कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छोटकरी

काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर जिल्ला नापी कार्यालयका नापी अधिकृत प्रेमचन्द झालाई डेढ लाख रुपैयाँ घूससहित पक्राउ गरेको छ ।

घूससहित नापी अधिकृत पक्राउ

काठमाडौं (कास)– झाले सेवाग्राहीसँग घूस मागिरहेको भन्ने सूचनाका आधारमा पुगेको टोलीले उनलाई घूस रकमसहित कार्यालय परिसरबाटै पक्राउ गरेको अख्तियारले जनाएको छ । झामाथि अख्तियारको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।
दुबईबाट ४ नेपालीको उद्धार
काठमाडौं (कास)– सम्झौता विपरीत दुबईमा विभिन्न जोखिमयुक्त काममा लगाइएका ४ नेपाली कामदारलाई उद्धार गरी नेपाल फिर्ता ल्याइएको छ । 
नवलपरासी कावासोतीकी मालती मल्ल ठकुरी, महोत्तरी साँढाका वीरेन्द्र सहनी, रवीन्द्र सहनी र सरपल्लो गाविसका धमनीकुमार सहनीलाई उद्धार गरिएको प्रहरीले जनाएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखामा परेको उजुरीका आधारमा उनीहरूलाई उद्धार गरिएको हो । प्रहरीले दुबईस्थित नेपाली दूतावाससँग समन्वय गरी उनीहरूलाई उद्धार गरेको जनाएको छ ।
जैविक विविधता सम्मेलन सुरु
काठमाडौं (कास)– ‘जैविक विविधता, जलवायु परिवर्तन तथा जीविकोपार्जनमा असर’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन मंगलबार काठमाडौंमा सुरु भएको छ । सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन् । सम्मेलनमा २५ देशबाट जैविक विविधता, वनस्पति, कृषि, जलवायु परिवर्तनलगायत वातावरणविद् गरी एक सय र नेपालका विभिन्न विश्वविद्यालय तथा राष्ट्रिय/अन्तर्राष्ट्रिय संघ/संस्थाबाट २ सय विशेषज्ञ सहभागी छन् । सम्मेलनमा राष्ट्रपति भण्डारीले जलवायु परिवर्तन र विश्वव्यापी उष्णता जैविक विविधता तथा आमजनताको जीविकोपार्जनमा गम्भीर चुनौतीका रूपमा खडा भइरहेका बेला काठमाडौंमा भएको सम्मेलनले महत्त्वपूर्ण सन्देश दिने बताइन् । बिहीबारसम्म चल्ने सम्मेलनमा जैविक विविधता संरक्षण, जलवायु परिवर्तनले जीविकोपार्जनमा पारेको असर, वनस्पतिजन्य मिचाहा झारलगायत विषयमा तीन सय कार्यपत्र प्रस्तुत हुनेछन् ।
आधिकारिक युनियनका लागि ७ करोड
काठमाडौं (कास)– सरकारले निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको जनशक्ति व्यवस्थापन र भौतिक पूर्वाधारका लागि ७ करोड रुपैयाँ छुट्याउने तयारी गरेको छ । युनियनका केन्द्रसहित मुलुकभर रहेका एक सय १८ विभागीय कार्यालयलाई व्यवस्थित गर्न उक्त रकम खर्च प्रस्ताव गरिएको हो । युनियनले त्यसको खाका सामान्य प्रशासन मन्त्रालयलाई बुझाएको थियो । सामान्यले अर्थ मन्त्रालयमा पेस गरेको छ । ‘हामीले उक्त प्रस्ताव अर्थमा पेस गरेका छौं । रकम निकासा गर्नेबारे सकारात्मक पहल भइरहेको छ,’ सामान्य प्रशासनकी सूचना अधिकृत गोमा चेम्जोङले भनिन् ।
निजामती ऐनमा संशोधन गरी यही वर्ष कर्मचारीहरूको आधिकारिक युनियनको निर्वाचन भएको हो । निर्वाचनपछि सिंहदरबारमै उक्त युनियनको अस्थायी कार्यालय बसिसकेको छ । 
काठमाडौंमा हिन्दी भाषा दिवस
काठमाडौं (कास)– मंगलबार राजधानीमा हिन्दी भाषा दिवस मनाइएको छ । हिन्दी भाषा दिवसको अवसरमा भारतीय दूतावासले आयोजना गरेको कार्यक्रममा आपूर्तिमन्त्री दीपक बोहराले हिन्दी भाषामार्फत नै नेपाल र भारतका जनताबीच एकता कायम भएको बताए । नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धको सेतु नै हिन्दी भाषा रहेको पनि उनले बताए । कार्यक्रममा दूतावासका उपप्रमुख विनयकुमारले हिन्दी भाषाले दुई पक्षीय सम्बन्धलाई दिगो र सबल राख्न एक माध्यमका रूपमा काम गरेको बताए । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका भाषा विभागका प्राध्यापक तथा अन्य विभिन्न व्यक्तिहरूले भाषाका बारेमा धारणा व्यक्त गरेका थिए ।

प्रकाशित : पुस २७, २०७३ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?