कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाथीभरा पैदलमार्ग निर्माणमा १०० सेना [फोटोफिचर]

ताप्लेजुङ — नेपाली सेनाले ताप्लेजुङको पाथीभरा क्षेत्रमा पैदलमार्ग निर्माण सुरु गरेको छ । पाथीभरा क्षेत्र विकास समितिसँगको सहकार्यमा सेनाको एउटा गुल्म पैदलमार्ग निर्माणका लागि खटाइएको हो ।

काफ्लेपार्टीदेखि भुलुगौडेसम्म तीन सय मिटर नमुना बाटो निर्माण गरिने २१ नम्बर बाहिनीका बाहिनीपति सीताराम खड्काले बताए । भुलुगौडेमा खड्का लगायत प्रमुख जिल्ला अधिकारी नरबहादुर खड्का, स्थानीय विकास अधिकारी नरहरि भण्डारी, नयारणभिम गुल्मका गुल्मपति रवि केसी, पाथीभरा क्षेत्र विकास समिति अध्यक्ष सजन पौडेल र पाथीभरा संरक्षण समितिका उपाध्यक्ष रणबहादुर कार्किले शुभारम्भ गरेका थिए । यहाँ दक्ष र अदक्ष गरी एक सयजना सेना परिचालन गरिएको छ ।

चैत २३ गतेसम्म सक्नेगरी निर्माण सुरु गरिएको खड्काले बताए । पैदलमार्ग असजिलो र अप्ठेरो भएकाले बालबालिकादेखि वृद्धवृद्धासम्मलाई हिँड्न सहज हुनेगरी निर्माण गरिने खड्काले बताए । यसका लागि इञ्जिनियर, ओभरसियरमार्फत योजना बनाइएको छ । पहिलो चरणको काम सकिएपछि दोस्रो चरणका विषयमा छलफल गर्ने सेनाले जनाएको छ ।

भालुगौडेबाट मन्दिरसम्म साढे चार किलोमिटर दूरी रहेको छ । अहिले निर्माणको काम २७ सयदेखि ३१ सय मिटर उचाईमा हुनेछ । उच्च क्षेत्र भएकाले चिसो रहेको छ भने हिउँ झरिरहने र वर्षात् छिनछिनमा हुने गरेको छ । यहाँ बाक्लो कुहिरो लागिरहन्छ । निर्माण पूरा भएपछि पैदलयात्रीलाई राहत हुनेछ । यहासम्म मोटरबाटोले जोडिएको छ ।

शब्द/तस्बिर : आनन्द गौतम/कान्तिपुर प्रकाशित : चैत्र ५, २०७३ १५:१८

प्रतिक्रिया
पठाउनुहोस्