कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘संघीय आयोग शक्तिशाली’

काठमाडौं — संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले प्रादेशिक सीमांकन हेरफेर गर्न आयोग बनाउने हो भने त्यसलाई पर्याप्त शक्ति (अधिकार) दिनुपर्ने बताएका छन् ।

‘संघीय आयोग शक्तिशाली’

यसअघि सीमांकन हेरफेर गरेपछि मात्रै समस्या समाधान हुने तर्क गर्दै आएका यादवले घुमाउरो भाषामा आयोगको बाटोबाट समाधान खोज्न तयार रहेको संकेत गरेका हुन् । ‘संविधान संशोधनसम्बन्धी हामीले उठाएका कुनै पनि विषयलाई थाँती राख्नुहुन्न, यसले समस्या झनै बल्झाउँछ,’ शनिबार राजधानीमा आयोजित कार्यक्रममा यादवले भने, ‘यदि सीमांकनको विवाद समाधान गर्न आयोग गठन गर्ने हो भने त्यसलाई शक्तिशाली बनाउनुपर्छ, यदि सरकारले चाहेको हो भने संघीय आयोगलाई जिम्मा दिओस् न त ?’
यादवले संविधान संशोधनसम्बन्धी विषय नटुंग्याई सरकार एकलौटी रूपमा चुनावमा जान खोजे त्यसले द्वन्द्व बढाउने चेतावनी दिए । ‘पहिले संशोधन, अनि चुनाव गर्ने हो, यहाँ त सरकार पहिले चुनाव भन्दै टाउकाले टेकेर हिँड्न खोजिरहेको छ, टाउकाले यात्रा कहाँसम्म गर्न सकिन्छ ?’ उनले भने, ‘सेना परिचालन गरेर चुनावमा जाँदा राजाको विगतमा झैं हालत होला ।’ यादवले अब सरकारको विकल्प खोज्नुपर्ने आवश्यकता रहेको बताए । उनले पुष्पकमल दाहाल नेतृत्वको सरकारले भ्रष्टाचार र बेथितिलाई बढावा दिएको भन्दै अब विकल्प खोज्नुपर्ने अवस्था आएको टिप्पणी गरे ।
‘सरकारको काम भ्रष्टाचार, बेथिति रोकेर सुशासन दिने हो, तर यहाँ त सरकारकै कारण भ्रष्टाचार र बेथिति चरम रूपमा बढ्यो,’ यादवले भने, ‘एनसेलसँग अर्बौं लाभकर उठाउन नसकेको र सरकारले आफ्ना कार्यकर्ताको नाममा करोडांै पैसा पठाएर चुनाव जित्ने मौका छोपिरहेको हुनाले अब हामी यो सरकारको भविष्यबारे समीक्षा गर्ने ठाउँमा आइपुगेका छौं ।’ यादवले प्रतिपक्षी एमाले आफ्नो स्थायी शत्रु नभएकाले आगामी दिनमा सम्बन्ध सकारात्मक पनि हुन सक्ने औंल्याए । उनले सरकार स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेर उल्टो बाटोमा हिँडिरहेको आरोप लगाए । 

प्रकाशित : चैत्र १३, २०७३ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?