लेनिनका नाममा नक्कल–झक्कल

राजेन्द्र महर्जन

काठमाडौँ — कार्लमाक्र्सलाई सबैभन्दा मनपर्ने उक्ति हो : ‘डाउट एभ्रिथिङ’ अर्थात् सबै चिजमाथि सन्देह गर ।’ आफूलाई माक्र्सवादी ठान्ने नेपाली कम्युनिस्टहरू भने सन्देहदेखि दस हात पर भाग्छन् ।

कसैले कम्युनिस्ट आन्दोलन र राजनीतिबारे सन्देह, प्रश्न र बहस गर्न थालेमा विचारकै निरोध गर्न थाल्छन्। कुनै पनि कोणबाट सन्देह, प्रश्न र बहस उठेमा गहन अध्ययन र व्यापक चिन्तनका साथ अन्तरक्रिया गर्नुपर्नेमा फरक मत राख्नेहरूलाई निषेध गर्ने काम कदापि माक्र्सवादी हुनसक्दैन।

यस बीचमा चैतन्य मिश्र, राम कार्की र प्रदीप गिरीसँगै पुरुषोत्तम दाहाल कम्युनिस्ट आन्दोलन, राजनीति र पार्टीबारे विचार पस्कँदै बहसमा उत्रिएका छन्। भिन्नाभिन्नै जोडकोणका ती विचारले गहन अध्ययन र व्यापक चिन्तनसँगै निरन्तर अन्तरक्रिया मागेका छन्। यहाँ कम्युनिस्ट आन्दोलन र राजनीतिको सेरोफेरोमा रहेर कम्युनिस्ट पार्टी, त्यसको ढाँचा र नामकरणबारे मात्रै आफ्नो मत राख्ने कोसिस गर्नेछु।

Yamaha

हब्सबामको आँखामा लेनिनवादी पार्टी
नेपाल लगायत विश्वका कम्युनिस्ट पार्टी, तिनका संरचना र नामकरणमा सोभियत संघको कम्युनिष्ट पार्टी (बोल्सेभिक) को छाया प्रबल छ। ‘द एज अफ एक्स्टि्रमस’मा ब्रिटिस माक्र्सवादी इतिहासकार एरिक हब्सबामले लेखेका थिए, ‘विश्व क्रान्तिको शक्ति संगठन सम्बन्धी कम्युनिस्ट ढाँचामा निहित छ।’ बोल्सेभिक संगठन देखेर उनले किटान गरेका थिए, ‘त्यो ढाँचा भनेको लेनिनको नयाँ किसिमको पार्टी हो, जुन बीसौं शताब्दीको सोसल इन्जिनियरिङको ‘फरमिडेबल’ प्रवत्र्तन थियो, जसलाई मध्ययुगका इसाई मठ र अन्य सम्प्रदायका आविष्कारसँग दाँज्न सकिन्छ।’

सन् १९१७ मा विश्वमा उत्पीडक वर्गको शासन सत्ताविरुद्ध पहिलोपटक सफल क्रान्ति सम्पन्न गरेको बोल्सेभिक पार्टीको ढाँचा नै धेरैजसो कम्युनिस्ट पार्टीको संरचना बनेको छ। संसार हल्लाउने क्रान्ति गरेको पार्टीको ढाँचालाई अन्य देशमा पनि नक्कल गरिनु र मोडलका रूपमा कोमिन्टर्नबाट निर्यात गरिनु अनौठो होइन। सर्वहारा वर्ग र तिनको पार्टीको अग्रदस्ताका रूपमा रहने कार्यकर्ताको क्रान्तिकारी स्पिरिटले पनि धेरैजसोलाई ताकेको थियो। हब्सबामका अनुसार, बोल्सेभिक पार्टी एउटा सानो संगठन भए पनि अत्यधिक प्रभावशाली थियो। किनभने यसका सदस्य पार्टीप्रति असाधारण निष्ठा र आत्म–उत्सर्गको भावनाले लैस थिए, उनीहरूमा अधिक मात्रामा सैन्य अनुशासन र साहचर्यको गुण थियो, अनि उनीहरूमा पार्टीको निर्णय कुनै पनि मूल्यमा लागू गर्ने अविचलित संकल्प थियो।

लेनिनले रूसी साम्राज्यको नोकरशाहीतन्त्रको प्रतिरोधका लागि त्यही ढाँचाकाँचामा बनाएको नयाँ पार्टी भूमिगत कार्य र सशस्त्र विद्रोहका लागि निकै उपयोगी भएको थियो। मार्ता हार्नेकरले उल्लेख गरेअनुसार, लेनिनले पनि पटक–पटक चेताएका थिए, संगठनको सिद्धान्तको मामिलामा कुनै सर्वव्यापी फर्मुला छैन। सामाजिक परिवर्तनका लागि सिद्धान्त र राजनीतिको जति महत्त्व छ, संगठनको पनि उत्तिकै महत्ता छ। किनभने पार्टी संगठन आफै पनि राजनीतिक विषय हो, खालि ढाँचाकाँचा मात्रै होइन। पार्टी संगठनले वर्गसंघर्षलाई राजनीतिक दिशा दिन्छ भने वर्गसंघर्ष देशको विशिष्ट स्थिति अनुसार, समाजको विशेष ऐतिहासिक र राजनीतिक अवस्था अनुसार गरिन्छ। त्यसको अर्थ देशको विशिष्ट वस्तुस्थिति, वर्गसंघर्षको स्वरूप र माग अनुसार नै संगठनको ढाँचा निर्माण गर्नु जरुरी हुन्छ।

लेनिनको आग्रह विपरीत गएर अन्य देशमा उनकै ढाँचाको नक्कल गरियो। त्यसको अनुभवले देखाएको छ : पिछडिएको समाज र निरंकुश राजनीतिक सत्ता भएको रूसको भन्दा भिन्न परिस्थिति र विशिष्ट खालको क्रान्तिको प्रक्रिया चलिरहेको थियो। त्यस ढाँचालाई आआफ्नो देशमा जस्ताको तस्तै लागू गर्न खोज्दा ‘फिट’ भएन, नत क्रान्ति नै भयो। देशको विशिष्ट वस्तुगत स्थिति र वर्गसंघर्षको आवश्यकता अनुसार संगठनको ढाँचा बनाउनुको साटो रूसी ढाँचालाई यान्त्रिक ढंगले आयात गर्दा पटक्कै उपयोगी भएन। आजसम्म पनि त्यही पुरानो रूसी ढाँचालाई अति नै सरल ढंगले नक्कल गर्दै, बोल्सेभिक संरचनालाई जडसूत्रका रूपमा जप्दै हिंँड्दा पार्टी नै नष्ट भएको वर्तमान जिउँदै छ।

नोकरशाही ढाँचामाथि पुनर्विचार
नेपालका अधिकांश पार्टीको ढाँचा पनि रूसी प्रशासनकै नोकरशाही संरचनासँग मिल्दोजुल्दो छ। यस्तो पिरामिड शैलीको पार्टी संगठनमा शिखर बलियो हुन्छ भने अग्रदस्ताको नाममा नेतृत्व नै सर्वाेपरि हुन्छ। शिखरमा बस्ने नेतृत्वको मुठ्ठीमा कैद रहने नोकरशाही ढाँचाले तलका कार्यकर्तालाई नियन्त्रित गर्छ। यस्तो एकाधिकार र नियन्त्रणको समस्या देख्दादेख्दै पनि कुनै पुनर्विचार गरिएको छैन। कतिसम्म भने माथिल्लो नेतृत्वलाई अंकुश लगाउने कुनै संयन्त्र बनाइएको छैन, नत नोकरशाही ढाँचालाई कमजोर बनाउने कुनै लोकतान्त्रिक र पारदर्शी प्रक्रिया नै थालिएको छ। अब विचारणीय पक्ष हो, पार्टीको नोकरशाहीकरण कसरी कम गर्ने? त्यसलाई लोकतान्त्रिक र जनमुखी कसरी बनाउने?

जुनसुकै पिरामिड शैलीको पार्टीको संगठनात्मक ढाँचाको शिखरमा केही नेता विराजमान हुने गर्छन्। उनीहरूले निर्वाचनका लागि अभ्यास गर्ने लोकतान्त्रिक विधि र प्रक्रिया भनेको घुमिफिरी ‘सेलेक्सन’ नै हो, ‘इलेक्सन’ होइन। परिवर्तनको सिद्धान्त निर्माण र प्रयोगमा अब्बल इमानदार र प्रतिबद्ध भएर निर्वाचित हुनुको सट्टा उनीहरू गणितीय जोड–घटाउ र गुटबन्दीकै हिसाब–किताबका आधारमा शिखरमा पुग्छन्। यस्तो अलोकतान्त्रिक ढाँचा र प्रक्रिया समाजवादी लोकतन्त्रको वकालत गर्ने कम्युनिस्ट पार्टीहरूमा व्याप्त छ। आफूलाई सबैभन्दा ठूला क्रान्तिकारी र समावेशी मान्ने पार्टीहरूले पनि संगठनको ढाँचा र पद्धतिबारे प्रश्न गरेका छैनन्। उनीहरूले पनि पार्टीको नाम, नेतृत्वको ढाँचा, चयन र पद्धतिमा देशको विशिष्ट सामाजिक अवस्थालाई हेक्का राख्दै नयाँपना दिनु जरुरी मानेको देखिँंदैन। उनीहरूको नेतृत्वको ढाँचा, चयन र पद्धति समाजवादी लोकतन्त्र अनुरूप छन् कि छैनन् भनी सोधिएको छैन। नेपालकै एक पार्टीले अध्यक्ष–मण्डल बनाएर नेतृत्वलाई केही हदसम्म सामूहिक प्रणालीमा ढाल्न खोजेको थियो। तर सामूहिक नेतृत्वको पक्षधर मान्ने कम्युनिस्ट पार्टीले त्यसलाई अनुशरण गरेको पाइँदैन। अध्यक्ष–मण्डलमात्रै बनाइएको भए पनि नेतृत्वको हानाथाप कम हुन्थ्यो।

आन्तरिक लोकतन्त्रको खोजी
यहाँ विभिन्न विचार, स्वार्थ र हितको अस्तित्व र द्वन्द्वका आधारमा गुट बनेका छन्। प्रश्न उठेका छन् : ती कति हदसम्म वैचारिक समूह वा हित–समूह वा स्वार्थी गुट हुन्? यस्ता समूह/गुटको परिणामस्वरूप नेतृत्वमाथि केही अंकुश लागेको र पार्टीमा पारदर्शिता देखिएको पनि छ। तर पार्टीभित्र विचार–समूह पनि हुन्छन्, तिनलाई सैद्धान्तिक–वैचारिक–राजनीतिक अन्तरक्रियाका लागि चलखेल गर्न दिइयो भने आन्तरितक लोकतन्त्र बलियो हुन्छ भन्ने मान्यता दबिएको छ। विचार समूहलाई पनि गुटमात्रै ठान्ने मानसिकता र गुटकै रूपमा मात्रै अभ्यास गर्ने दुवै खाले अतिवादी विचार र व्यवहार भने उचित होइनन्।

चाल्र्स बेटेलहाइमका अनुसार, बोल्सेभिक पार्टीमा सन् १९२०–२१ सम्म विचार–समूहको सही अभ्यास रहेको थियो। त्यतिखेरसम्म पार्टी ‘जनवादी केन्द्रीयता’को वास्तविक लिकमा रह्यो। बोल्सेभिक पार्टीको दसौं महाधिवेशनदेखि त्यसलाई छाडेर एकमनावादी संगठनात्मक ढाँचा र पद्धति लादियो। त्यसपछि संगठन रुढ, नोकरशाही र गैरजनवादी बन्न थाल्यो। लेनिनले रसियन सोसल डेमोक्रेटिक लेबोर पार्टीमा लामो समयसम्म विचार–समूहको अभ्यास गरेका थिए। उक्त पार्टी बोल्सेभिक र मेन्सेभिकको रूपमा फुटको सर्तमा पनि उनले समूहगत वैचारिक द्वन्द्व जारी राखेका थिए। उनले बोल्सेभिक पार्टीमा पनि त्यसलाई निषेध नगरी विचार फुल्ने र फैलिने आन्तरिक लोकतन्त्रवादी पद्धतिलाई निरन्तरता दिएकै थिए। तर पार्टी सत्तासीन भएपछि विचार–समूहको अभ्यासलाई बौद्धिक विलास ठान्ने र क्रान्तिकारी सत्ताको निरन्तरताका लागि घातक मान्ने स्तालिन प्रवृत्ति बढेपछि समस्या बढ्यो। अन्तत: ‘पार्टी भनेको तर्कवितर्क गर्दै बस्ने वादविवाद क्लब होइन’ भन्दै उनले पनि निषेधात्मक काम गरे। त्यसपछि एकमना विचार र ढाँचा बनाउने अभ्यासले अन्तत: क्रान्ति र पार्टीलाई नै खाइदियो।

नेपालको सन्दर्भमा विचार–समूहको खासै अभ्यास छैन, त्यसबाट नयाँ वैकल्पिक विचार निर्माण गरिएको विगत छैन। त्यसको साटो गुट निर्माण गर्दै पार्टीको सत्ताशक्तिका लागि मोलमोलाइ गर्ने वा फुटका लागि गुटबन्दी गर्ने अभ्यास प्रबल छ। गुटबन्दी त्याग्ने वा निषेध गर्ने नाममा विचार–समूहलाई नै निषेध गरियो भने जनवादी केन्द्रीयता वा आन्तरिक लोकतन्त्रसँगै विचार निर्माण पनि भर्सेलामा पर्ने निश्चित छ।

नामकरणको शास्त्र
कम्युनिस्ट पार्टीको नाम र त्यसका पुच्छरको सन्दर्भमा पनि घरिघरि प्रश्न उठ्ने गरेको छ। ‘कम्युन’बाट बनेको कम्युनिस्ट पार्टीको नाममा नेपालको विशिष्टतालाई ध्यान दिएर सोच्ने मतलाई अन्यथा लिनु हुँदैन। विदेशी विचार वा नाम लिनै हुँदैन भन्ने कट्टरता वा संकीर्णता स्वीकार्य हुनसक्दैन, नत लोकतान्त्रिक नै हुनसक्छ। तर नामलाई नेपाली समाजमा जारी अन्तरविरोध, त्यसलाई रूपान्तरण गर्न चाहने पात्र/प्रवृत्ति/विरासतसँग जोडिएको भए भुइँतहमा राजनीति प्रवेश गर्ने सम्भावना बलियो हुन्थ्यो।

ल्याटिन अमेरिकी देशहरूमा अगस्तो सिजर सान्डिनो, टुपाक अमारु, इमिलियानो जापाताको नाममा पार्टी, आन्दोलन र संगठनको नाम राख्ने अभ्यास भएको छ। त्यसरी गरिएको नामकरणसँगै वस्तुगत अवस्था र तिनको रूपान्तरणकारी शक्तिसँग गाँस्ने कोसिस नेपालका सन्दर्भमा पनि उत्तिको प्रभावशाली हुनसक्छ। यसै क्रममा उल्लेखनीय पक्ष के हो भने यहाँ अब पुच्छर गाँस्ने प्रवृत्ति त्याग्ने क्रम थालिएको छ। माक्र्स थरले मात्रै नपुगेर लेनिन र माओको नाम पनि जोड्ने तथा देशीय नेताको गुटका आधार थप पुच्छर झुन्ड्याउने प्रचलन तोडिने सिलसिलासँगै नाममै पुनर्विचार गरियो भने त्यसले धेरै अर्थ र सान्दर्भिकता राख्छ।

Esewa Pasal

प्रकाशित : आश्विन १९, २०७४ १७:०९
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

२४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न पर्यटनमन्त्री र प्राधिकरण प्रमुखलाई आयोगको निर्देशन

पोखरेललाई तत्काल प्यूठान जिल्ला छोड्ने व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारीलाई आदेश
[निर्वाचन आयोगको विज्ञप्तिसहित]
कान्तिपुर संवाददाता

काठमाडौं — निर्वाचन आयोगले आफ्नो सहमतिबिना नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई सरुवा गरेको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीतेन्द्रनारायण देवसँग स्पष्टीकरण माग गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको अध्यक्षतामा बिहीबार बसेको आयोगको बैठकले पर्यटनमन्त्री देवलाई २४ घन्टाभित्र आयोगमा उपस्थित भई स्पष्टीकरण पेस गर्न आदेश दिने निर्णय गरेको हो । प्राधिकरणका महानिर्देशकलाई हाजिर हुन पत्र पठाएपछि आयोगमा सहमतिका लागि पत्र लेखेको देखिइ निर्वाचन आचारसंहिताको अवहेलना हुने गरी काम गरेको भन्दै आयोगले स्पष्टीकरण मागेको हो ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई यही असोज ९ गते पर्यटन मन्त्रालयमा गठन भएको कार्यदलमा काम गर्ने गरी जिम्मेवारी तोकिएको थियो । मन्त्रालयको यो निर्णयलाई आयोगले स्वेच्छाचारी र बदनीयत भनेको छ ।

पुन:निर्माण प्राधिकरणका कार्यकारी अधिकृतसँग पनि स्पष्टीकरण माग

बैठकले राष्ट्रिय पुन: निर्माण प्राधिकरणका कार्यकारी अधिकृतले विभिन्न स्थानमा नेपाली कांग्रेसका कार्यकर्तासँग भेटघाट गरी पार्टीको कार्यक्रममा सहभागी भई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको ठहर गर्दै २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

सार्वजनिक पदधारण गरेको व्यक्तिले कुनै दलविशेषको कार्यक्रममा सहभागी हुने कार्य निर्वाचन आचारसंहिता विपरीत हुने भन्दै आयोगले २४ घण्टाभित्र जवाफ पेस गर्न पुन: निर्माण प्राधिकरणका कार्यकारी अधिकृत डा.गोविन्द पोखरेललाई स्पष्टीकरण माग गरेको हो ।

पुन:निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा.डा. पोखरेललाई तत्काल प्यूठान जिल्ला छोड्ने व्यवस्था मिलाउन प्युठानका प्रमुख जिल्ला अधिकारीलाई आदेश पनि दिएको छ ।

आयोगका सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिनाले बिहीबार प्यूठान जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखेर प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेललाई तुरुन्त प्यूठान जिल्ला छाड्ने व्यवस्था मिलाउन निर्देशन दिएका आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

आयोगले जारी गरेको विज्ञप्ति

यो पनि पढ्नुहोस्
प्राधिकरण महानिर्देशक हटाउने निर्णय बदर

प्रकाशित : आश्विन १९, २०७४ १७:०४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT