धरान : धुमधामको घुमघाम [फोटोफिचर]

कान्तिपुर संवाददाता

काठमाडौं — पूर्वी नेपाल घुम्नका लागि ‘ट्रान्जिट’ पनि हो धरान । नेपालकै आधुनिक सहरका रुपमा आफ्नो पहिचान बनाएको धरान पूर्वी पहाडी जिल्लाहरुको प्रवेशद्वार हो भने पहाड र तराईबीचको संगमस्थल पनि । यहाँको हावापानी बेग्लै किसिमको छ ।

फेसन र म्युजिकले रंगीन बनाएको जीवनशैली तथा हङकङ, बेलायतसँगको पुरानै सम्बन्धले मात्र पनि होइन, वरिपरि रहेका पर्यटकीयस्थलहरुले पनि धरानलाई आकर्षक बनाएको छ । धरान आसपासका मुख्य पर्यटकीय स्थलहरुबारे सुम्निमा चाम्लिङ लेख्छिन् :

भेडेटार 
भेडेटार पूर्वाञ्चलको रमणीय स्थलका रूपमा प्रख्यात छ । यस ठाउँ धरान उपमहानगरपालिकाबाट करिब १७ किलोमिटर उत्तरमा सुनसरी र धनकुटा जिल्लाको सिमानामा अवस्थित छ । भेडेटार समुद्री सतहबाट १,४३० मिटर उचाइमा पर्दछ । मानिसहरू चिसो वातावरणमा रम्न र पहाडी एवं हिमाली भेगको सुन्दरता हेर्न आउने गर्छन् ।
बाह्रैमास चिसो हावा बहने हुनाले यहाँ गर्मी मौसममा शीतल हावा खान इटहरी, विराटनगर, जनकपुर, झापा तथा सीमावर्ती भारतका सहरबाट आउने मानिसहरूको भीड लाग्ने गर्छ । जाडो मौसममा पिकनिकका लागि आउनेहरू पनि प्रशस्तै हुन्छन् । यहाँ यातायात, सञ्चार, होटल तथा रेस्टुरेन्टको सुविधा भएकाले पनि आन्तरिक पर्यटक बढिरहेको छ ।


नमस्ते झरना
भेडेटार नजिकको यस झरना धनकुटा जिल्लामा पर्छ तर यहाँ घुम्नेहरू धरानतिरबाटै पुग्ने गर्छन् । केही वर्षयता नमस्ते झरना आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्यमध्येको एक हो । भेडेटारभन्दा आठ किलोमिटर टाढा सिम्सुवामा रहेको झरना हेर्न आउने आन्तरिक पर्यटकको भीड लाग्ने गर्छ । यो झरना करिब ५० मिटर अग्लो छ । उक्त स्थान हेर्नलाई सिम्सुवा मोडबाट खोलैखोला भएर उकालो लागेपछि पुग्न सकिन्छ । 
टाढा जान नचाहनेका लागि धरान नजिकै रहेको शिवजट्टाको सानो झरनाले पनि आनन्दित 
पार्न सक्छ ।
गोर्खा स्मृति पार्क 
धरानदेखि उत्तरतर्फ माछामारामा ब्रिटिस गोर्खा स्मृति पार्क बनाइएको छ । पार्कमा भिक्टोरिया क्रस विजेता १३ जना बहादुर गोर्खालीहरूको नाममा होलिडे हट निर्माण गरिएको छ । गोर्खाहरूले गरेको इतिहासलाई जीवन्त राख्न ब्रिटिस भूपू आर्मीहरूको संयुक्त प्रयासमा १२ बिघा क्षेत्रफलमा पार्क निर्माण गरिएको हो । समुद्री सतहबाट ७१० मिटरको उचाइमा रहेको यो पार्क पुग्ने जो कोहीलाई यहाँको मौसमले मोहित तुल्याउँछ । यहाँबाट धरान बजारको लगभग पूरा क्षेत्र नियाल्न सकिन्छ ।
विजयपुर
धार्मिक तथा ऐतिहासिक स्थलका रूपमा विजयपुर परिचित छ । यहाँ बुद्धिकर्ण राईको समाधिस्थल चर्चित बूढासुब्बा मन्दिर छ जहाँ बाँसका टुप्पा ठुट्टे देख्न सकिन्छ । यहाँका बाँसमा प्रेमीप्रेमिकाको नाम लेख्ने युवायुवतीको उत्तिकै भीड हुन्छ । शक्तिपीठ दन्तकाली र प्राचीन रुद्राक्षरणम् क्षेत्रको पिण्डेश्वर बाबाधाम पनि विजयपुरमै अवस्थित छन् । भताभुंगे दरबारदेखि पाँचकन्या मन्दिर पनि यसै क्षेत्रमा पर्छ । तराईका फाँट र धरान बजारलाई नियाल्दै सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गर्नका लागि रिसोर्टहरू पनि बनिरहेका छन् ।
बराहक्षेत्र र विष्णुपादुका
बराहक्षेत्र मन्दिर हिन्दु धर्मावलम्बीहरूको एक पवित्र धार्मिकस्थल हो । यस पवित्रस्थल पुग्न धरानबाट २१ किलोमिटर यात्रा तय गर्नुपर्छ । कोकाहा र सप्तकोसी नदीको संगमस्थलमा बराहक्षेत्र मन्दिर रहेको छ । विष्णुपादुका मन्दिर धरान उपमहानगरपालिकामै पर्छ र यहाँ पितृलाई तर्पण दिने हजारौं मानिस भेला हुने गर्छन् ।


गल्फ कोर्स
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र झन्डै ६ दशकअघि बनेको गल्फ कोर्स रहेको छ, जहाँ सहरभित्र पनि हरियाली क्षेत्रमा पटिङ र स्वीङ गर्न सकिन्छ । नौ होलको गल्फ कोर्सले धरान घुम्न आउने पर्यटकहरूलाई लोभ्याउने गरेको छ । साहसी पर्यटकका लागि तमोर नदीमा र्‍याफ्टिङ गर्ने अवसर छ भने प्याराग्लाइडिङ गर्दै धरानलाई हेर्न पनि सकिन्छ ।


राजारानी 
राजारानी पनि धनकुटा जिल्लामै पर्छ तर यहाँ पुग्न धनकुटा नगरपालिकाभन्दा धरानबाट भेडेटार हँुदै जानुलाई सजिलो पर्छ । चारैतर्फ डाँडाहरूले घेरिएको सानो उपत्यका हो राजारानी । यस लिम्बू बस्तीमा दुई वटा तालहरू पनि छन् । यसमा फिसिङ र बोटिङ गर्न सकिन्छ । नागबेली पार्कको नाग मूर्ति, झरना र सुन्दर फूलहरूले जो कोहीलाई मोहित पार्न सक्छ । धरानबाट ३७ किमि रहेको राजारानीमा साना होटल र लजहरू छन् ।
घण्टाघर
धरानको मुटुमा रहेको भानुचोकसँगै रहेको छ, घण्टाघर । यो धरान र हङकङको सम्बन्ध जोड्ने सेतु पनि हो । हङकङको घण्टाघरको स्वरूपमा हङकङवासीको सहयोगमा निर्माण गरिएको हो । यहाँबाट धरान बजारमा आँखा डुलाउन मिल्छ । घण्टाघरदेखि उकालो छाताचोकतिर लागेपछि धराने फेसनका पसलहरू भेटिन्छ, जहाँ धित मर्ने गरी सपिङ गर्न सकिन्छ । भाटभटेनी सुपरमार्केट, बराह सपिङ सेन्टर, बोनस मललगायत सपिङका लागि नाम चलेका मलहरू पनि धरानमा आइसकेका छन् ।
बगरकोट
हेर्दा त्यस्तो खास देखिन्न । तर आठ वर्षअघिसम्म सेउती खोला बगरको सुनसान क्षेत्र रहेको बगरकोट अचेल धरानकै चल्तीको बस्ती भएको छ । खानाका लागि बगरकोटको सेकुवा र रत्नचोकको म:म खुबै लोकप्रिय छन् । अबेरसम्म म्युजिक सुन्नका लागि बगरकोट, बगैंचा लाइन, बुद्ध चोक र जिरो प्वाइन्टको बारहरू जानुपर्छ । 

प्रकाशित : मंसिर ८, २०७४ १६:१३

प्रतिक्रिया
पठाउनुहोस्