कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिस्केटको रथ मर्मत सुरु

भक्तपुर — नयाँ वर्षसँगै सुरु हुने प्रसिद्ध बिस्केट जात्राको रथ मर्मत सुरु भएको छ । चैत २८ देखि सुरु भई ८ रात ९ दिन मनाइने प्रसिद्ध जात्राका लागि तौमढीस्थित पाँचतले मन्दिर प्रांगणमा विश्वनाथ भैरव र भद्रकालीको रथ मर्मत सुरु भएको हो । गुठी संस्थान कार्यालय भक्तपुरको संयोजनमा चैत १ देखि रथ मर्मत तथा पुनर्निर्माण सुरु गरिएको सिकर्मी नाइके लक्ष्मीप्रसाद शिलाकारले बताए ।

बिस्केटको रथ मर्मत सुरु

अघिल्लो वर्ष प्रयोग गरेको रथ, त्यसको छाना, पांग्रालगायत भाग पुरानो र जीर्ण भएकाले मर्मत तथा पुनर्निर्माण गर्नुपर्ने गुठी संस्थानले जनाएको छ । विगत वर्षको जात्रामा भैरव र भद्रकालीको रथ जथाभावी तानातान गर्ने, ठोक्किँदा पित्तलको छाना, काठ काम नलाग्ने गरी बिग्रिएको छ । यस वर्षको जात्राका लागि पित्तलको पाता, काठ नयाँ (केही भाग) राख्ने काम भइरहेको शिलाकारले बताए । रथको कलात्मक (बुट्टे) थाम, दलिन, चक्का मर्मत तथा चार भाग छाना नयाँ राख्नुपर्ने देखिएको छ । चित्तपोलस्थित सल्लाघारीबाट दुई लिंगो ल्याई भेलुखेल च्यासिंहमण्डवअघि राखिएको छ । रथ तान्ने डोरीको व्यवस्था भइसकेको गुठी संस्थान भक्तपुर प्रमुख हरिप्रसाद सुवेदीले बताए । बिस्केटको सबै तयारी चैत २५ भित्र सक्ने उनले बताए । जात्रा सञ्चालनका लागि वार्षिक २५ देखि ३० लाख रुपैयाँ खर्च हुने कार्यालयले जनाएको छ । रथ मर्मत तथा पुनर्निर्माणका लागि ५ सिकर्मी खटिएका छन् ।

भैरव नाइके अभाव
जात्रा सुरु हुन करिब ३ साता मात्र बाँकी छ । जात्रा सञ्चालनका लागि ६ भैरव नाइके (पुजारी) आवश्यक पर्छ । जसमध्ये ज्ञानबहादुर छुंका, मोतीबहादुर सुवालको मृत्यु भइसकेको छ भने, एक पद रिक्त छ । बाँकी तीनमध्ये लक्ष्मीभक्त घेमोसु र नारायणप्रसाद घेमोसु बिरामी छन् । भैरव नाइकेका नाममा कृष्णगोपाल नागा एक्लैले सबै पर्व चलाउँदै आएका छन् । बिस्केट जात्रा भैरव नाइके एक्लैले सञ्चालन गर्न नसक्ने स्थानीय विष्णुप्रसाद चवाल बताउँछन् ।
भैरवनाथको नित्य पूजा तथा जात्रा सञ्चालनका लागि ६ नाइकेको विशेष कार्यभार र भूमिका रहन्छ । यीमध्ये कसैको मृत्यु भए गुठी संस्थानले तुरुन्त अर्को नाइके (पुजारी) नियुक्त गर्नुपर्ने परम्परा छ । तर, हालसम्म नियुक्ति भने भएको छैन । यसअघि भैरव नाइके भएर सेवा गर्दै आएकाहरूले केही सेवासुविधा नपाएकाले पुन: इच्छा नगर्ने स्थानीय बताउँछन् ।
जिल्ला प्रशासन कार्यालय, गुठी संस्थान, सरोकारवाला निकायहरूले प्रत्येक वर्ष भैरव नाइकेको भत्ता सुविधाको विषयमा चर्चा गरे पनि कुनै सेवा नपाएको उनीहरूको गुनासो छ । केही वर्षअघिसम्म नाइकेहरूले भैरवका नाममा भएको जग्गाबाट उब्जेको अन्नबाली उठाएर जात्रा चलाउँदै आएका थिए । उक्त जग्गा बिक्री भएपछि नाइकेहरू सुविधा पाउनबाट वञ्चित भएका हुन् ।
प्रत्येक वर्ष भैरव नाइकेहरूले मासिक भत्ताको माग गर्दै आएका छन् । हालसम्म उनीहरूको माग पूरा भएको छैन । गुठी संस्थानले भने भैरव नाइके नियुक्ति प्रक्रिया सुरु भएको जनाएको छ । ‘भैरव नाइके नियुक्तिका लागि प्रक्रिया सुरु भएको छ,’ संस्थान प्रमुख सुवेदीले भने, ‘नाइकेको सेवा सुविधाका लागि संस्थानको केन्द्रीय कार्यालयमा प्रस्ताव पठाएका छौं ।’

प्रकाशित : चैत्र ६, २०७३ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?