विदेश अध्ययनको सामाजिक प्रभाव

नरेन्द्र मिश्र

काठमाडौं — अन्य समाजझैं नेपाली समाज पनि हरेक तहमा तीव्र गतिमा परिवर्तित भइरहेको छ । यसको अर्थ मानिसका इच्छा, आकांक्षा र चाहना पनि समाज सँगसँगै बदलिन्छन् भन्ने हो ।

यसरी बदलिने क्रममा पुराना पुस्ताको तुलनामा नयाँ पुस्ताको सोच, विचार र दृष्टिकोणमा पनि व्यापक परिवर्तन भइरहेको छ। धेरै परिवर्तनमध्ये विदेशमा उच्च शिक्षा हासिल गर्नु पनि एक हो। यसको सम्बन्ध व्यक्ति, परिवार र समाजसँग पनि गाँसिएको हुन्छ। विदेशमा अध्ययन गर्न जाँदा भौतिक रूपमा आमाबुबाबाट टाढा रहने अवस्था रहन्छ। यसले पारिवारिक अन्तरक्रिया र सामाजिक सम्बन्धमा प्रभाव पार्छ कि पार्दैन? यो व्यक्तिगत चाहना हो कि बदलिँदो सामाजिक परिवेश? यसले हाम्रो समाजमा के–कस्तो असर पारिरहेको छ? प्रश्नहरू स्वाभाविक रूपमा उठ्छन्।

प्रत्येक दिन लगभग १५० भन्दा बढी नेपाली विद्यार्थी अध्ययनका लागि ६८ भन्दा बढी देशमा जाने गरेको पाइन्छ। शिक्षा मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार गत वर्षको सुरुको नौ महिनामा लगभग ४० हजारभन्दा बढी विद्यार्थीले अध्ययन स्वीकृति (नो अब्जेक्सन लेटर) लिएको पाइन्छ। तीमध्ये करिब ८० प्रतिशत विद्यार्थीले सम्बन्धित देशको भिसा पाएको अनुमान छ, जसमा मुख्यत: अस्ट्रेलिया, जापान, अमेरिका, पोल्यान्ड, क्यानडा, चीन र केही युरोपेली देश पर्छन्।

Yamaha

नयाँ पुस्तामाझ विदेश अध्ययन गर्ने चाहना किन बढ्दै छ त? यसको उत्तर खोज्दा एउटै मात्र कारण पक्कै पाइँदैन। आकर्षण र विकर्षणका दुइटा पाटाबाट यसलाई हेर्न सकिन्छ। आकर्षणमा विदेशमा गुणस्तरीय शिक्षा, विषयगत विशिष्टता, उज्ज्वल भविष्य निर्माण, पढाइका साथै आम्दानी, रोजगारीको अवसर र व्यक्तिगत पारिवारिक स्वतन्त्रताले तानेको देखिन्छ। विदेशमा रहेका आफन्त, छरछिमेक र साथीहरूसँगको अन्तरक्रियाले पनि यसलाई प्रोत्साहन गरेको देखिन्छ। अर्कोतर्फ, विकर्षणका दृष्टिले हेर्दा स्वदेशमा देखिएको अवसरको कमी, समयसापेक्ष शिक्षाको अभाव, बढ्दो बेरोजगारी र राजनीतिक अस्थिरताले पनि विदेशमा अध्ययन र स्थायी बसोबास गर्ने क्रम बढिरहेको पाइन्छ।

नेपाली विद्यार्थीहरू तुलनात्मक रूपमा मिहिनेती, इमानदार र लगनशील छन् भन्ने गरिन्छ, जसले आफ्नो मिहिनेत, ज्ञान र सीपलाई विदेशमै सदुपयोग गरी व्यक्तिगत मान–प्रतिष्ठाका साथै उच्च हैसियत बनाउन सफल भएका केही उदाहरण पनि छन्। यसका साथै अध्ययन गर्ने उद्देश्यले विदेश गए पनि धेरै नेपाली विद्यार्थीको पहिलो प्राथमिकता रोजगारी र विदेशमै स्थायी बसोबास गर्ने रहेको पाइन्छ। केहीले चाहिं स्वदेश फर्केर आफ्नो ज्ञान, सीप र अनुभवलाई नेपाल र नेपाली समाजको रूपान्तरणमा लगाएको पनि भेटिन्छ। तथापि अध्ययन सकेपछि स्थायी रूपमा स्वदेश फर्किने विद्यार्थीहरू तुलनात्मक रूपमा कम छन्।

विदेशमा पढ्न जानु या उतै बस्नुका सामाजिक पाटा पनि छन्। यसले नयाँ पुस्तामा अध्ययनको विशिष्टिता, पेसा, जीवनशैलीदेखि पारिवारिक अन्तरक्रिया र सम्बन्धहरूमा पुरानो पुस्ताभन्दा फरक बनाउँदै लगेको छ। यसले व्यक्तिको ज्ञान, पेसाको छनोटदेखि विवाह र परिवार सञ्चालनसम्म स्वयं व्यक्तिको आत्मनिर्णयलाई मुख्य बनाउँदै लगेको छ। नयाँ स्थान, नयाँ साथीहरूसँगको घुलमिल र फरक जीवनशैलीले पनि यसमा भूमिका खेलेको छ, जसले गर्दा पारिवारिक सामूहिक सोचाइ, निर्णय, मूल्य र मान्यताहरूमा पुरानो पुस्ताभन्दा नयाँ पुस्तामा नयाँपन आउँदै छ। छोटकरीमा भन्दा यसले पुस्तान्तरणमा बदलाव ल्याउँदै छ भन्ने पनि हो।

यो परिवर्तनका पछाडि धेरै कारण छन्। तीमध्ये सामाजिकीकरण पनि एक हो किनभने हाम्रो बदलिँदो समाजमा पुरानो पुस्ता र नयाँ पुस्ताबीच सामाजिकीकरणको पद्धति र प्रक्रियाहरूमा फरकपन आउँदै छ। यसको अर्थ नयाँ पुस्ताको सामाजिकीकरणमै परिवर्तन ल्याउँदै छ भन्ने हो किनभने पुरानो पुस्ता बढी संयुक्त परिवारमा सामाजिकीकरण भएको पाइन्छ भने नयाँ पुस्ता विशेषत: एकल परिवारमा बस्ने चलन बढ्दै छ। यसले गर्दा नयाँ पुस्ताको शिक्षा लिने तरिका, सोच, विचार, रहनसहन, जीवनशैली र उद्देश्यमा पनि फरकपन देखिँदै छ। यो समाज बदलिने स्वाभाविक क्रम पनि होला। तसर्थ सामाजिकीकरणमा आएको बदलावले नयाँ पुस्ताको मूल्य, मान्यता र विचारका साथै जीवन र जीवनशैलीलाई बुझ्ने र जिउने तरिकामा पनि भिन्नता देखिँदै छ।

यस्तो परिवर्तनले पारिवारिक अन्तरक्रिया र सम्बन्धमा प्रभाव पार्छ कि पार्दैन? यसको उत्तर खोज्दा, यसको सम्बन्ध पुरानो पुस्ताको बुढेसकालसँग पनि जोडिन थालेको देखिन्छ किनभने हाम्रो सामाजिक परिवेशलाई हेर्दा अझै पनि आफ्ना सन्तानले बुढेसकालमा हेरचाह वा पालनपोषण गरून् भन्ने मान्यता छ। यो हुनु स्वाभाविक पनि हो किनभने राज्यले आशातीत रूपमा आम नागरिकको बुढेसकाललाई जिम्मा लिइनसकेको अवस्था छ। तसर्थ एक वा दुई सन्तान मात्र भएको परिवारमा हजुरआमा–बुबा र आमा–बुबाको पुस्ता मात्र रहने अवस्था बढ्दै गएको छ, जसले सामाजिक, सांस्कृतिक, आर्थिकका साथै मनोवैज्ञानिक रूपमा प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव पार्ने क्रम बढ्दो छ। यसको अर्थ स्वदेशमा आमाबुबालाई भौतिक रूपमा आफ्नो सन्तान आवश्यक पर्दा स्वयं उपस्थिति भई हेरचाह वा स्याहारसुसार गर्ने क्रम अब बिस्तारै पातलिँदै गएको छ।

त्यसो हो भने अब बुढेसकाल कता बिताउने? स्वदेशमै कि विदेशमा छोराछोरीसँग? हजुरआमा–बुबा र आमा–बुबाको पुस्ता मात्र स्वदेशमा रहेको परिवारमा यो प्रश्न जटिल बन्दै छ। यसको उत्तर खोज्न पनि त्यत्तिकै कठिन छ किनभने विदेशमा आमाबुबालाई नयाँ स्थान, नयाँ पुस्ताको बदलिँदो जीवनशैली, व्यस्तता र कम अन्तरक्रियाले पनि सामाजिक समायोजन हुन कठिन पर्ने गरेको छ। जब कि बुढेसकाल बढ्दै जाँदा व्यक्तिले स्वाभाविक रूपमा अझ बढी पारिवारिक वा सामाजिक अन्तरक्रियाको चाहना राख्छ। यसको कमीले दैनिक दिनचर्यामा असजिलोपन, एक्लोपन र निराशा सिर्जना हुन सक्छ। हाम्रो समाज त्यसतर्फ पनि उन्मुख हुँदै छ।

प्रश्न उठ्न सक्छ, यस्तो पारिवारिक असहजतालाई कम गर्न सकिन्छ कि सकिन्न? केही परिवार र छरछिमेकको अनुभवलाई आधार मानेर हेर्दा नेपालीको बुढेसकाल विदेशमा भन्दा स्वदेशमा तुलनात्मक रूपमा बढी सहज हुन सक्ने देखिन्छ। तथापि यो कुरा व्यक्ति, पेसा, परिवार, आर्थिक हैसियत र जीवनशैलीको प्रकृतिअनुसार फरकफरक हुन सक्छ किनभने केही मुलुकहरूको अनुभवलाई हेर्दा आर्थिक हैसियत सबल रहेको परिवारमा आवश्यक सांस्कारिक कार्यबाहेक रखालो राखेर पनि बुढेसकाललाई केही सहज बनाएका थुप्रै उदाहरण छन्। छोटकरीमा भन्दा पारिवारिक संरचना, स्वरूप र आर्थिक हैसियतले बुढेसकाललाई धेरथोर सहज बनाउन मद्दत गर्छ भन्ने पनि हो।

भनिन्छ, व्यक्तिको अन्तरक्रियाको स्वरूप वा शैलीले उसको सामाजिक सम्बन्धलाई कसिलो वा खुकुलो बनाउने गर्छ। यसको अर्थ जुन व्यक्तिसँग प्रत्यक्ष अन्तरक्रिया रहिरहन्छ, उसैसँग आफ्ना द:ुख–सुख साटासाट गर्नु मानवीय स्वभाव पनि हो। तथापि गाउँ, सहर र सहरबाट विदेश पस्ने क्रमले आमाबुबाको पुस्ताको मात्र पारिवारिक बनावट, बुढेसकालको जीवनशैली र पातलिँदो प्रत्यक्ष अन्तरक्रियालाई चाहेर वा नचाहेर स्वीकार गर्नुपर्ने अवस्था देखिन्छ। यसलाई अर्को अर्थमा भन्दा– नेपाली समाजको संरचनागत परिवर्तनका लागि यसले एउटा इँटा थप्ने काम गरिरहेको छ। तथापि व्यक्तिको स्वास्थ्य, सक्रिय जीवनशैली, सामाजिक नेतृत्व र सामाजिक अन्तरक्रियाले जीवन जिउन अलि बढी सहज बनाउन सक्छ। यसका साथै बदलिँदो पारिवारिक अन्तरक्रिया, सामाजिक सम्बन्ध र बुढेसकालको जीवनशैलीलाई बुझ्न र सहज बनाउन थप सामाजिक अनुसन्धानको पनि खाँचो देखिन्छ।

प्रकाशित : आश्विन २२, २०७४ १५:२७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

स्वरोजगारी समाजशास्त्र

नरेन्द्र मिश्र

केही समयअघि दुइटा समाचार पढ्ने मौका मिल्यो। एउटा समाचार अछामको साँफेबगरमा ‘सोसाइटी होटल एन्ड रेस्टुरेन्ट’ खोलेर बसेका प्रोप्राइटर हिक्मत कुँवर र उहाँकी श्रीमती सुनिताको थियो।

समाजशास्त्रमा स्नातकोत्तर गरेका उहाँहरू दुवैले केही वर्षदेखि होटल व्यवसाय सञ्चालन गर्दैै आउनुभएको रहेछ। अर्को समाचार बाँके, कोहलपुरका विष्णु पोखरेल र उहाँकी श्रीमती शारदाको थियो। उहाँहरू दुवैले पनि समाजशास्त्रमा डिग्री गरे पनि आठ वर्षदेखि गाईपालन गर्दै आउनुभएको रहेछ। यी दुबै समाचारले मनमा केही प्रश्न उब्जिए। पढेपछि जागिर नै गर्नुपर्छ भन्ने मान्यता समाजमा अझै छ कि परिवर्तन हुँदैछ? स्वरोजगारी स्वेच्छिक हो कि बाध्यता? यसले सामाजिक सम्बन्धलाई जोड्छ कि भत्काउँछ? 

नेपाली समाज र शिक्षा 
हाम्रो समाजमा शिक्षासँग जोडिएका सामाजिक मान्यतामा व्यापक परिवर्तन भैरहेको छ। यसको अर्थ मानिसको सोच, विचार, दृष्टिकोण र जीवनशैलीमा पनि बदलाव आएको छ। तापनि हाम्रो समाज, शिक्षा र गुजारा प्रणालीलाई हेर्दा अझै पनि स्थायी जागिरसँग जोडिएको सामाजिक मान्यता छ, तर परिवर्तन भैरहेको छ।

स्थायी जागिर वा भनौं सरकारी जागिरलाई तुलनात्मक रूपमा जीवनयापन सहज बनाउनेदेखि सामाजिक मानप्रतिष्ठासँग जोडेर हेर्ने गरेको पाइन्छ। यसका लागि अध्ययन गर्ने विषय र त्यसको प्रयोग प्रत्यक्ष रूपमा जीवन गुजारासँगै जोडिएको छ भन्ने पनि हो। यसमा अन्य विषयजस्तै समाजशास्त्र पनि अछुतो रहन सक्दैन। तसर्थ उच्चशिक्षा अथवा डिग्री हासिल गरिसकेपछि के गर्ने, कसरी व्यक्ति तथा पारिवारिक जीवनलाई गर्व र खुसीसाथ सहज बनाउने भन्ने प्रश्नले पछ्याइरहेको देखिन्छ। 

यसको एउटै उत्तर खोजी गर्न कठिन छ। विगतमा समाजशास्त्रमा डिग्री गरिसकेपछि विशेषत: राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई कार्यक्षेत्र बनाउनेमा प्राथमिकता थियो र हाल पनि छ। दोस्रो क्षेत्रका रूपमा शिक्षण पेसालाई लिएको पाइन्छ। स्वतन्त्र अनुसन्धानकर्ता, लेखनकार्य र सामाजिक कार्यकर्ता वा सुधारका साथै स्वरोजगारी क्षेत्रमा पनि आफ्नो पढाइ, ज्ञान, सीप र अनुभवलाई कार्यक्षेत्र बनाउन थालेको पनि पाइन्छ। 

स्वरोजगारी : इच्छा कि बाध्यता?
हाम्रो समाजमा स्वरोजगारीलाई हेर्ने दृष्टिकोणका दुइटा पाटा छन्। प्रथम, व्यक्ति वा परिवारको चाहनाले डोर्‍याएको स्वरोजगारी। जसमा व्यक्तिगत तथा पारिवारिक इच्छा, स्वतन्त्रता, बढी आम्दानी गर्ने अभिलाषा र पारिवारिक सदस्यबाट सञ्चालन गर्न सकिने कारणले प्रभाव पारेको देखिन्छ। अर्कोतर्फ बाध्यताले सिर्जना गरेको स्वरोजगारी जहाँ रोजगार हुने अवसर प्राप्त गर्न नसक्नु वा भनौं जागिर पाउने विकल्प नहुनाले पनि स्वरोजगारीका क्षेत्र बढेको पाइन्छ। तसर्थ यहाँ प्रश्न उठ्न सक्छ, के बेरोजगारी बढ्नु भनेको स्वरोजगारीका प्रकृति र क्षेत्र बढ्नु हो? यसका पछाडि व्यक्तिको आवश्यकता, बेरोजगारी, अवसरको अभाव, खर्चिलो जीवनशैली र बदलिँदो सामाजिक परिवेश पनि पक्कै हो। 

स्वरोजगारी र सन्तुष्टि 
खुसी वा भनौं सन्तुष्टि केलाई मान्ने? आधुनिक भौतिक वस्तुको उपभोग गर्न पाएकामा सन्तुष्टि मान्ने कि सरल जीवनयापनमा? सन्तुष्टि पनि व्यक्ति, परिवार, परिवेश, स्थान, समय, वर्ग र पेसाअनुसार फरक—फरक हुने गर्छ। व्यक्तिको सन्तुष्टि विशेषत: राजनीतिक, सामाजिक र आर्थिक पक्षसँग जोडिएको हुन्छ। सन्तुष्टि र असन्तुष्टि दुबै समाजकै उत्पादन हो। त्यसैले यो राज्यव्यवस्था, समाज र संस्कृतिअनुसार फरक—फरक हुने गर्छ। स्वरोजगारी पनि व्यक्ति र परिवारको खुसीसँग जोडिएको हुन्छ। 

स्वरोजगारी र सामाजिक सम्बन्ध 
हाम्रा गाउँहरू तीव्र रूपमा सहरीकरणतर्फ उन्मुख भैरहेका छन्। लगभग ४२ प्रतिशत मानिस सहरको जीवनशैलीमा व्यस्त हुनथालेको तथ्याङ्कले पुष्टि गर्छ। यसले गर्दा सहरको जीवनशैली र सामाजिक सम्बन्धलाई इच्छा वा बाध्यताले रुचाउनेहरूको सङ्ख्या वृद्धि भैरहेको छ। व्यक्तिको ब्यस्त समय, रोजगारी, आम्दानीमा भएको वृद्धिले सामाजिक सम्बन्धमा परिवर्तन ल्याउँछ। यसले गर्दा व्यक्तिको आफ्नो पेसा वा वर्गले आफ्नो छुट्टै समूह वा सामाजिक सम्बन्ध बन्ने, थपिने र पुन: बन्ने क्रम जारी रहन्छ। 

केही ग्रामीण समाजलाई हेर्ने हो भने पारिवारिक स्वरोजगारीले सामाजिक सम्बन्ध तुलनात्मक रूपमा प्रगाढ बनाएको पाइन्छ। स्वरोजगारी नै सर्वोत्तम भन्ने पनि होइन होला। तर स्वरोजगारीले खुकुलिँदै गएको पारिवारिक सम्बन्धलाई जोड्न मद्दत गर्छ। भनिन्छ, व्यक्तिको सानो कामले पनि समाजमा सकारात्मक प्रभाव पार्न सक्छ। तसर्थ कँुवर र पोखरेल दम्पतीको स्वरोजगारी कार्यले समाजमा सकारात्मक प्रभाव पारेको देखिन्छ। 

निष्कर्ष
कुनै पनि शिक्षा एक विशुद्ध बौद्धिक विधाका रूपमा मात्र रहेको पाइँदैन। त्यससँग ज्ञान, सहज जीवनशैली, रोजगारी, मानप्रतिष्ठाका साथै पारिवारिक सम्बन्ध पनि जोडिएका हुन्छन्। यसको अर्थ शिक्षित हुनु भनेको बौद्धिकता आर्जन गर्नुमात्र नभएर जीवन सहज र सुखी बनाउनु पनि हो। त्यसकारण समाजशास्त्रको अध्ययन पनि यसबाट अलग हुन सक्दैन। स्वरोजगारीले बदलिँदो वर्तमान समाजमा तुलनात्मक रूपमा धेरथोर सकारात्मक प्रभाव भने पक्कै पारेको छ। यसले स्थानीय रोजगारीको सिर्जना, आर्थिक वृद्धि, सामाजिक नेतृत्वको परिपूर्तिका साथै सामाजिक सम्बन्धलाई जोड्न मद्दत गर्छ। तसर्थ रोजगारी वा भनौं स्वरोजगारी सिर्जना गर्न सम्बन्धित निकायले अझ सशक्त रूपमा काम गर्न आवश्यक छ। 

प्रकाशित : चैत्र १२, २०७३ ०८:५१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT