कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

श्रद्धाञ्जली : वन्दनीय व्यक्तित्व

डा. गोविन्द टण्डन

नेपालको धर्म–अध्यात्म, संस्कृत वाङ्मय, सामाजिक एवं साहित्यिक क्षेत्रमा आचार्य खेमराज केशवशरणको नाम नसुन्ने कमै होलान् । रेडियो नेपालबाट प्रत्येक शनिबार बिहान ‘लक्ष्य चिन्तन’ कार्यक्रममार्फत प्रसारण हुने सुमधुर प्रवचनबाट जीवनलाई नै ऊर्जावान् बनाउन प्रेरित नभएका मानिस पनि थोरै होलान् ।

श्रद्धाञ्जली : वन्दनीय व्यक्तित्व

हरेक बिहान रेडियो नेपालको थालनीमा बज्ने उहाँद्वारा रचित ‘ॐ हर हर हर महादेव...’ नामको भक्ति संगीत नसुनेका व्यक्तिसमेत विरलै होलान् । यही भक्ति संगीत सुनेर कैयौँको बिहानीको सुरुआत हुन्थ्यो । ‘लक्ष्य चिन्तन’ रेडियो नेपालमा ३० वर्षभन्दा बढी समय अटुट रूपले चल्यो । कुनै दिन दोहोरिनुबाहेक सधैँ नयाँ–नयाँ विषयमा प्रवचन हुने हुनाले प्रत्येक शनिबार उहाँको प्रवचन प्राय: मानिस व्यग्रतापूर्वक सुन्थे । अहिले जस्तो छ्यापछ्याप्ती एफएम रेडियोहरूको स्थापना नभइसकेको अवस्थामा, रेडियो नेपाल नै नेपालीहरूका लागि भर पर्नुपर्ने एकमात्र रेडियो सञ्चारको माध्यम भएको बखत घर–घरमा उहाँको प्रवचन र आवाज गुन्जन्थ्यो ।

उहाँको जन्म मोरङको जाँते गाउँको साम्लिङमा १९९४ कात्तिक २५ गते पिता तारानिधि दाहाल एवं माता द्रुपदादेवीको कोखबाट भएको थियो । त्यसको झन्डै अढाई वर्षपछि दु:खबाट त्राण पाउन सानैमा परिवारसँगै भारतको असमतिर भासिएका व्यक्तिलेबहुआयामिक प्रतिभावान् भई आफ्नो नामलाई यतिविधि चम्काउनुहोला भनेर कसले सम्झेको थियो होला ! सहपाठीले ‘खडानन्द त्यति चल्ने नाम नहोला, बरु खेमराज राख’ भनेका भरमा नाम बदलेर पछि द्वैताद्वैत दर्शनको निम्वार्क वैष्णवमा दीक्षित भएपछि खेमराजमा ‘केशवशरण’ थपेर उहाँ विद्वान् व्यक्तित्वमा गनिनुभयो । ‘हुने बिरुवाको चिल्लो पात’ भनेझैँ उहाँ सानैदेखि पढाइमा अति रुचि राख्नुहुन्थ्यो । संस्कृत साहित्यमा आचार्य गरेपछि विसं २०२० मा स्वदेश फर्कनुभयो र त्रिचन्द्र कलेजबाट अंग्रेजीमा स्नातकसम्मको अध्ययन गर्नुभयो । सुरुमा त्रिभुवन विश्वविद्यालय र पछि तात्कालिक महेन्द्र संस्कृत विश्वविद्यालयमा अध्यापनमा संलग्न हुनुभयो । त्यही विश्वविद्यालयको प्राध्यापकबाट विसं २०५२ मा सेवानिवृत्त भएपछि उहाँ पूर्ण रूपले धर्म–अध्यात्मका क्षेत्रमा समर्पित हुनुभयो ।

उहाँको वक्तृत्वक्षमता एवं प्रवचनशैली बेजोडको थियो । सरस्वतीले जिब्रामा बास गरेझैँ, बोल्न लागेको विषयलाई उहाँ धारावाहिक रूपले यसरी प्रस्तुत गर्नुहुन्थ्यो, दर्शकश्रोताहरू आह्लादित बन्थे । त्यसमा पनि अझ साथमा हारमोनियम छ भने उहाँले मधुर स्वरमा संस्कृत होस् कि नेपाली भजन गाउन थालेपछि आहा नभन्ने को होला † उहाँमा साँच्चैको विलक्षण प्रतिभा थियो । उहाँ संस्कृत, अंग्रेजी, हिन्दी, असमी, मारवाडी भाषामा पनि धाराप्रवाह प्रवचन गर्न सक्नुहुन्थ्यो । व्यावहारिकता, सामयिकता, सकारात्मकताले ओतप्रोत भई कर्मपथमा अग्रसर हुन अभिप्रेरित हुनेगरी उहाँ बोल्दा युवाहरू भावविभोर हुन्थे । कुनै खेस्रा र टिपोट नहेरी निर्धक्कसँग धाराप्रवाह बोल्न सक्ने त्यस्तो क्षमता कमैमा मात्र पाइन्छ ।

संस्कृत पढेर बाहिरबाट आएको, आफ्नो भन्ने काठमाडौँमा कोही नभएको एउटा गाउँले ठिटोले जेजति प्रगति र उन्नति गर्‍यो, त्यो भगवान्को कृपा र आफ्नै बलबुता बाहेक अरू कारणले थिएन । आफूमा अन्तर्निहित अद्भुत प्रतिभा, असाधारण विद्वत्ता, कर्मयोगी मानसिकता, कर्तव्यप्रतिको दृढता, विलक्षण वाक्सिद्धि, अभूतपूर्व प्रवचनकला र प्रबल राष्ट्रिय भावना नै उहाँको अदम्य शक्ति थियो । यीमध्ये कुनै एउटामात्रै विशिष्टता भएको व्यक्ति त सफल र दिव्य बन्न सक्छ भने उहाँमा त ती सबैको पुञ्ज थियो, समष्टि थियो । तात्कालिक महेन्द्र संस्कृत विश्वविद्यालयमा उपप्राध्यापकबाट एकैचोटि दोहोरो पदोन्नति भई प्राध्यापक हुनु, अठहत्तर वर्षको उमेरमा एकैपटक दस–दसवटा विभिन्न विधाका पुस्तक प्रकाशित भई एकैपटक दसजना विभिन्न व्यक्तित्वबाट लोकार्पण हुनु ‘न भूतो न भविष्यति’ भनेझैँ भएको छ । त्यस अवसरमा भएको उहाँको नागरिक अभिनन्दन यही कारणले पनि स्मरणीय बनेको छ ।

जुन देशमा जन्म्यो, हुक्र्यो, बढ्यो, पढ्यो, त्यो राष्ट्रका लागि केही नगर्ने हो भने जन्मनुको कुनै अर्थ रहँदैन भन्नेमा सचेत उहाँ समाजमा देखापर्दै गएका विकृति, विसंगति एवं परम्पराका नाममा चलेका यावत् ऐँजेरुहरूलाई हटाएर स्वच्छ र स्वस्थ जीवनशैलीका माध्यमबाट देशको चतुर्दिक उन्नति गर्न सकिन्छ भन्ने सोच्नुहुन्थ्यो । यही सोचबाट निर्देशित भई उहाँले सनातन धर्म सेवा समितिको परिकल्पना गर्नुभयो र पहिले त्यसको संस्थापक सचिव तथा पछि अध्यक्ष भई जीवनको उर्वर समय त्यसैका लागि खर्चनुभयो । कुनै समय यस्तो थियो, सनातन धर्म सेवा समिति भन्नु र खेमराज केशवशरण भन्नु एक किसिमले पर्यायवाची जस्तै बनेको थियो । पछि त्यस संस्थाबाट निवृत्त भइसकेपछि विभिन्न मुलुकमा उहाँको माग बढ्न गयो । शरणागति अन्तर्राष्ट्रिय आध्यात्मिक प्रतिष्ठानको संस्थापक भई विभिन्न मुलुकको परिभ्रमण गर्नुभयो एवं हिन्दु धर्म र हिन्दुत्वको प्रचार–प्रसारका साथै नेपालको गौरवलाई बढाउने कार्यमा समय खर्चनुभयो ।

धर्मलाई जड, संकीर्ण र अनुदार मान्नेहरूमाझ उहाँ अनुकूलको पात्र बन्न सक्नुभएन, तर मानिसमा मात्र होइन, सम्पूर्ण पशुपक्षी र वनस्पतिमा समेत एउटै ईश्वर–अंश देख्ने हिन्दु धर्म–संस्कृतिको विश्वजनीन चरित्र, चिन्तन र व्यवहारलाई पुन:स्थापित गर्न लागिरहनुभयो । सम्पूर्ण विश्वलाई यसको वास्तविक स्वच्छ र निर्मल रूपको पहिचान गराई अन्य धर्म–संस्कृतिको सामुन्ने ‘वसुधैव कुटुम्बकम्’ को महानताको अभिबोध गराउन हरपल सक्रिय रहनुभयो । उहाँ अध्यात्मका क्षेत्रमा स्वामी विवेकानन्द, महात्मा गान्धी, भगवान् रमण महर्षि र स्वामी योगानन्दबाट अत्यन्त प्रभावित हुनुहुन्थ्यो । राष्ट्रियताका विषयमा पृथ्वीनारायण शाह, बहादुर शाह उहाँका आदर्श थिए भने साहित्यमा कविशिरोमणि लेखनाथ पौडयाल, महाकवि लक्ष्मीप्रसाद देवकोटा र राष्ट्रकवि माधवप्रसाद घिमिरेबाट अनुप्राणित हुनुहुन्थ्यो ।

नेपालमा नितान्त व्यक्तिगत रूपमा घर–घरमा पितृमोक्षको कामनाले लगाइने श्रीमद्भागवत सप्ताहलाई ज्ञान महायज्ञका रूपमा सार्वजनिक महत्त्वका मठमन्दिर, धर्मशाला, विद्यालयको संरक्षण, संवद्र्धन एवं प्रवद्र्धनजस्ता लोकहितकारी कार्यका लागि आयोजना गर्ने र त्यहाँबाट प्राप्त हुने दक्षिणाभेटीको सदुपयोग गर्नेगरी त्यसको सुरुआत गर्ने व्यक्तिहरूमा आचार्य खेमराज केशवशरण अग्रपंक्तिमा पर्नुहुन्छ । पछिल्लो कालमा ज्ञान महायज्ञहरूबाट संकलित भेटीले सार्वजनिक हितका विषयमा निकै उल्लेखनीय काम हुने परिस्थिति देखापर्‍यो । समाजसेवालाई यसले निकै मलजल गर्ने गरेको छ । उहाँको समाजसेवाको सेरोफेरो भनेको हिन्दु धर्म–संस्कृतिको जगेर्ना र उत्थान, नेपाली र संस्कृत भाषाको वर्चस्वका लागि तन्मयता, सात्त्विकता, अहिंसा र शाकाहारको महत्त्वका बारेमा जनजागृति बढाई चुरोट, तमाखु, सुर्ती, गुटखा, खैनी र मांसाहारबाट मानिसलाई निवृत्त गराउनेतर्फ प्रवृत्त थियो । श्रीमद्भागवत ज्ञान महायज्ञको समापनको दिन अनेक ठाउँमा दक्षिणास्वरूप कुलतलाई छोड्ने वाचाबन्धन गर्न आह्वान गरेअनुरूप कैयौँ व्यक्तिहरूले त्यस्ता कुलतबाट छुटकारा पाई जीवनलाई धन्य बनाउन सकेका उदाहरण धेरै छन् ।

उहाँमा तत्क्षण नेपाली, संस्कृत र हिन्दीमा कविता र भजन रच्न सक्ने गुण थियो । उहाँका अनेक ह्दयस्पर्शी भजनहरू नेपालका लब्धप्रतिष्ठ गायक–गायिकाले स्वरबद्ध गरेका छन् । ‘नेपाल जननीं वन्दे...’ नामको संस्कृत मातृवन्दना राष्ट्रिय भावले ओतप्रोत भएको अति उत्कृष्ट रचना हो । भारतका बकिमचन्द्र चट्टोपाध्यायको ‘वन्देमातरम्’ को हाराहारीमा आउने ‘नेपाल जननीं वन्दे...’ को जति धेरै प्रचार–प्रसार भई राष्ट्रिय भाव र स्वाभिमानलाई जागृत हुनुपर्ने थियो, त्यति भएझैँ लाग्दैन । यस आह्वान गीतका शब्द–शब्दमा भएको राष्ट्रप्रतिको सम्मान र त्यसमा निहित अर्थले जोकोही श्रोतालाई राष्ट्रप्रति नतमस्तक र आह्लादित तुल्याइदिन्छ । उहाँका भक्ति रचनाहरू पनि त्यत्तिकै भावपूर्ण र गुढ रहस्यलाई अभिव्यक्त गर्नसक्ने क्षमता भएका सरल, सहज र गेयात्मक किसिमका छन् । तिनले अध्यात्मको गंगामा समर्पित भई डुबुल्की लगाइसकेको साधकले मात्र त्यस्ता रचनाहरू रच्न सक्ने हो कि भन्ने भाव श्रोताको अन्तरात्मामा जगाउँछन् ।

धार्मिक एवं आध्यात्मिक विधाका अनेक कालजयी लेख, पुस्तक एवं ग्रन्थहरूले उहाँलाई अजर, अमर तुल्याउनेछन् भन्नेमा कुनै शंका छैन । उहाँ छन्दका राम्रो ज्ञाता एवं प्रयोगकर्ता हुनुहुन्थ्यो । धार्मिक–आध्यात्मिक ज्ञानका क्षेत्रमा कुशाग्र बुद्धि एवं ज्ञानका धनीको दृष्टिले कथंकदाचित् काव्यको क्षेत्रमा बढीभन्दा बढी समय दिन सक्नुभएको भए नेपालको प्रतिष्ठित कवि पनि हुन सक्नुहुन्थ्यो । त्यस्तै, अनुसन्धान र लेखनका क्षेत्रमा निरन्तर लाग्नुभएको भए त्यसमै प्रतिष्ठा आर्जन गर्नसक्ने क्षमता उहाँमा निहित भएको सत्य कैयौँ कृतिले स्थापित गर्छन् । 

आचार्य खेमराज केशवशरण साँचो अर्थमा नेपालको एक सच्चा सपुत तथा प्राज्ञिक सम्पत्ति हुनुहुन्थ्यो । हिन्दु धर्म–संस्कृतिका समग्र ज्ञाता, मातृभूमिका परमभक्त, विनयी सेवक, उद्भट व्याख्यानकर्ता एवं सात्त्विक गुणसम्पन्न आध्यात्मिक व्यक्तिका रूपमा परिचित हुनुहुन्थ्यो । उहाँले छोडेर जानुभएका कृतिहरू हाम्रा लागि अमूल्य सम्पदा बन्न पुगेका छन् र यी निधिहरू भावी पुस्ताका लागि अजस्र प्रेरणाको स्रोत बनेर रहनेछन् । उहाँका अप्रकाशित झन्डै आठवटा पुस्तकाकार कृति कुनै दर्शन, कुनै निबन्ध, कुनै कविता र महाकाव्यहरू छन् । तिनलाई समयमै प्रकाशित गर्ने चाँजोपाँजो मिलाउन सकिए उहाँप्रतिको साँचो श्रद्धाञ्जली हुने थियो । यसका लागि उहाँका शिष्य–प्रशिष्य एवं शुभेच्छुहरूको समयमै ध्यान पुग्यो भने धर्म–अध्यात्मका पारखीहरू अझ लाभान्वित बन्नेछन् । उहाँको संग्रहमा भएका धर्म अध्यात्मसम्बद्ध हजारौँ पुस्तक–पुस्तिकाको जोहो कसरी गर्ने ? उहाँको स्मृतिमा कुनै पुस्तकालयको स्थापना गर्ने हो वा नेपाल संस्कृत विश्वविद्यालयले तिनको संरक्षण गर्न सक्छ भने दिने हो, उहाँका सन्ततिहरूले यसतर्फ सोच्नुपर्ने बेला आएको छ । आधुनिक युगका धुरन्धर विद्वान् भइकन पनि आचार्य खेमराज केशवशरणका विचार, भावना र क्रियाकलापहरू प्राचीन युगका ऋषि–महर्षिका जस्ता हुनपुगेका छन् । यस्ता व्यक्तित्वप्रति उहाँकै यी शब्दपुष्प (राष्ट्रनिर्माताप्रति श्रद्धासुमन, श्लोक ७०) द्वारा हार्दिक श्रद्धाञ्जली अर्पण गर्छु :
होऊन् मार्ग असंख्य किन्तु सबको गन्तव्य यौटै छ त्यो
सम्झौँ जो जति सम्प्रदाय सबमा सद्धर्म यौटै छ त्यो ।
केस्रा छन् कति भिन्नभिन्न पनका यौटै छ आवेष्टन
सिंगो बन्दछ सुन्तला सब मिली हाम्रो छ यो दर्शन ।। 

प्रकाशित : श्रावण २८, २०७४ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?