पेसागत आचरण र मर्यादा

सुशीला कार्की

काठमाडौं — अनुशासन, आचरणको पालना र मर्यादा अनुसरण नभए घर, परिवार, कार्यालय, सरकार, मुलुक केही चल्दैन । तसर्थ तल्ला वर्गका कर्मचारीले आफूभन्दा माथिका मान्यवरको आदरसम्मान र उच्च व्यक्तिले पनि मातहतका कर्मचारीको कदर र तिनको हितलाई ध्यान दिनैपर्ने हुन्छ

। यसर्थ सबैले पदीय दायित्वको सीमामा बसेर आआफ्नो भूमिका कानुन र नियम बमोजिम निर्वाह गर्नुपर्ने हो । 

एक पटक सरकारी वकिलको एउटा टोली प्रधान न्यायाधीशसंग केही गुनासो पोख्न भनी समय मागेर आयो । टोली नेताले केही बँुदासहितको विरोधपत्र पढेर सुनाए । उच्च अदालतमा असीजना न्यायाधीशको नियुक्तिलाई उनले कथाकथित असंवैधानिक नियुक्ति भनी घोषणा गरे । न्यायाधीश नियुक्तिको असन्तुष्टि, कर्मचारी सरुवाको विरोध, सरकारी वकिललाई न्यायाधीशमा कोटा 

Yamaha

नछुट्याएको गुनासा विरोध पत्रमा उल्लेख थियो । मैले उनलाई पहिले त सरकारी वकिल नै भन्ठानेको थिएँ, तर कहिले पनि बेन्चमा नदेखेकाले उत्सुकतावश सोधेँ । उनले भने, ‘म महान्यायाधिवक्ता कार्यालयको सुब्बा हुँ ।’ उमेर हेर्दा अब पदोन्नति पाएर सरकारी वकिल बन्न सक्ने, त्यसपछिको न्यायाधीश बन्ने सम्भावना कतै देखिँदैनथ्यो । तसर्थ मैले उनलाई भनेँ, ‘यो त तपार्इंको सरोकारको विषय होइन रहेछ, तपाईंले बरु आफ्नै समकालीन, सहकर्मीका समस्यालाई उठाएको भए हुन्थ्यो ।’ उनी एकाएक झोँक्किए र धम्कीको शैलीमा बोले, ‘म कर्मचारीको ट्रेड युनियनको नेता हुँ, हामीलाई जुनसुकै कर्मचारीको हकहितमा बोल्ने अधिकार छ र अस्सीजना न्यायाधीशको नियुक्ति बदर गर्नुपर्ने माग हाम्रो हो, पूरा नभए हडताल गरी सडकमा उत्रन्छौं ।’ मैले जवाफ दिएँ, ‘ठिक छ, सरकारको अंगले नै हडताल गर्ने हो भने संसारमै नभएको यो अनौठो कुरा नेपालमै भएको मान्नुपर्छ ।’

एकजना प्रधानन्यायाधीशले आफ्नो च्याम्बरको एक कार्यालय सहयोगीलाई जहिले पनि ‘नेताजी पानी ल्याउनुस्’, ‘नेताजी चिया ल्याउनुस्’, ‘नेताजी लौ यसो गर्नुस्, लौ उसो गर्नुस्’ भन्ने गरेको सुन्थें । अति नै जिज्ञासा लागेर एकदिन उहाँसंग ‘नेताजी’ भन्नुको कारण सोधेँ । उहाले भन्नुभयो, ‘ऊ कार्यालय सहयोगी भए पनि ट्रेड युनियनको नेता रहेछ । ऊ यहाँका कर्मचारीको हकहितको संरक्षण गर्ने व्यक्ति हो । अघि–पछि मेरो च्याम्बरभित्र सेवा गरी तपाईहरू जस्तालाई चियापानी खुवाए पनि कर्मचारीको गुनासो वा तिनको हकहित सम्बन्धी विषयमा प्रधानन्यायाधीशसँंग छलफल हुने भेटघाटमा ऊ मेरो समकक्षी भई हाराहारीमा बसेर वार्तामा सामेल हुने गर्छ ।’

मेरो मान्यता कार्यालय सहयोगी भनेको मान्छे नै होइन, ऊ ठूलाबढाको समकक्षी बन्नै सक्तैन भन्ने होइन । कार्यालय सहयोगीको घरमा पनि पत्नी वा पति छोराछोरी हुन्छन्, उनीहरूले निम्न स्तरको जागिरे तिनलाई हुनेखाने उच्च ओहदावाल परिवारको सन्तानले सरह नै सम्मान र आदर गर्ने गरेका हुन्छन् । समाजमा सचिव, मन्त्री, र ठूलाठालुको सम्धी एउटा कार्यालय सहयोगी पनि हुनसक्छ । एकजना त्यस्तै निम्न तहको कर्मचारीका छोरा अति ठूलो पदमा पुगेका थिए, उनलाई सबले भन्ने गर्थे, ‘अब यति सानो पियनको जागिरमा तपाई किन अल्झने । बरु छाडनुहोस्, यो सानो जागिर । तपाईको छोराको हैसियत कहाँ हो कहाँ छ, असजिलो हुँदैन तपाईलाई ? हामीलाई नै काम अह्राउन कठिन भयो । बरु राजीनामा दिएर घरमै आरामसँग बस्नुहोस् ।’ तर उनले त्यो जागिर पेन्सन नआएसम्म निरन्तर खाइनै रहे । उनी भन्ने गर्थे, ‘मेरो छोराले पाएको पद यही नोकरीको तलबले खर्च गरी पढाएको जरियाबाटै हासिल भएको हो ।’ 

इज्जत ठूलाको ठूलो, सानाको सानै हुँदैन, सबैको बराबर र समान हुन्छ । मैले पनि अदालत भित्रका ट्रेड युनियनवालाका गुनासा बारम्बार सुन्ने अवसर पाएँ । गुनासामध्ये केही त उनीहरूको हकहितसँग गाँसिएका जायज नै हुन्थे । तर केही सुन्दा भने मलाई लाग्थ्यो, प्रधानमन्त्री, राष्ट्रपति र संसद, प्रधानन्यायाधीश लगायत सबै विशिष्ट पदहरू सञ्चालनको कार्यभारजति सबै ट्रेड युनियनका नेताहरूलाई सुम्पिदिए हुन्छ । उनीहरूले प्रधानन्यायाधीशले गर्ने गरेको हरेक कामको विरोध र टिकाटिप्पणी गरेको देखियो । ट्रेड युनियनको नेता भएपछि वर्षौंसम्म सरुवा हुन नपर्ने, कामजति अरु निमुखालाई जोताएर आफू कुर्सीमा ठाँट्टिएर हुकुम चलाई बस्न पाइने, दबाब र प्रभावबाट कर्मचारीको सरुवा, बढुवा, नियुक्ति आदिमा समेत प्रभाव पार्न सकिने अनि हडताल र कालो पट्टीको धम्की दिएर उच्च पदाधिकारीलाई धम्क्याउने प्रवृत्ति व्यापक देखिन्छ । यो प्रवृत्तिका कारण कतिपय कार्यमा अवरोध खडा भइदिनाले मुलुकको विकासमा बाधासमेत पर्न गएको देखिन्छ । एकजना अग्ला हट्टाकट्टा कार्यालय सहयोगी थिए । उनी अधिकृतजस्तै देखिन्थे, निक्कै ठाटबाटका साथ हिँड्थे । उनीसंँग एक न्यायाधीशले एकदिन पटक–पटक पानी मागेछन्, तर उनले दिएनछन् । न्यायाधीशले रिसाउँदै सोधेछन् । उनले जवाफ दिएछन्, ‘मैले दिने होइन, अरु छन्, अहिले ल्याइदिँदैछन् ।’ न्यायाधीशले फेरि सोधेछन्, ‘तिमीले चाहिँ आफ्ना हातले दिन नहुने ?’ जवाफ आएछ, ‘म ट्रेड युनियनको नेता हुँ ।’ ऊ वास्तवमा सधैं कुर्सीमा खुट्टा हल्लाएरै बसेको देखिन्थ्यो, अरु काममा दलिए पनि कसैले ऊविरुद्ध गुनासो गर्दैनथे । बरु त्यस्ता नेताहरूको भाग पनि तिनैले खटेर गरेको देखिन्थ्यो । 

कुनै पनि कार्यालयमा कार्यालय सहयोगीका दुई वर्ग छन्, स्थायीजति अधिकांश नेतागिरीमा छन् र अस्थायीजति पदच्युत हुने डरले मरीमरी खट्छन् । यस्तो नकारात्मक प्रवृत्तिबाट मन्त्री पनि पीडित छन् । एकजना प्रभावकारी मन्त्रीले सधैं कर्मचारीको विरोधका कारण काम गर्न नपाएको गुनासो गरेको सुनियो । एक त नौमहिने कार्यकाल त्यसमाथि मन्त्रालयका ट्रेड युनियनमा आबद्ध कर्मचारीहरूले विरोधी दलको जस्तो भूमिका देखाएकाले नियुक्ति हँुदा उनले घोषणा गरेका कार्यक्रम भाषणमै सीमित रह्यो । राष्ट्रहित विरुद्ध कार्य कसैबाट भएको छ भने त्यो जोकोही किन नहोस्, उसको विरुद्ध छाती ठोकेर विरोध गर्न सक्नुपर्छ । निजी स्वार्थका निम्ति आत्मसमर्पण गर्नु हुँदैन । तर राष्ट्रको हितमा काम भएको छ भने जसले गरे पनि विरोध गर्नुहुन्न । कुनै पनि सरकारले ल्याएको लोक कल्याणकारी योजना छ भने वास्तवमा त्यो राष्ट्र र जनताको हितका निम्ति नै हुन्छ । तेरो पालाको मेरो पालाको भनेर एक दलको सरकारले प्रस्तुत गरेको योजना अर्को दलको सरकारले निरस्त्र गर्दै जाने हो भने मुलुकको गरिबी, बेरोजगारीको अन्त्य हुनेगरी विकास कहिले होला ? आज मुलुकको हर क्षेत्रमा विवाद, तानातान, खोसाखोस, लुटपाट देखिएको छ । त्यसले आम जनतालाई अहित हुनु र यसै कुराको गुनासो चौतर्फी रूपमा उठ्नु स्वाभाविकै हो । यो बेथितिबाट मौलाएको भ्रष्टाचार र भ्रष्टाचारीको परिवारले गरेको चकचकी हेरेर आमनिमुखा जनताको पेट अघाउने त होइन ।

अहिले फेसबुक र ट्विटरमार्फत व्यक्ति विशेषको मानमर्दन गर्ने चलन चलेको छ । यी कुरा पनि प्रायोजित नै छन् । कसैबाट नियोजित रूपमा सञ्चालित छन् । त्यसो त केही अखबार नै पनि माफियाबाट परिचालित भएको पाइयो, जसको काम व्यक्ति विशेषको विरुद्ध गाली गर्नेमात्र नभएर तिनका परिवार र आफन्तको मानमर्दन गरी समाजमा मनोवैज्ञानिक रूपमा इमानदार र कर्तव्यनिष्ठ व्यक्तिहरूबारे भ्रम फैलाउनु रहेको बुझिन्छ । त्यसो त इमानदारले मुख छोपेर असन, इन्द्रचोकको पनि भित्री गल्लीबाट हिँड्न बाध्य हुनुपर्ने अहिलेको अवस्था छ । तर बेइमानले शानले राजदरबार अगाडिको ठूलो बाटोमा हिँड्न सक्ने वातावरण छ । 
मैले कामु प्रधानन्यायाधीश र प्रधानन्यायाधीश भएर तेह्र महिना केही दिनसम्म काम गरँे । अदालत भित्रकै एक कर्मचारीले मेरो बारेमा पटक–पटक नकारात्मक कुरा फेसबुकमा लेखेको पाएँ । अरुले लेखेको बारेमा गन्ती नै नगरौं । ती कर्मचारीउपर कारबाही गरेको भए फेरि कालोपट्टी र धर्ना सुरु हुन्थ्यो । यस्तो प्रकृतिको मनिसलाई अमूक दलले नै बोकेको हुन्छ । तिनको बलियो पहुँच आफ्नो युनियनसँंग सम्बन्धित दलसँंग हुन्छ । त्यस्ता व्यक्ति सत्ताधारी दलसंँग आबद्ध रहेछ भने झन् कुरा नै नगरांै । बरु सरकारसँग काम लिनुपर्ने भए संवाद गर्ने दूत तिनैलाई नियुक्त गरे वेश हुन्छ । यस्तै प्रकृतिका दुई जनालाई न्यायालयको सर्वोच्च प्रशासनले केही समयअघि सरुवा गरेको थियो । उनीहरू नेतालाई गुहार्न पुगेछन् । मन्त्रीले धेरैपटक मलाई फोन गरेर अदालतमा साविकको पदमा फर्काउन अनुरोध गरे । अदालतमा तुरुन्त फिर्ता गर्न सम्भव थिएन । चार–छ महिना पुगेपछि एकदिन उनै मन्त्रीले रजिष्ट्रारसँग तिनलाई जतिसक्दो छिटो कहीँ कतै जसरी पनि सरुवा गरिदिन अनुरोध गरेको सुनियो । कारण रहेछ, तिनले फेसबुकमा मन्त्रीको विरोधमा पनि जथाभावी लेख्न थालेछन् ।

नेपालमा ट्रेड युनियनमा आबद्ध व्यक्तिहरूको अवधारणा नै नकारात्मक देखिन्छ । उनीहरू यस संगठनको मूलकार्य कर्मचारीको हकहितको अलावा बेतन, स्वास्थ्य, पेन्सन आदिको सुरक्षण गर्ने हो भन्ने आफ्नो सीमालाई बिर्सन्छन् । वास्तवमा एक उद्योग वा एक व्यवसायमा एउटा ट्रेड युनियन संगठनमात्र क्रियाशील हुनुपर्नेमा दलैपिच्छे अलग–अलग संगठन अस्तित्वमा छन् । ट्रेड यूनियनको नेता भएकै कारण विशिष्ट पदका मन्त्री, सचिवलाई सम्म हुकुम चलाउन पछि पर्दैनन् । एउटा सुब्बा सरहको व्यक्तिले आफूलाई ज्ञान नभएको कुरामा उच्च स्तरको कर्मचारीलाई निर्देशन र दबाब दिँदा कस्तो होला ? मर्यादा त आखिर मर्यादा नै हो, पद अनुसारको सम्मान सबैले सबैलाई गर्नैपर्छ । तर युनियनहरू दलहरू भित्रको भ्रातृ संगठन सरहको हैसियतमा देखिन्छन् । उनीहरू आफू सम्बद्ध दलको निर्देशनमै चलेको प्रतित हुन्छ । 

निजामती सेवा त सरकारको अभिन्न अंग नै हो, यो सरकारप्रति पूर्णत समर्पित हुन्छ । यसले सरकारलाई मद्दत गर्छ र विशुद्ध रूपमा सरकारको वफादार हुन्छ । यसका कर्मचारीको हकहितका निम्ति एउटा संगठन त बन्न सक्छ, तर दलगत राजनीतिमा जस्तो क्रियाकलाप गर्न भने सम्भव छैन । नेपालमा ट्रेड युनियनको प्रयोग कर्मचारीको हकहित र सुविधा लगायत नभएर एक दलको सरकारको काममा अरु विपक्षी दलले दख्खल दिन, हडताल, विरोध र असहयोग र अवरोध गर्न प्रयोग भएको हो कि भन्ने आभाष हुन्छ ।

उद्योग, व्यवसायमा कार्यरत मजदुर र रोजगार गर्नेहरूको एउटा संगठित संस्था हो, ट्रेड युनियन । यसले मजदुरको हकहित जस्तो– स्वास्थ्य उपचार, बेतनमा वृद्धि, सेवा निवृत्ति र सुरक्षा भत्ता लगायतका सुविधाका लागि आवाज उठाउने, सरकार–मजदुर वा उद्योग–मजदुर बीचमा वार्ता गराउने र आइपरे सम्झौतासमेत गराउने गर्छ । यसले विशुद्ध रूपमा मजदुरको हकहितको संरक्षण र एकतामा ध्यान दिन्छ । यस्तो संस्थाको सुरुवात १८ औ शताव्दीमा इङल्यान्डमा भएको हो । यसको वास्तविक अर्थ मजदुरहरूको मात्र संगठन हो । अहिले यो संगठन संसारभरि छाएको छ र मजदुरमा मात्र सीमित छैन । हुन त यस्तो संगठनबारे क्रियाशीलता पन्ध्रौं शताव्दीमै हुनथालेको हो । सुरु–सुरुमा उद्योग प्रतिष्ठानमा काम गर्ने खास मजदुरको बारेमा मात्र संगठन परिकल्पना गरिएको थियो, तर अब भिन्न देशमा विभिन्न प्रकृतिका संगठन छन् । ट्रेड युनियनबारे कार्लमाक्र्सले ‘क्यापिटल’ भन्ने पुस्तकमा भनेका छन्, ‘ट्रेड युनियनको प्रस्ट र चेतनशील जगलाई श्रमिकहरूको महत्त्वपूर्ण श्रमको बलले बलियो बनाउनेछ, जसको महत्त्व श्रमिक वर्गमा रहेको कुरालाई कुनै परिस्थितिमा पनि नकार्न सकिन्न । यसले मजदुरहरूको बेतनलाई एउटा सीमामा भन्दा तल झर्न प्रतिबन्ध लगाउनेछ र एउटा निश्चित सीमामा कायम गर्नेछ ।’ यसरी हेर्दा ट्रेड युनियन विशुद्ध रूपमा मजदुरको हितका निम्ति बनेको संस्था हो । तर हामीकहाँ यो कामदारको हितभन्दा पनि केही टाठाबाठाको निम्ति दुनो सोझ्याउने साधन बनेको भान हुन्छ ।

मैले न्यायपालिकामा जम्मा आठ वर्ष चार महिना केही दिनसम्म काम गर्ने अवसर पाएँ । त्यहाँ आफूभन्दा माथिल्लो तहलाई अत्यन्त शिष्टाचार र सम्मान गर्ने वातावरण छ, सायद अन्यत्र यस्तो कम नै होला । अझ पहिले–पहिले त तल्ला तहका कर्मचारीले उच्च तहकाहरूलाई शून्य डिग्रीमा ढोगभेट गर्ने गरेको देखिन्थ्यो । अहिले पनि कोही–कोही पुरानाको ढोगभेटको व्यवहार त्यस्तै छ । युवा पिढीमा भने परिवर्तन आएको छ । प्रत्येक एक तह मुनिकाले आफूमाथिको तहलाई आदरभाव नै प्रकट गर्छन् । जेसुकै होस्, भित्र–भित्र कैँची नै चलाए पनि, आलोचना गरे पनि, खुट्टा तान्ने प्रयास गरे पनि बाहिर भने प्रत्येक कर्मचारी र स्वयम् न्यायाधीशले आफ्ना अग्रजलाई शिष्टाचार देखाउने गरेको पाइन्छ ।

समष्टिगत रूपमा भन्ने हो भने मुलुक बनाउने दायित्व सबैको हो, को ठूलो हो र को सानो हो, यो सवाल नै उठ्दैन । हरेकले आफ्नो अधिकारको दायरा र त्यसको सीमालाई उल्लंघन गर्नुहुन्न, साथै कर्तव्यलाई पनि बिर्सन हुँदैन । आफूलाई सर्वेसर्वा ठान्ने, सबै कुराको ज्ञाता आफैमात्र छु भन्ने, अरुको योग्यताको कदर नै नगर्ने, भएको सबै कुरा एकलौटी भोग गर्न इच्छा राख्ने, हरेक क्षेत्रमा हावी हुनुपर्ने, योग्यता होस् वा नहोस्, जुनसुकै पदमा दाबी गर्ने, साम–दाम–दण्ड–भेद लगाएर भए पनि पद हासिल गरिछाडने प्रवृत्ति हामीकहाँ विकास हुँदै गएको छ । 

प्रत्येक नागरिकमा शालिनता, सभ्यता हुनैपर्छ । अरुको योग्यताको कदर गर्ने बानी बसाल्नैपर्छ । तर यहाँ जसले जे गरे पनि हुन्छ, जे बोले पनि हुन्छ भन्ने प्रवृत्ति मौलाएको छ । यसलाई नियन्त्रण गर्ने बलियो निकाय नै पनि छैन । उच्च पदको निम्ति उच्च शिक्षा, उच्च नैतिक चरित्र, आदर्श, मूल्य र मान्यता यी सब कुरा अहिले आवश्यक पर्दैन । जोकोही पनि चाकरी–चाप्लुसीको भरमा कल्पना हुनै नसक्ने पदमा स्थापित हुन सफल भएको पाइन्छ । यही बेथितिका कारण पढेलेखेका र योग्यहरूमा निराशा बढेको छ । यसले साथै राष्ट्रको समग्र विकासमा नकारात्मक असरसमेत पारेको छ ।

 

प्रकाशित : भाद्र १६, २०७४ ०८:२९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

भ्रष्टाचार नरोके महालुट

सुशीला कार्की

पूर्वप्रधानन्यायाधीश तथा न्यायाधीश कस्ता कार्यक्रममा जाने भन्ने बहस छ । मलाई यस्ता कार्यक्रममा आउँदा आलोचना हुने हो कि भन्ने पनि छ । वास्तवमा पुस्तक विमोचनको निम्तो पाएपछि म सुरुमा अलिकति हच्किएको थिएँ ।

त्यसको कारण पनि छ । संविधानले पनि कानुनले पनि सबैतिर बाटो थुनेर हामीलाई एउटा मानव अधिकार आयोगतिर मात्र देखाएको छ । त्यहाँ एक जना हुने हो, सबै अट्ने कुरा आउँदैन । कहाँ के बोल्ने, के नबोल्ने । अस्ति डा। गोविन्द केसीजीकोमा यस्सो देखिएको थिएँ, समर्थन र आलोचना दुवै भयो । प्रधानन्यायाधीश अथवा न्यायाधीशहरूले अवकाशपछि के गर्ने, के नगर्ने भन्नेबारे अस्पष्ट छ । कसैले गर्नुहुन्छ भन्नुहुन्छ, कसैले गर्नुहुन्न भन्नु हुन्छ ।

हुन त काम गर्दै गइयो, महाअभियोग फेस गर्नुपर्‍यो । फेरि महाअभियोग लगाउनेहरूले नै फिर्ता लिए । जेसुकै भए नि मलाई त्यति दुस्ख लागेको छैन । सर्वोच्च अदालतमा बस्ने प्रधानन्यायाधीश अथवा प्रधानन्यायाधीश हुने लाइनबाट निष्कासित, जो प्रधानन्यायाधीश हुने लाइनमा हुनुहुन्थ्यो, प्रकाश वस्तीजी, उहाँले अवसरै पाउनुभएन । धेरै कथा छन् । प्रधानन्यायाधीशहरूले, जसले सत्ताको वरिपरि अथवा जो बिहान–बेलुका चिया खान पुग्नु भो अथवा त्यहाँ उनीहरूको सम्झौता वा सहमति केही भयो भने त ठिकै छ । नत्र जसले इमानदारीपूर्वक न्याय दिन्छु भन्छन् ती सबैले (चुनौती र चेतावनी) फेस गरेकै हुन्छन् । 

प्रकाश वस्तीजीलाई कुनै एक चर्चित व्यक्तिले फोन गरेर कुनै मुद्दाको काम गरिदिन भन्यो । उहाँले सक्दिनँ भन्नुभयो । उहाँलाई त्यतिबेलै धम्की आयो कि, अब प्रधानन्यायाधीश बनेर हेर्लास् भनेर । तँलाई प्रधानन्यायाधीश बनाउनेकहाँ चामल, दाल, घिउ त मैकहाँबाट जान्छ भनेर सम्म भनियो, त्यतिखेर । हामीलाई आश्चर्य लाग्यो, तैपनि कसरी प्रधानन्यायाधीश नबन्नुहोला भन्ने पनि लाग्यो । नभन्दै प्रमाणित भयो, उहाँ त्यो लाइनमा आउन सक्नुभएन । 

यहीं हुनुहुन्छ, कल्याण श्रीमान् (पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ), उहाँले एक दिन एउटा यस्तो फैसला गर्नुभयो, जहाँ हामी नै २-३ घण्टा रोकियौं सर्वोच्चभित्रै । बाहिर त अपरेसन वार । २-४ घण्टा त सडकै जाम । भ्रष्टाचारविरुद्ध फैसला थियो त्यो, धेरै दिनसम्म उहाँले त्यसको प्रतिक्रिया फेस गर्नुपर्‍यो । रामप्रसाद श्रेष्ठ श्रीमान् (पूर्वप्रधानन्यायाधीश) एक दिन हर्रर आउनुभयो र मलाई प्रधानन्यायाधीश बनाइदिए भनेको मान्नुपर्ने रे, नबनाए नबनाउनु भन्दिएँ भन्नुभयो । मैले पनि त्यही कुरा सुनुवाइका बेला भन्दिएँ । तीन महिनासम्म मलाई प्रधानन्यायाधीश बनाइएन, झुन्डयाएरै राखियो । अग्रजको शब्द सम्झिँदै मैले पनि सुनुवाइमा भने, ‘तिमीलाई बनाउन मन छ बनाऊ, नबनाए मेरो के जान्छ !’ यसरी सुनुवाइ पार गरेको थिएँ ।

यस्ता कुरा सबैले फेस गरेका छन् । प्रकाश वस्तीजीले एउटा सुनको थालमा धुप–नैवेद्य राखी लगेर चढाइदिएको भए उहाँ प्रधानन्यायाधीश बन्नुहुन्थ्यो, तर त्यो उहाँले गर्नु भएन । बहुत दुस्ख छ । तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठले पनि भ्रष्टाचारका मुद्दा थोरै हेर्नु भएन । उहाँको सकस मैले बुझेको थिएँ । म त दोस्रो पंक्तिमा थिएँ नि । यो देशमा म इमानदार बन्छु, म जनताको सेवा गर्छु, म घूस खान्न, अनियमित काम गर्दिनँ भन्न नपाइने देश । जसले सहयोग गर्नुपर्ने, त्यही व्यक्ति कालोपट्टी बाँधेर हिँड्छ । कस्तो देश हो यो ?

म निष्ठावान हुन्छु भन्दा त्यसको विरोध हुन्छ । म तपाईंहरूलाई भन्छु, यदि फटाहा, बदमास यो मुलुकमा कोही छन् भने लुगा लाउन नपाउने, झुत्रो लुगा लगाउने, खान नपाउने, गरिब, निमुखा होइनन्, हामी हौं हामी । पढेलेखेका नै हौं । हामीले नै फट्याइँ गरिरहेका छौं, अरू होइन । किनभने हामीलाई उपयुक्त लाग्यो, फाइदा हुने भयो भने ठिकै छ भन्छौं, विरोध गर्दैनौं । नत्र त हामीले भ्रष्टाचारको इन्च–इन्चमा विरोध गर्नुपर्ने होइन रु आज सडक बन्छ, एक झरी पानीले बग्छ । पुल बन्छ, एक रातमा भत्कन्छ । भ्रष्टाचार होइन रु जनताको राजस्व दुरुपयोग भएको कुरामा हामी बोल्दैनौं । हरिबहादुर थापाजीले त किताब ९रजगज० मा लेखेर आफ्नो प्रतिबद्धता जनाउनुभएको छ । उहाँले लेखेका कुरा सबै हामीलाई थाहा छ, सबै भएकै कुरा हो । उहाँले संहिताबद्ध गर्नुभएको हो । र, पढ्नलाई व्यवस्थित बनाउनुभएको हो । उहाँ धन्यवादको पात्र हुनुहुन्छ ।

भ्रष्टाचारका मुद्दामा दुईथरी फैसला हुनु भएन । एउटा ठहर्‍याउने, अर्को नठहर्‍याउने हुनु भएन । भ्रष्टाचारमा ठहर भएकालाई पनि चुनाव लड्न दिनुपर्छ भन्ने कानुन बन्ने पनि चर्चा छ । यसरी हँुदैन । भ्रष्टाचार रोक्न कडाइका साथ आउनुपर्छ । अदालतको फैसला पनि एउटा हुनुपर्‍यो । एउटा लाइनका छौं नि जस्तो प्रकाश वस्ती, कल्याण श्रीमान्, मलगायत । हामीलाई चाहिँ सराप्ने भए, एकथरी चाहिँ वाहवाही हुने भए । हुन त जनताले हामीलाई हेर्लान् । यी न्यायाधीशले भ्रष्टाचारविरोधी फैसला गरेका छन् भन्लान् । तर यसरी दुई खालको फैसला हुनु भएन ।

यो पुस्तकबाट धेरै कुरा उजागर भएको छ । भावी पुस्तासम्मले पढ्ने इतिहासका रूपमा आएको छ । यसले ९भ्रष्टाचारविरोधी० भावना जगाएर पनि ल्याउँछ । म त युवा पुस्तालाई भन्छु, अब सहेर बस्न हुँदैन । एक करोडमा १० प्रतिशतमात्र खर्च गरेर अरू चाहिँ तह–तहमा मिलेर लुट्ने रु यो त भएन नि । वास्तवमा हामी सिद्धिएकै भ्रष्टाचारले हो । हिजोअस्ति मैले एक जना राजदूतले यति राम्रो नेपाल के भएको होला भनी आश्चर्य मान्दै लेखेको पढें । प्रत्यक्ष नभनिए पनि भ्रष्टाचारले नेपाल बन्न नसकेको छनक थियो, त्यो लेख । एकथरीले सोहोरेर खानुपर्ने, अर्कोथरी भोकै बस्नुपर्ने, नाङ्गै बस्नुपर्ने, विदेशिनुपर्ने रु (विदेशमा) नोकरी गर्न जाँदा मृत्युको ट्याग बोकेर आउनुपर्ने रु यस्तो पनि हुन्छ ? यसरी सहन हुँदैन । त्यसैले म अनुरोध गर्छु, पुस्तकले मार्गदर्शन दिएको छ । हामीले भ्रष्टाचारको कुनै न कुनै रूपबाट विरोध गर्नैपर्छ । गरेनौं भने अब यस्तो हुन्छ कि जसलाई जे गर्न मन लाग्छ, गर्छ । भ्रष्टाचार मात्र होइन, अर्काको घरमै गएर सम्पत्ति लुट्ने काम पनि सुरु हुन्छ । भ्रष्टाचार मात्र होइन, अर्को महालुटको रणसंग्राम हुन सक्छ । हामीले नियम, नीति, कानुन, विधिको शासनअनुसार काम गरेनौं भने मुलुक अन्धकारतिर धकेलिनेछ ।

(पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले हरिबहादुर थापाद्वारा लिखित ‘रजगज’ पुस्तक सार्वजनिक गर्ने क्रममा दिएको अभिव्यक्तिको सम्पादित अंश)

प्रकाशित : भाद्र १४, २०७४ ०७:३२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT