१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

लेनिनसँग च्याट

सिउँडी
विमल निभा

काठमाडौँ — मरेड सरासरी यतातिर आइरहेका थिए । नयाँ कमरेड हुन् । एकाध महिनाअघि नै पार्टी प्रवेश गरेका । पहिले कुनै घोर गैरकमरेडीय पार्टीमा थिए । हाल यतै सशरीर मौजुद रहेका छन् । मेरा पुराना परिचित हुन् ।

लेनिनसँग च्याट

‘नमस्ते कमरेड ।’
‘नमस्ते ।’ मेरो अभिवादनको जवाफमा अघि बढेर दह्रोसँग हात मिलाए उनले ।
‘कताबाट कमरेड ?’ मेरो विलकुलै सामान्य प्रश्न थियो, ‘पार्टीबाट आइरहनुभएको हो, कमरेड ?’
‘हो, पार्टीबाट ।’ उनले अत्यन्तै आनन्दित मुद्रामा भने, ‘बडो मजा
आयो पार्टीमा ।’
‘तपाईलाई पार्टी प्रवेशमा अहिलेसम्म मजा आइरहेको छ, कमरेड ?’ म पनि दंग परेको थिएँ ।
‘कस्तो पार्टी प्रवेश ?’ उनले आफ्नो अनुहारको आनन्दलाई केही मत्थर पारेर मतिर हेरे ।
‘यही कम्युनिष्ट पार्टी प्रवेश नि ।’
‘तपाईको कुरो मैले बुझिन ।’
‘केही सप्ताहअघि पार्टी प्रवेश गर्नुभएको होइन कमरेड ?’ मैले सम्झाउन खोजेंँ उनलाई, ‘त्यही कम्युनिष्ट पार्टी प्रवेशको कुरा गरेको हुँ मैले ।’
‘एक, कम्युनिष्ट पार्टी प्रवेश ?’
उनले भने ।
‘हो, कम्युनिष्ट पार्टी प्रवेश ।’
‘त्यो त हो ।’ कमरेडले आफ्नो अनुहार बिगारे, ‘तर अहिले त म सोल्टी होटलको पार्टी एटेन्ट गरेर आइरहेको छु ।’
‘हत्तेरिका ।’ मैले पनि मुख बिगारेर भनेंँ, ‘म त कमरेडलाई पार्टी अफिसमा पुगेर आइरहनुभएको हो कि भनेर सोधिरहेको हुँ ।’
‘हो, हो, हो, हो....।’ कमरेड उन्मुक्त ढंगले हाँस्न थाले ।
म चाहिंँ आफ्नो बेवकुफीमा थोरै लज्जित भएर चुप लागेंँ । कमरेड हासिनै रहेका थिए । केही बेरपछि कुराकानीलाई ठाउँमा ल्याउन मैले विस्तारै सोधँें, ‘कमरेड, कस्तो रह्यो त पार्टी ?’
‘कुन पार्टी ?’
‘हें हें....।’ म अलिकति हासेँ, ‘सोल्टी होटलको पार्टी ?’
‘सोल्टी होटलको पार्टी ?’
‘हो, सोल्टी होटलको पार्टी ।’
‘बडो राम्रो रह्यो ।’ कमरेडले चरम आनन्दमा पुगेर भने, ‘पहिले तीन बोतल चिसो बियर लिएँ, त्यति मजा लागेन । अनि फटाफट रेडवाइन लिन थालँें । त्यसमा पनि त्यति मजा नआएकोले आखिरीमा आफ्नो पेटेन्ट ह्विस्की नै लिएँ ।’
‘हेर्नाेस्, ह्विस्की जतिको मजा अरू केहीमा छैन ।’ उनले उही आनन्दको भावमा थपे ।
कमरेड सोल्टी होटलको पार्टीको आनन्ददायी यादमा पुरै डुबेका थिए । अर्थात् ह्विस्कीमा । त्यसकारण उनलाई त्यहाँबाट निकाल्न मैले कुरालाई मोड्न खोजँें, ‘अनि तपाईको पार्टीको कुरो के छ नि कमरेड ?’
‘भनिहालँें नि, जति बियर र वाइन लिए पनि ह्विस्की जतिको मजा अरू केहीमा छैन ।’ उनले प्रमुदित मुद्रामा भने, ‘अझ ह्विस्कीमा पनि बरबन ह्विस्कीको के कुरा गर्नु !’
‘होइन, म बियर, वाइन र ह्विस्कीको कुरा गरिरहेको छैन ।’ मैले भनँें, ‘म पार्टीको कुरो गरिरहेको छु, कमरेड ।’
‘म पनि त पार्टीकै कुरो गरिरहेको छु नि, अरू के ?’
‘म तपाईको पार्टीको कुरो गरिरहेको छु, कमरेड ।’ मैले स्पष्टसँग भन्नुपर्‍यो, ‘तपाईले ज्वाइन गर्नुभएको कम्युनिष्ट पार्टीको कुरो नि ।’
‘ए, कम्युनिष्ट पार्टीको कुरो !’ उनी एक्कासी गम्भीर भए, ‘अचेल म पार्टीमा क्लास लिइरहेको छु ।’
‘कस्तो क्लास कमरेड ?’
‘खोइ, वैचारिक क्लास भन्छन् ।’ उनको गम्भीरता अरू बढ्यो, ‘हाम्रा ठूला–ठूला नेता कमरेडहरू क्लास लिइरहेका छन् ।’
‘बल्ल माक्र्सवादी हुन थाल्नुभयो, कमरेड ।’ म हलुका मुस्कुराएँ, ‘अब तपाई विचारले पनि पक्का माक्र्सवादी हुने हुनुभयो ।’
‘को माक्र्स ?’ कमरेडले अचम्मसँग प्रश्न गरे मसँग, ‘के माक्र्सवादी ?’
‘तपाईकै माक्र्सवादी पार्टीको माक्र्स ?’ मेरो स्वरमा चिढिएको भाव थियो, ‘माक्र्सबारे पनि थाहा छैन, कमरेडलाई ?’
‘किन थाहा नहुनु ?’ कमरेडले जोशका साथ भने, ‘चाइनाको माक्र्स ।’
‘चाइनाको माक्र्स ?’
‘हो, चाइनाको माक्र्स ?’ उनले जोड दिएर भने, ‘चाइनाको
क्रान्तिकारी माक्र्स ।’
‘अनि लेनिनलाई नि ?’ मेरो मनमा उनको वैचारिकतामाथि सन्देह उत्पन्न भएकोले सोधेंँ, ‘लेनिनलाई त चिन्नुभएको होला कमरेड ?’
‘लेनिनलाई त म पहिलेदेखि नै चिन्छु ।’ कमरेडले मेरो प्रश्नको जवाफमा झट्ट भने, ‘यो पार्टीमा आउनुभन्दा अघि मैले लेनिनलाई भेटिसकेको छु ।’
‘कहाँ भेट्नुभयो, लेनिनलाई ?’ म चकित थिएँ ।
‘पोहोर नै लन्डनमा भेटेको हुँ, लेनिनलाई ।’
‘पोहोर लन्डनमा भेट्नुभएको हो कमरेडले लेनिनलाई ?’
‘हो, एउटा इन्टरनेसनल कन्फ्रेन्समा भाग लिन लन्डन गएको थिएँ । त्यसमा लेनिनले पनि पार्टीसिपेट गरेका थिए । हाम्रो त्यहीं भेटघाट भयो । रातिको डिनरमा राम्रो चिनजान हुनगयो । कमरेडले भने, ‘अहिले पनि म कहिलेकाहीं लेनिनसँग च्याटमा कुराकानी गर्ने गर्छु ।’
‘लेनिनसँग च्याट ।’ मैले मनमनै भनेंँ ।
‘हिजै मेरो लेनिनसँग च्याटमा भेट भयो ।’
कमरेडको कुरोले मलाई मौन बनाएको थियो । म पुरै आश्चर्यचकित थिएँ । कुन्नि, यो कसको असर थियो ! उनी भर्खरै प्रविष्ट भएका नेपालको एक ठूलो माक्र्सवादी–लेनिनवादी कम्युनिष्ट पार्टीको विशिष्ट वैचारिक स्तरको अथवा सोल्टी होटलको विशुद्ध बरबनवादी ह्विस्की पार्टीको !

प्रकाशित : आश्विन ७, २०७४ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?