कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुई दिनसम्म पनि राजमार्ग खुलेन, सयौ यात्रु अलपत्र

नवीन पौडेल

नवलपरासी — पहिरो र सडक भासिदा दुई दिनसम्म यातायात अवरुद्ध रहेको नवलपरासीको दाउन्नेको ज्यामिरेमा फेरी सडक भासिएको छ । दुई दिनसम्म पनि राजमार्ग सञ्चालनमा नआएपछि नवलपरासीको पुर्व–पश्चिम राजमार्ग अन्तर्गत दाउन्नेमा सर्यौ यात्रु अलपत्र परेका छन् ।

बाढीले सडक नै बगाएपछि शुक्रवार राती अवरुद्ध भएको सडक अझै खुलेको छैन् । दाउन्नेको खुर्सानी खोला नजिकै डांडाबाट आउने पानीले करिब १५ मिटर सडक बगाएको छ । सडक डिभिजन कार्यालयले भिर खोपेर डाईभर्सन बनाउन खोजेको भएपनि अत्याधिक वर्षा र पहिरोको कारण समस्या भएको जनाएको छ । काठमाण्डौ जाने यात्रु बुटवल, पाल्पा हुँदै फर्किएको भएपनि पूर्व जाने सवारी र यात्रुभने अलपत्र परेका छन् ।

१५ किलोमिटर उकालो ओरालो हिडेर दुम्कीबाससम्म आउन समस्या हुने भएपछि बाटो खुल्ने आशामा चाउचाउ र पानीको भरमा दुई दिनसम्म गाडीमा नै बस्नुपर्ने बाध्यता छ । सो सडक खण्डको १५ किलोमिटरमा एक दर्जन बढी स्थानमा पहिरो गएको कारण पानी नरोकिंदासम्म यातायात सञ्चालनमा समस्या आउने इन्जिनियर अमित बर्माले बताए ।

पहिरो जाने वित्तिकै सडक खुलाउनका लागि ढुङगा माटो सडककै छेउमा राख्दा कतिबेला पहिरो खस्ने हो भन्ने पिरलोमा सवारी चालक र यात्रु छन् । दाउन्ने पहाडको ठाउँठाउँमा चिरा परेको छ यसैकारण जोखिम थप बढेको हो । पहिरोले राजमार्ग बन्द हुने वित्तिकै प्रहरी र सडक डिभिजनलाई बाटो खुलाउनको हतारो हुने भएपनि हिउँदमा दिर्घालिन समाधानमा नलाग्दा वर्षेनी समस्या बल्झिरहने गरेको स्थानीय शैलेन्द्र रानाले बताए ।

‘कति खेर पहिरो जाने हो थाहा हुदैन, वर्षेनी यही समस्या हुदासमेत समाधानमा नलाग्दा वर्षेनी लाखौं रकम पहिरो हटाउनमा मात्र जाने गरेको छ’ उनले भने, ‘हिउँदमा सुक्ख पहिरो र वर्षातमा ढुङगा झर्ने त्रास छ ।’

प्रकाशित : श्रावण २९, २०७४ १३:५२
प्रतिक्रिया
पठाउनुहोस्