कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नक्कली अख्तियार कर्मचारी पक्राउ

कान्तिपुर संवाददाता

बारा — अख्तियार कर्मचारी भन्दै ठगी गर्नेलाई प्रहरीले शनिबार जितपुरबाट पक्राउ गरेको छ । प्रसौनी २ मा बस्दै आएका विजेन्द्र चौधरीलाई पक्राउ गरिएको हो ।

ठगीको घटना सर्लाहीमा भएकाले उनलाई त्यहींको प्रहरीलाई जिम्मा लगाएको छ । प्रहरी निरीक्षक गोविन्दकुमार कार्कीका अनुसार पक्राउ परेका चौधरीको डेरामा छापा मार्दा एक थान कम्प्युटरको मोनिटर, मोबाइल ट्याब, सरकारी नम्बरप्लेट भएको बा२ब २४८३ नम्बरको २ सय २० सिसीको पल्सर मोटरसाइकल, सञ्चार सेट (वाकीटकी) र एक लाख ९० हजारलगायत बरामद गरिएको छ ।
नेपाली सेनाको कम्ब्याट पोसाक, निजामती कर्मचारीले लगाउने सरकारी पोसाक, प्रहरीले लगाउने वर्दी र बुट, नेपाली सेनाको नक्कली परिचयपत्र, अरूको नामको चालक अनुमतिपत्र पनि बरामद गरिएको प्रहरीले जनायो । चौधरीले सर्लाही, हरिऔनबाट तीन लाख रुपैयाँ बराबरको ठगी गरेर फरार भएपछि उनको खोजी सुरु गरिएको थियो ।
हरिऔनको सीता प्यालेस होटलमा कार्यरत कर्मचारीहरूसँग प्रतिव्यक्ति दस हजारका दरले ८० हजार रुपैयाँ नगद ठगेर फरार भएको प्रहरीले जनायो ।
उनले आफ्नो नाम अजय गुप्ता भएको बताउँदै आएका थिए । तर, डेरामा छापा मार्दा उनको नागरिकता प्रतिलिपिले वास्तविक नाम विजेन्द्र खुलेको हो ।

प्रकाशित : फाल्गुन ९, २०७३ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?