साताका ७ तस्बिर

कान्तिपुर संवाददाता

काठमाडौं — यो साता पनि धार्मिक फोटोहरुले प्राथमिकता पाए । कान्तिपुर दैनिकका फोटो पत्रकारले भीमसेन जात्रा, स्वस्थानी र माधवनारायणजस्ता धार्मिक अनुष्ठानका तस्बिर कैद गरे । यसबाहेक दैनिक जीवनका विभिन्न खाले तस्बिरहरु पनि चर्चामा रहे ।

यो साता पनि धार्मिक फोटोहरुले प्राथमिकता पाए ।
कान्तिपुर दैनिकका फोटो पत्रकारले भीमसेन जात्रा, स्वस्थानी र माधवनारायणजस्ता धार्मिक अनुष्ठानका तस्बिर कैद गरे । यसबाहेक दैनिक जीवनका विभिन्न खाले तस्बिरहरु पनि चर्चामा रहे ।


हेरौं कान्तिपुर फोटो विभागमा रहेका सात उत्कृष्ट तस्बिर–

विश्व क्यान्सर दिवसको अवसरमा पाटन दरबार परिसरमा मैन बत्ती बल्दै । तस्बिर : प्रताप थापा

प्रत्येक बर्ष भिमा एकादशीको भोलिपल्ट मनाईने भिमसेन जात्रामा बुधवार पाटनको बंगलामुखी परिसरमा परम्परागत नेवारी पोशाकमा सहभागी भएका पाटनका नेवार समुदायका महिलाहरु । तस्विर : हेमन्त श्रेष्ठ

चांदनी र दोधार गाबिस जोड्ने महाकाली पुल । तस्बिर : अनुज बज्राचर्य

सांखु स्थित माधव नारायण मेलाको बेला भक्तालु महिला । तस्बिर : प्रताप थापा

पौराणिक सहर सााखुमा पुस २८ गतेदेखि सुरु भएको माधवनारायण स्वस्थानीका ब्रतालुहरु बुधवार बिहान चाागुनारायण स्थित नागदहमा स्नान गर्न करुवामा पानी भर्न लाग्दै । तस्बिर : अंगद ढकाल

राजधानीको बसन्तपुरको एक गल्लिबाट सामान बाकेर जादै भरियाहरु । भुकम्पले क्षति पुगेपछि लगाईएका अस्थायी टेकोले आवतजावत गर्न समस्या परेको गुनासो पैदलयत्रीहरुको रहेको छ । तस्विर : हेमन्त श्रेष्ठ

एक महिने स्वस्थानी ब्रतको अन्तिम दिन भक्तपुर जगाती स्थित हनुमान घाटमा स्नान गर्दै मुल पूजारी तथा ब्रतालु हिन्दू महिलाहरु । तस्बिर : अंगद ढकाल

प्रकाशित : माघ २९, २०७३ १०:४८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

९० अक्षरको इतिहास

लिप्यन्तर सत्य भएको खण्डमा मात्रै त्यसको भावानुवाद ‘थप सत्य’ हुन सक्छ
देवेन्द्र भट्टराई

कीर्तिपुरबासी अध्येता शुक्रसागर श्रेष्ठ काठमाडौं सहरमा चल्ने टेम्पो, माइक्रो अथवा बसका पछाडि लेखिने लहडी–साहित्य पढ्न मन पराउने सोखिनसमेत हुन् । माया–प्रेमका इतर कुराभन्दा पनि उनलाई सबैभन्दा अनौठो गरी छुने विषय हो— बुद्ध नेपालमै जन्मिएका हुन् भन्ने दाबी–निस्साको लेखोट ।

‘बुद्ध वाज बोर्न इन नेपाल’

अझ यो टेम्पो–साहित्यभन्दा अगाडि बढेर स्वयम् नेपाल सरकारले राष्ट्र बैंकबाट निकालेको नोटमा समेत लेखिएको छ— बुद्ध वाज बोर्न इन नेपाल । 

‘सरकारले कहिले लुम्बिनी पुगेर बुद्ध सम्मेलन गर्ने गरेको छ, कहिले राष्ट्रिय–अन्तर्राष्ट्रिय मञ्चमा उभिएर बुद्ध नेपालमै जन्मिएका हुन् भनेर ठूलो स्वरमा बोल्ने गरिएको छ । अहिले त राष्ट्र बैंकको नोटमै बुद्धको जन्मदेश भनेर दाबी गरिएको रहेछ,’ पुरातत्त्वविद्का रूपमा चिनिने शुक्रसागर इतिहासको एउटा ओपन–सेक्रेट पाटोका बारेमा यतिखेर बोलिरहेका छन्, ‘जबकि आजभन्दा १ सय २२ वर्षअघि फेला परेको अशोकस्तम्भमा उल्लिखित ९० अक्षरको व्याख्यानले सबै तहको निस्साप्रमाण दिइसकेको छ । विडम्बना, आजसम्मै त्यो ९० अक्षरको सही (सत्य) पठन गराउन सकिएकै छैन ।’

‘देवान पियेन पियदसिन...’ को प्रचलित व्याख्यानको भावानुवाद पनि लुम्बिनीको अशोकस्तम्भमुनि (एकैसाथ) गरिएको छ । अध्येता शुक्रसागरका बुझाइमा, कहिले ढुंगाको र कहिले तामा अथवा सुनकै जलप लगाएर सम्राट् अशोकको ब्राह्मी लिपिको व्याख्या गर्न खोजिए पनि त्यसमा ‘सत्यतथ्य’ बाहिर आउन सकेकै छैन । भारतीय उपमहाद्वीपभित्रको सबैभन्दा पुरानो मानिएको ब्राह्मी लिपिका नेपालमा पाइने थोरै अध्येतामध्येका एक शुक्रसागरको गुनासो छ— लिपीको भावानुवाद (ट्रान्सलिटरेसन) मा देखा पर्दै आएको त्रुटिका बारेमा पुरातत्त्व विभाग र सरकारका अरू निकायमा भन्दै/सुनाउँदै आए पनि कहीं–कतै सुनुवाइ भएको छैन । ‘अशोकले लेखेको लिपिमा ‘देवान’ भनिएको छ, तर भावानुवादमा ‘देवन’ छ । लिपिमा ‘अतन’ लेखिएको छ तर भावानुवादमा ‘आतन’ छ । यस्तै, लिपिमा ‘आगात’ छ, तर अनुवादमा ‘अगात’ लेखिएको छ,’ शुक्रसागर भन्छन् ‘हामी स्वयम्ले इतिहासको व्याख्या गर्ने क्रम र बुझाइमा समेत अर्थको अनर्थ लगाउने काम गरिरहेका छौं ।’

अशोकस्तम्भको लेखोट र बुद्ध जन्मको अध्ययनबारेमा इतिहास संशोधनमण्डलले पनि प्रामाणिकता पहिल्याउने काम गरेको मण्डलका सदस्य प्राध्यापक दिनेशराज पन्त बताउँछन् । ‘अध्ययन–अनुसन्धानमै दुराग्रह राख्नु भएन,’ पन्त भन्छन्, ‘अशोकस्तम्भको ब्राह्मी लिपिको भावानुवादमा जति सत्यतथ्य बाहिर आउन सक्यो, हामी त्यति दह्रिलो हुन सक्छौं ।’ नेपालीमा अध्येता हेमराज शाक्यले ब्राह्मी लिपिका बारेमा व्याख्यान लेखेको जानकारी दिंदै पन्त पुरातत्त्वसहितको अनुसन्धान निकाय र प्राज्ञिक वर्गले पनि अशोकस्तम्भको अभिलेख (ब्राह्मी लिपि) बारेमा थप सोधखोज बाहिर ल्याउनुपर्ने पक्षमा छन् । त्यो इतिहासलाई जति प्रचार गर्न सक्यो, उति प्रामाणिक भएर अघि बढ्न सकिनेमा दृढ छन् पन्त । 

सन् १९९७ मा विश्व सम्पदा सूचीमा सूचीकृत भएको अशोकस्तम्भमा कुँदिएको प्रामाणिक लिपिको भावानुवाद (ट्रान्सलिटरेसन) मा कुनै त्रुटि रहे–भएको पाइएमा त्यसबारे अध्ययन हुन सक्ने पुरातत्त्व विभागका महानिर्देशक भेषनारायण दाहालले पनि स्विकारेका छन् । ‘यो स्तम्भ आफैंमा प्रामाणिक दस्तावेज हो, लिपि भावानुवादका क्रमलाई अझ चित्तबुझ्दो र आधिकारिक तुल्याउन विज्ञहरूको समूह बनाएर काम गर्न सकिन्छ,’ दाहाल भन्छन् ।

उसो त पुरातत्त्व विभागकै लिपिविद् श्यामसुन्दर राजवंशीले पनि विभागको मुखपत्र ‘प्राचीन नेपाल’ को १७३ अंकमा ‘लुम्बिनी अशोकस्तम्भाभिलेखको अर्थ व्याख्या : एक समीक्षा’ शीर्षक एक लेखमा ‘५ हरफे मौर्य अभिलेखको लिपिन्तर पाठ बाहिर आए पनि यसको भावार्थ विद्वान्हरूले आ–आफ्नै ढंगले खुलाइरहेको’ धारणा राखेका छन् । राजवंशीले ब्राह्मी लिपिबाट संस्कृतमा भावानुवाद गरिएको ‘अनर्थ’ भन्दा पनि त्यसपछि आएको संस्कृत व्याख्यानको थप अनर्थका बारेमा विद्वान्हरूका बेमेल तर्कलाई आफ्नो शोधमूलक लेखमा समेटेका छन् । ‘मैले जर्मन पुरातत्त्वविद् डा.ए फुहरर, लिपिज्ञाता जर्ज बुहलर, भीए स्मिथ, जनार्दन भट्ट, दिनेशचन्द्र रेग्मी, राधाकुमुद मुखर्जी, हुल्स, डीसी सरकार, आरके वसाक, राजवली पाण्डे, एनपी रस्तोगी, भुवनलाल प्रधान, भिक्षु सुदर्शन महास्थविर आदिको भिन्न अर्थ र व्याख्याको बुझाइलाई आफ्नो अध्ययनमा समेटेको छु,’ राजवंशी भन्छन्, ‘अभिलेखमा कुँदिएका लिपिको लिप्यन्तर गर्न जति गाह्रो छ, त्यसको अर्थ लगाइ अनुवाद गर्न झनै गाह्रो छ । तर, यसमा एकरूपता नदेखिएको बारे मैले सरोकार उठाएको हुँ ।’ 

उनका बुझाइमा ब्राह्मी लिपिमा ‘हलन्त’ पढ्नुपर्ने अक्षरलाई ‘पूर्ण अक्षर’ पढेर लिपिन्तर गरिएकोमा थप अनर्थ भएको हो । राजवंशीले आफ्नो आलेखमा ‘लुंमिनगामे उबलिके कटे’ को लिप्यन्तर अर्थलाई इतिहासविद् भुवनलाल प्रधानले समेत ‘अनर्थकारी’ बनाएको आरोप लगाएका छन् । ‘इतिहासकार प्रधानले ‘उबलिके कटे’ को सन्दर्भ अनुवाद गर्दा यहाँ भगवान् जन्मेको हुनाले सम्पूर्ण कर माफी गरियो भनेर अथ्र्याउनुभएको छ । उबलिकेको शब्दबाट ‘उ’ र ‘के’ लाई छाडेर बीचको वली शब्द मात्र भिन्न गरी त्यसको अर्थ तानतुन गर्ने जरुरत किन आइपर्‍यो ?’ राजवंशी प्रश्न गर्छन् ।

लिपि अध्ययन वा प्रामाणिकताका सरकारी अधिकारी राजवंशीले गरेको अध्ययनमा अशोकस्तम्भमा लेखिएको लेखोटको सम्पूर्ण नेपाली व्याख्यानलाई उनले ‘प्राचीन नेपाल’ मा समेटेका छन्, जहाँ भनिएको छ, ‘देवताहरूका प्रिय प्रियदर्शी राजा (सम्राट् अशोक) ले आफ्नो राज्याभिषेकको बीसौं वर्षमा यहाँ आएर पूजा दर्शन गरे । यहाँ शाक्य मुनि बुद्धको जन्म भएको थियो । उनै बुद्धको जन्म शिला रहेको स्मारकको जीर्णोद्धार गरिदिए, शिलास्तम्भ पनि खडा गरिदिए । यहाँ भगवान् जन्म भएको हुनाले पवित्र तीर्थस्थल कायम राख्न लुम्बिनी गाउँमा वन फँडानी गराइदिए । (त्यो वन फँडानी) आठ भाग (आठ बिघा) सम्म मात्र हो ।’ 

इतिहासको ‘अपव्याख्या’ 
अध्येता शुक्रसागर र प्राध्यापक दिनेशराज दुवै जना ब्राह्मी लिपिको लिप्यन्तर सत्य भएको खण्डमा मात्रै त्यसको भावानुवाद ‘थप सत्य’ हुन सक्ने धारणामा विश्वस्त छन् । आफैं पुरातत्त्व विभागमा १८ वर्षसम्म विज्ञ भएर काम गरेका शुक्रसागरलाई अशोकस्तम्भको ब्राह्मी लिपिको ‘लिप्यन्तर’ मा रहिआएको त्रुटिबारे ६ पटकसम्म विभिन्न गोष्ठी र सम्मेलनमा उठाएको भए पनि कहीं–कतै सुनुवाइ नभएकोमा चित्तदु:खाइ रहेछ । ‘त्यति स्पष्ट रूपमा पढ्न सकिने ब्राह्मी लिपिका अक्षर र उच्चारणलाई ‘ट्रान्सलिटरेसन’ मा बिगारिएको छ, यो त्रुटि अक्षम्य छ,’ शुक्रसागर भन्छन्, ‘यो प्रामाणिक तथ्यको आधारमा जम्मा ९० अक्षरलाई एक शताब्दीदेखि सही रूपमा पढ्न–पढाउन नसकिएको स्थिति आफैंमा लाजमर्दो पनि छ ।’ शुक्रसागरका बुझाइमा पुरातत्त्व भनेको सम्पदा मात्रै होइन, संस्कृति हो । र, योभन्दा बढी विज्ञान पनि हो । मौर्यवंशीय अशोक सम्राट्को अभिलेख विश्वमै २ सय ५० जति होलान् । त्यसमध्ये नेपालमा तीनवटा मात्रै छन्— लुम्बिनी, निग्लिहवा र गोटिहवामा । यीबाहेक भारत, अफगानिस्तान, पाकिस्तान, तुर्किमिनिस्तान, उज्वेकिस्तानसम्म पनि अशोक अभिलेख भेटिएको छ । तर, भारतले सधैंजसो अनावश्यक विवाद र बहस उठाइरहने भगवान् बुद्धको जन्मस्थलबारेमा सबैभन्दा प्रामाणिक बनेर बोल्ने ‘अशोकस्तम्भ’ कै व्याख्या–पुनव्र्याख्या स्वयम् नेपाल सरकारले ‘अनर्थकारी’ बनाइरहेकोमा शुक्रसागरजस्ता पुरातत्त्वविद्हरूको चिन्ताको विषय बनेको छ । 

‘तत्कालीन पाल्पाका गभर्नर खड्गशमशेर राणाले सन् १८९६ को पुरातात्त्विक खोजबिनमा अशोकस्तम्भ फेला पारेपछि ६ वटा हात्ती लगाएर त्यो स्तम्भ बाहिर निकाल्न खोजेका थिए, तर सम्भव भएन,’ शुक्रसागर भन्छन्, ‘अर्कातिर सुगौली सन्धि (सन् १८१५) भएको धेरैपछि अशोकस्तम्भ (बुद्ध जन्म) को प्रामाणिकता भेटिएकाले हामी बुद्धजन्मको देश हुनबाट धन्य भयौं । अन्यथा, सन्धिको डोरो तनाइमा लुम्बिनी पनि भारतमै पर्न सक्थ्यो ।’ अशोकस्तम्भको लिपि/अक्षरबारे पहिलो पटक आफूले व्याख्या खुलाउँदै तीन दशकअघि ‘शाक्यमुनि बुद्धको लुम्बिनीमा जन्म भएको’ अर्थ स्पष्ट पार्न सकेको दाबी गर्दै शुक्रसागरले त्यो स्तम्भको सुरक्षा र हिफाजत गर्ने मामलामा अहिलेजस्तै हेलचेक्र्याइँ कायमै रहेमा अबको ५० वर्षपछि अभिलेखका अक्षर पढ्नै असम्भव हुने संकेतसमेत गरेका छन् । लुम्बिनी आसपासमा भइरहेको ‘ब्लास्टिङ’ को धूलो र बर्खे पानीको खियाले ब्राह्मी लिपिका अक्षरहरू धूमिल बन्दै जाने क्रम बढेको उनले सुनाए । 

‘हाम्रो इतिहास, सभ्यता र पहिचानको कुरामा चर्केरै बोल्यो भने पनि यहाँ सुनिदिने कोही हुन्न,’ उनी भन्छन्, ‘बरु गोष्ठी, सेमिनार, कार्यपत्र अनि लन्च–डिनर भनेपछि सबैको ध्यान तानिने गरेको छ ।’ नेपाली रुपैयाँमा ‘बुद्ध वाज बोर्न इन नेपाल’ भनेर लेख्नु अथवा टेम्पो–बसका पछाडि बुद्धको जन्मथलो व्याख्यान गर्नु/गराउनुलाई ‘वाहियात काम’ भन्दै देशका, प्रधानमन्त्री, संस्कृतिमन्त्री, पुरातत्त्व अधिकारी र विद्वान्हरूले सबैभन्दा पहिला अशोकस्तम्भमा उभिएर ब्राह्मी लिपिका अक्षरहरू ‘सही रूपमा खुटयाउनु जरुरी’ भएको सुझाव दिएका छन्— विषयविद्हरूले । ‘ए बाबा, बूढापाकाहरूले पनि भन्ने गरेका छन्— ढुंगा अक्षरमा लेखिएको कुरा पढ्न छाडेर कागजका नोटमा अनेकभाँती लेख्दै हिंड्ने ?’, शुक्रसागरको आक्रोश छ— ‘बुढानीलकण्ठ जाने टेम्पोमा ‘बुद्ध वाज बोर्न इन नेपाल’ लेखेर के हुन्छ ?’

प्रकाशित : माघ २९, २०७३ १०:४८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT