कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सुस्त पुनर्निर्माण

दुर्गा घिमिरे

अहिले भूकम्प पीडितका लागि प्राप्त भएको ठूलो अनुदान रकम बैंकमा जम्मा भएको छ । तर अर्काेतिर जनताले राहत नपाएर दु:ख भोगिरहेका छन् ।

सुस्त पुनर्निर्माण

सरकारले पहिलो किस्ता रकम बाँडेको सुनिन्छ । तर पहिलो किस्ता रकमको हिसाब–किताब सबै बुझाएपछि मात्र दोस्रो किस्ता लिन पाउने प्रावधान छ । तर धेरैले उक्त रकमको हिसाब बुझाउनसकेका पनि छैनन् । भूकम्प पीडितका नाममा आएको करिब १८ अर्ब रुपियाँ बंैकमै थन्किएको समाचार हालै प्रकाशित भएको थियो । पीडितहरूले घर बनाउन नसक्दा दोस्रो किस्ता रकम नपाएको गुनासो पनि छँदैछ ।

प्राधिकरणका अनुसार जम्मा ५ लाख ६७ हजार पीडितले पहिलो किस्ता लगेका छन् । तर दोस्रो किस्ता लाने केवल २९ हजार २ सय २८ परिवार छन् । यसरी पीडितका नाममा आएको पैसा बंैकमै खुम्चिएर बस्नुभन्दा दु:खद कुरा अरू के हुनसक्छ ? यसप्रति सम्बन्धित निकायको ध्यान आकर्षित हुनुपर्छ । 

दुई वर्ष अघिको भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र पुन:स्थापनाले अझै गति लिनसकेको छैन । पीडित कति ठाउँमा अस्थायी टहरो बनाएर बसिरहेका छन् । अझै पालमा बस्नेहरू पनि छँदैछन् । चिसो मौसम तथा वर्षातका बेला उनीहरूले भोग्नुपर्ने समस्याको लेखाजोखा नै छैन । महिला तथा बालबालिकाले भोग्नु परिरहेको समस्या त्यति नै पीडादायी छ ।

कसरी पुन:स्थापना र पुनर्निर्माणको कामले गति लिन्छ होला, अत्यन्त सोचनीय छ । बंगलादेशले दुई वर्षअघि भूकम्प पीडितका लागि राहतस्वरूप पठाएको २ लाख क्विन्टल चामल पठाएकामा एक लाख क्विन्टल चामल अहिलेसम्म वितरण नभएको र भर्खरैमात्र तराईका बजारमा बिक्री भइरहेको समाचार आएको थियो । यो समाचार साँचो हो भने विडम्बना मान्नुपर्छ । 

अहिले भूकम्प पीडितलाई सहयोग गर्ने सम्बन्धमा धुर्मुस–सुन्तली फाउन्डेसनले ५ अर्बको नमुना घर बनाउने कुराको चर्चा सर्वत्र छ । यस अघि कलाकारद्वय धुर्मुस (सीताराम कट्टेल) र सन्तुली (कुञ्जना घिमिरे) ले ३ वटा नमुना बस्ती निमाण गरी जनतालाई हस्तान्तरण गरिसकेका छन् । अहिले फेरि ५ अर्ब लागतको नमुना घर बनाउने घोषणा उनीहरूले गरेका छन् । योजना महत्त्वाकांक्षी पनि छ । जसमा एउटै कम्पाउन्डभित्र सबै जातजातिलाई समेटिने सामूहिक बस्ती बन्नेछ । यो योजनालाई सहयोग गर्न तयार रहेकाहरूको सूची पनि लामै छ । श्रमजीवी कलाकारहरूले भूकम्पपछि पीडितहरूका लागि नमुना बस्ती बनाएर हस्तान्तरण गरेपछि उनीहरू चर्चामा छन् । उनीहरूको लगनशीलता र दृढ इच्छाशक्तिको तारिफयोग्य छ । यसबाट विभिन्न तहका जिम्मेवार नेताहरू लगायत हामी सबै नागरिकले पाठ सिक्नुपर्छ । 

देशमा आएको महाभूकम्पमा देशविदेशबाट सहयोगको ओइरो लाग्यो । मानिसले आफ्नो गाँस काटेर भए पनि पीडितहरूका लागि सहयोग गरे । तर यसको सुखद परिणाम देख्न सकिएको छैन । सबै पार्टीले देश बनाउने वाचा गरेका छन् ।

नेताहरूका आआफ्ना प्राथमिकता छन् । कोही सत्ताको खेलमा मस्त छ । देशलाई समृद्ध बनाउने विषयमा जति प्राथमिकता हुनुपर्ने हो, देखिँदैन । जनताका सरोकारका विषयमा नेताहरू र हामी सबैको ध्यान कहिले पुग्ला ? सबैको एउटा गुनासो सुनिन्छ कि राजनीतिक दलका नेताहरू जनताको हितभन्दा पनि सत्ताको खर्चमा केन्द्रित देखिन्छन् । एक–अर्काको आलोचना र विरोधहरूमा मात्रै सत्तापक्ष र प्रतिपक्ष केन्द्रित छन् ।

 

प्रकाशित : असार २२, २०७४ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?