कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अग्नीपीडितको कष्ट (फोटोफिचर)

मनोज पौडेल

कपिलवस्तु — सुदुर पश्चिमको शिवराज नगरपालिका १० शितलापुरमा बुधवार दिउसो भएको आगलागीले पीडितको जनजीवन कष्टकर बनेकोछ । ५९ घर जलेर नष्ट हुँदा चार सय बढी व्यक्ति प्रभावित बनेका छन् । सबैको घरका लत्ता कपडा, खाद्यान्न, अन्नपात, भाँडाकुँडा जलेर नष्ट भएकोछ । त्यस्तै गरगहना, दाईजो लिन ल्याएका समान, नगद र कागजपत्र जलेर नष्ट भएकोछ ।

गरिव विपन्नको वस्ती रहेको गाउँका अधिकाँशले ज्याला मजदुरी र खेती किसानी गरि साँझ विहानको चुल्होचौको गर्दै आएका थिए । सबैको एक सरो कपडा बाहेक जलेर सबै नष्ट भएकोछ ।

रातभरि अग्नी पीडित बाटो बगैंचा भूईमा सुतेका थिए । निद्रा नलागे पनि पल्टियौं पीडित रामबहादुर कुर्मीले भने कतैबाट राहत नपाउँदा निक्कै समस्या भएकोछ । के खाने के गर्ने भनेर तनाबमा छौं उनले भने रातभरि पीडित गाउले भोकभोकै बसे । प्रचण्ड गर्मीमा खुला आकाशमा पनि बस्न सकिदैन् उनले भने सरकार र सहयोगीले हात बढाउन पर्‍यो । नभए रोग व्याधी फैलिन सक्छ उनले भने ओतिने त्रिपाल, चुल्हो चौको गर्ने भाडाकुडा र फेर्ने कपडा अतिआवश्यक भएकोछ ।

अहिलेसम्म कसैले राहत वितरण गरेका छैनन् । जिल्ला दैवी प्रकोप राहत समितिले ४० घरलाई जनही ५/५ हजार बुधवार वितरण गरेकोछ । रकम अभावले अन्य घरलाई प्रदान गरिएको छैनन् । प्रजिअ विष्णुप्रसाद ढकालले बुधवार गाउमै पुगेर प्रत्येक घरलाई जनही १०/१० हजार राहत दिने बताए । पीडितको जीवनयापन सहज बनाउन मनकारी र सहयोगी संस्थालाई आग्रह गरेका छौं प्रजिअ ढकालले भने । विहीवार विहानैबाट त्यहाँ राहत वितरण सुरु हुने उनले बताए ।

खरियानमा दाई गर्न राखेको ३० क्विण्टल बढी गहु डढेर नष्ट भएपछि घरगर्जो कसरी गर्ने भन्ने चिन्तामा छन् लिलबहादुर कुर्मी । घर बनाउन ल्याएको २० बोरा सिमेण्ट पनि डढेर नष्ट भयो उनले भने कस्तो बेलामा घर बनाउने साईत गरेको रैछु । गाउँको घर भत्काएर पक्की बनाउन पर्खाल जोडाई गर्दै थिए उनले भने पक्की घर छेउको बस्न अस्थाई रुपमा बनाएको फुसको घरमा आगो पसेर ५ लाख बढी धनसम्पत्ती नष्ट भयो । सुकुम्बासी भए उनले आसु पुछ्दै भने ।

मन्नान मियाको घरको घुर्‍यानबाट बुधवार विहान साढे ११ बजे तिर आगलागी सुरु भएको थियो । मियाका परिवारले खाना खाई वरि बसेका बेला उनको घरबाट अचानक आगो लाग्न थालेको हो । गाउँमा रहेको मुख्य बाटोको दक्षिणतिरका सबै फुसका घर जलेर नष्ट भएकोछ । पूर्वबाट लागेको आगो तीब्र हावाको वहावले पश्चिम तिर सर्दै गएको थियो ।

आगोले पोलेर २२ खसी बाख्रा जलेर मरेका छन् । खाद्यान्न, लत्ताकपडा, भाडाकुडा, नगद र गरगहना जलेर नष्ट भएको प्रहरी कार्यालय चन्द्रौटाका निरिक्षक झविन्द्र भटराईले बताए । करिब ७० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान प्रहरीले गरेकोछ । तौलिहवा र कृष्णनगरबाट गएको दमकलले ३ घण्टा पछि ३ बजे तिर गाउको आगो नियन्त्रणमा लिएको थियो ।

शब्द तथा तस्विर : मनोज पौडेल/कान्तिपुर । प्रकाशित : चैत्र ३१, २०७३ १८:२८

प्रतिक्रिया
पठाउनुहोस्