हामी कस्तो नेता खोज्दै छौं ?

मिलन पाण्डे

काठमाडौँ — सत्तरीको दशकसम्म क्यानाडालाई ‘ह्वाइट क्यानाडा’ भनिन्थ्यो । क्यानाडा उदार बनिसकेको थिएन । १९६८ मा पियरी ट्रुडो प्रधानमन्त्री भएपछि क्यानाडाले बहुसांस्कृतिक नीति अपनायो, जुन चलिआएको धारभन्दा विपरीत थियो ।

यो निर्णयसँगै क्यानाडा अध्यागमनमा उदार बन्यो, जसले शिक्षा, स्वास्थ्य, भाषामा उत्कृष्टतालाई प्राथमिकता दिलायो। ट्रुडोले बहुसांस्कृतिक पाटोलाई अर्थतन्त्रसंँग जोडे। क्यानाडा विकासको पथमा लम्कियो।

ली क्वान युले सिंगापुरमा लगातार करिब तीन दशक शासन गरे। उनको शासनशैली तानाशाहको जस्तै देखिन्थ्यो, तर उनले आम नागरिकलाई आफ्नो नेतृत्वप्रति विश्वास दिलाउन सफल भए र सिंगापुरले विकास चुम्यो। सन् १९६१ को सैनिक विद्रोहपछि स्थापित कोरियाका नेता पार्क चुङ हीले जनताको भावना समेट्दै कठोर विकास नीति अपनाए। उनले पनि जनसमर्थन पाए। मलेसियाका मोहम्मद महाथिर हुन् वा रुवान्डा राष्ट्रपति पल कागामे, यी सफल नेतृत्वले आफ्नो माटो सुहाउँदो विकासपथ अवलम्बन गरे। आम नागरिकलाई नतिजा दिए। जनसमर्थन पाए।

Yamaha

हाम्रा नेता कहाँ चुक्दैछन्?
नेपाल सात दशकदेखि संक्रमणकालमै अल्झिएको छ। यो बीचमा पटक–पटक राजनीतिक आन्दोलन भए, अनि प्रत्येक आन्दोलनमा आम नागरिकले ज्यानको बाजी थापेर नेतृत्वलाई साथ दिए। प्रत्येक आन्दोलनले नेतालाई स्थापित गर्‍यो, अनि नेताले देश हाँक्ने अवसर पाए। तर कुनै पनि नेताले त्यो अवसर सदुपयोग गर्न सकेनन्। गणतन्त्र प्राप्तिपछि हाम्रा नेता उद्देश्यविहीन झैं बने। आन्दोलनको नेतृत्व गरेकै व्यक्तिले समृद्धिको पनि नेतृत्व गर्न तम्सनु नै समस्याको कारण देखिँदै गयो। सही समयमा सही नेतृत्वलाई सत्ता हस्तान्तरण गर्न नसक्नु नै नेतृत्वको असफलताको प्रस्थानविन्दु रह्यो।

हाम्रा नेताले आन्दोलनमा कार्यकर्ता प्रयोग त गरे, तर आन्दोलन सकिएपछि कार्यकर्तालाई अलपत्र छाडे। आफ्नै कार्यकर्ता व्यवस्थापनमा चुकेपछि उनीहरूले कार्यकर्ताबाटै विश्वास गुमाउन सुरु गरे, जुन विस्तारै आम नागरिकसम्म फैलियो। नेताहरू आफ्नै सानो गुटमा सीमित भई व्यक्तिगत स्वार्थमै रमाइराखे। नतिजा, आन्दोलनको बेला पाएको जनसमर्थन गुम्दै गयो। निर्णय प्रक्रियामा अन्य पक्षलाई सामेल गराउन सकेनन्। जसले गर्दा सहकर्मी, कर्मचारी अनि आम नागरिकले उनीहरूको निर्णयमा अपनत्व महसुस गर्नै सकेनन्। त्यसको असर कार्यान्वयन पक्षमा देखियो। यस्तै नेताहरूले आफू कमजोर हुने डरले देशका विभिन्न अंग (संस्था) हरू बलियो बनाउन कहिल्यै जोड गरेनन्। तर त्यही संस्थाहरू कमजोर हँुदै जाँदा उनीहरू आफै पनि कमजोर बन्दै गए।
भिसा क्रेडिट कार्डका संस्थापक डी हकले भनेका छन्, ‘तिमी सफलतापूर्वक नेतृत्व गर्न चाहन्छौ भने आफ्नो समयको ४० प्रतिशत समय आफैलाई नेतृत्व गर।’ विडम्बना, हाम्रा नेताले आफैलाई समेत नेतृत्व गर्न सकेनन्। उनीहरू आसेपासे अनि केही कार्यकर्ताको नियन्त्रणमा देखिन्छन्। नेताले निश्चित समय आफ्नै व्यक्तित्व विकासमा पनि खर्चनुपर्छ। तर उनीहरूले त्यसमा ध्यान दिएनन्। नेताहरूले अल्पकालमा हुने व्यक्तिगत अनि पार्टीगत फाइदाका निम्ति जे पनि बोले, जे पनि गरे। तर त्यसको दूरगामी असरबारे सोचेनन् वा सोच्न सकेनन्। तसर्थ आफ्नै अदूरदर्शिताको भारीले थिचिए। तर पनि उनीहरूले न आत्मालोचना नै गर्नसके, नत त्यसलाई सच्याउने सामथ्र्य नै राखे।

यस्तो हुनुपर्छ नेता
२१ औं शताब्दीले खोजेको नेतामा निम्न गुण हुन जरुरी छ।

भिजन : नेतामा स्पष्ट भिजन हुनुपर्छ। उसले ससानो व्यवस्थापनका कुरा बुझ्न जरुरी छ र ती प्रत्येक कुरालाई ठूलो चित्रसँग जोड्ने सामथ्र्य राख्न सक्नुपर्छ। आफूले यो काम किन गरिरहेको छु र यसले भविष्यमा देशका अन्य पाटोलाई कसरी असर गर्छ भन्ने हेक्का राख्न सक्नुपर्छ।
कार्यान्वयन अनि व्यवस्थापन : नेल्सन मन्डेलाले भनेका छन्, ‘योजना बिनाको कार्य समयको बर्बादी हो। कार्यान्वयन बिनाको योजना दिवास्वप्ना हो। कार्यान्वयन सहितको योजनाले चाहिँ संसार बदल्न सकिन्छ।’ आफ्नो भिजनको कार्यान्वयनमा दृढतापूर्वक निरन्तर लाग्नु नै नेतृत्वको सफलताको कडी हो। नेता आफै सबै कुराको विज्ञ हुँदैन, तर कुन काम कसलाई गराउने अनि कसको सल्लाह लिने भन्नेबारे चाहिँ नेता विवेकी हुन जरुरी छ।

विश्वसनीयता : राजनीतिमा नेताले आफ्नो टोली, समकालीन नेतृत्व अनि आम नागरिकको विश्वास जित्न जरुरी छ। जब नेताले इमानदारिताका साथ आम नागरिकको समस्यालाई मेरो समस्या हो भनेर समानुभूति राख्छ, तब आम नागरिकको साथ मिल्छ। जनआस्था प्राप्त सरकार जनमत प्राप्त सरकारभन्दा शक्तिशाली हुन्छ।

टिम वर्क : एउटा भनाइ छ, ‘तिमीले जस्तो पनि परिवर्तन ल्याउन सक्छौ, तर एक्लै सक्दैनौ।’ नेताले आफ्नो भिजनमा सबैको अपनत्व ल्याउन सक्नुपर्छ। आफ्नो टोलीमा सकारात्मक ऊर्जा सञ्चार गर्न सक्नुपर्छ। नेताले आफू होइन कि आफ्नो संगठन बलियो बनाउन सक्नुपर्छ।

कम इगो : राजनीतिमा सबैभन्दा ठूलो रोग ‘इगो’ हो। जति ‘ठूलो’ व्यक्ति, उति ठूलो इगो। यो मानवीय गुण नै हो। तर नेताले यसमै आफूलाई व्यवस्थित गर्न सक्नुपर्छ। आफ्नो मात्रै सोच ठिक छ र म आफैले मात्रै गर्न सक्छु भन्ने व्यक्तिले नेतृत्व गर्न सक्दैन।

प्रभावशाली व्यक्तित्व : नेता प्रभावशाली हुन जरुरी छ। ‘करिजम्याटिक’ नेताले आफूलाई सजिलै जनतासँग जोड्न सक्छ। आफ्नो संगठन अनि विपक्षलाई समेत विश्वासमा लिन सक्छ। अरुको भावना बुझ्न सक्ने अनि आफ्नो भिजन, ऊर्जा अनि विश्वासलाई अभिव्यक्त गर्नसक्ने व्यक्ति नै नेता बन्न सक्छ।

मूल्य–मान्यताको एकरूपता : नेतृत्वको सफलता अनि असफलता नेतृत्वको व्यक्तिगत मूल्य–मान्यता अनि उसले नेतृत्व गरेको संगठनको मूल्य–मान्यता बीचको एकरूपताको डिग्रीले निर्धारण गर्छ। तसर्थ नेताले आफूले काम गर्ने संगठन, आफ्ना सहकर्मी अनि पार्टी कार्यकर्ताको मूल्य–मान्यताबीच एकरूपता ल्याउन पनि नेतृत्व लिनुपर्छ।

अन्त्यमा, २० औं शताब्दीसम्म नेतृत्वको सफलताको मापन धेरै हदसम्म उसको त्यागले निर्धारण गर्‍यो। २१ औं शताब्दीमा नेतृत्वको सफलताको मापन त्यागले मात्रै गर्न सकिँदैन। अबको राजनीतिले नेताको योगदान, नेताले लिएको निर्णयको दूरगामी असर अनि त्यसले आम मानिसमा ल्याउने प्रभावसमेत हेरेर मूल्यांकन गर्नेछ। हाम्रो देशलाई समृद्ध बनाउन पनि सक्षम नेतृत्व चाहिएको छ, जो दूरदर्शी अनि आम नागरिकको विश्वास जित्न सक्ने होस्। हाम्रो देशले आम मानिसभन्दा अगाडि पनि होइन, पछाडि पनि होइन, सँगसँगै हिँड्न सक्ने नेता खोजिरहेको छ।
ट्विटर : @milanleads

प्रकाशित : आश्विन २२, २०७४ १५:२६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

राजनीतिमा युवाको हस्तक्षेप

मिलन पाण्डे

काठमाडौं — सन् २०२० सम्ममा आधा चिनियाँको उमेर ३७ वर्षभन्दा कम हुनेछ, आधा भारतीयको उमेर २९ वर्षभन्दा कम हुनेछ भने आधा नेपाली २२ वर्षभन्दा कम उमेरका हुनेछन् । नेपालमा ४५ वर्षमुनिका ८१ प्रतिशत मानिस छन् ।

यो तथ्यांकले जति ऊर्जा भर्छ, अर्को तथ्यांकले त्यति नै निराश बनाउँछ। गत संविधानसभामा ४० वर्षभन्दा मुनिका सभासद जम्मा १४ प्रतिशत मात्र थिए। यसमा समानुपातिकको तथ्यांक हटाउने हो भने प्रत्यक्षतर्फ २.५ प्रतिशत युवा सभासद मात्रै चुनिए। केही महिनाअघि मात्रै भएको स्थानीय निर्वाचनको पहिलो चरणमा स्थानीय तहका प्रमुखमा ६० वर्ष कटेका ७१ प्रतिशत उम्मेदवार निर्वाचित भए भने ४० वर्षमुनिका जम्मा १८ प्रतिशत मात्रै। नेपाल युवाले भरिएको तर नेतृत्वमा युवा नरहेको देश बनेको छ।

राजनीतिमा संलग्न युवाका समस्या
लहैलहैमा लागेर राजनीतिमा जाने युवाको संख्या उल्लेख्य भए पनि बुझेरै संलग्न हुनेको संख्या भने निकै कम छ। राजनीतिमै भएर पनि राजनीतिमा हस्तक्षेप गर्न सक्ने युवा त बिरलै भेटिन्छन्। राजनीतिमा युवा नेतृत्व विकसित र स्थापित हुन नसक्नुका मुख्यतया ३ कारण छन्–

१) स्रोत साधनमा पहुँचको समस्या
राजनीतिमा लाग्ने युवा कि त विद्यार्थी वा भर्खरै पेसा व्यवसाय गर्न सुरु गरेका हुन्छन् जसको पहुँचमा हुने स्रोतसाधन सीमित छन्। युवा आफ्नो व्यक्तिगत खर्च, राजनीतिक अभियानमा हुने खर्च र कति अवस्थामा त परिवारको आर्थिक भार पनि वहन गर्नुपर्ने अवस्थामा हुन्छन्। आम्दानी कम र दायित्व बढी हँुदा कसरी त्यसको व्यवस्थापन गर्ने भन्ने चुनौती रहेको छ। धेरै युवाले सुरुमा राजनीतिमा हामफाले पनि पछि आर्थिक अवस्थाकै कारण छाड्छन्। नेपाली राजनीतिमा कहिल्यै समाधान नभएको एउटा प्रश्न हो, ‘नेताको जीविका कसरी चलाउने?’ युवाका हकमा त यो प्रश्न झन् पेचिलो बनेर आउँछ। नेतृत्वका लागि सहयोगी संरचना नबनाउने हो भने युवाका निम्ति यस्तो अवस्थामा पारदर्शी तथा जनमुखी राजनीति गर्न निकै कठिन हुन्छ।

एउटा संवाद सम्झन्छु, एकजनाले भन्छन्, ‘आफ्ना लागि पुग्ने कमाइ गरेर मात्रै राजनीतिमा लाग्नुपर्छ।’ त्यसको प्रतिउत्तरमा अर्का व्यक्तिले जवाफ दिन्छन्, ‘राजनीतिमा कमाइधमाइ भएका मात्रै लाग्ने हो भने त यो धनीहरूको क्लब भइहाल्छ नि।’ यो हिसाबमा हामीले ती तमाम युवालाई धन्यवाद दिनैपर्छ जो गाडी भाडा नभएर अभियानमा जान सक्दैनन् तर पनि देशमा परिवर्तन ल्याउने अभियानमा पैदलै हिंडेर पनि आफ्नो उपस्थिति जनाउँछन्।

२) आम दृष्टिकोण
केही समयअघि एउटा विद्यालयमा एकजना नवनिर्वाचित मेयरले भाषण गरे, ‘नगरपालिकाका तर्फबाट यस विद्यालयलाई सहयोग गर्छौं ताकि यहाँका विद्यार्थी ठूला डाक्टर, इन्जिनियर, कर्मचारी बनून्।’ एउटा नेताले विद्यार्थीलाई नेता बन भनेर भन्न सक्ने अवस्था किन छैन?

प्रत्यक्ष रूपमा पार्टी कार्यकर्ता र अभियन्ताको तहमा मात्रै होइन, मतदाता अनि आम नागरिकको हैसियतमा पनि आम युवा राजनीतिमा संलग्न हुन चाहँदैनन्। धेरै युवाले पनि
आफ्नो मतदाता पत्र बनाएकै हँुदैनन्। जब एकजना युवाले आफ्नो संलग्नताले राजनीतिमा फरक पर्छ भनेर महसुस गर्न सक्दैन भने ऊ किन संलग्न हुने? प्रश्न यहींनेर आउँछ। अर्को कुरा, के शेरबहादुर देउवा, केपी ओली अनि प्रचण्डलगायत नेताले आम युवालाई प्रतिनिधित्व गरिरहेका छन् त? छैनन् भने युवालाई राजनीतिमा लाग्ने प्रेरणा दिने त्यो ‘रोल मोडल’ खोइ त?

साथै, हालको राजनीति गुन्डागर्दी, झैझगडा, अपराधीकरण, भ्रष्टाचारतिर उन्मुख भएकाले पनि आम नागरिकको राजनीतिप्रति हेर्ने दृष्टिकोण त्यति राम्रो छैन।

३) पार्टीगत संरचना
युवाको राजनीतिमा सहभागिताको समस्या आउनमा हाम्रो पार्टी संरचना अनि राजनीतिक संस्कारमै समस्या छ। हामी यहाँ नेता जन्माउनेभन्दा पनि आफूले गरेको निर्णयमा सहमति जनाउने जमात बनाउन बढी रुचि राख्छौं। राजनीतिमा युवाक लागि पदमा पुगेर योगदान गर्ने संरचना नै हामीले विकास गर्न सकेका छैनौं। कि त शीर्ष नेतृत्वको सन्तान हुनुपर्ने कि त धेरै स्रोतसाधन चाहिने परिपाटीले पनि निष्ठावान् युवा राजनीतिमा आकर्षित छैनन्। साथै, युवा संगठन अनि विद्यार्थी संगठनका नाममा राजनीतिक दुरुपयोग गरेर युवाको जिन्दगी बर्बाद पार्ने परिपाटीले पनि राजनीतिक मोह घट्दै छ।

युवा, राजनीति अनि समाधान
हामी सहभागितामूलक लोकतन्त्रमा छौं तर नेपाली राजनीतिले युवालाई सहभागी गराउन सकिरहेको छैन। यसले लोकतन्त्रलाई नै कमजोर बनाउँदै छ। तसर्थ, अब युवालाई राजनीतिमा पर्याप्त भूमिका दिन सक्ने माहोल बनाउन जरुरी छ। ऊर्जाले साहस गर्छ, अनुभवीले सम्झौता। अब साहस गर्न सक्ने उत्कृष्ट व्यक्तिहरू राजनीतिक नेतृत्वमा किन नआउने?

युवालाई राजनीतिमा प्रवेशका लागि आकर्षण गर्न पार्टीले नै नीति अनि कार्यक्रम किन नबनाउने? सक्षम युवालाई राजनीतिक रूपमा विकास गर्न अनि आर्थिक रूपमा सहयोग गर्न अब पार्टी अनि राज्यकै तहबाटै पहल किन नगर्ने? अहिले युवाको दुरुपयोग गर्ने संस्कारभन्दा युवालाई सक्षम नेता बनाउने संरचना अब पार्टीभित्रै किन नबनाउने? संगठनले युवामा जति लगानी गर्छ, देशले त्यति नै लाभ पाउँछ।

दोस्रो कुरा, आज राजनीति अनि नेतृत्वप्रति जुन दृष्टिकोण छ त्यसलाई बदल्न एक सक्षम युवा पुस्ताले नेतृत्व लिन जरुरी छ जसले आउँदै गरेको युवालाई पनि राजनीतिमा संलग्न हुन अभिप्रेरित गरोस्। अब प्रत्येक पार्टीमा युवालाई अगाडि बढाउने संयन्त्र नै बन्नुपर्छ। युवालाई नतिजा निकाल्न अनि जवाफदेही हुन बढी कर लाग्छ किनकि उनीहरूलाई आफूलाई साबित गर्नुपर्ने चुनौती हुन्छ। शीर्ष नेतृत्वले युवामा आत्मविश्वास थप्दै नेतृत्वको अवसर प्रदान नगरेसम्म देशको भविष्य उज्ज्वल हुन सक्दैन। अब शीर्ष नेतृत्व अनि संगठनको मूल्यांकन नै उसले कति सक्षम नेतृत्व जन्माउन सक्छ भन्नेले मापन हुनुपर्छ।

युवाले पार्टी कार्यकर्ताका रूपमा मात्र नभएर स्वतन्त्र विचार विमर्श गर्ने समूहका रूपमा पनि सहभागी भएर राजनीतिलाई दिशानिर्देश गर्न सक्छन्। आफ्नो नेता अनि प्रतिनिधिलाई जवाफदेही बनाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्। राजनीतिक दलभित्रै पनि आफ्ना नेताहरूलाई दबाब दिन सक्छन्। अब पनि युवालाई अनुभवहीन भनेर पन्छाउने हो भने फेरि हाम्रो राजनीति अनि हामी अघि बढ्न सक्दैनौं। राजनीतिमा नयाँ अध्याय सुरुवात गर्ने हो भने सक्षम युवा आउनुको विकल्प छैन। अहिले पार्टीमा भएका युवा मुख्य नेतृत्वमा हस्तक्षेप गर्ने वा आफ्नो एजेन्डामा नेतृत्वलाई हिँडाउन सक्ने ल्याकत राख्दैनन्। अब सुसंस्कृत राजनीति अनि समृद्ध नेपालका निम्ति युवाको भूमिका सशक्त बनाउनुको विकल्प छैन।
पाण्डे विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य हुन्। ट्वीटर– @milanleads

प्रकाशित : आश्विन २२, २०७४ ०७:०८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT