धानको मूल्य तत्काल तोक

सम्पादकीय

धान बेच्ने समय सकिन लाग्दा किसानलाई उचित मूल्य नपाउने चिन्ताले यसपटक पनि सताइरहेको छ । सरकारले बारम्बार समर्थन मूल्य तोकेर किसानलाई राहत दिने वाचा गरे पनि लागू भएको छैन । यसपटक पनि बिचौलिया र व्यापारीको खटनपटनमा आफूले दु:खजिलो गरी उत्पादन गरेको धान बेच्न किसान बाध्य छन् ।

भौगोलिक बनावटअनुसार धान उत्पादन गर्दा लाग्ने खर्च, महँगी, किसानका लागि न्यूनतम नाफालगायत सूचकहरू विश्लेषण गरी सरकारले धान भित्र्याउनुभन्दा पहिले नै मूल्य तोक्नुपर्ने हो । किसानहरूको बजारसम्म पहुँच कम र सूचनाको अभाव हुनाले यसरी समर्थन मूल्य तोक्ने प्रचलन धेरै मुलुकमा छ । यहाँ भने मूल्य नतोकिँदा व्यापारी तथा बिचौलियाले फाइदा उठाइरहेका छन् । यो सरकारको चरम लापरबाही मात्र नभएर किसानमाथि अन्यायसमेत हो । 
सरकारी निर्णय ढिलाइका कारण व्यापारीले फाइदा उठाइरहेको एउटा पछिल्लो उदाहरण नवलपरासीको हो । व्यापारीले तोकेकै भाउमा धान बिक्री गर्न नवलपरासीका किसान बाध्य छन् । व्यापारीले पनि आफूखुसी मूल्य तोक्ने गरेका छन् । अघिल्लो वर्षको भन्दा पनि सस्तोमा धान बिक्री गर्नुपरेको उनीहरूले गुनासो छ । धान भण्डारण गरेर राख्ने ठाउँको अभाव, पैसाको आवश्यकता र खेतीका अन्य काममा पुन: व्यस्त हुनुपर्ने बाध्यताका कारण किसानले कम मूल्यमा भए पनि बिक्री गर्नुपरेको हो । यस्तो समस्या मुलुकभरका किसानलाई छ । मूल्य नतोकिएका कारण स्वस्थ व्यवसाय गर्ने व्यापारीसमेत अन्योलमा परेका छन् । 
मुलुकभरको १५ लाख हेक्टर जमिनमा वार्षिक करिब ५० लाख टन धान उत्पादन हुने गर्छ । खडेरी तथा प्राकृतिक प्रकोप, मल बिउको अभाव, सिंचाइमा समस्यालगायत कारणले उत्पादनमा तल–माथि हुने गरेको छ । दुई मौसममा धानखेती लगाउने गरे पनि सबभन्दा बढी वर्षायामको उत्पादन हो । मुख्यत: मंसिर पहिलो साताबाट तयार हुने धानबालीका लागि कात्तिकमै सरकारले न्यूनतम मूल्य तोक्नुपर्ने हो । 
मूल्य तोक्नका लागि जिल्लास्थित कृषि विकास कार्यालयहरूबाट सबैभन्दा पहिले सूचना संकलन गरिन्छ । संकलित सूचना, प्राविधिकहरूको सुझाव तथा अन्य प्राविधिक परिस्थिति विश्लेषण गरी कृषि विकास मन्त्रालयमातहतको न्यूनतम समर्थन मूल्य निर्धारण सिफारिस समितिले धानको न्यूनतम मूल्य निर्धारण गर्छ । उसले तय गरेको न्यूनतम मूल्य कृषि विकास मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा पेस गर्नुपर्ने हुन्छ । त्यो मूल्यलाई मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि निर्णय कार्यान्वयनमा जान्छ । यसमा वाणिज्य तथा आपूर्तिसहित अन्य सरोकारवाला मन्त्रालयको समेत प्रत्यक्ष संलग्नता हुन्छ । यसको मुख्य उद्देश्य किसान नठगिऊन् भन्ने हो । तोकिएको मूल्यभन्दा तल बिक्री गर्न किसानलाई बाध्य पारिए सरकारले हस्तक्षेप गर्न सक्छ । प्रक्रिया सजिलो भए पनि सरकारले यसलाई बेवास्ता गर्दै आएको छ । 
मूल्य निर्धारण ढिलाइ हुनुका पछाडि सरकारका आफ्नै तर्क र बहानाबाजी छन् । मन्त्रालयका अनुसार मूल्य निर्धारणका लागि मन्त्रालय तहमा सबै प्रक्रिया पूरा भएका छन् । मन्त्रिपरिषद्बाट मूल्य निर्धारण गर्ने 
प्रावधान व्यापारीले खरिद गरेनन् भने सरकारले नै किनिदिनुपर्ने अवधारणाअनुसार ल्याइएको हो । त्यसका लागि भण्डारण, छुट्टै बजेट तथा अन्य पूर्वाधार नभएर समर्थन मूल्य नतोकिँदा किसानले धानको उचित मूल्य पाउन सकेका छैनन् ।
सरकारी निकाय नै मानिने खाद्य संस्थान आफैंले मूल्य निर्धारण गरिसक्ने जति खरिद गरिरहेकै छ तर खाद्य संस्थान सबैतिर छैन । उसले आफूलाई आवश्यक पर्ने मात्रै खरिद गर्छ । बाँकी स्थानका किसान भने बिचौलियाको मारमा छन् । तर सरकारले भने खाद्य संस्थानलाई देखाएर मूल्य निर्धारणका काममा तदारुकता देखाउने गरेको छैन । किसानलाई स्पष्टसँग ‘हामी मूल्य निर्धारण गर्न सक्दैनौं’ भन्ने सन्देश पनि दिन सकेको छैन । यो राज्यको गैरजिम्मेवारपूर्ण रबैया हो । सरकारले तत्काल धानको समर्थन मूल्य तोकी किसानलाई राहत दिन जरुरी छ । बजारले नै मूल्य निर्धारण गर्ने हँुदा सरकारी हस्तक्षेप आवश्यक नरहेको तर्क पनि एक थरी गरिरहेका छन् । तर किसानसम्म सूचनाको पहुँच नहुने र उनीहरूको बजारसम्म पुग्ने हैसियतसमेत नहुने भएकाले अन्य उपभोग्य सामानसरह बजारलाई मूल्य निर्धारण गर्न दिइनु हँुदैन । समर्थन मूल्य निर्धारणले किसानमा सरकारप्रति विश्वास जगाउनेछ । आगामी दिनमा कृषिजन्य उपजको उत्पादन र उत्पादकत्व बढाउन सहयोग पुग्नेछ । 

 

प्रकाशित : मंसिर १७, २०७४ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्

हिंसाविरुद्ध पहिलो हुंकार

साधना प्रतीक्षा

काठमाडौं — एउटी शिक्षित अनि सम्पन्न परिवारकी महिला एकान्तमा लुकेर आफ्ना ती घाउमा मल्हम लगाउँछिन् जुन उनले पतिबाट पाएकी हुन्छिन् । पतिको इच्छाविरुद्ध बोल्ल्दा वा व्यवहार गर्दा उनले यस्तो सजाय पाए पनि बाहिरबाट हेर्दा कसैले सोच्न सक्दैन कि समाजमा प्रतिष्ठित अनि भद्र उनको पति घरमा श्रीमतीप्रति त्यस्तो हिंस्रक हुन सक्छ π त्यसैले उनी आफूले भोगेको यातनाविरुद्ध बोल्ने आँट गर्दिनन् ।

डराउँछिन्, कतै समाजले उनकै अर्घेल्याइँ पो देखाउने हो कि ? चुपचाप आफ्नै आँसुले ती घाउ पखालेर हाँसेको अभिनय गर्छिन् । एउटी अशिक्षित अनि विपन्नवर्गकी महिला बालबच्चा, घरव्यवहार सबै धानेर बसेकी छन् र पनि हरेक रात मदिराले उन्मत्त पतिको यातना र चोट खेपिरहेकी छन् । तिनले ऐय्यासम्म गर्दिनन् किनकि, उनलाई डर लाग्छ पतिले घरबाट निकालिदिए कता जाने ? फेरि ती लालाबालाको के गति होला ? उनी समाजको भन्दा आफ्नो र सन्तानको भविष्यको पिरले सारा व्यक्त–अव्यक्त चोट सहेर बाँचेकी छन् । एउटी रोजगार युवती कार्यालयको निर्देशकको सही–गलत सबैखाले निर्देशनलाई अनिच्छाले पनि पालन गर्न बाध्य हुन्छिन् । यसबाट उनलाई जागिरको स्थायित्व मात्र होइन, पदोन्नतिको सम्भावना पनि रहन्छ तर प्रतिरोध गर्नासाथै जागिर गुम्ने मात्र होइन, बदनाम गराउने धम्की पनि आउने गर्छ । एउटी किशोरीलाई विद्यालय जान मनै लाग्दैन । उसको एक शिक्षकले उसलाई स्याबासी दिने बहानामा प्राय: स्पर्श गरिरहन्छ जुन उसलाई मन पर्दैन र अनुहार रातो हुने गर्छ । यो कुरा ऊ कसैलाई भन्न सक्दिन र प्रतिकारको साहस पनि उसमा हुँदैन । मानसिक आघातले उसको पढाइ बिग्रँदै गएको हुन्छ । दिनहुँ सार्वजनिक यातायातमा ओहोरदोहोर गर्ने महिलाहरू ठेलमठेलको अवस्थाको फाइदा उठाएर कुनै पुरुषले बदनियतपूर्वक स्पर्श गर्दा आक्रोशित भए पनि बोल्न सक्दैनन् । ‘यस्ता सुकुमारी त प्राइभेट गाडीमा जानु नि’ भन्दै गरेको उपहासलाई उनीहरूले बिर्सन सकेका हुँदैनन् । राष्ट्रियस्तरमा पहिचान बनाइसकेकी एक महिला आफ्नै छिमेकीको ‘फलानाकी स्वास्नी’ भन्ने सम्बोधनमा पुन: आफ्नो पहिचान खोजिरहेकी हुन्छिन् । यौनिक पक्षबारे अनविज्ञ बालिका आफन्तकै माया र मिठाईमा फकिएर यौन उत्पीडन खेप्न बाध्य हुन्छे र पनि त्यो अज्ञात पीडा कसैलाई सुनाउन नसकेर ज्वराक्रान्त भइरहेकी हुन्छे । यी र यस्तै यथार्थबीच अहिले हामी महिलाहिंसाविरुद्धको अभियानमा सक्रिय भइरहेका छौँ !
महिलामाथि दुई प्रकारले हिंसा हुने गर्छ— शारीरिक तथा मानसिक । शिक्षा र चेतनाको अभाव भएको ग्रामीण परिवेशमा महिला शारीरिक हिंसाबाट पीडित देखिन्छन् भने शिक्षित, सभ्य सहरी परिवेशका महिला प्राय: मानसिक हिंसाबाट उत्पीडित देखिन्छन् । महिलावर्गले खेपेका यस्ता उत्पीडन केही मात्रामा सार्वजनिक भए पनि अधिकांश बाहिर आउँदैनन् । पितृसत्ताले स्थापित गरेको ‘सहनु नै नारीको नियति हो’ भन्ने मान्यताले आजसम्म पनि सहनशीलतालाई नारीको आभूषण मानेको छ । यही आभूषणले सजिएर सुन्दर र आदर्श बन्ने बानी परिसकेका हामी त्यसलाई उतारेर असुन्दर बन्न चाहँदैनौँ । बरु जतिसुकै दुखाइ सहेर पनि प्रशंसाको पात्र नै बन्न खोज्छौँ, विद्रोही होइन । त्यसैले त महिलामाथि हुने हिंसाप्रति पितृसत्ता जति जिम्मेवार छ, त्यति नै जिम्मेवार पितृसत्तात्मक विचार पनि छ चाहे त्यो पुरुषको होस् चाहे नारी स्वयम्कै किन नहोस् । आफूमाथि हुने जुनसुकै प्रकारको हिंसा र उत्पीडनप्रति सर्वप्रथम पीडित स्वयम्ले आवाज उठाउनुपर्छ अनि मात्र अरूको साथ–सहयोग पाउन सकिन्छ । आफ्नाबारेमा अरू कसैले बोलिदेला, आफूले बोले अल्पमतमा परिएला वा बदनामी होला भनेर सहेर बस्ने प्रवृत्तिले गर्दा नै आज यस्ता हिंसा तथा उत्पीडन बढिरहेका देखिन्छन् । आफूमाथि हुने अन्यायविरुद्ध आवाज उठाउने साहस हामीले जबसम्म जुटाउन सक्दैनौँ, तबसम्म हाम्रा कुनै पनि अभियानले गन्तव्य पाउन सक्दैनन् ।
युगौँदेखि पितृसत्ताले ‘फुटाऊ र शासन गर’ को नीति अँगालेर महिलामाथि शासन गरिरहेको छ । पितृसत्तात्मक मूल्य–मान्यताबाट महिलालाई पोसित गराएर महिलाकै विरुद्ध प्रयोग गरिरहेको छ । त्यसैले त पतिको यातना सहेर परिवार तथा समाजमा प्रतिष्ठित बनेकी आमा आफ्नी छोरीलाई सहनु नै उसको नियति हो भनेर दीक्षित गराउँछे । यस्तो पुरुषप्रधान संस्कृतिभित्रका बालिका तथा किशोरी आफूमाथि हुने पुरुषहिंसा र यातनाविरुद्ध उजुरी गर्न कहाँ जाने ? एउटी महिलाविरुद्ध अर्की महिलालाई उभ्याएर पुरुषले आश्वासन र प्रलोभन देखाउँदा त्यसलाई आफ्नो प्रतिद्वन्दी हराउने अस्त्र ठान्ने नारी मानसिकता अन्त्य नभएसम्म पितृसत्ताको पराजय सम्भव देखिँदैन । एउटी महिला अर्की महिलाको प्रतिद्वन्द्वी नभएर सहयात्री मात्र हो किनकि, हरेक महिलाको गन्तव्य फरक–फरक हुन्छ । त्यसैले एउटी महिलाको अस्तित्वको सम्मान अर्की महिलाले गर्न सक्नुपर्छ । एउटी महिलाको आत्मसम्मान र स्वाभिमानलाई अर्की महिलाले अभिमान ठान्ने प्रवृत्ति अन्त्य नभएसम्म महिला सशक्तीकरण सम्भव देखिँदैन । आफ्नो पतिले कुनै नारीको आलोचना र चरित्रहत्या गरिरहँदा काखी बजाउने पत्नीप्रवृत्तिले पुरुषसत्तालाई सिञ्चित गरिरहेको हुन्छ । जानेर वा नजानेर हामीले ग्रहण गरिरहेको दासत्वलाई गहना ठान्ने पुरुषवादी सोचको अन्त्य नभएसम्म महिलामुक्ति नारामा मात्र सीमित हुन जान्छ ।
पितृसत्तात्मक सामाजिक संरचनाभित्र निर्मित अनेक विभेदविरुद्ध पश्चिमी महिलाले संगठित आन्दोलनको आरम्भ नगरेर चुपचाप सहेर बसेका भए आज नारीवादी मान्यताले यसरी प्रसारित हुन पाउने थिएन होला र हामीले पनि राजनीतिक र कानुनी रूपमा यतिका अधिकार प्राप्त गर्ने थिएनौँ होला । त्यसैले, विद्रोहको पहिलो हुंकार सबैभन्दा महत्त्वपूर्ण हुन्छ किनभने पीडकले तबसम्म मात्र पीडा दिने हिम्मत गर्छ, जबसम्म पीडितले सहिरहन्छ । प्रतिरोधको पहिलो हुंकारले मात्र पनि पीडकको मुटु हल्लाइदिन सक्छ । हाम्रो जस्तो परम्परागत मूल्यमान्यताले प्रेरित समाजले महिलाको विद्रोही प्रवृत्तिलाई पचाउन सक्दैन । त्यसैले त देवीहरूलाई पनि सुन्दर र पुरुष देवताका सहयोगीका रूपमा प्रस्तुत गरिएको पाइन्छ । महादेवको छातीमा टेकेकी उग्र महाकालीको स्वरूप प्राय: मन्दिर र घरहरूमा देखिँदैन । यथार्थमा हाम्रो सनातन परम्पराले मानेको शक्तिको स्रोत अर्थात् महाकाली केवल काल्पनिक देवी नभएर हरेक नारीभित्र सुषुप्त अवस्थामा रहेको शक्ति हो, जसलाई जागृत गराउनु नै सही अर्थमा महिला सशक्तीकरण हो ।
आफूलाई शारीरिक वा मानसिक हानि पुर्‍याउने प्रवृत्तिविरुद्ध जब प्रतिकारको चाहना व्यक्त गर्छौं, तब हामीलाई यही उपदेश दिइन्छ— रछान चलाएर मुखमा छिटा पार्नु हुँदैन । हामी त्यो रछानलाई बेवास्ता गरेर भागिरहन्छौं तर विकृति र विसंगतिका तिनै रछानबाट उत्पन्न हुने असंख्य जीवाणुले युगौँदेखि हामीलाई रोगी बनाइरहेका छन् । त्यसैले अब हामीले छिटा पर्ने डरले जमेको रछानलाई त्यसै छाड्ने होइन, सुरक्षित कवच पहिरेर त्यसको सफाइ गर्नुपर्छ । सम्पूर्ण महिलाको एकता र प्रतिबद्धताबाट मात्र त्यस्तो कवचको निमार्ण सम्भव देखिन्छ । हिंसा र उत्पीडनका जीवाणु हुर्कने रछानै नरहेपछि हाम्रो भावी पुस्ता स्वत: स्वस्थ बन्नेछ । 
अब सामाजिक आलोचनाका डरले हामीले घरेलु हिंसा सहनु हँुदैन किनकि, पत्नीमाथि पुरुषार्थ देखाउने पति पनि समाजमा सम्मानको पात्र रहँदैन । पतिले घरबाट निकालिदेला भनेर कुनै पनि पत्नीले उसको ज्यादती सहनु पर्दैन किनकि, त्यस परिवारमा उसले गर्ने श्रम बाहिर गर्ने हो भने उसले आफ्नो गुजारा सजिलै गर्न सक्छे । रोजगारी गुम्ने डरले हाकिमको मानसिक प्रताडना सहने होइन, प्रतिरोध गर्नुपर्छ किनभने, त्यो रोजगारी कसैको दयाले होइन, आफ्नै मिहिनेत र योग्यताले पाएको हो । कुनै शिक्षकको बदनियतका कारण किशोरीहरूले पढाइ बिगार्ने होइन, त्यसविरुद्ध प्रतिकार गर्नुपर्छ । हो, प्रतिकार चेतनाको विकास अनि प्रतिकार गर्ने इच्छाशक्तिले नै हरेक महिलालाई उसको अस्तित्वबोध गराउँछ । त्यसैले आफूमाथि हुने जुनसुकै प्रकारको हिंसा र अनिच्छित व्यवहारविरुद्ध पहिलो आवाज पीडित महिला स्वयम्ले उठाउनुपर्छ अनि सम्पूर्ण महिलाद्वारा त्यसलाई बुलन्द पारिनुपर्छ । यसैमा सार्थक बन्नेछ महिलाहिंसाविरुद्धको हाम्रो अभियान ।
pratikshagunjan@gmail.com

प्रकाशित : मंसिर १७, २०७४ ०८:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्