कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अझै फर्जी मत !

सम्पादकीय

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचन सकिएसँगै मताधिकार हस्तक्षेप/दुरुपयोग गर्दै फर्जी मत खसाएका समाचार प्रकाशमा आइरहेका छन् । मतदान केन्द्रमा उपस्थित नभएको, मृत्यु भइसकेको व्यक्तिका नाममा समेत मत हालेको पाइएको छ ।

अझै फर्जी मत !

फर्जी मत रोक्नै भनेर फोटोसहितको अत्याधुनिक मतदाता परिचयपत्र लागू गरिए पनि अर्काका नाममा भोट खसाल्ने प्रवृत्ति नरोकिनु उदेकलाग्दो छ । यसमा सम्बन्धित मतदान केन्द्रमा खटिएका निर्वाचन आयोगका कर्मचारी तथा राजनीतिक दलका प्रतिनिधिहरूको लापरबाही जिम्मेवार देखिन्छ । 

मंसिर १० गते भएको पहिलो चरणको निर्वाचनमा औसत करिब ६५ प्रतिशत मतदान हुँदा बाजुरा, डोल्पा, रसुवा र हुम्लामा ८० प्रतिशत हाराहारी मतदान भएको थियो । अत्यधिक चिसो मौसम र युवा कामको खोजीमा भारत पसेका बेला भएको निर्वाचनमा पनि यतिका धेरै मतदान हुनु आश्चर्यजनक थियो तर मतदानपछि यसका कारण खुल्दै गएका छन् । बाजुरामा एकजनाले ६० भन्दा बढी मत हालेको पाइएको छ । उनीहरूले गाउँमा नभएका व्यक्ति तथा मतदान केन्द्रमै महिलाको मतपत्र लिएर आफैं छाप हानेका हुन् । मतदान केन्द्रमा ढिलो पुग्ने व्यक्तिको मत अगाडि नै अरूले हालिसकेको समेत भेटिएको छ । अधिकांश ठाउँमा राजनीतिक दलहरूले सहमति गरेरै फर्जी मत खसालेका थिए । कतिपय मतदान केन्द्रमा भने बलियो पकड भएको दलले निर्वाचन आयोगका कर्मचारीलाई धम्क्याएर फर्जी मत हालेको पाइएको छ । बाजुरामा फर्जी मत अधिक खस्छ भनेर शंका गर्ने आधार केही महिनाअघि भएको स्थानीय निर्वाचनको बदर मत प्रतिशत पनि हो । मतदाता शिक्षा सबैतिर नपुगेको र अलमिलनेखालको मतपत्र रहेको अवस्थामा पनि बाजुरामा ०.०१ प्रतिशत मत मात्र बदर भएको थियो । 

धादिङको रुबीभ्याली गाउँपालिकाअन्तर्गत सेर्तुङस्थित बोराङको मुक्राव देवी मावि मतदान केन्द्रमा ९९ दशमलव २६ प्रतिशत मत खस्नु आश्चर्यजनक छ । त्यहाँ मतदाता संख्या ८ सय १५ रहेकामा ८ सय ९ मत खसेको छ । जबकि मतदाता नामावलीमा रहेका १७ जनाको मृत्यु भइसकेको थियो र केही युवा विदेशमा छन् । बाजुरा र धादिङका यी दृष्टान्तले मतदान शान्तिपूर्ण हुँदैमा स्वच्छ र विश्वसनीय नहुने रहेछ भन्ने देखाएका छन् । मतदाता परिचयपत्र फोटोसहित दुरुपयोगले मत परिणाममै प्रभाव पार्छ । यो समग्रमा निर्वाचनमार्फत आफ्नो प्रतिनिधि छान्ने लोकतान्त्रिक विधिको उपहास हो । 

निर्वाचनलाई स्वच्छ र विश्वसनीय बनाउनै निर्वाचन आयोगले मतदाता परिचयपत्र व्यवस्था गरेको हो । २०७० सालको संविधानसभाको दोस्रो निर्वाचनमा पहिलोपटक फोटोसहितको सामान्य मतदाता परिचयपत्र लागू गरिएको थियो । प्रतिगोटा १० रुपैयाँ हाराहारी छपाइ खर्च भएको अहिलेको परिचयपत्रमा सुरक्षा प्रयोजनका लागि ‘क्यूआर कोड’ का साथै ‘भ्वाइड पेन्टोग्राफ’, ‘माइक्रोटेक्स्ट’, ‘वाटरमार्क’ समेत छन् । परिचयपत्रमा बाहकको फोटो, नाम, जन्ममिति, नागरिकता नम्बर र जिल्ला, बाबु–आमाको नाम, पति वा पत्नीको नाम, ठेगानाका साथै मतदान केन्द्र खुलाइएको हुन्छ । फोटोसहितको परिचयपत्र हुनाले मतदान केन्द्रमा खटिएका कर्मचारी तथा राजनीतिक दलका प्रतिनिधिले मतदातालाई सजिलै चिन्न सक्छन् । त्यसैले निर्वाचन कार्यालयका कर्मचारी तथा राजनीतिक दलका स्थानीय प्रतिनिधिको गैरजिम्मेवार भूमिकाले मात्र फर्जी मतदान सम्भव हुन्छ । कुनै एउटा दलले पकड जमाएको ठाउँमा निर्वाचन कर्मचारीलाई डर देखाएर, धम्क्याएर फर्जी मतदान गरिएको हुन सक्छ । 

फर्जी मतदानले लोकतन्त्रलाई नै बदनाम गराउन सक्छ । त्यसैले नागरिकको मताधिकार दुरुपयोग/हस्तक्षेप नगरी/नगराई निर्वाचनलाई स्वच्छ र विश्वसनीय बनाउन सरकार तथा निर्वाचन आयोगले विशेष ध्यान दिनुपर्ने खाँचो देखिएको छ । मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनमा समेत फर्जी मत नखसोस् भनेर विशेष निगरानी अपनाउन अत्यावश्यक छ । फर्जी मत खस्न नदिएर निर्वाचनलाई मर्यादित र विश्वसनीय बनाउने दायित्व राजनीतिक दलहरूको समेत हो । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक प्रभावकारी पार्नसके धादिङको रुबीभ्यालीमा जसरी मृतकका नाममा मत खस्न बन्द हुन्छ । 

 

प्रकाशित : मंसिर १८, २०७४ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?