पश्चिमाञ्चल महिला महोत्सव सुरु

कान्तिपुर संवाददाता

पर्वत — पश्चिमाञ्चल महिला महोत्सवको नवौं संस्करण मंगलबारदेखि कुश्मामा सुरु भएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भ पारेर यहाँको रेडियो दिदीबहिनीले महोत्सवको आयोजना गरेको हो ।

महोत्सवको उद्घाटन कार्यक्रममा र्‍यालीसहित आफ्ना जातीय वेशभूषा र सांकेतिक पहिरनमा करिब ५ हजार महिला सदरमुकाम झरेका थिए । कृषि, लघु उद्यमी, विद्यार्थी, आमा तथा किशोरी समूह, महिलासँग सम्बन्धित विभिन्न कार्यालय, क्लबलगायत संघ–संस्थामा आबद्ध महिलाको सहभागिता थियो । महिला अधिकार, सचेतीकरण समेटिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

गाउँका उद्यमी महिला स्वयंले उत्पादन गरेका वस्तुको संकेत स्वरूप तरकारी र हस्तकलाका सामानको माला र खादा भिरेर र्‍यालीमा सहभागी भएका थिए । महिला आत्मनिर्भर बन्न सक्छन् भन्ने संकेत देखाउन कला साथमै बोकेर आएको तिलाहाबाट आएकी देवीकुमारी क्षत्रीले बताइन् । 

महोत्सवले महिलाहरूलाई घरको चुलाचौकाबाट बाहिर आउन मात्रै नभई सामाजिक क्षेत्रमा अगुवाइ गर्नसमेत प्रेरणा मिल्ने रेडियोकी अध्यक्ष कल्पना चापागाईंले बताइन् । महोत्सव ३० फागुनसम्म चल्नेछ । महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरे । महोत्सवमा रोमा न्यौपानेले एक खुट्टाको सहाराबाट नाचेको दृश्य निकै रोचक थियो ।

प्रकाशित : फाल्गुन २५, २०७३ ०९:५७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

सरसफाइ सचेतनामा बालबालिका

घर–घर र विद्यालय सबै स्थानमा शौचालय बनिसकेकाले खुला स्थानमा जाने चलन छैन
रमेशचन्द्र अधिकारी

धनकुटा — खोकु ५ स्थित कोलडॉडास्थित जीवनसुधालय माविकी १२ वर्षीया विजेता राई खुला स्थानमा कहिल्यै शौच गर्दिनन् । अनिवार्य शौचालय प्रयोग गर्ने उनको बानी छ ।

छिन्ताङस्थित साम्बुगाउँका ९ वर्षीय दिवेश राई पनि खुलास्थानमा दिसापिसाब गर्न हु‘दैन भन्नेमा जानकार छन् । विजेता र दिवेशमात्र नभएर जिल्लाका अधिकांश बालबालिकामा पछिल्लो समय सरसफाइसम्बन्धी ज्ञान र सिकाइ बढदै गएको छ । ‘केही वर्ष अघिसम्म खुलास्थानमा नै शौच गर्ने चलन सामान्य थियो भने अब अनिवार्य प्रयोग गर्ने क्रम बढेको छ,’ जीवनसुधालयका प्रधानाध्यापक छत्र राईले भने, ‘घर–घर र विद्यालय सबै स्थानमा शौचालय बनिसकेकाले खुलास्थानमा जाने चलन हराएको हो ।’

दुई वर्षअघि जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको छ भने पूर्ण सरसफाइ तयारी गरिएसँगै यसको सकारात्मक प्रभाव बालबालिकामा परेको हुन सक्ने शिक्षक मदन अधिकारीको भनाइ छ । विद्यालयमा शिक्षक र घरमा अभिभावकले सरसफाइप्रति सचेत गराउने क्रमले पनि बालबालिकामा प्रभाव परेको उनले बताए । ‘हामी आफ्नो गाउँघरको सफाइबारे यत्ति चासो लिन्छौं कि साना नानीहरूको असल बानी बेहोरा देखेर यहाँ आउने आगन्तुकसमेत दंग पर्छन्,’ छिन्ताङका शिक्षक सूर्य राईले भने, ‘सबैको उत्साह देखेर हामीलाई गर्व लागेको छ ।’ 

जिविस, गाविस, स्थानीय सरकारी तथा गैरसरकारी संघसंस्था पनि सरसफाइ अभियानमा क्रियाशील छन् । यसको सकारात्मक प्रभाव बालबालिकामा उल्लेख्य छ । हात धुने, नङ काट्ने, सफा लुगा लगाउने, स्वस्थकर आहारा र असल चालचलनका कारण पनि जिल्लाका बालबालिकाको भविष्य आफूले उज्ज्वल देखेको उनले बताए ।

सरसफाइबारे सचेतना अभियानको प्रभाव सकारात्मक रहेको हुसाडेक नेपालका सरोज भुजेलको भनाइ छ । विशेष अवसर तथा चाडपर्वमा विद्यालयका बालबालिका आफ्नो गाउँघर र विद्यालय सरसफाइमा जुटिहाल्ने गरेको ऑखिसल्लाका शिक्षक मनोज राईले जानकारी दिए । ‘बालबालिकाबीच बढी सफासुग्घर हुने प्रतिस्पर्धा नै चल्छ,’ राईले भने, ‘सरसफाइसम्बन्धी जनचेतनामूलक सन्देश लेखिएको प्ले कार्ड बोकेर बालबालिका हिंड्ने गर्छन् ।’

यस्तै सरसफाइबारे नाटक, गीत, कवितामार्फत पनि सचेतना फैलाइने गरिएको छ । खुलास्थानमा दिसापिसाब नगरौं भन्ने साइनबोर्ड राखिएका छन् । सदरमुकामलगायत छिन्ताङ, भेडेटार, राजारानी, पाख्रिबास, सिधुवालगायतमा दैनिकजसो बाहिरी जिल्लाबाट अवलोकन भ्रमणमा जाने सयौं पर्यटकसमेत त्यहाँको सरसफाइबारे सकारात्मक सन्देश लिएर फर्किने गरेको स्थानीयको दाबी छ । जिल्ला, नगर तथा वडास्तरीय बालक्लब सञ्जालको समेत गठन गरिएपछि बालबालिका स्वयं सरसफाइलगायतमा सक्रिय रहने गरेको जिल्ला बाल क्लब अध्यक्ष प्रवेश कटुवालको भनाइ छ । 

प्रकाशित : फाल्गुन २५, २०७३ ०९:५७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT