कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अक्करमा युवा आन्दोलन

ब्रबिमकुमार

सन् २००० अगस्ट १२ देखि विश्वव्यापी रूपमा संयुक्त राष्ट्र संघको पहलमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउन थालिएको हो । युवा दिवसको छेको पारेर नेपाली युवाको अवस्था, राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रभित्र युवा संघ, संस्था, संगठन र सञ्जालको भूमिका र औचित्यबारे चर्चा गर्नु वाञ्छनीय हुन्छ ।

अक्करमा युवा आन्दोलन

हामीकहाँ अन्तर्राष्ट्रिय दिवस मनाइरहँदा, राष्ट्रिय सन्दर्भ, नेपाली समाजका मौलिक चुनौतीबाट टाढिएर अन्तर्राष्ट्रिय क्षेत्रमा सान्दर्भिक हुने क्रममा हामी बतासे शैलीमै आफैं कति असान्दर्भिक हुन्छौं भन्ने एउटा उदाहरण युवा दिवसकै बारेमा दिऊँ । सन् २००९/१० को कुरा हो । 

अगस्ट १२ को दिन युवा दिवस मनाउन काठमाडौंमा बाजागाजा सहितको एउटा ४०० जनाको जुलुस ब्यानर बोकेर प्रदर्शनीमार्गदेखि लैनचौर स्काउट भवनसम्म पुग्यो । नारायणहिटी दरबार संग्रहालयको पश्चिमी गेटमा पासपोर्ट लिन बसेका झन्डै ५०० युवाको भिड छिचोल्दै लैनचौर स्काउट भवनसम्म पुग्यो । अन्तर्राष्ट्रिय युवा दिवसको नारा सहितको ब्यानर बोकेर हिँडेको जुलुस र पासपोर्ट पर्खेर बसेका त्योभन्दा ठूलो युवा भिडका लागि त्यो जुलुस फगत एउटा रमितामात्र बन्यो । यसैले पनि यस्ता अन्तर्राष्ट्रिय दिवस हाम्रा आफ्नै सवालमाथि गम्भीर डिस्कोर्स गर्ने अवसरको रूपमा प्रयोग हुनुपर्छ । 

नेपाली युवाको नाजुक अवस्था
नेपाली समाजमा युवा के हो, को युवा हुन् भन्ने सवालमा पर्याप्त बहस भएको छैन । राजनीतिक परिभाषा (१६–४० को उमेर समूह) ले अन्य सामाजिक, आर्थिक क्षेत्रमा युवाको भूमिकालाई संकुचित पारेका छन् । दुई वर्षअघि भारत सरकारले युवाको आफ्नो परिभाषा (१६–३५) लाई परिमार्जित गरेर (१६–३०) बनायो । भारत सरकारले लक्षित युवा समूहभित्र लगानी बढाउन र त्यसको आधारमा युवा विकासका लागि लिएको कदम हाम्रा लागि पनि सहयोगी हुन सक्छन् । विश्वका ९० प्रतिशत मुलुकले युवालाई परिभाषित गर्दा उमेरको आधार (१६–३०) लाई नै बनाएका छन् । गएको आर्थिक वर्षमा झन्डै ५ लाख २० हजार युवा रोजगारीको नयाँ अवसर खोज्दै श्रम बजारमा प्रवेश गरे भने वैदेशिक रोजगारीमा जानेको संख्या ६ लाख ४८ हजार माथि थियो । भारतको बाटो भएर तेस्रो मुलुक वा खुला सिमानाको कारण मौसमी काम गर्न बाहिर गएका युवाको संख्या जोड्दा यो संख्या अझ धेरै हुन आउँछ । श्रम बजारमा प्रवेश गर्नेको झन्डै ९० प्रतिशत देशबाहिर जानु नीति निर्माता र युवाको क्षेत्रमा काम गर्नेले आफैंमाथि प्रश्न गर्नुपर्ने बेला हो यो । आम युवाको प्रथम सरोकारको विषय रोजगारीको क्षेत्र त भयावह नै भइहाल्यो, तर शैक्षिक र अन्य सामाजिक आँकडाहरू हेर्दा पनि कतैबाट सन्तोष मान्न सकिने ठाउँ छैन । 

उदाहरणका लागि बालविवाह नै हेरौं : ह्युमन राइट्स वाचले गतवर्ष सार्वजनिक गरेको प्रतिवेदन अनुसार ३७ प्रतिशत किशोरीको १८ वर्षभन्दा कम उमेरमा विवाह हुने गरेको छ । यस अर्थमा एसियाका मुलुकहरूमा भारत र बंगलादेशपछि नेपाल तेस्रो बालविवाह गर्ने मुलुकको रूपमा रहेको छ भने राष्ट्रिय योजना आयोगको सन् २०१४ मा प्रकाशित गरेको अध्ययन प्रतिवेदनले ४८.५ प्रतिशत किशोरीको विवाह १८ वर्ष नपुग्दै हुने गरेको बताउँछ । युवाका विद्यमान समस्या र चुनौतीसंँगै राष्ट्रिय समस्यामा युवाका संगठित संस्थाहरूले कत्तिको हस्तक्षेपकारी भूमिका निर्वाह गर्नसकेका छन् त ? एउटा गर्विलो इतिहास बोकेको नेपाली युवा आन्दोलन चाहे त्यो राजनीतिक दलहरूसंँग सम्बन्धित हुन् या राजनीति दलबाहिर सामाजिक संस्था वा सञ्जालको नाममा कार्यरत हुन्, नेपाली युवा आन्दोलनको अवस्था नेपाली युवाका समस्या समाधान र राष्ट्रिय सवालको आलोकमा तिनीहरूको भूमिकाको आधारमा मूल्यांकन गर्नुपर्छ । 

उज्यालो इतिहास
नेपाली इतिहासमा युवा विद्यार्थीको संगठित आन्दोलनको सुरुवात जयतु संस्कृतम् आन्दोलनलाई मान्न सकिन्छ । संस्कृत पाठ्यक्रमको सुधारको माग राखेर सुरु भएको जयतु संस्कृतम् आन्दोलनले राणाशासनको अन्त्यका लागि पृष्ठभूमिको काम गर्‍यो । यस आन्दोलनसँग सम्बन्धित युवाहरूले प्रवासमा रहेर दल खोल्ने, भारत छोडो आन्दोलनदेखि जयप्रकाश नारायणको आन्दोलनको बेलासम्म पनि सक्रिय भूमिका खेले । 

पञ्चायतकालीन निर्दलीय समयमा २०३० सालमा सर्वाेच्च अदालतले विद्यार्थी संगठनहरूलाई खुला हुने बाटो खोलिदिएपछि प्रतिबन्धित राजनीतिक दलहरूलाई सार्वजनिक स्तरमा काँध थाप्ने काम नै युवा विद्यार्थीहरूले गरे । २०३६ सालमा पाकिस्तानी सैनिक सरकारले राजनीतिज्ञ जुल्फिकर अलि भुट्टोलाई फाँसी दिएको विरोधमा उठेको विद्यार्थी आन्दोलनले जनमत संग्रह गराउनसम्म दबाब दिएको थियो । प्रजातन्त्र पुनर्बहालीपछि पनि जटिल विषयहरूमा युवा विद्यार्थीको हस्तक्षेप लोभ लाग्दै थियो । तत्कालीन शाह ज्यादा पारस शाहको गाडीले संगीतकार प्रविण गुरुङलाई ठक्कर दिएर मारेको घटनामा देशैभरिबाट दस लाख हस्ताक्षर संकलन गरेर ठूलै तरङ्ग सिर्जना भएको थियो । २०६२/६३ सालको आन्दोलनमा पनि गणतन्त्रको मुद्दालाई माउ दलहरूभित्र संस्थागत गराउन युवा विद्यार्थीकै योगदान थियो ।

चाहे त्यो सशस्त्र संघर्ष होस् वा थारु, मधेसीहरूको राजनीतिक आन्दोलन, कुनै पनि आन्दोलनको अग्रमोर्चा सम्हाल्ने युवा नै थिए भन्ने तथ्यको पुष्टि त आजसम्म नेपालको राजनीतिक आन्दोलनमा सहिद भएका ७५ प्रतिशत ज्यादा सहिदहरू ३० वर्षभन्दा कम उमेरका हुनुले पनि गर्छ । 

सुस्ताएको वर्तमान
गर्विलो इतिहास बोकेको युवा आन्दोलन आज आफ्नै इतिहासको बिँडो थाम्न पनि गाह्रो हुने अवस्थामा आइपुगेको छ । कुनै दिन आफूले उठाएका मुद्दामा आफ्नो माउ पार्टीमात्रै होइन, पुरै देशलाई नै अगाडि बढाउने सम्भावना देखाएका विद्यार्थी र युवा संगठनहरू आज जटिल राष्ट्रिय मुद्दाहरूमा सडकमा ओर्लने त टाढाको कुरा भयो, प्रतिक्रिया दिनसम्म पनि अघि सरेको थाहा हुन्न । २०७२ सालको भूकम्पको समयमा राहत र उद्धारमा गरेको कार्यबाहेक अन्य उदाहरणीय गतिविधि भेट्न गाह्रो छ । भ्रष्टाचारको पारो केही समययता लाख र करोडबाट अर्बतिर उक्लेको छ । चाहे त्यो एनसेलले उचित कर नतिरेको प्रसङ्ग होस्, चाहे कर फस्र्योट आयोगले ठूला कम्पनीले मनोमानी कर छल्न दिएको घटना, आयल निगमले सस्तो जग्गालाई करोडौं खर्च गरेको प्रकरण किन नहोस् । डा. गोविन्द केसी यो लेख तयार पार्दासम्म एघारौं पटकको अनशनको २२ औं दिनको अनशनमा छन्, तर युवा विद्यार्थी संगठन र सञ्जालहरू चुइँक्कसम्म पनि बोल्दैनन् । के राजनीतिक युवा विद्यार्थी संगठनहरू आफ्नो दलको कठ्पुतली मात्र भएका हुन्् ? विद्यार्थी र युवाहरूबाटै केसम्म सुनिन्छ भने आजकल युवा र विद्यार्थीहरू दलका भन्दा पनि गुट र उपगुटका नेता भएका छन् र त्यस्ता गुटका विश्वास पात्र भएर पाउने सामान्य लाभको जञ्जालभित्र फँसेका छन् । 

केही अघिसम्म यस्तो लाग्थ्यो, मानौं कि युवा विद्यार्थी संगठनहरू आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्ने मिति कुरिरहेका छन् । पेट्रोलियम पदार्थको मूल्य वृद्धिसंँगै केही दिनको सडक आन्दोलनपछि बढेको मूल्यमा २–४ रुपैयाँ घटेपछि फेरि अर्को पटकको मूल्यवृद्धि नहुँदासम्म आन्दोलन शिथिल हुन्थ्यो । यद्यपि अझै पनि राजनीतिक दलहरू अन्तर्गत सबैभन्दा सक्रिय संरचना भनेको विद्यार्थी संघ–संगठन नै हो । राजनीतिक दल भित्रका युवा संगठनहरूको भूमिका, कार्यक्षेत्रबारे भने अझै तिनको कार्यले स्पष्ट पारिसकेको छैन । 

सामाजिक युवा संस्थाको अकर्मण्यता
राजनीतिक दल अन्तर्गतका युवा संगठनहरूको सीमितताको केही आँकलन भने गर्न सकिन्छ । नेतृत्वमाथि प्रश्न गरेर सजिलोसंँग प्राप्त हुनसक्ने आफ्नो राजनीतिक आकांक्षा र अवसरलाई सायद युवा संगठनका नेताहरू संकटमा पार्न चाहँदैनन् । तर आफूलाई युवा भन्ने सामाजिक युवा संघ, संस्था र सञ्जालको अकर्मण्यता वैरागलाग्दो छ । गैरसरकारी र गैरराजनीतिक संस्थाहरू भनिए पनि बहुसंख्यक नेतृत्व ओग्टने युवा कुनै न कुनै दलको भित्री सदस्य नै रहेको देखिन्छ । दलीय प्रजातन्त्रमा दलप्रति आस्था राख्नु र दलको सदस्य नै भएर अराजनीतिक पहिचानको दाबी गर्नु फरक कुरा हुन् । सामाजिक युवा संस्था र सञ्जालहरूको आफ्नै भाषाको अभाव छ, उनीहरूका भाष्यको निर्माण पनि अन्तर्राष्ट्रिय दाताहरूले गरिदिनुपर्छ । आफ्ना मौलिक समस्या र चुनौतीबारे ती हम्मेसी सार्वजनिक बोल्दैनन् वा आफ्नै वैचारिक स्पष्टता र धारणा नै छैन वा पर्याप्त अध्ययन नै छैन । 

सशक्त आन्दोलन वा सिर्जनात्मक वैचारिक हस्तक्षेप त टाढाको कुरा भयो, तिनका लागि सडकमा आउनु भनेको माइतीघर मण्डलामा आधा घन्टा उभिएर दुइटा फोटो खिचेर सामाजिक सञ्जालमा हाल्नु मात्रै हो । टाढामा कुनै जिल्लाको जिल्ला सदरमुकाम वा राजधानीको होटलहरूमा हुने गोष्ठी, तालिम र समारोह आयोजना गरेर वा चहारेर तिनको दैनिकी बित्छ, बाँकी बचेको समयमा गर्ने भनेको फेरि दाताको वरिपरि घुम्ने प्रयत्न नै हो । त्यसैकारण अन्तर्राष्ट्रिय संस्थाहरूले तिनकै देशको हेडक्वार्टरमा नेपाल सम्बन्धी परियोजना निर्माण गरेर अवलम्बन गर्दा उनीहरूलाई नेपालको वस्तुस्थिति अनुसार प्राथमिकताको निर्धारण गर्न आलोचनात्मक सहयोग गर्न पनि उनीहरू हिच्किचाउँछन् । सायद कतै पाउन सक्ने सानोतिनो परियोजना पनि खुस्केला भन्ने चिन्ता उनीहरूमा हुन्छ । आजकल सामाजिक संस्थाहरूले गर्नुपर्ने युवा सहभागिता र नेतृत्वको काम कतिपय नयाँ राजनीतिक दल र सामाजिक समूहहरूले गरिरहेका छन् । सामाजिक, राजनीतिक मुद्दामा स्वस्फुर्त अभियान सञ्चालन गर्नेदेखि सामाजिक सञ्जालको प्रयोग गरेर जनचेतना फैलाउने खालका गतिविधि हाल अध्ययनरत विद्यार्थीहरूले अनौपचारिक रूपमा गरिरहेको देखिन्छ । 

अबको कठिन बाटो
परिस्थिति एकाएक सुध्रदैन । त्यसका लागि प्रतिबद्धता, त्याग, अध्ययन, लगन र इमानदार प्रयत्न गर्नुपर्छ । नेपाली युवाले रेमिटेन्सले धानेको मुलुकमा आजको भोलि नै परिवर्तन आउँदैनन् । धेरै कुरा गर्न नसके पनि राजनीतिक दलभित्र वा बाहिर रहेका संगठित युवा समूहहरूले बुझ्न जरुरी छ– आफूभन्दा अघिल्लो पुस्तालाई सचेत र सिर्जनशील ढंगले चुनौती पेस नगरेसम्म उनीहरू बदलिँदैनन्, नत अघिल्लो पुस्ताको नेतृत्वलाई प्रश्न र चुनौती पेस नगर्दासम्म आफ्नो स्थान नै तयार हुन्छ । आफ्नै स्थान तयार पार्न पनि युवाका लागि एउटै विकल्प बाँकी छ, अघिल्लो पुस्तालाई प्रश्न गर्ने, आम सरोकारका सवालमा नेतृत्व लिने, सिर्जनात्मक हस्तक्षेप गर्ने र विकल्पका रूपमा आफू तयार हुने । होइन भने यो अक्करको अवस्थामा रहेको युवा आन्दोलनलाई आफ्नै गोलचक्करमा फँस्नबाट कसैले जोगाउन सक्दैन । 
ट्विटर : @brabimkumar 

 

प्रकाशित : श्रावण ३०, २०७४ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?