कसलाई भोट दिने ?

प्रमोद मिश्र

चुनाव निष्पक्ष हुनु, मतदाताले करकाप मुक्त भई मतदान गर्न पाउनु लोकतन्त्रको जग बलियो भएको मानिन्छ । नेपालमा यस हिसाबले लोकतन्त्रको जंगे ढुंगा दह्रो गाडिइसकेको छ भन्दा अतिशयोक्ति नहोला । मधेसका घना बस्तीदेखि पहाडका भिरपाखाका गाउँसम्ममा पनि भोट हाल्न विप्लव माओवादीको अपत्यारिलो छिटपुट गोधूली गीत (स्वान सङ) बाहेक रोक छैन ।

तर मत कसलाई दिने ? कुन दल र कुन उम्मेदवारलाई किन दिने भन्ने यक्षप्रश्नको सामना गर्न मतदाता तयार छन् त यसपालिको चुनावमा ? र मत परिणामले लोकतन्त्रीय प्रणालीलाई अझ बलियो बनाउँछ त ? स्वच्छ शासन, थेग्न सकिने (सस्टेनेबल) द्रुत विकास, संघर्षरत सीमान्तकृतलाई समान अवसर र प्रतिनिधित्वको प्रत्याभूति गराउन सक्छ त ? अनि नेपालको सार्वभौमिकता र स्वतन्त्रतालाई भावी सन्ततिका लागि अझ संरक्षित पार्न सक्छ त ?

यी दूरगामी अभीष्ट पूरा गर्न भोट चिनेकालाई दिने कि विश्वासिलालाई दिने ? आफन्तलाई दिने कि नीति, सिद्धान्त बोक्नेलाई दिने ? देश/परदेशबारे भय, त्रासको कोकोहोलो गर्नेलाई दिने कि चुनावी मैदानमा उत्रेका देश/विदेशबाट उच्चशिक्षा हासिल गरेका नयाँ धार खोल्ने युवा खेलाडीलाई दिने ? बडा अन्योल छ । खासगरी संसदीय व्यवस्थामा त छनोट गर्न झनै गाह्रो । एकजना राष्ट्रपतिका लागि हैन, दलका अनेकथरी सांसदले छान्ने प्रधानमन्त्रीका लागि । पार्टी मनपर्ला, उम्मेदवार मन नपर्ला, उम्मेदवार मनपर्ला, पार्टी मन नपर्ला । त्यसमा पनि प्रादेशिक सभा र केन्द्रीय संसदका लागि एउटै पार्टीलाई दिने कि उम्मेदवार हेरी–हेरी भिन्नै पार्टीलाई पनि दिने ? दोधार मात्रै हैन, बहुधारको स्थिति छ ।

मलाई सोध्ने हो भने म त आँखा चिम्लेर कसैलाई पनि भोट दिने पक्षमा छैन । मुलुकका समस्या ककसले, खासगरी कुन–कुन पार्टीले टुंगोमा पुर्‍याउँछन्, तिनलाई र तिनका उम्मेदवारलाई भोट दिने हो । तर पार्टीका घोषणापत्र हेर्दा त सबै पार्टीले आकाशका ‘तारा’मात्रै हैन, एउटा कान्छा–कान्छी किरदार भएको पुरानो नेपाली लोकगीतमा झैं ‘जून’ पनि झारी दिने वाचा गरेका छन् । ५ वर्षमा यसो गरिदिन्छौं, उसो गरिदिन्छौं, यो ल्याइदिन्छौं, त्यो ल्याइदिन्छौं भन्ने दलहरूको बिगबिगी छ, यो चुनावी देउसी–भैलो मौसममा । भट्टयाउनेको कमी छैन, तर कसलाई पत्याउने ? सबभन्दा पहिला अहिलेको अवस्थामा नेपालका समस्या के–के हुन् ? तिनलाई हामीले हेर्नुपर्ने हुन्छ । त्यसपछि विगतका क्रियाकलापका आधारमा कसले के गर्न सक्छ, भविष्यमा त्यो लख काट्नुपर्ने हुन्छ । विकासको समस्या प्रथम हो, यसमा दुईमत छैन । त्यसपछि विभिन्न सांस्कृतिक जातजाति, भाषाभाषी जनताका हक–अधिकारका कुरा जनजाति, मधेसी, दलित र महिला अधिकारकर्मी, बौद्धिक र राजनीतिकले गर्छन् नै । फेरि नेपालको सार्वभौमसत्ता, अक्षुण्णता र राष्ट्रियताका कुरा पनि छन्, कठिन भूपरिवेष्टित अवस्थाले गर्दा । यी तिनै चुनौतीलाई सबै दलले डटेर सामना गर्छौं र समाधान गर्छौं भन्छन्, तर पत्याउने कसलाई ? कुन कसीले कसरी जाँच्ने ?

नेपालमा जहानियाँ शासनपछि पहिला प्रजातन्त्र र पछि लोकतन्त्रका लागि दशकौंसम्म संघर्ष भयो । नेपाली कांग्रेस र एमालेका नेता/कार्यकर्ताले जेलनेल खेप्नुपर्‍यो, माओवादीले जनयुद्ध गर्नुपर्‍यो, तब गणतन्त्र आयो । नेपाली जनताका आम राजनीतिक अधिकारका लागि निकै रगत–पसिना बगेको छ, नेपाली धरतीमा र यी तीन पार्टीको निकै बलिदानी छ । यसमा दुईमत हुन सक्दैन । यस उपलब्धिका लागि प्रमुख तीन पार्टी र तिनका नेता/कार्यकर्तालाई धन्यवाद दिनैपर्छ र आभार व्यक्त गर्नैपर्ने हुन्छ । नेपाली इतिहासले तिनलाई कहिल्यै बिर्सने छैन, यो पक्कापक्की हो ।

तर साथै कांग्रेस र एमालेले सन् १९९० र यिनीसँंगै माओवादीले २००८ देखि मुलुकको शासन व्यवस्था हाँक्दै, भागबन्डा गर्दै र लिँदै आएका छन् । तिनले नै राज्यसत्ता पालोपालो गरी हाँकेका छन् । यो पनि सत्य हो । फलस्वरूप अहिले आएर यी दलका कार्यकर्तालाई छाडिदिने हो भने आम नेपालीले राजनीति, नेता र पार्टीप्रति कस्तो धारणा बनाउन बाध्य भएका छन् त ? यिनकै कामकुराले राजनीति एउटा फोहोर खेल हुनपुगेको छ, जबकि राजनीतिविना कुनै देश, समाज चल्नै सक्दैन । नेता शब्दको अपमान भएको छ । र राष्ट्रभक्ति, देशभक्ति जस्ता उदात्त शब्दले अतिवादी अर्थ ओगट्न पुगेका छन् । एउटा कुरा के प्रस्ट भएको छ भने यी तीन दलले नेपाललाई अबका दिनमा उँभो लाउन सक्दैनन् । तिनले हत्या, हिंसा र गुन्डागर्दीको संस्कृति भित्र्याएका छन्, जसको निदान यिनीहरूको नियन्त्रण बाहिर गइसकेको छ ।

राज्य दोहन गरेर यिनले कार्यकर्ता पाल्ने संस्कृति र संस्कार बसालेका छन् र राज्यसत्तालाई भागबन्डा बाहिरको विषय ठान्दैनन् । यी कुरीति, छल, प्रपञ्चका अभ्यासहरू यति गहिरिएर बसिसकेका छन् र यी दलहरू यति जकडिएका छन् कि यिनको उन्मूलन यिनीहरूबाट सम्भव नै छैन । र यी कुरीतिमाथि नियन्त्रणबिना विकास त के वितृष्णा र विद्रोह नै जन्मन्छ ।

जेलनेल मात्रै खाएर बृहत र गहन अध्ययनबिना वा माक्र्स र माओलाई घोकेर मात्रै राजतन्त्रसम्म फाल्न सकियो र सोलोडोलो लोकतन्त्र सम्भव भयो । तर एउटा जटिल सामाजिक, भूराजनीतिक परिवेशका लागि सम्यक दृष्टि (भिजन) कहाँबाट पलाउँछ ? सुकरातले अफलातुन (प्लेटो) को रिपब्लिकमा एकखाले अल्प र अधुरो शिक्षाले मानिसलाई चलाख (क्लेभर) त बनाउँछ । तर दुष्ट, बेइमान र कपटी (इभिल) पनि बनाउन सक्छ भनेका छन् । असल शिक्षा त्यो हो, जसले फलामे सिसाझैं मानिसको आत्मामा बोझ बनेर बसेको जन्म र पालनपोषण जनित पूर्वाग्रह, दोष र दुर्गुण नष्ट गरी एउटा यस्तो दृष्टि जन्माउँछ, जसले दृष्टि प्रदत्त व्यक्ति शाश्वत असललाई (गुड) चाखेको हुन्छ र सत्ता, शक्तिका लागि मरिमेट्दैनन् । तर लोकतन्त्रका लागि त्यत्रो संघर्ष गरेका मुख्य पार्टीका ६० कटेका वरिष्ठ नेतामा त्यो दृष्टि जन्मन सकेन । नेपालको शिरदेखि फेदसम्म भ्रष्टाचार व्याप्त छ । विकासको बिउ कसरी उम्रन्छ, भ्रष्टाचारले लतपतिएको यस्तो विषाक्त माटोमा ?

सामाजिक र पहिचानगत न्यायसहितको संविधानको कुरा त देखिहालियो, मधेसी माथिको रक्तपात र थारू माथिको दमनले । विविधताले भरिएको देशका लागि त्यसलाई समेट्ने प्रक्रिया पुर्‍याएर संविधान बनाउनुको सट्टा यी दलहरूले मारकाट निम्त्याउने धाकधम्की र छल, प्रपञ्चका बलमा काइते दस्तावेज खडा गरे । गुन्डागर्दी, भ्रष्टाचार र देशका सबै अंगको कुराजनीतीकरणमा वाम गठबन्धन र कांग्रेस समान रूपले सहभागी छन् भने राष्ट्रवादको विद्रुप फैलाउन ओली एमाले अग्रणी भएको छ । माथिबाट ओली मधेसी, जनजाति बिच्काउने विषवमन गर्छन्, तलसम्मका उनका कार्यकर्ता मैथिलीको भनाइ ‘गायो गाभिन त हँ, बैलो गाभिन त हा’ झैं अमृत वाणी सम्झी शिरोधार्य गर्छन् । अहिले आम जनजाति र मधेसीमा व्याप्त आक्रोशको धुवाँलाई निभाउने कुरा त परै जाओस्, आगो हुनबाट जोगाउन सक्छन् यिनले ?

संविधान बने यताको घटनाक्रम हेर्दा विश्वास गर्ने ठाउँ कहाँ छ ? एक दशकको राजनीतिलाई एउटा स्तम्भकारका रूपमा र झन्डै तीन दशकको शासनलाई एउटा शिक्षित व्यक्तिका रूपमा नजिकबाट नियाल्दा मलाई त विश्वास लाग्दैन । तर अबको बाटो के ? छोटकरीमा भन्दा न्याय र नयाँलाई साथ दिने बाटो नै अबको बाटो हो । नयाँ र न्यायलाई साथ दिनाले नै विकास पनि सम्भव छ र विभिन्न वर्ग, समुदायलाई समेट्न पनि सकिन्छ । विकास र समावेशिता हासिल भए बहुसांस्कृतिक राष्ट्रियता र स्वतन्त्रता त्यसै पनि बलियो हुन्छ । अझ सन्तुलित प्रयास गर्‍यो भने त राष्ट्रियताका लागि दिनरातको कोकोहोलो गर्नै पर्दैन । तसर्थ सर्वप्रथम नयाँ युवालाई भोट दिऔं ।

देश/विदेशमा पढेका, बुझेका, अनुभव बटुलेका युवाहरूले मुलुकको अवस्थाबाट चिन्तित भई विवेकशील साझा पार्टी खडा गरेका छन् । रवीन्द्र मिश्रजस्ता १०/२० जना सांसदमात्र पनि संसदमा गए भने देश हल्लाउनेछन् र राजनीतिको गिर्दो स्तर माथि उचाल्नेछन् । म त कांग्रेस र एमालेका पनि गगन थापा, घनश्याम भुषाल, रवीन्द्र अधिकारी जस्ता युवा नेताहरूले चुनाव अवश्य जित्नुपर्छ । तर तिनका पार्टीले बहुमत जित्ने हैन, सबक सिक्ने बेला आएको छ र देश र समाजको यस्तो दुर्दशा र राजनीति र लोकतन्त्रलाई बदनाम गर्ने तिनका वरिष्ठ नेताहरूले त हार्नैपर्छ, देश जोगाउने हो भने । वरिष्ठ नेताले पनि नयाँ सोच राख्ने प्रमाण दिएका छन् भने तिनले पनि जित्नुपर्छ । उदाहरणका रूपमा बाबुराम भट्टराईलाई लिन सकिन्छ । यिनको जीवन विद्यार्थी कालदेखि नै मेधा, कर्मठता, नौलो सोच र जोखिम मोलाइको परिचायक बनेको छ ।

नेपालमा सोलोडोलो राजनीतिक अधिकारको संघर्ष टुङ्गिए पनि सामाजिक, लैङ्गिक न्याय र पहिचानको लडाइँ टुंगोमा पुगेको छैन । र यसको सम्यक समाधान अत्यावश्यक छ, नत्र मुलुक जोखिममा जान सक्छ । तर अहिलेको चुनावी मैदानलाई हेर्ने हो भने महन्थ ठाकुरको राजपा र उपेन्द्र यादव, अशोक राईको संघीय समाजवादी फोरम नै हो, पहिचानजनित सामाजिक न्यायको संघर्षलाई टाउको फुटाइ–फुटाइ, गोली खाइ–खाइ काँध थाप्ने । संविधान घोषणा यताका एक/दुई वर्षले त यसलाई अझ प्रस्ट्याएको छ । अहिले नै हेरौं । पूर्व लिम्बुवान (कोचिलादेखि पश्चिम थरुहटसम्म न्याय र पहिचानका मुद्दा बोकेका पत्यारलाग्दा कति छन्, पार्टी र उम्मेदवार ?

कांग्रेस, एमाले र माओवादी पार्टीका मधेसी, जनजाति सांसदको हैसियत त देखिहालियो, पहिलो संविधानसभादेखि नै । जिते पनि एक/दुई जनाले मन्त्री खानबाहेक न्याय र पहिचानको मामिलामा केही गर्नेवाला छैनन् । त्यसैले कमसेकम सम्पूर्ण तराई–मधेसमा संसदीय चुनाव राजपा, ससफो गठबन्धनले जित्यो भनेमात्रै न्यायको अभियान संवैधानिक रूपमा अगाडि बढ्न सक्छ र तराई मधेसको आक्रोशलाई यसले सोस्न सक्छ । नत्र कोचिला, थरुहट र मध्य तराई–मधेसमा हत्या–हिंसाको राजनीतिक शृङखला जारी रहने सम्भावना बढ्न सक्छ । तसर्थ यस चुनावमा भोट विचार पुर्‍याएर हालौं । विगतमा गरेका कामकुराको प्रमाणका आधारमा पार्टी र व्यक्तिलाई भोट हालौं । नत्र भोलि यो भएन, त्यो भएन भनेर भन्ने ठाउँ रहँदैन । जनता गुनाका नेता हुन्छन्, जनताका विचार र निर्णय फेरिए मात्र नेता फेरिन्छन् र देश फेरिन्छ ।
मिश्र संयुक्त राज्य अमेरिकास्थित लुइस विश्वविद्यालयमा अंग्रेजीका विभागीय अध्यक्ष हुन् ।

प्रकाशित : कार्तिक २९, २०७४ ०८:१४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

विभेदमा परेका सहिद

सन्दर्भ : छिन्ताङ सहिद सप्ताह
भिसा काफ्ले

जब करेसामा ढकमक्क सयपत्री फुल्छ, अनि झ्याली, झ्याम्टा र ढोलको आवाज खाल्साली (खोकु, छिन्ताङ, आँखीसल्ला) जनताका कानमा पर्न थाल्छ, तब मन ढक्क फुलेर आउँछ । किनकि यी सबै बाडाङमी (खाल्सा क्षेत्रका राई जातिको प्रमुख चाड) आएको संकेत हो ।

बाडाङमी सुरु भएसंँगै खाल्सा फेरि एकपटक दुख्छ । ३९ वर्षदेखिको पुरानो घाउ बल्झेर आउँछ । किनकि २०३६ सालमा यहाँ बम र संगीन नाचेर निहत्था जनताको रगतमा युद्धको होली खेलिएको थियो ।

अन्य १ सयभन्दा बढीलाई राजद्रोह मुद्दामा ७ वर्षसम्म जेल हालेको थियो । ती मध्ये अझै धेरैले बेला–बेलामा त्यसबेलाको दु:ख विसाउँछन् र धेरैको मन रुवाउँछन् । जसका लागि प्रत्येक वर्ष कात्तिकक अन्तिम साता (२३ गतेदेखि २९ सम्म) सहिद सप्ताहको अवसर हुन्छ । त्यहाँ सहिद परिवार र त्यसबेला राज्यको ज्यादती खेपेकाहरूलाई दोसल्ला पहिर्‍याएर सम्मान गरिन्छ । त्यही ०३६ सालको काण्डलाई नुनचुक छर्न नेताहरू पुरानै शैलीमा भाषण वाचन गर्न थाल्छन्, ‘खाल्साली जनता निरंकुशतासँग कहिल्यै डगेनन्, बरु बन्दुकको नाल खान तयार भए । महान छन्, छिन्ताङे सहिदहरू ।’ तर साढे ७ वर्ष राज्यद्रोहको मुद्दामा जेल परेका ८० वर्षीय पञ्चमान राई औषधी–उपचार नपाई घरमै थला परेका छन् । ५ वर्ष जेल परेका कुमार राई, चित्रमान राईहरू अझै पाखुरी बजारिरहेका छन् । शरीरमा एकथोपा रगत रहुन्जेल अन्याय र अत्याचारको विरोध गर्ने कसम खाएका छन् । प्रत्येक वर्ष उनीहरू आफूसँगका सहयोद्धाहरूका लागि मौन धारण गरेर गोपाल आनन्दी राई, श्रीमाया राई (हाङखिमा साइँली), भैरवबहादुर खालिङ राई, पुत्रमान राई, गणेशबहादुर विक, टंकबहादुर विक, बलबहादुर खत्री, पेशलमान राई, लाखमान साधु, चन्द्रबहादुर दमाई, धनवीर दर्जी, रणध्वज पुमा राई, गंगाबहादुर तुप्रिहाङ, चन्द्रबहादुर तुप्रिहाङ, रामकुमारी राई र झगेन्द राईलाई सम्झन्छन् । 

देश चुनावी माहोलमा होमिएको छ, प्रजातन्त्रपछि गणतन्त्रको नवीनतम शासन प्रणाली सुरु भइसकेको छ । बलबहादुर राई भने पाख्रीवास नगरपालिका वडा नं. १० मा अधियाँमा लिएको बारीमा कुटो–कोदालोमै छन् । उनलाई चुनाव नलागेको भने हैन । तर दिनभर काम नगरे बिहान–बेलुका हातमुख जोर्न उनलाई गाह्रो छ । बलबहादुर तिनै व्यक्ति हुन्, जसले ७ वर्षको उमेर हँुदा बाबु पुत्रमान बहुदलीय प्रजातन्त्र ल्याउने अभियानमा लागेकाले राजद्रोहीको आरोपमा तत्कालीन पञ्चाती सरकारले खेदेर तमोर नदीमा ज्युँदै फालेर मारिदिएको थियो । ३८ वर्षपछि तिनै पुत्रमानका छोरा गाउँपालिकाको वडा सदस्य भएका छन् । तर आर्थिक रूपमा भने परिवार पाल्न धौधौ छ । सहदि गोपाल आनन्दका छोरा योगेन्द्र राई ३ नम्बर वडा वडाध्यक्ष भएका छन्, श्रीमाया राई (हङखिमा राई) का छोरा भलकमान राई एमाले जिल्ला कमिटी सदस्य छन् । भैरव खालिङका छोरा सत्यनारायण राई नायव सुब्बा छन् । राजनीतिक रूपमा केही परिवारका सदस्य सक्रिय रहे तापनि आर्थिक रूपमा भने अधिकांशको जीवनस्तर उक्सनसकेको छैन । अझै पनि बिहान–बेलुकाको छाक टार्न बनिबुतोकै भर पर्नुपरेको छ । छिन्ताङ सहिद परिवार संरक्षण समितिका संयोजकसमेत रहेका बलबहादुरका अनुसार गणेश विक र बलबहादुर खत्रीका परिवार सम्पर्कमा नै छैनन् । 

बहुदलीय व्यवस्था ल्याउन पूर्वमा चेतनाको विगुल फुक्ने खाल्साले २०४६ पछि ५ जना सांसद र १ जना मन्त्री पाइसकेको छ । यो क्षेत्रले जहिल्यै पनि कम्युनिष्ट नै रोजेको छ । छिन्ताङको समग्र विकासका निम्ति भन्दै ९ वर्षअघि गुरुयोजना तयार गरी करिब २ करोड रुपैयाँ त्यसमा विनियोजन भए तापनि काम भने सन्तोषजनक रूपमा हुन नसकेको सहिद परिवारका सदस्यहरू बताउँछन् । २०४६ सालको बहुदलीय व्यवस्था स्थापनापछि यो ठाउँको देशभर चर्चा भए तापनि सोचे अनुरुप विकास हुन सकेन । अझ सहिद परिवार र त्यसबेला यातना खपेका परिवारको अवस्था भने दयनीय छ । ग्राभेल सडकले सुन्तला, अदुवा जस्ता स्थानीय उत्पादनले बजार पाउन थालेपछि भने त्यस क्षेत्रका जनतालाई केही आशातित बनाएको छ । 

तर विडम्बना, माओवादीले सञ्चालन गरेको दसवर्षे सशस्त्र युद्धमा ज्यान गुमाएका सबैलाई सरकारले पालैपालो राष्ट्रिय सहिद घोषणा गर्न कन्जुस्याइँ गरेन । अझ ०६२/६३ को जनआन्दोलनपछि राजनीतिक आवरणमा थरीथरीका सहिद घोषणा भए । तर एकदलीय पञ्चायती शासनको विरुद्ध आवाज उठाउने खाल्साली वीरहरू सरकारको नजरमा कहिल्यै पनि सहिद हुन सकेनन् । २०४६ पछि ६ जना कम्युनिष्ट नेता प्रधानमन्त्री बने, तर कम्युनिष्ट आस्था राखेर आन्दोलनमा ज्यान गुमाएका ती वीर सपुतलाई राज्यका सहिद भन्न हिच्किचाइरहे । 

प्रकाशित : कार्तिक २९, २०७४ ०८:१४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT