कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ज्ञानका ज्योति

स्वामी रामानन्द ज्ञान बाँड्दै यसै वर्ष जेठमा कास्कीस्थित अम्बरेश्वर संन्यास आश्रम पुगेका थिए । त्यहीँ उनी बिरामी परे, उनलाई निमोनियाँले च्याप्यो । र त्यसैका कारण २०७४ असार २४ गते देह त्याग गरे ।
रामरञ्जन पौडेल

‘राष्ट्रनिर्माण अभियान आफैंबाट थाल्नुपर्छ’, डा. स्वामी रामानन्द गिरी भन्थे, ‘केही गर्ने सोच आफैंमा पैदा गर, लक्ष्य प्राप्तिका लागि संघर्ष गर, जीवन सफल हुन्छ ।’ गृहस्थी संघर्षबाट टाढा रहेका यी विद्वान् सन्तका आवाज आज पनि कानमा गुञ्जिरहन्छन् ।

ज्ञानका ज्योति

‘म एउटा साधुले देवघाटमा महेश संन्यास आश्रम स्थापना गरेर २ सय ५० विद्यार्थीलाई खाने, बस्ने र पढ्ने व्यवस्था मिलाउन सक्छु भने एउटा सानो परिवार चलाउन तपाईंहरूलाई चिन्ता ?’ गृहस्थ जीवनको गोलचक्करमा अल्मलिएका मजस्तै निम्छरा पात्रलाई पशुपतिको शंकराचार्य मठमा केही वर्षअघि उनले दिएको प्रवचनको अंश थियो यो ।
आज स्वामी रामानन्द हाम्रासामु छैनन् । २००३ भदौ १० गते धादिङको केवलपुरमा सुवेदी परिवारमा जन्मिएका रामप्रसाद १० वर्षकै उमेरमा पितामाताको स्नेहबाट वञ्चित हुनपुगे । हेटौंडा निवासी उनकै भाइ रामप्रसाद सुवेदीका अनुसार उनमा सानैदेखि उदासीन भाव देखिन्थ्यो । व्यावहारिक जीवनप्रति खासै चासो थिएन । अध्ययनमा भने उनको कुशलता अद्वितीय थियो । विद्वत् कुलमा जन्मिएका रामप्रसाद पिता पण्डित पूर्णप्रसादको देहावसानपछि कष्टसाध्य जीवन बिताउन बाध्य भए ।
त्यसपछि काठमाडौंको सीतापाइलामा रहेकी फुपू र धादिङ आगराका मावली परिवार उनका सहयोगी बनेर आए । बनारसबाट उत्तरमध्यमा सम्मको औपचारिक शिक्षा ग्रहण गरी काठमाडौं फर्किएका उनले शास्त्री र आचार्य वाल्मीकि विद्यापीठबाट गरे । उनी २० को दशकमा तीनधारा संस्कृत छात्रावासमा बस्दा साधु बन्छन् भन्ने सोच्दै नसोचेको उनका सहपाठी संसद सचिवालयका पूर्वसचिव राधेश्याम भट्टराईले बताए । ‘संन्यासी बनेपछि भने उहाँ निर्भीक हुनुभएको थियो । हामी सबै विषयप्रति चञ्चु प्रवेश गथ्र्यौं । उहाँ केवल वेदान्त अध्ययनमा लाग्नुहुन्थ्यो । जिस्क्याउँदै वेदान्ति भन्थ्यौं । 
साँच्चै पूर्वीय दर्शनको असाधारण विद्वान् बनेर निस्कनुभयो । आफूलाई उहाँको सहपाठी भन्न पाउँदा गर्व लाग्छ ।’

त्रिभुवन विश्वविद्यालयको संस्कृत विभागबाट २०३० सालमा शाङ्कर वेदान्तमा एमए (आचार्य) गरेका स्वामी रामानन्दसँगै छात्रावासमा बसेका डा. बद्री पोख्रेल उनलाई साधारण परिवारको असाधारण अध्येताका रूपमा सम्झन्छन् । वेदान्त दर्शनका अध्येता पूर्व शिक्षा सचिव शरदकुमार भट्टराईले भने, ‘मैले जुन गुरुसँग पढेंँ, उहाँसँग नै रामप्रसादले पनि पढ्नुभएको हो । उमेर र अध्ययनमा मभन्दा केही पछिकै भए पनि रामानन्द मेरा गुरु हुनुहुथ्यो ।’ प्रा. दीर्घराज घिमिरेले विद्याको अध्यवसायीका रूपमा रामानन्द गिरीलाई चित्रण गरे ।

उनले २०४१ सालमा ‘राजर्षिजनक विदेह सिद्धान्तको समीक्षात्मक अध्ययन’ विषयमा विद्यावारिधि गरे । भारत तथा नेपालका विभिन्न विद्यालय र विश्वविद्यालयमा प्राध्यापन गरेका वेदान्ति रामप्रसाद सुवेदी २०४८ सालको वसन्त ऋतुपछि भने वाराणसी दक्षिणामूर्तिका निरञ्जन पीठाधीश महामण्डलेश्वर स्वामी महेशानन्दबाट संन्यास ग्रहण गरी स्वामी रामानन्द गिरी बन्न पुगे । उनका कान्छा भाइ शिवप्रसाद सुवेदी उनीभन्दा अघि नै संन्यासी भइसकेका थिए । शिव दिल्लीस्थित विश्वनाथ संन्याश्रमका स्वामी शान्तानन्द गिरीका रूपमा चिनिन्छन् । 

त्यसयता स्वामी रामानन्दले नेपाली समाजमा शिक्षा, साहित्य र संस्कारको ज्योति छर्दै रहे । यसै क्रममा उनी प्रबल गोरखा दक्षिणबाहु, महर्षि व्यास पुरस्कार, पाणिनि पुरस्कार, गुणराज पुरस्कार, श्रीराजर्षिजनक स्मृति लगायत झन्डै एक दर्जन मान–सम्मान र पुरस्कारबाट विभूषित भए । उनका जनकदर्शनम् माण्डूक्य कारिका, रामगीता, श्रीमद्भागवत महापुराण, देवीगीता, दुर्गासप्तसती, शिवमहिम्नास्तोत्रम्, वेदस्तुति, दक्षिणमूर्ति स्तोत्रम् जस्ता ९ वटा कृति नेपाली भाषामा अनुवादसहित प्रकाशित भएका छन् । श्रीमद्भागवत महापुराणको नेपाली व्याख्या आठ खण्डमा प्रकाशित छ । यो उनका कृतिमध्ये सर्वाधिक चर्चामा रहेको पुस्तक हो ।

संन्यास ग्रहणपछि विशुद्ध सामाजिक सेवामा होमिएका स्वामी रामानन्दले २०५० सालमा देवघाटमा महेश संन्यास आश्रमको स्थापना गरेका थिए । गुरुकुल सन्त परम्पराअनुसार आफ्नै मुलुकलाई कार्यथलो बनाई रामानन्दले सन्तनिवास, छात्रावास, अध्यापक निवास, पुस्तकालय, गौशाला, भक्त निवास, भोजनालय, विद्यापीठ भवन तथा शिवमन्दिर समेत निर्माण गरी महेश संन्यास आश्रमकै पृष्ठभूमिमा महेश संन्यास गुरुकुल स्थापना गरे । सन्त–भक्त र दाताको सहयोगमा सञ्चालित गुरुकुलमा अहिले २ सय ५० विद्यार्थी अध्ययनरत छन् । ती विद्यार्थी र आवश्यक गुरुहरूको आवास, भोजन तथा अन्य व्यवस्थापनमा मासिक पाँच लाखभन्दा बढी खर्च हुने गरेको गुरुकुलका प्राचार्य डा. गुरुप्रसाद सुवेदी बताउँछन् । उनका अनुसार भक्तहरूको मुष्ठिदान नै आश्रमको मुख्य आम्दानीको स्रोत हो । काठमाडौं, ललितपुर, हेटौंडा, पोखरा, चितवन, विराटनगर, भैरहवा, नवलपरासी लगायतका शुभेच्छुक भक्तहरूको सहयोगमा आश्रमको दैनन्दिन खर्च चलेको छ ।
नेपाल संस्कृत विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस विद्यापीठमा आचार्यसम्मको पठनपाठन हुन्छ । २०५६ सालबाट सम्बन्धन लिएयता विश्वविद्यालयका उत्कृष्ट विद्यार्थीको सूचीमा महेश संन्यास गुरुकुलकै अग्रस्थान रहँदै आएको छ । 

शैक्षिक उन्नयनमा अतुलनीय योगदान दिएका स्वामी रामानन्द गिरीले गुरुकुल परम्पराकै अनुसार कास्कीमा अम्बरेश्वर संन्यास आश्रम र गौरीशङ्कर ब्रह्म विद्यापीठ स्थापना गरेका छन् । यसैगरी, काभ्रेको जनागाल र झापा लगायत मुलुकका अन्य स्थानमा पनि विद्यापीठ सञ्चालन गरी पठनपाठनको व्यवस्था मिलाउने अभियानमा स्वामी दत्तचित्त थिए ।

संस्कृत, नेपाली, हिन्दी र अंग्रेजीमा धाराप्रवाह प्रवचन गर्नसक्ने स्वामी रामनवमीको भोलिपल्ट अर्थात् २०७३ चैत २४ गते देवघाटबाट काठमाडौं आइपुगेका थिए । अनि स्वामी जावलाखेल, जनागालमा प्रवचन दिँदै पुन: काठमाडौं आई जेठ लाग्नासाथ पोखरा पुगे । स्वामी रामानन्द ज्ञान बाँड्दै कास्कीस्थित अम्बरेश्वर संन्यास आश्रम पुगेका थिए । त्यहीँ उनी बिरामी परे, उनलाई निमोनियाँले च्याप्यो । र उनका शिष्यहरूले उनलाई असार १३ गते कास्कीस्थित गण्डकी अस्पतालमा उपचारका लागि पुर्‍याए । त्यहाँ स्वामीको उपचार हुन नसकेपछि भोलिपल्टै काठमाडौंस्थित ग्रान्डी अस्पतालमा उनलाई भर्ना गरियो । स्वास्थ्यमा उतार–चढाव भइरह्यो । स्वास्थ्य नाजुक भएपछि उनलाई पशुपतिस्थित शंकराचार्य मठमा पुर्‍याइयो । र त्यहीँ असार २४ गते उनको देहान्त भयो । संयोग मान्नुपर्छ, गुरुकुल परम्परामा जीवन बिताएका स्वामी रामानन्द गिरीको देहावसान पनि गुरुपूर्णिमाकै अघिल्लो दिन भयो ।

सन्त परम्परा अनुसार स्थलसमाधि र जलसमाधि हुने गर्छ । गिरीलाई गुरुपूर्णिमाका दिन देवघाटमा जलसमाधि गरिएको थियो । सम्भवत: नेपालमा मृत्युपर्यन्त जलसमाधि गरिएको यो पहिलो घटना हो । जलसमाधि गर्दा मृतकलाई खटमा पलेटी कसाएर राखी विधिविधान गरेर खटभित्र ससाना ढुंगाहरू भरेर (नदीमा डुबोस्, नतैरियोस् भनेर) प्लास्टिकको डुंगामा राखेर नारायणी नदीको गहिरो भागमा डुबाइयो । गुरु महेशानन्दलाई जलसमाधि गरिएकाले आफूलाई पनि त्यसै गर्नु भन्ने उनको इच्छाअनुसारै जलसमाधि गरिएको हो ।
गृहस्थहरूको १३ औं दिनमा पितृकार्य सम्पन्न गर्ने परम्परा भएजस्तै सन्तहरूको १६ औँ दिनमा नयाँ उत्तराधिकारीको घोषणासहित भण्डारा हुने गर्छ । स्वामी रामानन्द गिरीको पनि साउन ८ गते आइतबार रमणानन्द गिरीलाई पीठाधीश घोषणा गरी सन्त पूजनलाई विश्राम गरिनेछ ।

शिक्षाको विकास नै मुलुकको सर्वाङ्गीण विकास हो । यसकै माध्यमबाट गरिने राष्ट्रसेवा नै सर्वोपरि सेवा हो भन्ने मान्यतासाथ शैक्षिक उन्नयनमा लागेका स्वामी रामानन्द गिरीले नेपालको शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान गरेका छन् । स्वामी रामानन्दले नेपाली समाजलाई दिएको योगदान कालान्तरमा अझ प्रभावकारी रूपमा देखिनेछ ।

त्यसैले देवघाटस्थित उनले स्थापना गरेको महेश संन्यास गुरुकुल मात्रै होइन, पोखरा, झापा, हेटौंडा र बनेपामा रहेका आश्रमको पनि उचित व्यवस्थापन गरी शैक्षिक क्षेत्रमा गुरुकुल पद्धतिलाई गतिशील बनाउनसके स्वामीप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।

प्रकाशित : असार ३१, २०७४ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?