कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यसरी हुँदैछ न्युरोडमा फूलमाला किनबेच [फोटोफिचर]

तस्बिर : इलिट जोशी

काठमाडौं — यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन बिहीबार साँझ देशभर धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । लक्ष्मी पूजाको दिन घर, पसल झिलिमिलि पार्न फूलमाला व्यापार सहरबजारमा अरु दिनको तुलनामा धेरै हुने गरेको छ ।

नेपाल र भारतीय फूल व्यापारीले यतिबेला राम्रै फाइदा लिने गरेका छन् । एक झुप्पोको मालालाई ७ सयदेखि २५ सय रुपैयाँसम्म पर्दछ । सयपत्रीको झुप्पोमा तीनदेखि पाँचवटासम्म माला राखिएको हुन्छ । अन्य जिल्ला सदरमुकाम, प्रदेशमा जस्तै काठमाडौं न्यूरोडमा आज फूलमालाको किनबेच धमाधम भइरहेको छ । व्यापारीहरुले मखमलीको फूल पनि बेच्न राखेका छन् । लक्ष्मी पूजाको दिन बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइअनुसार घरको सबैतिर सफासुग्घर गरी दैलो, सङ्घार, झ्याल, ढोका, कौसी, अटाली, भर्‍याङलगायत ठाउँमा झिलिमिली पारी लक्ष्मीको स्वागत गरिन्छ । लक्ष्मीपूजा गर्न बिहानैदेखि घरको सरसफाई एवम् लिपपोत गर्ने गरिन्छ ।

लक्ष्मीपूजाको रातलाई सुखरात्रि पनि भन्ने गरिन्छ । आज साँझ मूलद्वारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले पोतेर चामलको पीठो एवम् अबीरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने चलन छ । गृहेणीहरू साँझ दीपावली गरिसकेपछि लक्ष्मी थापेर गरगहना, पैसा, धान, चामल, फलफूल, रोटी र फूलमाला चढाई लक्ष्मीको मूर्ति वा तस्बिरमा पूजा गर्दछन् । लक्ष्मीपूजासागै लक्ष्मीको प्रतीक मानी छोरीहरूको पूजा गर्ने पनि चलन छ । लक्ष्मीपूजा गरेपछि त्यस दिन आफूसँग भएको पैसा वा अन्य पदार्थ बाहिर पठाएमा लक्ष्मी बाहिर जान्छिन् भन्ने जनविश्वास छ । साँझ केटीहरू समूह बनाई घरघरमा भैलो खेल्न हिँड्छन् । यसरी भैलो माग्दै हिँड्ने समूहलाई धान, चामल, पैसा र सेलरोटी दिने गरिन्छ ।

प्रकाशित : कार्तिक २, २०७४ १४:४८

प्रतिक्रिया
पठाउनुहोस्