कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सडक सुरक्षामा हेलचेक्र्याइँ

सम्पादकीय

नियमन–अनुगमनमा सम्बन्धित निकायहरू उदासीन हुने गरेका कारण सडकहरू निर्माण सकिएको छोटो समयमै क्षतिग्रस्त हुने गरेका छन् । सडक क्षति भइसकेपछि पनि मर्मतसम्भारमा तदारुकता नदेखाउने अर्को प्रवृत्ति पनि छ ।

सडक सुरक्षामा हेलचेक्र्याइँ

सडकको सुरक्षामा ध्यान नदिँदा एकातिर राज्यकोषमा आर्थिक भार बढिरहेको छ भने अर्कोतिर आवागमन जोखिमपूर्ण बनेको छ । यो समस्या वर्षौंदेखि कायमै रहँदा र असुरक्षित सडककै कारण दुर्घटना भइरहे पनि सडक नियमन प्रभावकारी नबनाइनु उदेकलाग्दो छ ।

निर्माण कम्पनीको बढी नाफा कमाउने ध्येय, कमिसन बाँडफाँटलगायतका कारण अधिकांश सडक नै गुणस्तरीय बनेका हुँदैनन् । बनेका सडकले के–कस्ता सवारी साधनलाई थेग्न सक्छन् भन्ने पनि ध्यान दिइँदैन । ठूल्ठूला गाडीलाई निर्वाध चल्न दिँदा सडक कति चाँडै जीर्ण अवस्थामा पुग्छन् भन्ने ज्वलन्त उदाहरण बीपी राजमार्ग हो । जापान सरकारले बनाएर दुई वर्षअघि नेपाललाई हस्तान्तरण गरेको बीपी राजमार्गको धुलिखेल–भकुन्डेबेंसी खण्ड छोटो समयमै कुरूप बनेको छ ।
 
काठमाडौंलाई सिन्धुली हुँदै तराई जोड्ने छोटो दूरीको यो राजमार्ग गिट्टी, ढुंगा, बालुवा बोक्ने टिपर र अन्य ठूला गाडी निर्वाध रूपमा सञ्चालन हुनाले जीर्ण बन्दै गएको हो । टिपरले भकुन्डे, कटुन्जे, नेपालथोकलगायतका स्थानमा रहेका क्रसर उद्योगमा निर्वाध रूपमा सामान ओसारिरहेका हुन्छन् । १० टन भारवहन क्षमताको सडकमा गुड्ने टिपरले १३ देखि १८ टनसम्म सामान बोकेका हुन्छन्, जसका कारण सडकमा तीव्र गतिले क्षति भइरहेको छ । सडक सञ्चालन आएलगत्तै यो समस्या सुरु भए पनि नियमन ध्यान नदिइनु विडम्बनापूर्ण छ ।

बीपी राजमार्गमा जस्तै समस्या मुलुकका प्राय: सबै सडकमा देखिन्छ । क्षमताले धान्नेभन्दा ठूला गाडी चलिरहेका हुन्छन् । कतिपय गाडी त पानी चुहाउँदै गुडिरहेका हुन्छन्, जसले सडक क्षति हुने दर बढाइदिन्छ । चुरे तथा तराईका थुप्रै ठाउँमा सडकलाई नै असर पर्ने गरी क्रसर उद्योग निर्वाध सञ्चालन गरिए पनि नियन्त्रणका लागि सरकारले गम्भीरतापूर्वक पहल लिएको देखिँदैन । सडक जीर्ण हुनु भनेको यातायात जोखिमपूर्ण हुनु हो । जीर्ण सडककै कारण सवारी दुर्घटना भएका थुप्रै उदाहरण छन् । त्यसैले सडक निर्माणकै क्रममा लापरबाही गर्न/गराउनबाट रोक्न सक्नुपर्छ । अधिकांश सडकमा निर्माण सकिएको केही महिनामै भत्किने, कालोपत्र उप्किने समस्या देखिन्छन् । मापदण्डअनुसार काम नगरे र समयमा नसके कानुनी कारबाही गर्ने थिति मात्र बस्न सके गुणस्तरीय सडक बन्न थाल्छन् । 

सडक बनिसकेपछि त्यसले थेग्ने क्षमताभन्दा बढीका सवारी साधन सञ्चालनमा रोक लगाउनैपर्छ । बीपी राजमार्गमा १० टन मात्रै भारवहन क्षमता भएकाले ठूला गाडी चल्न नियममा रोक लगाइएको छ । तर नियमनकारी निकायले बेवास्ताका कारण ठूला गाडी निर्वाध चलिरहेका भेटिन्छन् । अन्य सडकको पनि भारवहन क्षमता निक्र्योल गरेर थेग्न नसक्ने गाडी चल्न कडाइ गरिनुपर्छ अनि मात्रै सडक टिकाउ बन्छ । राजमार्गलाई क्षति पुर्‍याउने गरी ढुंगा खानी, क्रसर उद्योग तथा उद्योग–व्यवसाय सञ्चालन तथा संरचना निर्माणमा पनि रोक लगाउन जरुरी छ ।

सडकमा क्षति पुगेपछि मर्मतसम्भारमा तदारुकता चाहिन्छ । सडकको मर्मतसम्भार गराउने जिम्मेवारी सडक बोर्डलाई छ । सडक उपभोग गरेबापत लाग्ने दस्तुर लिने तथा जरिवाना असुल गर्ने, मापदण्डविपरीत सवारी साधन चलाएबापत लिइने थप दस्तुर र जरिवाना निर्धारण गर्ने जस्ता अधिकार बोर्डकै हो । सवारी साधनबाट उठाइने करको मात्रै सदुपयोग गर्ने हो भने पनि सडक बनाउन र मर्मत गर्न बजेटको समस्या हुँदैन । तर बोर्ड आफ्नो जिम्मेवारी निर्वाहमा प्रभावकारी देखिएको छैन ।

सडकलाई सुरक्षित बनाउन अब स्थानीय सरकारले पनि उल्लेख्य भूमिका निर्वाह गर्न सक्नुपर्छ । सडकको सुरक्षा व्यक्तिको जीवनको सुरक्षासँग जोडिएको छ । त्यसैले सडक विभाग, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, स्थानीय सरकार लगायतका सम्बन्धित निकायले सडकलाई सुरक्षित बनाउन समन्वयकारी ढंगले काम गर्न जरुरी छ ।

प्रकाशित : कार्तिक १५, २०७४ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?