रगतमा लापरबाही

स्वास्थ्य लाभका लागि शरीरमा रगत चढाउँदा उल्टै ज्यानलाई जोखिममा पार्ने खालका विभिन्न संक्रमणको सिकार बन्नुपरेका घटनाहरू पाइएका छन् । रगत लेनदेनजस्तो अत्यन्तै संवेदनशील कार्यमा गरिएको यस्तो लापरबाही अक्षम्य छ ।

ब्लड बैंक तथा स्वास्थ्य संस्थाहरू रगत जाँच प्रभावकारी ढंगले नगर्दा बिरामीमा चढाउन लिइने रगतको विश्वसनीयता नै शंकास्पद बनाएको छ । यस्तो गम्भीर र संवेदनशील समस्यालाई बेलैमा पहिचान गरेर रगत जाँच विश्वासिलो हुने अवस्था तयार गर्न नसक्नु सरकारको पनि कमजोरी हो । 

शरीरमा चढाइएको रगत असुरक्षित छ भन्ने प्रमाण हालै रक्त परीक्षण गरिएका एक १६ वर्षे युवा हुन् । हरेक महिना रगत चढाउनुपर्ने रोगबाट पीडित उनमा एचआईभी/एड्स संक्रमण देखिएको छ र उपचारमा संलग्न चिकित्सकको भनाइमा यसको कारण चढाइएको रगत नै हो । विशेषज्ञहरूका अनुसार नियमित रगत लिने कतिपय बिरामीमा हेपाटाइटिस बी र सीको संक्रमणसमेत देखिएको छ । यसले ब्लड बैंकहरूबाट लिइएका रगत असुरक्षित पनि हुँदोरहेछ भन्ने पुष्टि गरेको छ । 

Yamaha

विशेषज्ञहरू नै नेपाल रेडक्रस सोसाइटीको रक्तसञ्चार सेवा तथा अन्य ठाउँबाट लिएको रगतबाट एचआईभी, हेपाटाइटिस बी र सी लगायतका संक्रमण नहुने दाबी गर्न नसकिने बताउँछन् । रगत जाँचमा भइरहेको यस्तो असंवेदनशीलताबाट प्रसूति, शल्यक्रिया, चोटपटक दुर्घटना, नियमित रगत चढाउनुपर्ने रोगबाट प्रभावित बिरामी प्रभावित हुन्छन् । बिरामीले स्वास्थ्यकर्मीलाई विश्वास गरेर रगत लिएका हुन्छन् । संक्रमित रगत बिरामीमा चढाउनु एक किसिमको अपराध नै हो । 

रगत चढाइएकै कारण एचआईभी/हेपाटाइटिस बी र सी लगायतका रक्तजन्य संक्रमणमा बिरामी परेको घटना नौलो होइन । यसबारे बेलैमा सजग हुँदै रगत जाँचलाई विश्वसनीय बनाउनुपर्नेमा उल्टै संक्रमणमा पर्नेहरूको संख्या बढ्दै गएको चिकित्सकहरूको दाबी छ, जुन विडम्बनापूर्ण अवस्था हो । ‘विन्डो पिरियड’ (पहिलो संक्रमण र विश्वासिलो जाँचबाट संक्रमण पहिचानको अवधि) का रक्तदाताबाट लिइएको रगतबाट संक्रमण बिरामीमा फैलिने गरेको पाइएको छ । विन्डो पिरियडका रक्तदाताबाट लिइएको रगतको संक्रमण अहिले मुलुकमा प्रचलनमा रहेको परीक्षण विधिले पहिचान गर्दैन । त्यसैले उनीहरूको रगतबाट औलो, सिफलिस, गोनोरिया, वेस्ट निल भाइरस, एचटीएलभी, साइटोमेगालो भाइरस, पर्भो भाइरस जस्ता थुप्रै प्रकारका ब्याक्टेरियाबाट हुने संक्रमण सर्न सक्छ । संक्रमित रगतले ‘क्रुज फिल्ड ब्याक अप डिजिज’ जस्तो दुर्लभ रोगसमेत सार्न सक्छ, जुन रोग लागेपछि स्नायु नै नष्ट हुन थाल्छ । त्यसैले रगत जाँच लापरबाही गर्ने कार्य नै होइन । तर हामीकहाँ धेरैजसो रगतको परीक्षण र्‍यापिड डायग्नोस्टिक (द्रुत परीक्षण) किटबाटै गरिन्छ, जसको विश्वसनीयता धेरै कम छ । बेग्लाबेग्लै कम्पनीका किटले बेग्लाबेग्लै रिपोर्ट दिने अवस्था पनि छ । जबकि विश्व स्वास्थ्य संगठनले रगत संकलन गर्दा र चढाउँदा द्रुत परीक्षणमा भर नपर्न भनेको छ । स्वास्थ्य संस्थाहरूले समय नभएको र रकम अभाव रहेको भन्दै रगतको अत्याधुनिक परीक्षण नगरिनु पनि गैरजिम्मेवार कार्य हो । 

यहाँका रगत नै सुरक्षित नरहेपछि वा त्यस्तो सन्देश प्रवाह भएपछि बिरामीलाई मुलुकबाहिर लैजानुपर्ने अवस्था आउँछ, जुन पैसा र समय दुवै हिसाबले बढी खर्चिलो हुन्छ । रगत प्राय: अभाव भइरहने हुनाले पाउनु नै ठूलो कुरा छ, तर त्यसो भन्दैमा स्वस्थ रहेको सुनिश्चितताबिना रगत चढाइनु हुन्न । बिरामीलाई चढाइने रगतका सन्दर्भमा राज्य गम्भीर बन्नै पर्छ । ‘विन्डो पिरियड’ का रक्तदाताको रगतमा रहेको संक्रमणसमेत पहिचान गर्न सक्ने परीक्षण प्रविधि प्रयोग गर्नुपर्छ । रगत जाँचमा लापरबाही गर्ने व्यक्ति तथा निकायमाथि कारबाही गर्नुपर्छ । 

Esewa Pasal

प्रकाशित : असार ७, २०७४ ०७:४५
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

गृहमन्त्री रात्रि चुनावी सभामा

प्रशासनले ८ बजेपछि सभा गर्न रोक लगाए पनि गृहमन्त्रीले राति १० बजे कार्यक्रम सम्बोधन गरे
ठाकुरसिंह थारू

बाँके — गृहमन्त्री जनार्दन शर्मा सोमबार राति खजुरा गाउँपालिका रनियापुरमा माओवादी केन्द्रले आयोजना गरेको चुनावी सभामा सहभागी भए । राति १० बजेसम्म चलेको सभालाई सम्बोधन गर्दै उनले पार्टीका उम्मेदवाहरूलाई जिताउन आग्रह गरे ।

निर्वाचन आयोगले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी राति ८ बजेपछि चुनावी सभा गर्न रोक लगाएको छ । तर, गृहमन्त्री शर्माले भने राति १० बजेसम्म सभालाई सम्बोधन गरेको माआवादी केन्द्रका नेताहरूले नै स्वीकारे ।

प्रदेश नम्बर ५ का ५ जिल्लाको सुरक्षा अधिकारीहरूको समीक्षा बैठकमा सहभागी हुन आएका उनी साँझ करिब साढे ७ वजेसम्म नेपालगन्जमै व्यस्त थिए । समीक्षा बैठकपछि उनले पत्रकार भेटघाट कार्यक्रममा सहभागी भए । राति करिब ८ वजे रनियापुरमा आयोजित कार्यक्रमका लागि हिँडेको स्रोतले जनायो ,। माओवादी केन्द्रका नेताहरूले गृहमन्त्री शर्माका लागि छुट्टै गाडीको व्यवस्था गरेका थिए । सरकारी गाडी नेपालगन्जमै छाडेर चुनावी सभामा हिँडेको जानकारी पाएपछि सुरक्षाका लागि प्रहरीले स्कर्टिङ गरेको थियो ।

‘चुनावी सभामा जाँदा मन्त्रीज्यूले सरकारी गाडी प्रयोग गर्नु भएन । उहाँका लागि छुट्टै गाडी व्यवस्था गरिएको रहेछ,’ प्रहरी स्रोतले भन्यो, ‘उहाँ कार्यक्रममा सहभागी हुँदासम्म त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको थियो ।’

गृहमन्त्री शर्मा चुनावी सभामा जाने पूर्वनिर्धारित कार्यक्रम भने तय गरिएको थिएन । आफ्नो पार्टीको पक्षमा चुनावी महोल बनाउन जिल्लाका नेताहरूले कार्यक्रममा सहभागी भइदिन आग्रह गरेका थिए । तर, स्थानीय प्रशासनलाई भने रनियापुरको चुनावीसभाबारे जानकारी गराइएको थिएन । गृहमन्त्री शर्माले कार्यकर्ता भेट्न केही समयका लागि बाहिर जान थालेको जानकारी भने दिइएको एक अधिकारीले बताए । ‘आएका बेला नेताहरूले आफ्ना पार्टीका जिल्ला नेता, शुभचिन्तक तथा कार्यकर्ता भेट्न जानु स्वाभाविक हो । तर, रनियापुरको चुनावी सभा पूर्वनिर्धारित हो/होइन हामीलाई जानकारी छैन,’ ती अधिकारीले भने, ‘भोलिपल्ट मात्रै त्यहाँ भएको सभाबारे सामाजिक सञ्जालबाट जानकारी पायौं ।’

माओवादी केन्द्रका अध्यक्ष आईपी खरेललले चुनावी सभा गरेको स्वीकार गरे पनि निर्वाचन आचारसंहिता उल्लंघन नगरेको बताए । उनले गृहमन्त्री नेपालगन्ज आएको अवसर छोपेर चुनावी सभामा लगेको जनाए ।

‘आफ्नो गाडीमा लगेका छौं । राज्यको सम्पत्ति प्रयोग गरेका छैनौं,’ उनले भने ।

प्रकाशित : असार ७, २०७४ ०७:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT