कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिंसाविरूद्ध अभियानमा पुरूषको साथ

अमृता अनमोल

२५ नोभेम्बरदेखि विश्वभर महिला हिंसा विरुद्धको १६ दिने अभियान मनाइँदैछ । नेपालमा भने सन् २०१० पछि यसलाई लैंगिक हिंसा विरुद्धको अभियानका नाममा मनाइन्छ । सन् २०१० भर महिला हिंसा विरुद्धको वर्ष मनाएकाले यसो गरिएको हो ।

हिंसाविरूद्ध अभियानमा पुरूषको साथ

फरक यत्ति हो, महिला हिंसाले महिला भएकै कारण भएको हिंसा बुझाउँछ । लैंगिक हिंसाले लिंगका आधारमा हुने हिंसा बुझाउँछ । महिलाले मात्रै हिंसाविरुद्ध अभियान चलाउँदा पुरुषहरूलाई परिवर्तन गर्न र प्रतिबद्ध गराउन सम्भव छैन । पुरुष प्रतिबद्ध नभई लैंगिक असमानता हटाउन र समानता कायम गर्न सम्भव छैन । अभियानमा पुरुषलाई समेत सहभागी गराउन महिलाको सट्टा लैंगिक शब्द राखिएको पनि बताइन्छ । यो सबैभन्दा उत्तम उपाय हो । लंैगिक समानताले मात्रै महिला हिंसा कम हुन्छ । यसैले लैंगिक समानता कायम गर्न मनाइने अभियानमा लैंगिक रूपमा महिला, पुरुष र तेस्रो लिंगीसमेत सहभागी हुनुपर्छ । 
महिला–पुरुष एक सिक्काका दुई पाटा हुन् । एक भएमात्रै अर्कोको अस्तित्व रहन्छ । यही कुरा व्यवहारमा पालना नहुँदा धेरै महिला घरभित्रै हिंसामा छन् । मान्छेको सबैभन्दा सुरक्षित स्थल घर र आफन्त हुनुपर्ने हो । तर धेरै हिंसा, भेदभाव र लाञ्छना घरपरिवारबाटै सुरु हुन्छ । ती सबै घटना अदालती प्रक्रियामा लैजान सम्भव हुँदैन । मेलमिलाप र समझदारीबाट टुंग्याउनुपर्छ । त्यसैले महिला समानता र हिंसा अन्त्यको समाधान पनि हरेक घरपरिवारबाटै हुनुपर्छ । परिवारमा महिलामात्रै हँुदैनन् । पुरुष पनि हुन्छन् । यसैले महिला हिंसा हुन नदिन त्यहाँ महिलामात्र होइन, पुरुष पनि अनिवार्य सहभागी हुनुपर्छ । केही संस्कार र परम्पराले महिलामाथि भेदभाव गरेको छ । त्यस्ता संस्कार जोगाउने वा हटाउने काम पनि महिलाले मात्रै गर्न सक्दैनन् । यसमा पुरुषको साथ र प्रतिबद्धता आवश्यक छ । 
महिला–पुरुष बीचको असमानता, अज्ञानता र अकर्मन्यताका कारण हिंसा हुन्छ । महिला हिंसाका धेरै घटना पुरुषबाट भएका छन्् । चाहे त्यो बाबु होस्, दाइभाइ होस्, पति होस्, छोरा होस्, आफन्त होस्, काम कजाउने हाकिम वा सहकर्मी नै किन नहोस् । पुरुष भएकै कारणले महिलामाथि हिंसा गरेको भने होइन । उसले पाएको संस्कार र संस्कारले विकास भएको सोचका कारण विभेद भएको छ । विभेदले हिंसा जन्माएको छ । संस्कार सिक्न जति गाह्रो छ, त्यसलाई छोड्न पनि त्यति नै गाह्रो छ । पुरुषले कस्तो व्यवहार गर्दा महिला हिंसा हुन्छ भन्ने कुरा पुरुषले सिक्न आवश्यक छ । महिलाले सिकाउन आवश्यक छ । यसैले महिला हिंसा विरुद्धका हरेक अभियानमा पुरुषलाई सहभागी गराउनुपर्छ । राज्य तहबाटै महिला वा लैंगिक हिंसा विरुद्धका अभियानमा महिलामात्रै सहभागी गराउने परिपाटी रोकिनुपर्छ ।
महिला पुरुषको तुलनामा कमजोर हुन्छन् भन्ने सोच अझै छ । पुरुषले गर्नसक्ने काम महिलाले गर्न सक्दैनन् भन्ने धारणा छ । महिलालाई अधिकार दिँदा पुरुषको अधिकार घट्छ भन्ने गलत मानसिकता पनि छ । यसले धेरै महिला अवसर पाउनबाट बञ्चित छन् । अवसर पाएका जिम्मेवारीबाट बाहिर छन् । शारीरिक रूपका केही अपवाद बाहेक पुरुष हँुदैमा पहलमान र महिला हुँदैमा कमजोर हँुदैनन् । महिलालाई अधिकार दिनु वा जिम्मेवारी सुम्पनु पुरुषको अधिकार खोसिनु पनि होइन । बरु महिला–पुरुष दुवै सबल र अब्बल बन्नु हो । दम्पती, परिवार र समाज अब्बल बन्नु हो । यो कुरा समाजमा सिकाउनुपर्छ । महिला–पुरुषबीच समानताको भावना विकास गर्नुपर्छ । यसो गर्नसके मात्रै महिला विभेद र हिंसा न्यूनीकरण हुनेछ । यसका लागि अनिवार्य रूपमा पुरुषको साथ चाहिन्छ । महिला हिंसा विरुद्धका अभियानमा पुरुषहरूलाई पनि प्रशिक्षित र परिचालन गर्नुपर्छ । 
अधिकारको हिसाबले हेर्ने हो भने नेपालमा महिला अधिकार विश्वकै नमुनाका रूपमा छ । राणाशासक चन्द्रशमशेरको पालामा सन् १९८२ मा सती प्रथाको अन्त्यसँंगै सुरु भएको अधिकार अहिले उचाइमा पुगेको छ । महिला हिंसाका स्वरुपहरू परिवर्तन भए जसरी त्यसको नियन्त्रणका लागि पनि विभिन्न सामाजिक तथा कानुनी प्रयास भएका छन् । सबै जिल्लामा महिला विकासका कार्यक्रम गर्न महिला कार्यालय गठन भएको छ । महिलाका मुद्दा हेर्न प्रहरी कार्यालयमा महिला तथा बालबालिका इकाइ छ । महिला अधिकार आयोग छ । राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य बनाएको छ । स्थानीय तहमा आउने बजेटको १० प्रतिशत बजेट महिलाको प्रत्यक्ष फाइदा हुने कामका लागि 
छुट्याइएको छ । पति सरह पत्नीलाई पैतृक सम्पत्तिमा अधिकार छ । आमाबाट नागरिकता बन्ने प्रावधान छ । प्रजनन स्वास्थ्यलाई महिलाको मौलिक अधिकारका रूपमा राखिएको छ । घरेलु हिंसा कसुर तथा सजाय ऐन २०६४ ले घरभित्रका हिंसालाई न्याय दिने र हिंसाका उजुरी दर्ता गराउने निकाय फराकिलो बनाएको छ । यद्यपि महिला अधिकार र हिंसा विरुद्धका कार्यक्रमले अपेक्षा अनुसारको परिवर्तन ल्याएका छैनन् । यसको एउटै कारण महिला हिंसाविरुद्ध पुरुषको साथ र सहयोग नहुनु हो । महिलाले अधिकार पाउनु र अधिकार स्थापित गर्न कानुन बन्नु ठूलो कुरा हो । त्योभन्दा ठूलो कुरा अधिकार र कानुनलाई व्यवहारमा पालना गरेर परिवर्तन ल्याउनु हो । परिवर्तन महिलाले मात्रै अभियान चालेर सम्भव छैन । महिला–पुरुष समन्वय, सहकार्य र समझदारीले सम्भव छ । त्यसैले महिला हिंसा घटाउन महिला–पुरुष बीचका समविकासका कार्यक्रम र अभियान आवश्यक छन् । 

 

प्रकाशित : मंसिर १४, २०७४ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?