कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सानो व्यवसाय, सन्तुष्ट मन [फोटोफिचर]

माधव घिमिरे

विराटनगर — घडी बनाउने, मकै पोलेर बेच्ने, भक्का बनाउने, दाह्री कपाल काट्ने, जुत्ता चप्पल सिलाउने, तरकारी, खुद्रा सामान बेच्ने । यस्ता सामान्य लाग्ने व्यवसाय गर्नेहरु हरेकजसो सहर–बजार अनि हाटका अभिन्न अंगजस्तो लाग्छन् । सानो लगानी, यताउता सार्न सहज अनि सर्वसाधारणको पहुँचमा हुने यस्तो व्यवसाय गर्नेहरू सन्तुष्ट देखिन्छन् ।

यस्ता व्यवसायी लगानी धेरै नहुने अनि जोखिम पनि नहुने भए पनि काममा मेहनत पर्ने बताउँछन् । कमाइ गर्ने भन्नेबित्तिकै जागिरमा लाग्ने, ठूलो लगानीमा उद्यम गर्ने वा विदेशै जाने भन्ने सामान्यतया बुझाइ छ । तर, यस्तो सानोतिनो व्यवसाय गर्नेहरुको कुरा सुन्दा सानै व्यवसायबाट पनि जीवन धान्ने कमाइ गर्न सकिने बुझिन्छ । विराटनगर उपमहानगरपालिकाको ट्राफिक चोकमा जुत्ता चप्पल बनाउने व्यवसाय गर्दै आएका राजेश यादवको अनुभव छ, ‘काम भनेको सानो वा ठूलो हुँदैन, यही कामबाट परिवार पालिएकै छ, खाली पेट, नांगो शरीर बस्नु परेको छैन, मेहनत त जेमा पनि गर्नैपर्छ नि !’ आफूले सबैखाले ग्राहकको काम गर्ने गरेको उनी बताउँछन् । ‘चम्किने गाडीमा आउनेको जुत्ता पनि टल्काएको छु’ राजेशले भने, ‘माग्दै हिँड्ने मान्छेको चुँडिएको चप्पल पनि सित्तैमा सिलाएको छु, यसमा धेरै सन्तुष्टि मिल्छ ।’ प्रस्तुत छ, यस्ता सानोतिनो व्यवसाय गर्नेहरुको तस्बिर शृंखला :

सुनसरीको दुहबीस्थित साप्ताहिक हाटमा हरेक शनिबार कपाल दाह्री, काट्दै गरेका भेटिन्छन्–महावीर ठाकुर । आइतबारदेखि शनिबारसम्म फरक फरक स्थानमा लाग्ने हाटमा सकेसम्म उनी पुगेकै हुन्छन् । दाह्री, कपाल काटेर एउटा हाटमा दिनभर बस्दा कहिलेकाहिँ २ हजारसम्म कमाइ हुने ठाकुर बताउँछन् । ‘बिहानैदेखि साँझसम्म खट्न सक्दा धेरै कमाइ हुन्छ’ उनले भने ।

घडी मर्मत गर्ने सानो घुम्ती पसल चलाएका अरविन्द शर्माको दिनको कमाइ ठ्याक्कै यति हो भन्ने टुंगो हुँदैन । विराटनगर मुख्य बजारको कपडा पसलअगाडि घुम्ती राखेर बसेका उनले बिग्रेको घडी बनाउने, ब्याट्री, चेनलगयात सामग्री फेरिदिने जस्ता काम गर्छन् । व्यस्त भएका दिन राम्रै कमाइ हुने तर कहिलेकाहीं भने सामान्य कमाइ हुने गरेको उनले सुनाए ।

 

  प्रकाशित : वैशाख १५, २०७४ १२:५३

प्रतिक्रिया
पठाउनुहोस्