फोटोमा हेर्नुहोस् अरुण थुनिएर बनेको ताल

दीपेन्द्र शाक्य

संखुवासभा — बरुण नदीले बगाएर ल्याएको ढुंगा गिटी बालुवाले अरुणलाई छेकेको छ । नदी थुनिएर लामो ताल बनेपनि तत्काल फुट्ने अवस्था नभएको जिल्ला दैवीप्रकोप उद्धार समिति संखुवासभाले जनाएको छ ।

संखुवासभाको हटियामा पर्ने स्याक्सिला गोलामा अरुण नदी थुनिएको छ । अरुण नदी थुनिएपछि ३ किलोमिटर बाँध बनेको छ ।

बरुण नदीसँगै जोडिएको लुक्चेखोलामा खुख्खा पहिरो झरेपछि आएको बाढीले ५ सय मिटर चौडाई र २ किलोमिटर भन्दा बढी ताल बनाएको छ । स्याक्सिलाका स्याङला रिन्जिन भोट, छेच्या भोटे र छिन्डुम भोटेको घरमा बाढी पसेर जोखिममा परेको छ । अन्य ७ घर उच्च जोखिममा रहेको छ । ताल फूट्यो भने घर बगाउँला भनेर पीडित परिवार २० मिटरमाथि बसिरहेका छन् । ।


पीडित १० परिवारलाई जिल्ला दैवी प्रकोप उद्दार समिति र नेपाल रेडक्रस सोसाईटीले खाद्यान्न, त्रिपाल र लत्ताकपडा वितरण गरेको छ । बिहीबार दिउँसो ४ बजेबाट बाढी आएपछि अरुण थुनिएको स्थानीयबासिन्दाले बताएका छन् । ताल फुट्ने डर भएपछि पीडितहरु त्रसित बनेका छन् ।

पीडितहरुलाई पुन जिल्ला दैवीप्रकोप उद्दार समितिको बैठक बसेर राहत रकम उपलव्ध गराउने प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताए ।

नेपाली सेनाको हेलिकप्टरबाट स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ र खानेपानी राज्यमन्त्री दीपक खड्काले पीडितलाई राहत र उनीहरुको व्यवस्थापनका लागि माथिल्लो निकायमा छलफल गर्ने प्रतिबद्धता जनाएका छन् ।

उद्दारका लागि हेदांनाबाट प्रहरी नायब निरीक्षक सईको नेतृत्वमा २२ र हटियागोलाका १३ जना प्रहरी घटनास्थलमा खटिएका छन् । मकालु बरुण राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएका नेपाली सेनापनि उद्दारमा लागेका छन् । अरुण नदी छेउछाउका बस्तीका सर्वसाधारणलाई सजक भएर बस्न प्रशासनले आग्रह समेत गरेको छ ।

प्रकाशित : वैशाख ८, २०७४ १९:१३

प्रतिक्रिया
पठाउनुहोस्