कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मनोस्वास्थ्य अनुकूल कार्यस्थल

काठमाडौं — स्वस्थ मनस्थितिको मानिस सन्तुलित रूपमा सोच्न, अनुभव र व्यवहार गर्न सक्ने हुन्छ । सुनियोजित र परिलक्षित भएर मेहनत गरी जीवन बिताउँछ । फुर्सदको समय पनि सदुपयोग गर्छ । समाज, छरछिमेक र नातागोतामा परस्पर चालचलन, संस्कृति र समय सुहाउँदो रूपमा मिलनसार भएर बस्न सक्छ ।

मनोस्वास्थ्य अनुकूल कार्यस्थल

परेका बेला अरूलाई सघाउँछ र आफूले पनि सहयोग पाउँछ । जीवन र समाजमा आइपरेका कतिपय विषम परिस्थिति र तनावका बेला संयमित र अविचलित भएर अगाडि बढ्ने गर्छ । 

विभिन्न मानसिक रोगमा थरीथरी मनोवैज्ञानिक र अरू लक्षण देखा पर्छन् । अरू बेलाभन्दा र त्यही पृष्ठभूमिका अरू मानिसको भन्दा बोलीव्यवहार, शारिरीक चालढाल असामान्य रूपमा कम वा बेसी हुन सक्छ । जस्तै– नबोल्ने, ज्यादा बोल्ने अथवा नमिल्दो हुने, वयस्क मानिसले पनि बच्चाले जस्तो व्यवहार गर्न थाल्ने आदि । ज्यादा रिस, उत्तेजना, खुसी, चिन्ता, दु:ख अनुभव हुने, धेरै चिन्ता, विचार खेल्ने वा सोच्नै नसकिने वा गलत विचार हावी हुने, ज्ञानेन्द्रियको अनुभवमा गडबडी भई हुँदै नभएका कुरा अनुभूत हुने, एकाग्रता नरहने, सम्झना, बुद्धि, निर्णय क्षमता क्षीण भएर जाने, आफ्नो मन र शरीरको दशाको हेक्का नरहने लक्षण देखा पर्छन् । यस्तै, आफू, आफन्त र भविष्यप्रति नकारात्मक सोच हावी भएर आत्महत्याको विचार र व्यवहार देखा पर्न सक्छ । उदासीनता (डिप्रेसन), छटपटी (एन्जाइटी), दुव्र्यसन, पागलपन (सिजोफ्रेनिया), विस्मृति (डिमेन्सिया), सुस्त मनस्थिति केही मुख्य मनोरोग हुन् । हालसम्ममा पाँच–छ सयखाले मनोरोगका नाम अगाडि आएका छन् । 

हरेक दिन र पूरा जीवन बित्ने हिसाबले कार्यक्षेत्र (कार्यस्थल) सँग उसको मनोदशा, मनस्थिति र मनोस्वास्थ्यको सम्बन्ध नजिकको हुने गर्छ । हरेक व्यक्तिको उल्लेख्य समय कार्यस्थलमा बित्ने गर्छ । यसरी दैनिकी र जीवनको अहम् हिस्सा बिताउने कार्यस्थलको परिस्थिति, वातावरण र अन्तरक्रियाले कुनै पनि मानिसमा मनोसामाजिक मात्र होइन, जैविक तत्त्वसहितमा या त बचाउ गर्ने वा रोग प्रकट हुन बढावा दिने हिसाबमा जटिल अन्तरक्रिया गरिरहेको हुन्छ । 

यति धेरै मानिसलाई अस्वस्थ तुल्याएर विकलांग र बेचैन बनाउने मनोरोगहरूको पहिचान र उपचार व्यवस्थापन भने भएको हुँदैन । त्यसैले हाम्रो घरपरिवार, समाजमा मनोरोगको समग्र भार सधैंजसो उच्च हुन्छ । मानसिक रोग आत्महत्या र शारीरिक रोगहरूको 

हेलचेक्रयाइँका कारण हुने मृत्युको पछाडि मूल कारणका रूपमा देखा पर्छ । धेरै मानिस लामो समयका लागि अस्वस्थ भएपछि उनीहरूको आयआर्जन, उत्पादनशीलता र समग्र समाजकै उत्पादकत्व पनि खस्किने नै भयो । कार्यक्षमतामा मानसिक समस्याले गिरावट ल्याउने मात्र होइन, शिक्षा, तालिम र वृत्तिविकासको समयमा यस्तो रोग लाग्दा व्यक्तिको समग्र क्षमता, सीप र अन्तगोतत्वा उत्पादनशीलतामा गम्भीर असर परिरहेको हुन्छ । उपचार खर्चले हुने व्यय त छँदै छ, सबैजसो मानसिक समस्याको उपचार व्यवस्थापन हामीकहाँ नै सुलभ रूपमा सम्भव भएको छ । यसका लागि सबै मानिस मानसिक समस्या, तिनका लक्षण, उपलब्ध सेवासुविधाबारे जागरुक र सचेत रहन आवश्यक हुन्छ । 

मानसिक समस्याले कर्मचारी, मजदुर, शिक्षक, विद्यार्थी, किसान, कार्यकर्ता वा नेता कसैलाई छाड्दैन । यसले कामको प्रकृति र क्षेत्र हेरी तुलनात्मक रूपमा धेरैथोरै मानिसलाई सताइरहेको हुन्छ । अत: सञ्चालक र त्यसमा काम गर्ने सम्बन्धित सबैले आआफ्नो कार्यक्षेत्रमा रहेका मानसिक स्वास्थ्यका खतरा पहिचान गरी रोकथाम र उपचार गर्ने तथा मानसिक स्वास्थ्यका हिसाबले अनुकूल अवस्था सिर्जना गर्ने कार्यमा जागरुक र सक्रिय रहन आवश्यक छ । मानसिक स्वास्थ्यका हिसाबले कार्यस्थल अनुकूल बनाउन उपयोगी केही उपाय निम्नानुसार छन् : 

१. समझदारी– सञ्चालक, मालिक र कर्मचारी, कामदार सम्बन्धित सबै पक्षबीच परिपूरक हुने सोच र त्यसैअनुसारको पहँुच व्यावहारिक रूपमै अवलम्बन हुनुपर्छ । 

२. खुला र आत्मीय सञ्चार– कुनै पनि विषयमा व्यक्तिगत र संस्थागत रूपमा परस्परमा खुला र आत्मीय कुराकानी भए समाधान, उपाय निस्कन सक्छ र त्यसले सबै पक्षमा सन्तुष्टि दिन्छ । 

३. परस्पर आदरभाव– पद, शिक्षा, आम्दानी, आर्थिकस्तर, उमेर आदि कुराका बाबजुद मालिक, कामदार सबैको बीच आदरपूर्ण मानवीय व्यवहार भए दैनिकी, सामाजिक सम्बन्ध र अरू प्रक्रिया पनि सरल बन्छन् । 

४. सहयोगी भावना– आवश्यक परेका बेला अरूलाई सहयोग गर्नु र चाहिएका बेला अरूबाट सहयोग पाउनु र माग्नु पनि स्वस्थ मानसिक अवस्थाको द्योतक हो । 

५. स्वस्थ वातावरण– काम गर्ने ठाउँ, हावापानी, ध्वनि, उज्यालो, तापक्रम, सुरक्षाजस्ता कुरा, कार्यतालिका, कार्यभार, व्यक्तिको क्षमता, रुचि र पदअनुसार निर्दिष्ट छ छैन ? वृत्तिविकासका हिसाबले अनुकूल छ छैन ? समग्र वातावरण र परिस्थिति सम्बन्धित सबैको हितमा ल्याउने कोसिस सबैबाट हुनुपर्छ । बेलामौका खेलकुद र स्वस्थ मनोरञ्जनका कार्यक्रम गर्न सकिन्छ । 

६. शारीरिक, मानसिक र सामाजिक हिसाबले उपयुक्त नीतिनियम– सम्पूर्ण स्वास्थ्यका हिसाबले अनुकूल नीतिनियम र आवश्यक सेवासुविधाका लागि बहस, पैरवी र कोसिस गर्नुपर्ने हुन्छ । स्वास्थ्य बिमा र अन्य सुविधाको व्यवस्था गर्न सकिन्छ । 

७. चोटपटक र अन्य व्यावसायिक खतराका हकमा सुरक्षा र अन्य आवश्यक व्यवस्था– कुनै कुनै व्यवसाय, काम वा पेसामा खास खतरा हुन सक्छ । जस्तै– खानीमा काम गर्ने कामदारहरू त्यहाँको धूलो कणसँग बढी सम्पर्कमा रहन्छन् र दुर्घटनाको सम्भावना पनि अत्यधिक हुने गर्छ । यस्ता निश्चित खतराको पर्याप्त सम्बोधन हुनेखालको व्यवस्था र नीति चाहिन्छ ।

८. नशालु पदार्थको दुरुत्साहन– काम गर्ने ठाउँ, विविध अवसर र परस्परको व्यवहारमा जाँड, चुरोट, रक्सी वा गाँजाजस्ता नशालु पदार्थको प्रयोगलाई दुरुत्साहन गर्ने संस्कृति अपनाउनुपर्छ । कार्यस्थलमा यस्ता पदार्थको प्रयोगलाई पूर्ण निषेध गर्नुका साथै कोही सहकर्मीमा यस्ता पदार्थको लत भए उपचार व्यवस्थापनका लागि साथसहयोग र प्रोत्साहन दिनुपर्छ । 

९. मानसिक समस्याबारे सबै पक्षको सकारात्मक र सचेत सरोकार– सम्बन्धित सबैले मानसिक समस्या, लक्षण र उपलब्ध सेवासुविधा, उपचारबारे जानकारी राख्दा तिनको समयमै पहिचान र उपचार गर्न सहयोग पुग्छ । 

१०. उपचार व्यवस्था– कसैमा मानसिक समस्याका लक्षण देखिए हेला वा मिथ्याका दृष्टिले हैन, बरु सकारात्मक र सहयोगी भूमिका निभाउनसके सम्भावित जटिलता कम भएर जान्छ । यस्तो अवस्थामा उपचार व्यवस्थापन मिलाउनुपर्छ । 

११. सुधारपछि फलोअप, सद्भाव, पुन:स्थापनामा सहकर्मीको भूमिका– उपचारपछि पनि फलोअप, उपचारमा रहेर आफ्नो अवस्था र क्षमताले दिएसम्म सक्रिय रहन साथीभाइ, सहकर्मी, नातेदार, परिवारजन आदिले प्रोत्साहन दिनुपर्छ ।  

१२. चेतनामूलक र सेवामूलक कार्यक्रम– व्यवस्थापन पक्षले पनि मानसिक स्वास्थ्यसम्बन्धी जागरुकताका लागि बेलाबेला चेतनामूलक र सेवामूलक कार्यक्रम गर्न आवश्यक छ । 

[email protected]

डा. शाक्य वरिष्ठ स्नायु, दुव्र्यसन तथा मनोरोग विशेषज्ञ हुन् । 

प्रकाशित : पुस २, २०७४ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?