कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्युत् अनियमितपछि उपभोक्ता आन्दोलित

कान्तिपुर संवाददाता

बझाङ — सदरमुकाम र आसपासका क्षेत्रलाई विद्युत् सेवा दिइरहेको सुर्मादेवी विद्युत् प्रालिले नियमित गराउन माग राखी स्थानीयले सदरमुकाम बन्द गराएका छन् । दातृ निकाय जापान सहयोग नियोगको ८५ करोड अनुदानमा ४ महिनाअघि मर्मत गरिएको विद्युतको सेवा अनियमित भएको, गुणस्तहीन काम गरेर हिनामिना गरेको आरोप लगाउँदै उपभोक्ताले शुक्रबार सदरमुकाम बन्द गराएका हुन् ।

विद्युत् अनियमितपछि उपभोक्ता आन्दोलित

उद्योग वाणिज्य संघ पूर्वअध्यक्ष ओमजंगबहादुर सिंह नेतृत्वमा गठन गरिएको संघर्ष समितिमा आवद्ध स्थानीय र उद्योगी व्यापारीले नाराबाजी गर्दै शुक्रबार चैनपुर बजार बन्द गराएका हुन् । बजार बन्दपछि किनमेल गर्न सदरमुकाम आएका सर्वसाधारण रित्तै हात फर्किएका भए ।

विद्युत् सेवा नियमित हुनुपर्ने, ठूलो लगानी गरेर मर्मत गरिएको ४ महिनामै काम नलाग्ने भएकोबारे छानबिन गरी दोषीलाई कारबाही गरिनुपर्ने, सुर्मादेवीलाई ठेक्का नदिई प्राधिकरण आफंैले सञ्चालन गर्नुपर्ने, राष्ट्रिय प्रसारण लाइन छिटो सदरमुकामसम्म पुर्‍याउनुपर्ने माग संघर्ष समितिको थियो ।
यसैबीच फागुन पहिलो सातासम्म दिनको ३ घण्टा आउने बिजुली दुई सातायता २ दिन बिराएर (४८ घण्टापछि) मात्र केही समयका लागि आउने गरेको छ । 
सदरमुकामबाहिरका क्षेत्रमा त ३ दिन बिराएरमात्र बिजुली आउने गरेको स्थानीयले गुनासो गरे । रिठापाटाकी गीता खडकाले भनिन्, ‘तीन दिनपछि हाम्रो पालो आउँछ उज्यालो बाल्नु त परै जावोस् मोबाइल चार्ज गर्न पनि पाइँदैन ।’ सेवा अनियमित भएपछि सदरमुकाममा सञ्चालित उद्योग व्यवसाय र कार्यालयको कामकाज प्रभावित छ । जापानको निर्माण कम्पनी मारुसिनसिताकाले मर्मत गरेको यो विद्युतको डिजाइन इस्टिमेटमा नै त्रुटि रहेको र गुणस्तरहीन काम भएकाले नहर चुहिने गर्दा उत्पादन हुन नसकेको प्राविधिकहरू बताउँछन् । ‘मर्मतअघि कम भोल्टेज आउने समस्या भए पनि नियमित थियो,’ स्थानीय सुशील बमले भने, ‘करोडौं खन्याएर मर्मत गरेपछि झन् बत्ती नै आउन छोड्यो ।

प्रकाशित : फाल्गुन २१, २०७३ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?