कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहेँलपुर धानले ढाकेको रामपुर (फोटोफिचर)

कुम्भराज राई

रामपुर (ओखलढुंगा) — मधेसमा धान पाकेको दृश्य आकर्षक हुन्छन् । ठूलाठूला फाँटमा क्षितिजसम्म देखिने धानका खेतहरुको दृश्य जो कोहीलाई मनपर्छ । तर पहाडी भूभागमा भने फरक किसिमका दृश्य भेटिन्छन् ।

प्राय सानासाना खेतका गराहरुमा धान रोपिन्छ । धेरै ठूलो फाँटहरु पाइन्न । साना खेतका फोक्टाहरु चित्र कोरेझैं देखिन्छन् । तर यहाँको मोलुङ गाउँपालिका २ मा पर्ने रामपुर फाँट भने अन्तका फाँट भन्दा केही ठूलो छ । रामपुर धान उत्पादनका जिल्लाकै चर्चित टार हो ।

बिहिबार रामपुर फाँटलाई फरक फरक स्थानबाट हेर्दा सुनौलो देखियो । धान पाकेर पहेंलै भएकोले रामपुर फाँट आकर्षक देखिए । धमाधम धान पाक्न थालेकोले भर्खरै किसानहरु खेतमा निस्कन थालेका छन् । ढिला वर्षा भएको कारण धान राम्रोसँग पाक्न अझै केही समय लाग्ने स्थानीयको भनाई छ ।

‘ठ्याक्कै भोट हाल्ने मिति (मंसिर १०) तिर चाँही धान धमाधम काट्ने बेला हुन्छ ।’ स्थानीय भेषनाथ दाहालले भने, ‘रोप्ने बेला (असार १४) मा पनि चुनाव, अहिले धान काट्ने बेला पनि चुनाव । यसपाली चुनावले कृषकलाई मार परेको छ ।’

सयौं रोपनी क्षेत्रफलमा फैलिएको रामपुरमा रोपनीको ४ लाख सम्ममा खेत किनबेच हुनेगर्छ । एक रोपनीमा ४ मुरीसम्म धान फल्ने स्थानीय सरोज भुजेलले बताए । एक सिजन मात्र धान फल्छ । त्यसपछि यी खेतहरुमा मकै र तोरी उत्पादन हुनेगर्छ ।

तस्बीरहरु: कुम्भराज राई/कान्तिपुर प्रकाशित : कार्तिक २३, २०७४ १४:१४

प्रतिक्रिया
पठाउनुहोस्