विश्वास बलियो होस्

डा. ऋषिकुमार काफ्ले

काठमाडौँ — जब रोग लाग्छ, तब उपचार गर्नुपर्ने हुन्छ । अनि डाक्टरको सल्लाह लिने गरिन्छ । कोही छिटो निको हुन्छन्, कसैको लामो समयसम्म उपचार गर्नुपर्ने हुन्छ, कतिको त अप्रेसन गर्नुपर्ने हुन्छ ।

अधिकांश निको हुन्छन्, तर केहीको मृत्युसमेत हुन्छ। कसैको मृत्यु कहाँ, कतिबेला कुन अवस्थामा हुन्छ, रहस्यमय छ। तर सबैको मृत्यु हुन्छ, रोग लागोस् या नलागोस्, उपचार गरिएको होस् वा नगरिएको होस्, जन्म लिनेको मृत्यु हुन्छ। यो शाश्वत सत्य हो।

रोगको उपचार सही हुँदैमा मृत्यु टार्न सकिँदैन। तर रोगीको उपचार नगरेमा मृत्यु छिटो हुने सम्भावना दिन–प्रतिदिन बढ्दै जान्छ। उपचार गराउने जिम्मा लिएका डाक्टरहरूले अचम्मसँग रोग पत्ता लगाउँछन्, उपचार गर्छन्, परेमा अप्रेसन पनि गर्छन्, बिरामीलाई निको पार्छन्। साधारण मानिस छक्क पर्छ, कस्तो ज्ञान? कस्तो उपचार? मानिसले भगवानको सृष्टि देखेको छ, भगवानलाई भेटेको छैन। अनि आफ्ना आँखाले नदेखिने थाहा पाउन नसकिने रोगको उपचार गर्ने डाक्टर पनि भगवानझैँ लाग्छ, मान्छेलाई। तर सत्य के हो भने डाक्टर सृष्टि गर्ने भगवानसरह होइन, ऊ त्यस विषयमा विशेष ज्ञान, सीप आर्जन गरेको मानिस नै हो।
डाक्टरको जिम्मेवारी आफूले आर्जन गरेको ज्ञान प्रयोग गरेर उपचारमा लाग्नु हो। सफल हुने–नहुने उसको हातमा मात्र छैन। गीतामा भगवानले भन्नुभएको छ।
‘कर्मण्येवा धिकाररस्ते मा फलेषु कदाचन।
मा कर्मफल हेतु भुर्मा ते संगोस्त्व कर्मणी।।’
अर्थ– तिमीलाई कर्म गर्ने अधिकारमात्र प्राप्त छ, फलमा भने कदापि छैन, मेरा कर्मको यस्तो फल मिलोस् भन्ने धारणा या हेतु मनमा लिएर आफू काम गर्ने खालको नबन र साथै कर्म नगर्नेतिर आशक्ति पनि नगर।
उपचार गर्ने कर्म डाक्टरले गर्छ। उपचार वर्तमान क्षणमा हुन्छ। उपचारमा संलग्न डाक्टरले बिरामीलाई निको पार्ने उद्देश्य लिई जति राम्रोसँग उपचारमा जुट्छ, त्यति नै राम्रो फल प्राप्त हुन्छ। फल जहिले पनि भविष्यमा प्राप्त हुन्छ। फल जहिले पनि प्रकृति या विराट ऊर्जाले दिन्छ। राम्रो फलको आस गर्दैमा राम्रै फल पाइने होइन। तर राम्रो या नराम्रो फल आफूद्वारा गरिएको उपचार कर्ममा निर्भर गर्ने रहेछ। जति गहिरो श्रद्धा डाक्टरलाई आफूले गरेको उपचार विधिप्रति छ, त्यति नै उपचार सफल हुने रहेछ। त्यसैले डाक्टरसहित उपचारमा संलग्न स्वास्थ्यकर्मीहरू उपचार विधिको लागि जिम्मेवार ठहरिन्छन्।
कैयौँ अस्पतालमा लेखिएको पाइएको छ :
हामी उपचार गर्छौँ।
ईश्वरले निको पार्छ।
लेख्ने मात्र होइन, त्यहाँ त्यो भाव व्यक्त पनि हुने गर्छ र उपचार गर्ने र गराउनेबीच समझदारी कायम हुने रहेछ। हाम्रो सुन्दर देशमा विगत केही समयदेखि अस्पतालमा, क्लिनिकमा भएका उपचारलाई लिएर विवाद उत्पन्न हुँदा द्वन्द्व पैदा हुने गरेको छ। डाक्टरहरू आन्दोलित छन्। पीडितहरू आक्रान्त छन्। जनता अलमलमा छन्। हामी भगवान कृष्णले भन्नुभएको भन्दा फरक रूपमा कर्ममा भन्दा फलमा ध्यान दिनपुगेका छौँ। डाक्टरले गरेको उपचारको कसी मृत्युमात्र भएमा डाक्टरको सही मूल्यांकन हुन सक्दैन। कसी उसको कर्म अनि उसले गरेको उपचारको विधि हुनुपर्छ, जुनमा उसले दक्षता हासिल गरेको छ। मृत्युको घडीमा धैर्य कहाँ मिलोस्? उपचार गर्दागर्दै मृत्यु भएपछि लापरबाही भएन र? मृत्यु हुने उपचार पनि उपचार हो र? प्रश्न उठ्नु स्वाभाविक हो। तर लापरबाही त्यसबेला भन्न मिल्छ, जहाँ डाक्टरले आफूले जानेको ज्ञान नै प्रयोग नगरोस् वा उपचार विधिमा त्रुटि गरोस्, बिरामीको उपचार गर्दा मृत्यु हुनु नै लापरबाहीको परिभाषा गर्न खोजिएको छ, सायद यो सही होइन कि?
जुनसुकै उपचार गर्दा पनि मृत्युको सम्भावना लुकेको हुन्छ। यसबारे उपचार अगाडि न डाक्टर बोल्छन् न बिरामी र उनका आफन्तहरू सुन्न चाहन्छन्। मृत्युपछि दिइएका विश्लेषणात्मक व्याख्याले चित्त बुझ्दैन, किनभने यो विषयमा सुरुमा छलफल नै गरिएन। त्यसैले उपचार विधिबाट हुनसक्ने सबै सम्भावना दर्शाइएको ‘उपचार मञ्जुरीनामा’ राम्रोसँग पढ्ने, मनन गर्ने बेला आएको छ। बिरामीका आफन्तहरूले स्वस्थ मनस्थितिमा सही गरेको मञ्जुरीनामा ठाडै नकार्न तब सकिन्छ, जब त्यहाँ लेखिएको कुरा पढिँदैन, मनन गरिँदैन, केवल रित पुर्‍याउन सही गरिन्छ। उपचार गर्न आउने, गराउने बीचको समझदारी नै सही उपचारको विधि हो। अधिकांश उपचार यसरी नै चलिरहेछ। विज्ञानको प्रगतिसँगै उपचार पद्धति परिमार्जित हुँदैछ, राम्रो हुँदै गएको छ। साथै चुनौतीपूर्ण पनि हुँदैछ। महँगा उपचार पद्धति भित्रिएका छन्। अङ्ग प्रत्यारोपण समेत सहज बन्दै गएको छ। हिजो उपचार गर्न/गराउन नसकिने कुरा आज सरलीकरण भएको छ। उपचार सबैको पहँुचमा पुर्‍याउने प्रयास जारी छ।
विभिन्न रोग एउटै व्यक्तिमा भएका रोगीको समेत उपचार तथा जटिल शल्यक्रिया सम्भव भएको छ। यसले उपचारमा जटिलता पनि थपेको छ। यो प्रगति हो। अगाडि बढ्नैपर्छ, तर साथसाथै यस्ता बिरामीको उपचार सफल नहुन पनि सक्छ। समझदारी कायम राख्न ठूलो चुनौती छ।
उपचार लिने बिरामी र उनका आफन्तले उपचार क्रममा हुनसक्ने सबै सम्भावनाबारे जानकारी लिन जरुरी देखिएको छ। साथै उपचार गर्ने डाक्टर लगायत स्वास्थ्यकर्मीले उपचारक्रममा हुनसक्ने सम्भावनाबारे बिरामी र आफन्तले बुझ्ने भाषामा बताउनैपर्ने आवश्यकता देखिएको छ।
उपचार गर्ने डाक्टर लगायतका स्वास्थ्यकर्मी र उपचार लिने बिरामी र तिनका आफन्तबीच विश्वास बलियो भएमा समझदारी स्वत: हुनेछ। यसरी उपचार सहज र सरल गराउने वातावरण बन्नेछ।
काफ्ले मिर्गौला रोग विशेषज्ञ हुन्।

Yamaha

Esewa Pasal

प्रकाशित : आश्विन १९, २०७४ १५:५४
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

विद्यालय शिक्षाका कमजोरी

विणा झा

काठमाडौँ — ५ कक्षामा पढ्ने ११ वर्षीया बालिका विपरीतार्थक शब्दहरू जोडजोडले पढ्दै थिइन्, आमाको उल्टो बाबा, भाइको बहिनी, केटाको केटी इत्यादि । म छक्क परेँ, यी मानवीय सम्बन्धहरू कसरी एकअर्काको विपरीतार्थी हुनसक्छन् ?

यी त एकअर्काका परिपुरक हुन्, जसले परिवार बन्छ, समुदाय अनि समाज बनेको हुन्छ। अग्लोको उल्टो होचो हुनसक्छ। दायाँको विपरीतार्थी शब्द बायाँ हुनसक्छ, तर दायाँ हातको विपरीतार्थ बायाँ हात त हुन सक्दैन। किनकि शरीरलाई आइपरेको आक्रमणमा दुवै हात मिलेरै शरीरको रक्षा गर्छन्।

मानवीय सम्बन्ध, सामाजिक संस्कृतिक महत्त्वका विषयवस्तु र भौगोलिक विविधतालाई एकअर्काको विपरीतार्थी भनी सिकाउने कस्तो शिक्षा पाउँदैछन्, भावी समाज सञ्चालकहरूले? हिन्दुको विपरीतार्थ मुस्लिम वा बौद्धका विपरीतार्थ क्रिस्चियन हुनसक्छ? यिनका आआफ्नै स्थान, महत्त्व र इतिहास छन्। यिनलाई विपरीतार्थी भनी सिकाइयो भने भोलिको समाजमा एक समुदायसँंग अर्को समुदायको स्वीकार्यता कतिको बढ्ला? एक–अर्काको सम्मान सहितको स्वीकार्यता बिनाको समाज कस्तो बन्ला?

२ महिना अगाडि सामाजिक सञ्जालमा पाठ्य–पुस्तकसँंग सम्बन्धित एउटा विषयले खुब चर्चा पाएको थियो। कक्षा ७ को नेपाली विषयको पाठ ४ को अभ्यास नम्बर ८ (पृष्ठ ३१) मा जोडा मिलाउन दिइएको मधेसीको विपरीतार्थ शब्द पहाडी भनेर कापीमा सारेर गर्ने अभ्यास। यो विषय सामाजिक सञ्जालभरि पिँmजिएपछि पाठ्यक्रम विकास केन्द्र सानोठिमीले मधेसी र पहाडी शब्द पाठ्य–पुस्तकबाट हटाएर पठनपाठन गर्न सम्बन्धित सबैलाई अनुरोध गर्नुका साथै आगामी संस्करणमा संशोधन गरेर मात्रै पाठ्य–पुस्तक प्रकाशन गर्ने निर्णय गर्‍यो।

ती दुई शब्द मधेसी र पहाडी विपरीतार्थी होइनन्, बरु एकअर्काका परिपुरक हुन्, नेपाली समाजका लागि। तर यसरी शब्द परिमार्जन त गरियो, तर के व्यवहारगत रूपमा कक्षाकोठाभित्र पहाडी, मधेसी, जनजाति, महिला पुरुष, तेस्रो लिंगी, बाल–वृद्ध सबै एकअर्काका परिपुरक हुन् भन्ने कुरा सिकाउने प्रयत्न गरिन्छ? तिनीहरूलाई सिकाउने गुरु वा प्रशिक्षक के साँच्चै त्यसको सामाजिक मर्म बुझेका हुन्छन्? डिग्रीको आधारमा मात्रै त्यो तहमा बुझाउन सकिन्छ? कतै हामी त्यस्तो पुस्ता त तयार पार्दै छैनौं, जो आफैमा कन्फ्युज होस् र अरूको भनाइकै आधारमा आफ्नो सोच बदलिरहोस्?

अहिले हाम्रो समाजमा जताततै बेथिति र भ्रष्टाचार चरमोत्कर्षमा पुगेको छ, जसको अनुभूति ती स्कुले विद्यार्थीले पनि गर्नु स्वाभाविकै हो। किनकि प्रविधिको पहुँच उनीहरूसंँग पनि छ। समाजका विगत र वर्तमानमा बिभिन्न सार्वजनिक पदमा आसिन पात्रहरू तथा तिनका भ्रष्टाचारका घिनलाग्दा कथाहरू उनीहरूले पनि सुन्दैछन्। विद्यार्थीले घन्टौं लामो लोडसेडिङले परेको नकारात्मक असर प्रत्यक्ष देखेका छन् अनि काठमाडौं लोडसेडिङ मुक्त भएको पनि देख्दैछन्। यस्तोमा तिनलाई पाठ्यक्रममा रहेका हरिबहादुर वा श्यामबहादुरका इमानदारी र मिहेनतका कथा घोकाएर सच्चा इमानदार देशभक्त तयार गर्न सकिन्छ? विद्यार्थीले कक्षामा आफ्नो पेसाप्रति इमानदार नभएका शिक्षकहरू भेट्छ, तिनका पक्षपातपूर्ण व्यवहारहरू अनुभूत गर्छ भने ऊ कसरी एक न्यायप्रेमी सामाजिक न्यायको प्रवर्तक बन्न सक्छ? उसले पढ्ने पाठ्यक्रमको कुनै पनि कथा वा कवितामा वीर मधेसी, वीर जनजाति, वीर मुसलमान वा वीर थारु भनी उल्लेख गरिएको भेट्दैन, उसका शिक्षक वा बाआमाले समेत यस्ता विषयबारे केही भन्दैनन् भने उसको मनमा ती समुदाय पनि हाम्रै नेपाली हुन्, समान सम्मानका हकदार हुन् भनी कसरी उब्जन्छ? के हामीले दिन खोजेको शिक्षा यही हो? यसले सामाजिक अन्याय र द्वन्द्वलाई अन्त्य गर्ने जनशक्ति तयार गर्ला? कि समाज ध्रुवीकरणलाई निरन्तरता दिलाउँछ? विगतमा गरिएका भुलहरूको परिणाम समाजले अहिले भोग्दैछ। के यसको अन्त्य कहिल्यै नगर्ने? कहिलेसम्म कथा र कवितामै देशभक्ति सिकाइरहने?

स्थानीय तहको निर्वाचन सकिएको छ। चुनावका बेला शीर्षस्थ नेतादेखि स्थानीय नेतृत्वकर्ताका अनेक प्रतिबद्धता लिखित र मौखिक रूपमा बाँडियो र बाँडिँदैछन्। तर तिनमा कतै पनि गुणस्तरीय शिक्षाप्रतिको प्रतिबद्धता यो पंक्तिकारले भेटेन। अचम्म लाग्छ, राजनीतिमा शिक्षा घुसाउनुको सट्टा शिक्षामा राजनीति घुसाइएको छ। भारतका पूर्व राष्ट्रपति एपीजे अब्दुल कलामले भनेका थिए, समाजलाई भ्रष्टाचार मुक्त गर्नुछ र समाजमा सकारात्मक परिवर्तन ल्याउनुछ भने त्यसका लागि प्रमुख पात्रको रूपमा त्यहाँका शिक्षक, विद्यार्थी र तिनका बाआमालाई यस विषयप्रति गम्भीर बनाउन जरुरी हुन्छ। समाजका युवाले पढेको पाठ्यक्रम, उसका शिक्षक र उसका बा–आमाले उसलाई आफै सही, गलत छुट्याउन सक्ने बनाउन सक्दैन भने ऊ जहिले पनि बाह्य कुराले प्रभावित भैरहन्छ। गतसाता कान्तिपुरमा डा. अरूणा उप्रेतीको लेखमा उल्लेख भएझंै ज्ञानको कमी हुनेलाई वास्तविक पोषणयुक्त खानाको सट्टा आकर्षक विज्ञापनले झुक्याउँछ। व्यक्तिसँंग सही ज्ञान छ भने जतिसुकै लोभलाग्दा विज्ञापन आए पनि उसले घरको खाना मकै र भटमास नै रोज्छ।

शिक्षाले ज्ञानसंँगै मानवता भर्दैन भने त्यो व्यक्तिले जतिसुकै विश्व प्रख्यात डिग्री हासिल गरे पनि मानव हितमा ज्ञान प्रयोग गर्न सक्दैन, अनि के फाइदा समाज र राष्ट्रलाई? जुन शिक्षाले मानवता सिकाउँदैन, त्यो शिक्षा कसैको लागि उपयोगी हुनसक्दैन। यहाँनिर बुझ्न के जरुरी छ भने शिक्षाको स्रोत पाठ्य–पुस्तक मात्रै होइन। घरपरिवार, साथी, विद्यालय तथा समाजका सबै सामाजिक संगठनहरू पनि अनौपचारिक रूपमा शिक्षा दिने कार्य गरिरहेका हुन्छन्। त्यसैले पनि भनिन्छ नि पढाइबाट मात्रै होइन, भोगाइबाट पनि सिकाइ हुन्छ।

एउटा विद्यार्थीले पसलमा पैसा दिन्छ, अनि दूधको पोका किन्छ। त्यो दूधको पोका पसलसम्म आइपुग्ने प्रक्रिया उसलाई थाहा हँुदैन। एक किसानको योगदान र संघर्ष उसले महसुस गर्न सक्दैन। यो पर्दा पछाडिको वास्तविक चित्र देखाउने नै शिक्षा हो, जसमा एक शिक्षकको महत्त्वपूर्ण भूमिका हुन्छ। तर उसलाई शिक्षा दिने शिक्षकको समाजप्रतिको सम्वेदनशीलता र पेसाप्रतिको इमानदारिता जुन सर्टिफिकेटमा उल्लेख हुँदैनन्, त्यसको ग्यारेन्टी कसले, कसरी लिने? एक किसानको मिहेनत, दु:ख महसुस हुनेगरी उसले बुझेकै छैन भने भोलिको दिनमा चाहे नीति निर्माण तहमा बसोस् वा वित्तीय क्षेत्रलाई अंँगालोस् वा राजनीतिमा लागोस्, उसले किसानको हितका लागि किन र कसरी सोच्ने? सायद संविधानमा स्पष्ट उल्लेख गरिएका कुरासमेत व्यवहारमा कामद्वारा आम नागरिकलाई महसुस गराउन नसक्नु यस्तै शिक्षाको असर हो कि !

त्यसैले अब अझ ढिलो नगरी हामी जहाँ जुन भूमिकामा छौ,ं त्यहींबाट सही शिक्षाको स्रोतका रूपमा अगाडि बढौं। सही सिकाइ सरल माध्यमले पिँmजाउन थालौं, जसले गर्दा हाम्रो समाजमा आउँदो पुस्ता यस्तो तयार होस्, जो मानवताले भरिएको होस्, मुटुभित्र देशको माया राखोस्, अनि मन, वचन र कर्मले इमानदार होस्, आफै सही–गलत छुट्याउन सकोस्, बाह्य प्रभावले तिनका सोच प्रभावित नबनोस्। त्यसपछि कसैले जति चाहे पनि समाजमा जातीय, क्षेत्रीय, धार्मिक वा लैंगिक आधारमा कुनै किसिमको भेदभाव र द्वन्द्वको ठाउँमा सामुहिक हित, राष्ट्रहितले स्थान पाउन कसले रोक्न सक्छ र !

- झा समाजशास्त्री हुन्।

प्रकाशित : आश्विन १९, २०७४ १५:५१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT