कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘विखण्डकारी तत्त्वहरू सक्रिय’

काठमाडौं — प्रधानसेनापति राजेन्द्र क्षत्रीले वर्तमान तरल परिस्थितिको फाइदा उठाउँदै केही विखण्डनकारी तथा राष्ट्रिय अस्थिरता पैदा गर्ने तत्व सक्रिय रहेको बताएका छन् ।

‘विखण्डकारी तत्त्वहरू सक्रिय’


यस्तो अवस्थाको समाधान राजनीतिक तहबाट नै हुनुपर्ने बताउँदै उनले भने, ‘संविधानले निर्दिष्ट गरेको आफ्नो जिम्मेवारी पूरा गर्न नेपाली सेना कदापि पछि हट्ने छैन ।’ यस्ता तत्त्वमाथि नेपाली सेनाले समेत आफ्नो नजर राखेको पनि प्रधानसेनापतिले बताएका छन् । पूर्वप्रधानसेनापति, बहालवाला एवं अवकाश प्राप्त रथीवृन्दसमक्ष जंगी अड्डा भद्रकालीमा आयोजित अन्तरक्रियामा प्रधानसेनापति क्षत्रीले नेपालको राष्ट्रिय एकता तथा भौगोलिक अखण्डतामा आँच पुग्ने कुनै पनि प्रकारका गतिविधि नेपाली सेनाका लागि कदापि स्वीकार्य नहुने बताए । नेपाली सेनासम्बन्धी विभिन्न गतिविधि तथा राष्ट्रिय सुरक्षासँग सम्बद्ध समसामयिक विषयमा नियमित रूपमा सेनाका बहालवाला तथा निवर्तमान वरिष्ठ रथीवृन्दबीच यस्तो भेटघाट तथा अन्तरक्रिया हुने गरेको छ । नेपाली सेनाको समयसापेक्ष सुदृढीकरण तथा क्षमता विकासका लागि हाल भइरहेका गतिविधिबारे जानकारी गराइएको सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपाली सेनाको सांगठनिक संरचनालाई व्यावहारिक तथा थप प्रभावकारी बनाउने उद्देश्यले प्रस्तावित संशोधित पुन:ढाँचा सरकारबाट स्वीकृत भई लागू भइसकेको जानकारी क्षत्रीले गराएका थिए । नेपाली सेनालाई आत्मनिर्भर बनाउने प्रयास भइरहेको पनि उनले बताएको निर्देशनालयले जनाएको छ । अन्तरक्रियामा वर्तमान सुरक्षा स्थितिको विश्लेषण, नेपाली सेनाबाट भइरहेका गतिविधि, सेनाको वर्तमान संगठन संरचना तथा कल्याणकारी गतिविधिबारे छलफल भएको थियो । उपस्थित अधिकांशले पछिल्लो सुरक्षा अवस्थाबारेमा धारणा राखेका थिए ।

प्रकाशित : असार ५, २०७४ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?