्दै गएको देखिन्छ। सबैजसो ग्रामीण महिला र पुरुष निकोटिन सेवनमा लिप्त नेपालका लागि यो यस्तो कटुसत्य हो, जसबाट पाठ नसिक्ने हो भने दु:ख र पछुतोमात्र हात लाग्नेछ। 

यसले मन स्थिर र शान्त राख्ने, बोर कम गर्नेे, रिस घटाउने, तौल घटाउने जस्ता केही असर क्षणिक रूपमा हुने प्रतिवेदनहरू पनि छन्। यद्यपि सेवन हुँदै गएपछि शीघ्र दुव्र्यसनमा बदलिन्छ। यसमा हुने टार, एमोनिया, आर्सेनिक, कार्बोन मोनो–अक्साइड जस्ता सयौं हानिकारक रसायनले गर्दा स्वास्थ्य धरापमा पर्छ। तीसभन्दा बढी क्यान्सर बेन्जोपाइरिन लगायत यसमा हुने क्यान्सर निम्त्याउने रसायनका कारण हुने तथ्य छ। सुर्ती सेवनले फोक्सो, मुख, पेट, घाँटी, पिसाब थैली, मिर्गौला लगायत अरु अंगमा क्यान्सर हुने गर्छन्।

यसले निमोनियाँ, ब्रोन्काइटिस, दम र श्वासप्रश्वासका अरू, मुटु र रक्तनली, नशासम्बन्धी रोग र अरु धेरै स्वास्थ्य समस्या निम्त्याएर आयु छोटयाउँछ। गर्भवती महिलाको निकोटिन सेवनले गर्भको शिशुको तौल कम हुने, मानसिक र शारीरिक विकासमा असर पर्ने तथा घरमा अरूले गरेको सेवनले परिवारजनलाई पनि गम्भीर हानि हुने कुरा सिद्ध भएको छ। सुर्ती सेवनको उदासीन, छट्पटी, पागलपन, मद्यपान र अन्य नशालु पदार्थको दुव्र्यसनसहित अरू मानसिक समस्यासँग पनि निकटको सम्बन्ध देखिएको छ। 

यथार्थ विश्लेषणबाट सुर्तीजन्य पदार्थ मानवजातिको स्वास्थ्यका लागि सबभन्दा ठूलो खतराको रूपमा देखिएको छ। यसले गर्दा व्यक्ति र समाजको आर्थिक स्थिति र विकासमा गम्भीर असर पर्छ। एक दशकभन्दा पहिलेदेखि नै विश्व स्वास्थ्य संघले यसलाई सर्वाधिक व्यापक, प्राणघातक र महँंगो स्वास्थ्य समस्याको रूपमा उल्लेख गरेको छ। जसको उपचार भने अरू पदार्थको दुव्र्यसनभन्दा बढी प्रभावकारी हुन्छ। त्यसैले यसको असरबारे सुसूचित, सचेत र जागरुक हुन आवश्यक भएको छ। सेवनकर्ताले चुरोट सल्काउन अघि यसको असरबारे जानौं, बुझौं, मनन गरौंं। सेवन नगर्नेले यसको प्रयोगबाट टाढा रहौं, सेवन गर्नेले छाडौं र लतै बसेको भए यसको उपचार र उपायतिर लागौं।

प्रकाशित : जेष्ठ १७, २०७४ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?