कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सकियो चौंरी महोत्सव

प्राङबुङ चारतारेमा करिब सय गोठमा २ हजार याक र चौंरी एकै ठाउँमा
शाहीमान राई

फालेलुङ (पाँचथर) — चौंरीपालन व्यवसाय प्रवद्र्धनका निम्ति भारतीय सीमावर्ती पाँचथरको प्राङ्बुङस्थित चाररातेमा आयोजित महोत्सवमा विभिन्न प्रजातिका याक चौरी प्रदर्शन गरिएको छ । नयाँ वर्ष अवसरमा आयोजित महोत्सवमा चौंरीपालकले आ–आफ्नो गोठबाट एकै ठाउँ भेला पारेर डाँडाभरि प्रदर्शन गरेका हुन् ।

सकियो चौंरी महोत्सव

पाँचथरको पर्यटकीय स्थल फालेलुङ गाउँपालिका ४ प्राङबुङस्थित चाररातेमा सुर्केथाम दुग्ध सहकारी संस्थाले संयोजना गरेको महोत्सवमा याक, चौंरी, झोक्पे, तोलेलगायत विभिन्न प्रदर्शन गरिएको छ । चौंरीपालन व्यवसाय प्रवद्र्धन गर्दै पर्यटकीय आकर्षण बढाउन समुद्र सतहदेखि ३ हजार ५ सय १५ मिटर उचाइमा रहेको सुर्केथाम र चाररातेको खुला चौरमा आयोजित महोत्सवमा भारतको सिक्किम, पश्चिम बंगाल, दार्जिलिङ, सिलिगढी, पूर्वी नेपालको झापा, इलाम, पाँचथर, ताप्तेलुङ, तेह्रथुम, काठमाडौंलगायत विभिन्न ठाउँबाट हजारौं दर्शक सहभागी भएका थिए । 
भारतीय सीमावर्ती सन्दकपुरदेखि फालौटसम्मका पालकले आ–आफ्नो चौंरी प्रदर्शनका लागि चारराते ल्याएका हुन् । फालेलुङ गाउँपालिकाअन्तर्गत सिदिन, मेमेङ, प्राङबुङ, याङवरक गाउँपालिकाको फलैंचा, च्याङथापु आसपास क्षेत्रमा चौंरीपालन हुने गरेको छ । यस क्षेत्रमा करिब एक सय गोठमा दुई हजार याक र चौंरी पालिएका छन् । यसमध्ये प्राङबुङका २२ गोठमा पाँच सय याक चौंरी रहेको महोत्सव आयोजक समिति संयोजक डिल्ली केरुङले बताए ।
भेडा, बाख्रा, गार्इं, चौंरीलगायत पशुपालनका लागि उपयुक्त भए पनि कमजोर सरकारी नीति, सामुदायिक वन उपभोक्ता समूहको अवरोधका कारण चरण क्षेत्र अभावले चौंरीपालन व्यवसाय लोपोन्मुख भएको छ । भारतीय सीमाक्षेत्र इलामको पशुपतिनगरदेखि, सन्दकपुर, पाँथरको तुम्लिङ, चारराते, सुर्केथाम, फालौट, फलैंचा, चिवाभञ्ज्याङ, च्याङथापु, तिम्बुपोखरीसम्म नेपाल सरकारको तर्फबाट सीमा सुरक्षा, भौतिक पूर्वाधार विकास, चौंरीपालन व्यवसायीलाई प्रोत्साहन गर्ने कुनै नीति तथा कार्यक्रम नहुँदा खुला चौर, वनजंगल, खर्कहरू प्रयोगविहीन छन् ।
 राष्ट्रिय योजना आयोगका सदस्य डा.प्रभु बुढाथोकी र प्रमुख जिल्ला अधिकारी विनोदकुमार खडकाले राष्ट्रिय झन्डा फहराएर चौंरी महोत्सव उद्घाटन गरेका थिए । सीमाक्षेत्रमा फलामे डन्डीमा राखेर फहराइएको राष्ट्रिय झन्डा स्थायी रूपमा राख्ने आयोजक समितिले जनाएको छ ।
चौंरीपालन व्यावसायीले चौंरीको दूध र त्यसबाट उत्पादित वस्तुको बिक्री गरेर लाखौं रुपैंयाँ आम्दानी गर्दै आएका छन् । चौंरीको दूधबाट नौनी, घिउ, छुर्पी, सेरगेम, चिजलगायत विभिन्न परिकार बिक्री गरेर बर्सेनि दस लाख रुपैयाँसम्म आम्दानी हुने सबैभन्दा पुराना चौंरीपालक डण्डु लामाले बताए । उनले याक चौंरीको मूल्य ६० हजारदेखि एक लाख रुपैयाँमा बिक्री हुने गरेको छ । चौंरीपालन व्यवसायबाट पाँचथरमा बर्सेनि एक करोड ५० लाख आम्दानी हुने गरेको जिल्ला वन अधिकृत देवेशमणि त्रिपाठीले बताए । 
महोत्सवमा सहभागीले चौंरी, याक, भेडा, घोडा, आसपासको वनक्षेत्रमा रहेका चराचुरुङ्गीको अवलोकन गरी भरपुर मनोरञ्जन प्राप्त गरेको संस्थाका अध्यक्ष रामचन्द्र गुरुङले बताए । लोपोन्मुख चौंरी संरक्षण, व्यावसायिक प्रवद्र्धन र पर्यटकीय आकर्षणका निम्ति इसिमोड नेपाल, जिल्ला वन, पशु सेवा कार्यालय, मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति इलाम, जिल्ला समन्वय समिति, फालेलुङ गाउँपालिका, दीपज्योति युवा क्लब, फालेलुङ चौंरीपालक कृषक समूहको सहयोगमा आयोजित महोत्सव प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, सेना, प्रहरी, सशस्त्र सुरक्षा निकाय प्रमुख, स्थानीय विकास अधिकारीलगायत सरोकारवालाको उपस्थिति रहेको संयोजक केरुङले बताए । 

प्रकाशित : वैशाख ४, २०७४ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?