कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भोलि, मिथक र यथार्थ

समय रेखा
अभि सुवेदी

मनमोहन अधिकारी नेपालका पहिलो कम्युनिस्ट प्रधानमन्त्री भएपछि ब्रिटेनको ‘इकोनोमिक्स’ पत्रिकाले लेख्यो– ‘एउटा कम्युनिस्ट कम्युनिस्ट रहंँदैन, जब ऊ नेपालको प्रधानमन्त्री हुन्छ ।’

भोलि, मिथक र यथार्थ

त्यसपछि अधिकारी ब्रिटेनको भ्रमणमा जाँंदा त्यहाँं उनले गएर डिस्कोर्स दिएको विभागमा रहेका मित्रहरूले पछि भनेका थिए, ‘नेपालमा यस्तो भिजन भएको र वाचाल प्रधानमन्त्री हुन्छ भनेर हामीले सोचेका थिएनौं ।’ अमेरिकी माक्र्सेली विद्वान फ्रेडरिक जेमिसन हामीलाई ‘लिटरेरी थ्योरी’को भाषण दिन यहांँ आएको बेला याक एन्ड यति होटलमा भेट्न म मनमोहनलाई लिएर गएँ । यो दोस्रो भेटमा जेमिसन मनमोहनसँंग अत्यन्त प्रभावित भए । रमाइलो कुरा अर्को थियो । मनमोहनलाई भेटेर नेपालमा चाहिँं धेरै ठाउंँमा सम्भव नभएको कम्युनिस्टको चुनावी सरकार बन्नसक्ने कुरामा आशा पलायो, जेमिसनलाई, त्यो नोभेम्बर १९९३ को अमूक दिनमा । त्यसको ठिक एक वर्षपछि नोभेम्बर १९९४ मा मनमोहन नेपालका पहिलो कम्युनिस्ट प्रधानमन्त्री भए, जुन जेमिसनको भविष्यवाणी पुगेको एक ऐतिहासिक घटना थियो । तर सायद अब प्रधानमन्त्री हुने केपी ओली वा प्रचण्ड र मनमोहन अधिकारीमा कति कुरा साम्य छन्, कति फरक छन्, त्यसका लागि इतिहास, सन्दर्भ र समय पनि हेर्नुपर्छ । कम्युनिस्टहरूकै समय र यथार्थ अनि मिथकका पुनव्र्याख्या भएका छन् । म यो आमचुनावले ल्याएका केही यथार्थ र मिथकहरूबारे आफूलाई लागेका थोरै कुरा सोझो भाषामा राख्न चाहन्छु । 
पहिलो कुरा, म इतिहास कहिल्यै पनि सफा स्लेटमा लेखिंँदैन र वाल्टर बेन्जामिनले भनेजस्तो पहिलेको इतिहास पनि अहिले बल्झिन्छ भन्ने कुरामा विश्वास गर्छु । दोस्रो कुरा, कार्लमाक्र्सले ‘अठारौं ब्रुमेर’मा भनेजस्तो नेपोलियन बोनापार्टले सिजारको अभिनय गरेर इतिहास दोहोर्‍याउन चाहेजस्तो नेताहरूले गरे भने त्यो उपहासपूर्ण अभिनय हुन्छ । यसपालिको आमचुनावमा ठूलो मत ल्याएर विजयी भएका वाम घटक दलहरूको सबभन्दा ठूलो चुनौती इतिहास नयांँ बनाउने कि कम्युनिस्ट दोहोर्‍याउन अभिनय गर्ने भन्ने हो । नेपाली कांग्रेसले आफ्नो प्रचारमा, खासगरी शेरबहादुर देउवाले, बारम्बार वाम घटकको स्वरूप कम्युनिस्ट हो र तिनले जिते भने अधिनायकवाद ल्याउँंछन् भनेको कति यथार्थ र कति मिथक हो, कांग्रेस, कम्युनिस्ट वा वामपन्थीहरूले खुलेर बहस गरेको राम्रो हुन्छ । त्यो गतिशील हुनेछ । चाखलाग्दो कुरा के देखियो भने, प्रचण्डका भाषणमा पटक–पटक गिरिजाबाबु र बीपीको प्रसंग आइरह्यो र त्यो परिवर्तन, सम्झौता र सहकार्यको सन्दर्भमा थियो । कांग्रेसका नेताहरूले आफ्नो दलको इतिहास र तिनका नेताहरूको इतिहासमा योगदानबारे कति चर्चा गरे, त्यो अर्कै कुरा हो । 
फेरि अर्को कुरा वाम घटकका दल र नेताहरूले हिजोको कम्युनिस्ट अवतार फेरि लिएर फेदैदेखि सुरु गर्ने कुरा सम्भव पनि छैन र त्यसको तुक पनि छैन । प्रचण्डकै फेरि कुरा गरौं । उनी ठूलो माओवादी गुरिल्लाको नेतृत्व गरेका मानिस हुन् । उनले गिरिजाबाबु र सात दलसँंग मंसिर २०६३ मा बृहत शान्ति सम्झौता गरे । माओवादी आन्दोलन चुनावमा भाग लिने दल बन्यो । यिनै प्रचण्ड दुईपटक प्रधानमन्त्री भए, त्यही दलका नाममा । माओवादी दलका नेता, लडाकुहरू र कार्यकर्ताले अनुशासित अवतरण गर्न निकै दु:ख झेले । तिनको अवतरण लोकतन्त्रमा भएको छ । भारतका माओवादीहरू अहिलेसम्म दण्डकारण्य जंगलभित्रै छन् । तुलना गरेर हेर्दा अर्थ खुल्छ । अर्को कुरा एमालेका नेता केपी ओलीको विषयमा छ । उनी अब सायद छिटै ठूलो दलका नेता र शक्तिशाली प्रधानमन्त्री हुंँदैछन् । उनको र कम्युनिस्ट नामको विषयमा झलक सुवेदीले लेखेका यी हरफ वाचाल छन्, ‘यसै पनि विश्वमा कमजोर रहेको कम्युनिस्ट तथा वामपन्थी आन्दोलनका सन्दर्भमा (यता ओलीले आफूलाई केवल पोलिटिकल कम्युनिस्ट भन्न रूचाएको तथा समाजवाद र खस–पहाडे राष्ट्रवाद मिसमास भएको लोकप्रिय राजनीतिलाई आधार बनाएर बहुमत ल्याएको भए पनि) हंँसिया–हथौडा भएको झण्डा लिएर सरकार बनाउन लागेका कम्युनिस्टहरूलाई देख्दा ‘विश्वभरका वामपन्थीहरूको आकर्षण बढ्नु अस्वाभाविक पनि होइन ।’ तर देशभित्रै यो जितलाई हेर्ने दृष्टिहरू पनि अनेक छन् । नेपाली कांग्रेसले यो गठबन्धनको शक्ति र सरकारलाई कसरी हेर्छन् भन्ने कुरा उनीहरूका के योजना र भिजन छन् भन्ने कुराले निर्देशित गर्नेछ । तर चन्द्रकिशोरको विचारमा मधेसीहरूले यो चुनावमा मध्यमार्गी धार लिएका हुन् र ती पृथकतावादी धारबाट आकर्षित छैनन् । तर उनको विचार छ, ‘वाम गठबन्धनको सरकारले भूराजनीतिक सन्तुलन कायम गर्न चाहेन र संविधानमा मनपरी तरिकाले खण्डन–मण्डन गर्न थाल्यो भने प्रतिरोधको राजनीतिको प्रयोगशाला मधेस नै बन्नेछ’ (कान्तिपुर, २८ मंसिर) । नेपालको यो वाम घटकलाई भारतीय प्राध्यापक एसडी मुनीले साम्यवादको होइन, राष्ट्रवादको लहर भनेछन् (कान्तिपुर, २९ मंसिर) । मिडियामा छानेर हेर्ने हो भने सटिक विश्लेषणहरू भइरहेका भेटिन्छन् । केही यस्ता आलेखक छन्, जसले यो अवस्थाका सूक्ष्म विश्लेषण गरेका छन् । मेरो तर्कको सार हो, वाम गठबन्धनको सरकारलाई हेर्ने दृष्टिहरू बाहिरी र आन्तरिक दुबै छन् । यथार्थ माक्र्सवादी सिद्धान्तका ठेली पल्टाएर भेटिने छैन, त्यो नेपालको अवस्था र अवस्थितिले मात्र देखाउनेछ । चुनावको बेला भोटै नदिई ठूलो संख्यामा भारततिर कामको खोजीमा गएका र विदेशी रोजगारीमा एयरपोर्टमा भेटिएका हजारौं युवाका भिजुअलले धेरै कुरा बोल्छन् । 
सबैलाई थाहा भइआएका एकाध कुरा यस्ता छन् । यी कुराले पनि भोलिको स्थायी सरकार, यसका दूरगामी आर्थिक नीति, प्रदेशहरूका विकासका योजना, आर्थिक स्रोतका पहिचान र प्रयोगलाई गतिलो बनाउन मद्दत गर्नेछन् । ती कुरा हुन्, अहिलेको देशमा चलेको भ्रष्टाचारको विकराल रूप अहिलेका सबै राजनेतालाई थाहा भएको विषय हो । यिनीहरू सबै सरकारमा आइसकेका मानिस हुन् । भूकम्प पीडित नरनारीका पीडा देखेका र खासै केही नगरेका नेता, दल र सरकारहरू पनि यिनै थिए । देशको धन भनेको भागबन्डा गरेर खाने हो भन्ने संस्कार विकसित हँुंदा पनि केही नगर्नेहरू पनि नेपाली राजनेताहरू नै हुन् । जितेका र हारेका दुबै पर्छन् । गरिब–गुरुवाको स्वास्थ्यको रक्षा, उपचार सेवामा सबैको पहुंँच हुने योजना बनुन् भनेर भोक हडताल गर्ने डाक्टर र तिनका समर्थकलाई वैरी देख्ने र देखिआउनेमा पनि जितेका र हारेका दलहरू र तिनका सरकार पर्छन् । तर अब स्थायी सरकार बन्ने र संघीय नेपालले गर्न सक्ने धेरै सम्भावना खुलेका छन् भन्ने कुराले हामी सबै खुसी भएको अवस्था हो, अहिलेको । यो आमचुनावले ठूला परिवर्तन ल्याउनेछ भन्ने कुरामा हामी आशावादी हुने आधार छन् । हिजोको नेपाली राजनीति र अहिलेको राजनीतिमा फरक छ । हिजोको राजनीति एक आयामिक थियो भने अहिलेको बहुआयामिक । प्रस्ट छ, अहिलेको विश्व हिजोसँंग पुरै मिल्दैन । हामी सबै त्यसका जानकार छौं । तर केही हाम्रा ऐतिहासिक अनुभव यस्ता छन्, जसलाई पुरै बिर्सेर हामी कहीं पनि पुग्न सक्ने छैनौं । अर्को कुरा, अहिलेको नेपाली समाज अस्थिरता र भ्रष्टाचार अनि केही नहुनुले दिक्क भएर चुनावबाट स्थायित्वको अपेक्षा गर्छ, त्यो सिधै बुझिने कुरा हो । यस पटकको चुनावका इतिहासभित्र भेट्न सकिने केही स्मृति छन् । अमेरिकी माक्र्सेली सिद्धान्तवादी फ्रेडरिक जेमिसन त्यसलाई इतिहासको अवचेतन ग्रन्थि भन्छन् । इतिहासभित्र पनि स्मृति बसेको हुन्छ, ती भन्छन् । 
यस पटकको ऐतिहासिक आमचुनावले जस्तो नेपाल देशमा ल्याएको उथलपुथल मेरोसम्म उमेरले देख्न भ्याएको एउटामात्र उदाहरण छ । त्यो हो, २०१५ सालको आमचुनाव, जसमा मेरो वयका स्कुले केटाकेटीले चुनावको यत्रै उथलपुथल देख्यौं । त्यो उथलपुथल पहिलो जागरण थियो । हाम्रो निम्तिमात्र होइन, हाम्रा अग्रजहरूको निम्ति पनि त्यो परिवर्तन पहिलो थियो । लामो राणा शासनपछिको एक अनिच्छुक राजासंँग विश्वेश्वरप्रसाद कोइरालाहरू जस्ता राजनीतिज्ञले त्यो संविधान बनाए र आमचुनाव गराए । नेपाली कांग्रेसले ठूलो मत ल्याएर संसद् गठन भयो, प्रधानमन्त्री बीपी बने । राणा शासन युगका एलिटहरूले पनि गोरखा परिषद नामको दल खोले र केही सिट ल्याए, संसद्मा । चीनसंँग निकटको सम्बन्ध राख्न खोज्ने बीपीको ठाडो आलोचना गरे, तिनले । सिमानामा नेपालको एउटा सुवेदारलाई चीनका गार्डहरूले मारेपछि त्यसलाई उचालेर चीनसँंग शत्रुता गर्नुपर्छ भनेर उनीहरूले संसद्मा चर्को बहस गरे । कोइरालाले भने, ‘चीनका प्रधानमन्त्रीले समेत माफी मागिसके, अब त्यसबाट शत्रुता चर्काएर जानु हाम्रो अदूरदर्शिता हुन्छ ।’ भारत र चीनसंँगको सम्बन्धलाई सन्तुलित राख्न बीपीले कार्य गरेको अवस्था थियो, त्यो । इतिहासका समानान्तर चरित्रबाट सिकौं । 
यो आमचुनावको परिणामलाई स्थायी सरकार बन्ने, भ्रष्टाचारले आक्रान्त देशले मुक्ति पाउने अनि दल र सरकारका मानिस इमानदार हुनुपर्ने जनताको अपेक्षाको रूपमा बुझ्नुपर्छ । मतदाताको चरित्र एउटै हुंँदैन, परिवर्तन हुन्छ । नेपाली मतदाता परिपक्व र समान चिन्ता भएका मानिस हुन् भन्ने कुरा पटक–पटक प्रमाणित भएर आएको छ । बुझौं, मतदाताले मौन तर परिवर्तनशील इतिहासको तेज बोकेका हुन्छन् । 

प्रकाशित : पुस ३, २०७४ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?