कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चीन जोड्ने एउटै सडकको जीर्ण अवस्था

शब्द/तस्बिर : बलराम घिमिरे

रसुवा — तातोपानी नाका बन्द भएपछि उत्तरी छमेकी चीनलाई जोड्ने एउटै अन्तर्राष्ट्रिय नाका पासाङल्हामु मार्गको स्याफ्रुबेंसी–रसुवागढी जीर्ण छ । पुनर्निर्माण तथा स्तरोन्नतीमा सम्बन्धित निकायले ध्यान नदिँदा दैनिक सयौं सवारी र हजारौंले दु:ख पाएका छन् ।

सडकको स्याउबारी, राम्चे, ग्राङ र मूलखर्क, खोपाङको भीर, सानु भार्कु र स्याफ्रुबेसी रसुवागढी सडक खण्डको फ्याङलुङ खोला लिङलिङ टिमुरे लगायत धेरै ठाउँमा पहिरो गएको छ । २०४२ सालमा निर्माण भएको सिंगल लेन रहेको सडक साँघुरो हुँदा गाडीले अर्को साइडबाट आएको गाडीलाई साईड दिनसमेत समस्या छ ।
एशियाली विकास बैंकको सहयोगमा गरिएको कालोपत्रे भत्किएर बनेको खाल्टाखुल्टीले सडकयात्रा झनै जोखिमपूर्ण बनाएको छ । सडकमा बनेको खाल्टाखुल्टी र सिंगल लेनको साँघुरो सडकले गर्दा दिनहुँ जसो गाडी दुर्घटनामा पर्ने गरेको छ ।
भूकम्पपछि सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि रसुवा रसुवागढी नाका पूर्णरुपमा सञ्चालनमा आएको छ । रसुवागढी नाका सञ्चालनमा आएदेखि पासाङल्हामु मार्ग हुँदै अहिले दैनिक सयौं कन्टेनर ओहोरदोहोर गर्ने गरेका छन् । साँघुरो सिंगल लेन रहेको भीरको बाटोबाट गाडी चलाउनु पर्दा ज्यानकै बाजि थाप्नु पर्ने चालक तारानाथ खतिवडा बताउँछन् ।
सरकारले पासाङल्हामु मार्ग सडक खण्ड सुधार गर्न बेवास्ता गरेकोमा चालकहरुको दुखेसो छ । करिब एक वर्षअघि सडक खण्डको पूर्वाधार स्तरोन्नती गर्ने विषयमा पनि निकै चर्चा चलेको थियो । रसुवागढी नाका जोड्ने पासाङल्हामु मार्ग साँघुरो र सिंगल लेनको रहेको भन्दै सडक स्तरोन्नती गर्ने र ठाउँठाउँमा गाडीलाई साइड दिनका लागि तत्काल 'पासिङ जोन' बनाउने सरकारले योजना समेत सार्वजनिक गरेको थियो ।
सरकारले सडक स्तरोन्नती गर्ने घोषण गरेको दुई वर्ष बितिसक्दा पनि अहिलेसम्म केही काम भएको छैन । सडक दिनदिनै दयनीय बन्दै जान थालेको छ । ठाउँठाउँमा भएको खाल्टाखुल्टीले झनै समस्या भएको चालकहरु बताउँछन् । साँघुरो सडक ठाउँठाउँमा गाडीलाई साईड दिनका लागि पासिङ जोन नहुँदा चालकहरुले समस्या झेल्नु परेको छ ।
सिंगल लेन साँघुरो सडकको बीच बाटोमै पुगेर ट्रक तथा कन्टेनरहरु बिग्रन्छ साईड दिने ठाउँ नहुँदा घण्टौसम्म जाम हुने गरेको छ ।

प्रकाशित : वैशाख २२, २०७४ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्