कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुखैले लेखेर एसईई [फोटोफिचर]

विमल खतिवडा

चितवन — चितवनको रत्ननगर नगरपालिका १६ स्थित खैरेटीका २० वर्षीय भरत गुरुङ मुखले लेखेर एसईई परीक्षा दिन ब्यस्त छन् । भद्रकाली माध्यमिक विद्यालयमा अध्ययन गरेका उनको परीक्षा केन्द्र जनजागृति माध्यमिक विद्यालय पिठूवा हो ।

एसईई परीक्षा सुरु भएदेखि आमा चन्द्रमायाले छिमेकीसँग सहयोग मागेर परीक्षा केन्द्र पुर्‍याउँछिन् । भरतको हात खुट्टा चल्दैन । बोल्न मात्र सक्ने उनले मुखले नै लेख्न सिके । जन्मजात अपाङ्ग उनलाई भाई सुजनले पढेको देखेपछि पढ्न मन लाग्यो ।

हात र खुट्टाले लेख्न नमिलेपछि उनले मुखले लेख्न सिके । अहिले हात सुकेकाले खाना ठिक्क पारिदिएपछि आफैं खान्छन ।

घर गोरखा घ्याम्पेसाल देउराली हो । बाबुले अर्कै बिहे गरे । त्यही भएर उनी अहिले आमासँगै मामा घर बसेका छन् । भाई सुजन काठमाडौंमा प्लसटु पढ्दैछन् ।

उनलाई एसईई पास भएपछि उच्च शिक्षामा लेखा विषय लिएर पढ्न मन छ । भरतपुर अस्पतालमा जन्मिएका उनको सुरुमा दाहिने खुट्टा ठाडो भयो । बनेपामा पुगेर उपचार गरियो । पछि पछि चिकित्सकले हिंड्न सक्ने भनेपनि उनी हिंड्न सक्दैनन् । हातका औंला सुकेका छन् । सामान्यरुपमा हातको औंला चलाएर डटपेन सम्म समाउन सक्छन । नत्र कितावको पाना पल्टाउनेदेखि पानी पीउन सम्म मुखकै भर पर्नुपर्ने बाध्यता छ ।

उनले परीक्षा दिने साथी खोजेनन । साथीहरुको पढाई बिग्रने डरले उनी आफैंले परिक्षा दिन तयार भए । विद्यालयका केन्द्राध्यक्ष विनोदप्रसाद अधिकारीले उनलाई नियमित समय भन्दा डेढ घण्टा बढी समयको ब्यवस्था गरिएको बताए । परीक्षामा आवश्यक पर्दा उनी मुखैले क्यालकुलेटर, स्केल चलाउँछन् ।

प्रकाशित : चैत्र ७, २०७३ १५:५८

प्रतिक्रिया
पठाउनुहोस्