कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लागूऔषधका असर

डा. धनरत्न शाक्य

मनमस्तिष्कका काम गराइमा असर पार्ने कुनै पनि चिज वा रसायनलाई मादक, नशालु वा लागूपदार्थ भनिन्छ।

लागूऔषधका असर

मनमस्तिष्कमा पर्ने असरका आधारमा यी पदार्थलाई मूल रूपमा निकोटिनजन्य, क्याफिन र कोकेनजस्ता उत्तेजना, बेन्जोडाइजेपिन, ओपियडजस्ता उदासीनता र एलएसडी तथा गाँजाजस्ता भ्रम गराउने भनी वर्गीकरण गरिन्छ। बारम्बार प्रयोग भएपछि बढी डोज चाहिने र डोज नपुग्दा वा रोक्दा छटपटी, अनिद्राजस्ता असर आउने र तलतल लाग्ने हुन्छ। पदार्थ अनुसार त्यस्ता लक्षणको मात्रा फरक पर्छ। ओपियड, बेन्जोडाइजेपाम जस्ता पदार्थ तुलनात्मक रूपमा कम र छोटो समयमात्र प्रयोग गरे पनि यी असर देखिन्छन्। औषधिका हिसाबले पनि प्रयोग हुने विश्वमा चलनचल्तीमा रहेका र ओसारपसार गरिने मुख्य नशालु वा लागूऔषधिमा गाँजा, एम्फेटामिन, एक्सतासी, कोकेन पर्छन्। हामीकहाँ खोकीको कोरेक्स, दुखाइको कोडिन वा पेथिडिनजस्ता ओपियड, निद्राको फेनार्गन वा बेन्जोडाइजेपिन’ छट्पटीको बेन्जोडाइजेपिन उपचारको क्रममा प्रयोग गरिन्छ। चिकित्सकको सल्लाहमा औषधिस्वरूप सुरु भई यी पदार्थ लगातार प्रयोग गर्नेहरू पनि धेरै हुन्छन्। नेपालको सरकारी तथ्यांक अनुसार यहाँ ९१ हजार ५ सय ३४ लागूऔषधिको प्रयोगकर्ता छन्। यो हरेक वर्ष बढ्दै गएको छ। यसका आधाजति सुईको प्रयोगकर्ता रहेको र तिनमा करिब ६० प्रतिशतलाई एचआईभी एड्स र हेपाटाइटिस बीको संक्रमण भएको अनुमान छ।

बारम्बार र लामो समयको प्रयोगबाट व्यक्तिको परिवार विखण्डित हुनपुग्छ, वृत्तिविकास रोकिन्छ, व्यवसायमा अवरोध हुन्छ, सामाजिक प्रतिष्ठा धमिलिन्छ, नैतिकपतन हुन्छ, अपराध बढ्छ, दुर्घटना र कानुनी कारबाहीको सिकार भइन्छ। साथमा विभिन्न मानसिक, शारीरिक रोग उत्पन्न हुन्छन्। सुईबाट असुरक्षित किसिमले जथाभावी प्रयोग गर्दा एचआईभी एड्स, हेपाटाइटिस आदि महामारीकै रूपमा फैलिरहेछ। 

औषधि नै भए पनि यी पदार्थको जथाभावी प्रयोगले समस्याको चक्रव्यूह नै सिर्जना हुन्छ, जसबाट उम्किन व्यक्तिलाई हम्मेहम्मे नै पर्ने गर्छ। जुनसुकै परिस्थिति र प्रयोजनका लागि थालेको भए पनि कुनबेला, कसलाई र कसरी पछि गएर समस्या, लत, दुव्र्यसनमा बदलिन्छ भन्नै गाह्रो हुन्छ। सामान्यत: यस्ता पदार्थ अरूको देखासिकी, रमाइलो, कौतुहल, सामाजिक माहोल, सामाजिकीकरण, टोनिक, तनावनाशक आदि रूपमा सुरु हुन्छ। यस्ता पदार्थको क्षणिक र तत्कालको सुखद र छली असरका कारण व्यक्तिले फेरिफेरि प्रयोग गर्न पुग्छ। बारम्बार सेवन गर्दा स्नायुकोषहरूमा आउने परिवर्तनले एकपछि अरू यस्ता असर उत्पन्न हुन्छन्। 

सामान्यतया यस्तो पदार्थ एक वा बढीपटक अत्यधिक सेवन गरेर मात लागेको अवस्थासम्म पुग्नु नै समस्याको सुरुवात हो। यस्ता पदार्थको सेवनपछि शारीरिक (टाउको भारी, पेटमा दर्द), मानसिक (छटपटी, अनिद्रा, दिकदारी, विस्मृति), सुरक्षाको बेवास्ता, चोटपटक वा कानुनी कारबाहीजस्ता नराम्रा स्वास्थ्य असर पैदा भएको अवस्था अझ अरू जटिल हो। यस्ता प्रतिकूल असर उत्पन्न भइसकेको स्थितिमा पनि बारम्बार यस्ता चिज आफूखसी प्रयोग गर्नु झन् चक्रव्यूहको अर्को चरण मानिन्छ। दुव्र्यसन भएको व्यक्तिले विभिन्न स्थितिमा यस्ता पदार्थको प्रयोग कम गर्दा वा रोक्दा बेचैनी वा सिक हुनेमात्र होइन, बेहोस भई काम्ने, मान्छे नचिन्ने जस्ता जटिल अवस्था पनि आइपर्छन् र कतिपय व्यक्तिको यस्तो बेला उपचारका बाबजुद ज्यान पनि जान सक्छ। 

यस्तो समस्या निम्तिन नदिन लागूऔषधि र यसको असरबारे आधारभूत जानकारी लिने र विशेष गरेर शिक्षक, किशोर–किशोरी, विद्यार्थी, अभिभावक सचेत रहने गर्नुपर्छ। व्यक्ति, परिवार, समाज सबै नै सतर्क रहँदै खतरा सूचक लक्षण भएका किशोर–किशोरीप्रति निगरानी र सतर्कता अपनाउनुपर्छ। सुर्ती वा गाँजा वा यस्ता चिजको उत्पादन र प्रयोगलाई सामाजिक र कानुनी रूपमै निरुत्साहित पार्न जरुरी छ। चिकित्सक र बिरामीले पनि यस्ता दबाईको प्रयोगमा विशेष सावधानी अपनाउनुपर्छ। 

प्रकाशित : श्रावण १९, २०७४ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?