कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चरित्र अभिनेत्री सुशीलाको निधन

काठमाडौ — करिब एक वर्षदेखि क्यान्सरले पीडित अभिनेत्री सुशीला रायमाझीको निधन भएको छ । पछिल्ला केही दिन उनलाई महाराजगन्जको शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उनले बुधबार राति त्यहीं अन्तिम सास फेरिन् । उनी ६० वर्ष हाराहारीकी थिइन् ।


अधिकांश नेपाली फिल्ममा चरित्र अभिनेत्रीको भूमिका निर्वाह गर्दै आएकी सुशीला कान्छी छोरीसँग पुरानो बानेश्वरमा बस्दै आएकी थिइन् । उनका पतिको चार वर्षअघि निधन भइसकेको छ । उनकी जेठी छोरी प्रसिद्धिका केही फिल्ममा नायिकाका रूपमा खेलेपछि 'अध्ययनका लागि' अमेरिका गएकी थिइन् । उनको बिहीबार राति र्फकने कार्यक्रम रहेको परिवारका निकटस्थ तथा फिल्म निर्माता रमेशजंग रायमाझीले जानकारी दिए ।
पछिल्लोपटक 'कालापानी' फिल्ममा देखिएकी सुशीलालाई उनका सहकर्मीहरू मिलनसार र सहयोगी भावना भएकी व्यक्तिको रूपमा लिन्छन् । उनले 'धनसम्पत्ति' र 'पिँजडा' निर्माणसमेत गरेकी थिइन् । 'धनसम्पत्ति' बाटै छोरी प्रसिद्धिकालाई नायिकामा डेब्यु गराएकी थिइन् ।  पवन मैनालीसँग मिलेर बनाएको 'पिँजडा' मा पनि उनले प्रसिद्धिकालाई दोहोर्‍याएकी थिइन् । उनकी कान्छी छोरी भने एयर होस्टेज हुन् ।
राष्ट्रिय नाचघरकी कर्मचारीसमेत रहेकी सुशीलाले खेलेका 'आमा', 'सुपरस्टार', 'कहाँ भेटिएला' सफल फिल्म हुन् । त्यसैगरी उनले खेलेका 'सानो संसार', 'नाता रगतको', 'म तिमीबिना मरिहाल्छु', 'माया नगर', 'पाहुना' पनि चलेका फिल्म मानिन्छन् । उनले मह जोडीको 'रङ नम्बर' मा समेत अभिनय गरेकी थिइन् । उनले रेडियो नाटकबाट कला यात्रा सुरु गरेकी थिइन् ।
 

प्रकाशित : माघ १३, २०६८ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?