दलबदलु जनता

सिउँडी
विमल निभा

काठमाडौं — ‘ला ल सलाम दाइ ।’‘जय नेपाल,’ मेरो अभिवादन अनौठो पाराले उत्तरित भयो ।‘लाल सलाम,’ मैले जोड दिएर भनेंँ ।

‘ला ल सलाम दाइ ।’
‘जय नेपाल,’ मेरो अभिवादन अनौठो पाराले उत्तरित भयो ।
‘लाल सलाम,’ मैले जोडदिएर भनेंँ ।
‘जय नेपाल,’ उनले फेरि पनि उसरी नै भने ।
म दंग परेंँ । एक कट्टर वाम समर्थकको मुखबाट सम्पूर्ण कांग्रेसी टाइपको ‘जय नेपाल’ निर्धक्कसँग उच्चरित भइरहेको थियो । यो सरासरी अपत्यारिलो कुरो थियो, मेरो लागि । मैले अचम्म मानेरै भनँें, ‘जय नेपाल किन दाइ ?’
‘किन, मैले जय नेपाल भन्नहुन्न भाइ ?’ उनी मुस्कुराए ।
‘भन्न हुन्छ दाइ,’ म हडबडाएँ ।
‘अनि के भयो त ?’ उसको मुस्कान गाढा भयो ।
‘होइन, तपाईं वामपन्थी भोटर होइन र दाइ ?’
‘ठिक भन्नुभयो,’ उनले भने, ‘यसमा कुनै शंका छैन ।’
‘अनि लाल सलामको साटो जय नेपाल किन त दाइ ?’ मैले भनेंँ ।
‘हेर्नोस्, म पहिले एक वामपन्थी समर्थक जरुर थिएँ,’ उनी एक्कासि गम्भीर भए, ‘अहिले नेपाली कांग्रेस पार्टीको भइसकेको छु भाइ ।’
‘यसको कारण के होला दाइ ?’ मेरो उत्सुकता बढेको थियो ।
यसको जवाफमा उनी चुप लागे । केही भन्ने प्रयास गरेनन् । कुनै गहिरो सोचमा निमग्न थिए, सायद । (यस्तै लाग्यो) । अलिक बेरपछि मतिर पुलुक्क हेरे । र सुस्तरी भने, ‘अब म के भनुँ तपाईलाई ?’
‘के भन्नै नहुने कुरो हो र दाइ ?’
‘होइन, त्यस्तो त केही होइन,’ उनको अनुहारमा अलमलिएको भाव थियो, ‘मैले कांग्रेसी हुनैपर्‍यो भाइ ।’
‘हेर्नाेस्, आफ्नो साख्खै सालो नै नेपाली कांग्रेस पार्टीबाट उम्मेदवार भएपछि म के गरुँ त भाइ ?’ मलाई चुपचाप टोलाइरहेको पाएर भने उनले, ‘मैले कांग्रेसी नभइकन सुखै पाइन ।’
‘तपाई श्रीमतीको दबाबबाट कांग्रेसी हुनुभएको हो दाइ ?’
मैले भनेंँ ।
‘अब तपाईं जेसुकै भन्नोस् मलाई,’ उनको ओठमा फेरि मुस्कान आयो, ‘हाल म एक कांग्रेसी नै हुँ भाइ ।’
मैले बल्ल बुझेंँ, यो खाँट्टी ससुरालीतिरको कुरो हो । अर्थात् श्रीमतीको मामिला भन्नोस् । अब अर्धांगिनीको साख्खै कान्छो भाइ नै नेपाली कांग्रेस पार्टीको तर्फबाट चुनावमा उठिसकेपछि अरू के पो
गर्न सक्थे उनले ? वास्तवमा उनी आफ्नो बुँताले भ्याएसम्म जे
गर्न सक्थे, अहिले सोही भूमिकामा चुस्त–दुरुस्त देखिएका थिए । याने अहिलेको उनको सारा गराई विलकुलै बेठिक थिएन । (म सोच्न थालँें) । केही बेरपछि भनेंँ मैले, ‘तपाई
सालोले गर्दा कांग्रेसी भए पनि असलमा त एक वामपन्थी नै हुनुहुन्छ होला नि दाइ ?’
‘होइन–होइन, यसो नभन्नोस् भाइ,’ उनी दुवै आँखा बेस्सरी चलाएर पल्याक–पुलुक यताउता हेर्न थाले, ‘म पुरै कांग्रेसी भइसकेको छु ।’
‘साँच्चै हो त दाइ ?’
‘मैले तपाईंसँग झुठो किन बोल्ने भाइ ?’ उनको स्वर चर्काे भयो, ‘अब मैले पनि प्रधानमन्त्री देउवाको सपना साकार गर्नुपर्छ ।’
‘बीपीको सपना भन्नुभएको होला ।’ म मुस्कुराएँ, ‘सबै कांग्रेसीहरू यसै भन्ने गर्छन् ।’
‘होइन–होइन, मैले सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाको सपना नै भनेको हुँ भाइ ।’
यो संक्षिप्त भेटघाटको केही दिनपछि फेरि उनीसँग मेरो जम्काभेट भयो । (हिंँड्दा–हिंँड्दै) । उनी आफ्नो वामपन्थी अतीत त्यागेर पुरै कांग्रेसी भइसकेकाले मैले कराएर भनँें, ‘जय नेपाल दाइ ।’
‘लाल सलाम ।’ उनले मेरो अभिवादनको जवाफ दिए ।
‘जय नेपाल ।’ म त्यहीं रोकिएँ, ‘तपाईंले अहिलेसम्म आफ्नो पुरानो लाल सलामलाई बिर्सन सक्नुभएको छैन दाइ ?’
‘होइन, होइन,’ उनले लाल सलाममा जोड दिएर भने, ‘म साँच्चिकै लाल सलाम नै भनिरहेको छु भाइ ।’
‘के तपाईं अहिले नेपाली कांग्रेसको समर्थक होइन र दाइ ?’ मैले छक्क परेर सोधेंँ उनीसँग ।
‘कहाँ हुनु भाइ ?’ उनले गम्भीर मुद्रा धारण गरे, ‘मैले नेपाली कांग्रेसलाई छाडिसकेको छु नि †’
‘यस्तो किन गर्नुभएको दाइ ?’ म पुरै चमत्कृत अवस्थामा थिएँ ।
‘हेर्नोस्, लास्ट टाइममा मेरो सालोबाट खोसेर कांग्रेसले अर्कैलाई टिकट दियो । यो त ठूलै बेइमानी भयो । यस्तो गर्नुहुन्छ त भाइ ?’ उनी पर्याप्त क्रोधमा थिए, ‘त्यसैले मेरो सालो बागी भएर त्यहींबाट चुनावमा उठेको छ ।’
‘स्वतन्त्र उम्मेदवार भएर दाइ ?’
‘हो, स्वतन्त्र उम्मेदवार नै हो ।’
‘त्यसो भए, लाल सलाम किन त दाइ ?’ मेरो स्वाभाविक प्रश्न थियो ।
‘म एक पुरानो वामपन्थी समर्थक हुँ । सबै वामपन्थी नेताहरूलाई म राम्ररी चिन्छु । त्यसैले तिनीहरूलाई भनेर म मेरो सालोलाई सहयोग गराउन चाहन्छु । यही नेपाली कांग्रेससँग बदला लिने एकमात्र बाटो हो । यसरी नै मेरो सालो चुनावमा जित्न सक्छ,’ उनी सहसा गम्भीर भए, ‘त्यसैले म अहिले नेपाली कांग्रेसबाट वामपन्थी भएको छु भाइ ।’
‘तपाईंको सालोलाई जिताउन वामपन्थीहरूले सहयोग गर्लान् त दाइ ?’ मैले चाख मानेर सोधेंँ, ‘यो सम्भव छ र ?’
‘म कमरेड ओलीसँग नै सम्पर्क गर्ने कोसिस गरिरहेको छु भाइ ।’ उनले विस्तारै भने, ‘हेरुँ, के हुन्छ ?’
‘ल त, अग्रिम बधाई छ दाइ ।’
‘केको बधाई ?’
‘तपाईंको सालोले वामपन्थीहरूका सहयोगबाट राम्ररी चुनावमा जितोस् दाइ ।’ म मुस्कुराएँ ।
‘धन्यवाद ।’ उनको मुखमण्डलमा पनि खुसी छरियो ।
यो भेटघाटको झन्डै एक सप्ताहपछि उनी बजारमा देखापरे । नयाँ बुकस्टलनेर उदास मुद्रामा उभिएका थिए । उनी नजिकगएर भनेंँ मैले, ‘लाल सलाम दाइ ।’
मेरो ‘लाल सलाम’को कुनै उत्तर दिने तरखर गरेनन् उनले । त्यसै मौन रूपमा उभिइरहे । (घना उदासीसहित) । मैले हातसात मिलाएर भनेंँ, ‘के भयो दाइ ?’
‘मेरो सालोलाई यी वामपन्थीहरूले पनि सहयोग नगर्ने भएका छन् । आफ्नै उम्मेदवार छ रे † कोही पनि मसँग कुरा गर्नसमेत तयार भएनन् । सबै बेइमान हुन् । अब कसको विश्वास गर्ने ?’ उनको स्वरबाट उदासी फुतुफुतु झरिरहेको थियो, ‘त्यसैले एकपटक फेरि नेपाली
कांग्रेस पार्टीमा जाने विचार गरिरहेको छु भाइ ।’
‘राम्रै विचार गर्नुभयो दाइ ।’ मैले उनको दाहिने हात बेस्सरी दबाएर भनँें, ‘जय नेपाल ।’
‘जय नेपाल,’ उनको ओठको कापबाट बिस्तारै निस्कियो ।

प्रकाशित : कार्तिक २५, २०७४ ०७:०८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

स्वास्थ्यकर्मीको सुरक्षा र कानुनी प्रबन्ध

डा. प्रकाश बुढाथोकी

काठमाडौं — स्याङजा, अर्जुनचौपारी १ की १९ वर्षीया किशोरी प्रसूति व्यथा लागेपछि कात्तिक ११ मा अस्पताल भर्ना भएकी थिइन् । शल्यक्रियाबाट छोरा जन्मेपछि बेहोश उनलाई भेन्टिलेटरमा राखिँदा पनि आफन्तले हेर्न पाएनन् र एक सातापछि एक्कासी निधनको समाचार दिइयो ।

सुरुमा उनको अवस्था सामान्य रहेको बताइएको थियो । निधनपछि चिकित्सकलाई कारबाही र परिवारजनलाई क्षतिपूर्ति माग गर्दै गण्डकी मेडिकल कलेजको अस्पताल तोडफोड भयो, नाराबाजी गर्दै टायर बालियो । त्यहाँ उपचाररत सयांै बिरामी अन्यत्र सार्नुपर्‍यो । 
उपचार गर्दागर्दै बिरामीको मृत्यु भएपछि २०६३ जेठ ९ मा बुटवलमा हाडजोर्नी रोग विशेषज्ञ डाक्टरमाथि कुटपिट गरिएको थियो । त्यसयता स्वास्थ्यकर्मी तथा संस्थामाथि आक्रमण बढ्दै गएको देखिन्छ । उपचारमा संलग्न चिकित्सक र संस्थासँग लाखौं क्षतिपूर्ति दाबी गर्ने प्रवृत्ति देखिएको छ । 

निजी अस्पतालहरूले सत्यतथ्य नबुझी नाफाघाटा मात्र सोचेर क्षतिपूर्ति दिने, तोडफोड तथा दुव्र्यवहारका घटना भइहाले प्रहरी प्रशासन ढिलो उपस्थित हुने र कानुन कार्यान्वयनभन्दा मिलाउने प्रवृत्ति छ । न्यायालयको लामो कानुनी प्रक्रिया छ । राजनीतिक दलहरूको कमजोर इच्छाशक्ति, निष्क्रियता र माफियासँंगको बसउठ छ । स्वास्थ्य तथा व्यावसायिक बिमा छँदै छैन र भएकामा पनि पहँुच छैन । स्वास्थ्यकर्मीहरू अद्यावधिक छैनन्, बिरामीसँंग काउन्सिलिङ कमजोर छ । केहीमा द्रव्यमोह छ र धेरैमा एकअर्काको खुट्टा तान्ने प्रवृत्ति ब्याप्त छ । अपर्याप्त जनशक्ति र उपकरण, कम पारिश्रमिक तथा सेवा–सुविधाको समस्या छ । जनतामा सामान्य स्वास्थ्य सचेतना छैन । त्यही कारण यस्ता घटनाको पुनरावृत्ति भइरहन्छ । धेरै मिहेनत, समय र सम्पत्ति खर्ची पढेको पेसामा डाक्टरहरूका लागि पनि न सम्मान छ, नत सेवा–सुविधा चित्तबुझ्दो छ । 

सरकारले पनि डेढ महिनाअघि लापरबाही भए उपचारमा संलग्न चिकित्सकबाटै क्षतिपूर्ति भराउनेगरी कानुन बनाउने निर्णय गरेपछि नेपाल चिकित्सक संघले बहिरङ सेवा बन्द गरायो । सरोकारवाला संवेदनशील नभएकै कारण ८ दिन सेवा अवरुद्ध भयो । सम्झौता भएको एक महिना पुग्दा पनि यो वा त्यो बहानामा तथा प्रक्रियामै अल्झिएका छन्, बुँदा र प्रतिवेदनहरू ।
 
अस्पतालमा उपचारपछि बिरामी स्वस्थ भएर घर फर्कन्छ, विशेषज्ञताको अभाव भए अर्को अस्पतालमा पठाइन्छ । केही बिरामीको उपचार गर्दागर्दै मृत्यु हुन्छ । योग्यता नभएका नक्कली चिकित्सकले उपचार गर्दा वा उपचारमा लापरबाही गर्दा कमी–कमजोरी हुनसक्छन् । चिकित्सकले सही उपचार पद्धति अपनाएर कोसिस गर्दागर्दै पनि बिरामीको मृत्यु हुनसक्छ । तर बिरामीको मृत्यु भइहाले परिस्थिति नबुझीकन भिडले डाक्टरको लापरबाही ठहर गर्दै आक्रमणमा उत्रिहाल्ने गरेको पाइन्छ । त्यही कारण उपचारका क्रममा कुनै सिकिस्त बिरामीको मृत्यु भयो वा जटिलता आए कताबाट भाग्ने भनेर डाक्टरले सोच्नुपर्छ । बिरामीलाई अस्पताल ल्याउँदैमा तथा डाक्टरले उपचार गर्दैमा निको हुने भए सायद समस्या आउँदैनथ्यो । प्रयास हुँदाहुँदै बिरामीको मृत्यु हँुदा आफन्तले दुव्र्यवहार गरे अन्य बिरामीको विचल्ली र मृत्यु हुनपुग्छ भन्ने ख्याल गरेको पाइँदैन । यसले गर्दा अस्पतालले गम्भीर प्रकृतिका रोगीलाई नलिई अन्यत्रै रेफर गरिदिने अवस्था आउँछ । 

स्वास्थ्य सेवालाई नियमित, भरपर्दो, मर्यादित र प्रभावकारी बनाउन, स्वास्थ्य उपचारको क्रममा उत्पन्न हुनसक्ने आकस्मिक घटना र आर्थिक दायित्वबाट स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा गर्ने सम्बन्धमा आवश्यक कानुनी व्यवस्था गर्न नेपाल सरकारले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६’ र नियमावली २०६९ बनाएको हो । आक्रमण गर्नेहरूलाई कानुनी दायरामा र ऐनलाई व्यावहारिक बनाउन पहिलो संशोधन २०७४ को मस्यौदा तयार भइसकेको छ । त्यसलाई अध्यादेशकै रूपमा ल्याउनेगरी तयारी गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले मुख्य सचिव लोकदर्शन रेग्मीलाई निर्देशन दिइसकेका छन् । 

धेरै देशमा ‘जेल विदाउट बेल’ कार्यान्वयनमा छ । भारतको उच्च अदालतले चिकित्सकलाई गाली बेइज्जती र हातपात गर्नेलाई सिधै ३ वर्षसम्म जेल चलान गर्न निर्देशन दिएको छ र डाक्टर विरुद्ध जाहेरी दर्ता नगर्न भनेको छ । तत्पश्चात डाक्टरले ज्ञान र सीप पूर्णरूपले प्रयोग गर्न पाउँदा बिरामीको जटिलता र मृत्युदर घटेको छ । तसर्थ नेपालमा पनि उपचारमा अवरोध गरे ३ महिना बिना धरौटी जेल र १ लाखसम्म जरिवाना, स्वास्थ्य संस्थामा तोडफोड, तालाबन्दी र आगजनी तथा स्वास्थ्यकर्मीलाई गम्भीर चोट पारेको कसुर ठहर भए ३ देखि ५ लाख जरिवाना र १ देखि ३ वर्ष कैद सजाय हुनसक्ने व्यवस्था गर्न लागिएको छ । स्वास्थ्य उपचारको विषयलाई लिएर चिकित्सकमाथि घेराउ, अपमानजनक व्यवहार, भ्रामक समाचार र हातपात गरे १ देखि २ लाख जरिवाना र ६ महिना कैदको व्यवस्था छ । मुद्दा सरकारवादी भई कसुर भएको ३५ दिनभित्र नालेश दिनुपर्ने व्यवस्था छ ।

समन्वयात्मक रूपमा काम गर्न स्वास्थ्यकर्मी तथा स्वास्थ्य सुरक्षा समन्वय समिति प्रमुख विशेषज्ञ/प्रमुख, चिकित्सा सेवा महाशाखाको अध्यक्षतामा, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, आधिकारिक पेसागत संघ–संस्थाको प्रतिनिधित्वमा गठन गरिएको छ । तथापि उपलब्ध गराउने सुरक्षा र क्षतिपूर्ति प्राप्त गर्न स्वास्थ्यकर्मी तथा संस्था समितिमा अनिवार्य दर्ता हुनुपर्छ । छानबिन गर्न विज्ञ समिति गठन, मुचुल्का, अटोप्सी अनिवार्य छ तथा चरम लापरबाही बाहेक अन्यमा आर्थिक प्रत्याभूति दिन एक सुरक्षा कोष गठन छ । स्वास्थ्यकर्मीलाई पनि लापरबाही गरे प्रकृति अनुसार कारबाही र सजाय छ । क्षतिपूर्ति रकम पनि बिगोको दोब्बर, भरण–पोषण थपिएको छ । नागरिक तथा बिरामीको अधिकार र कर्तव्य पनि सुरक्षित गरिँदैछ । छानबिनबाट बिरामी पक्ष वा चिकित्सक जसको गल्ती ठहर्छ, त्यसलाई सरकारले कानुनी दायरामा ल्याई कडा कारबाही गर्नुपर्छ । तर कतैबाट रोष प्रकट गर्न आक्रमण, बन्द, सेवा अवरुद्ध, तोडफोड र धम्कीका क्रियाकलाप गरिनुहुन्न । 
वीर अस्पतालमा कार्यरत डा. बुढाथोकी नेपाल चिकित्सक संघका सहकोषाध्यक्ष हुन् ।

प्रकाशित : कार्तिक २५, २०७४ ०७:०८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT