कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सम्झना बन्दै चर्खे पिङको रौनक (फोटो फिचर)

शब्द तथा तस्विर : माधव अर्याल

पाल्पा — दसैंका बेला काठैकाठबाट बनाएको चर्खे पिङ् देख्न पाइन छाडेको छ । तर कतिपय स्थानमा भने परम्परा धान्दै बुढापाकाले यसको तयारी गरिदिने गरेका छन् । धेरैले सानो छँदा काठले बनाएको चर्खे पिङ् खेल्न हिडेको सम्झना मात्र गर्छन् । जिल्लाको झडेवा, बहादुरपुर, जल्पा, फोक्सिङ्कोट, मित्याल, गल्धा, ज्यामिरे लगायतका स्थानमा कहिकतै देख्न पाइन्छ ।

यही पिङ् खेल्न ठाउँठाउँमा पुगेको अनुभव बुढापाका र अधवैशेलाई छ । उनीहरु साथीभाई संगै चर्खे पिङ् लाईन लागेर खेल्थे । पछिल्लो २० बर्षयता भने त्यस्तो पिङ् खेल्ने त परैको कुरा, देख्न समेत पाएका छैनन् । ‘१५/२० वर्षअघि सम्म छ्यापछ्याप्ती खेल्न पाइन्थ्यो,’ रामपुर, ९ का शिव अर्यालले भने, ‘अहिले त राख्ने छाडेका छन् ।’

गाउँगाउँमा राखिने र टाढा राखिएको चर्खे पिङ् खेल्न पुगेको अनुभाव धेरैमा छ । अहिले भने कहि नदेखेको र खेल्नै नपाएको पनि वर्षौ भईसकेको अवस्था रहेको उनले बताए ।

पछिल्लो १०/१२ बर्षयता धेरैले देख्न समेत नपाएको उनले बताए । पहाडी जिल्ला पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जालगायतका जिल्लामा यस्ता पिङ् धेरै देखिन्थे । अहिले भने सबैको एउटै कुरा सुन्न पाइन्छ, ‘दसैंमा चर्खे पिङ् खेल्न पाईनै छाड्यो ।’ काठैकाठले बनेको चर्खे पिङ् पहिले–पहिले निकै लोकप्रिय खेल हुन्थ्यो । दसैका बेला गाउँका युवायुवती मिलेर त्यस्तो पिङ् बनाउने गर्थे । तर, पछिल्लो समय युवा पुस्ता गाउँमा नबस्नु र परम्परा भूल्दै गएपछि अहिले यस्तो पिङ् देख्न समेत मुस्किल भएको माथागढी, ४ झडेवाका गजेन्द्र पन्थीले सुनाए । तराईमा पहाडबाट झरेका पिछडिएको बस्ती र पहाडमा दुर्गम गाउँमा कतैकतै भने यस्तो पिङ् देख्न पाईन्छ ।

खालीवन, सिलुवा, अर्चले, ज्यामिरे, बहादुरपुर, मित्याल लगायतका केही गाविसमा अहिले कहिकतै मात्र युवाहरुले चर्खे पिङ् बनाएर खेलेको देख्न पाईन्छ । केही बर्षपछि यहाँका गाउँमा पनि देखिन मुस्किल पर्ने पक्का भएको उनले बताए । परम्परालाई भुल्ने काम सबैबाट हुँदैछ । पछिल्लो समयमा लिङ्गे पिङ् देखिनै छाडेको छ । युवा पुस्ता बाहिर हिडेपछि कसले बनाउने भन्ने अवस्था छ । बजारमा खेल्न पाईने ठूला–ठूला चर्खे पिङ्को सानो र परम्परागत रुप नै गाउँघरमा बनाईने पिङ् हुन् । त्यस्ता पिङ्को आफ्नै महत्व छ । युवायुवतीहरु दशै तिहार आउन थालेपछि पिङ् बनाउन जुट्ने बेला थियो । पछिल्लो पुस्ताका युवायुवतीलाई त्यस्ता पिङ् बनाउने कुनै चासो नै छैन ।

पछिल्लो पुस्ताका युवा अत्यधिक विदेश मोहमा छन् । पुरानो पुस्ता पनि बसाइँसराइँ गरेर हिडेका छन् । दसै र तिहारका बेला चाडपर्वमा मात्रै गाउँघरमा जुट्ने उनीहरुलाई चर्खे पिङ् बनाउने फुर्सद पनि छैन । चर्खे पिङ् बनाउन समय लाग्छ । काठै काठको बनाउने भएकाले सामुदायिक वनले सजिलै काठ दिन समेत खोज्दैनन् । गाउँका युवायुवतीको भेट हुने थलो पिङ् बन्थ्यो । दशैमा टिका लगाउन हिड्नेहरु एकदिन जमिन छाड्नुपर्छ भन्दे रोटे अर्थात् चर्खे पिङ् खेल्थे । तर, अहिले भने त्यस्तो छैन । गाउँघरमा बनाईने चर्खेसंगै झाँते पिङ् पनि बनाउन छाडेका छन् । अहिले जतासुकै देखिने एउटै पिङ् हो, डोरीवाला । अन्य पिङ् सबै लोपोन्मुख भएकोमा बुढापाका भने चिन्तित बनेको संस्कृतिका जानकार तथा अध्येता दुर्गा रायमाझीले बताए ।

प्रकाशित : आश्विन १४, २०७४ १५:०७

प्रतिक्रिया
पठाउनुहोस्