कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तिलोत्तमा प्रिमियर लिगको तयारी

कान्तिपुर संवाददाता

बुटवल — तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा रूपन्देहीमा पहिलोपल्ट तिलोत्तमा प्रिमियर लिग टी–२० क्रिकेट हुने भएको छ। स्थानीय खेलाडीलाई व्यावसायिक बनाउने उद्देश्यले प्रतियोगिता गर्न लागिएको आयोजकले जनाएको छ।

पश्चिमाञ्चल क्षेत्रमा नै पहिलोपल्ट खेलाडी किनबेच (अक्सन) का आधारमा टिम तयार गरी प्रतियोगिता गरिने समितिका अध्यक्ष सुनील ढुंगानाले बताए।
‘पश्चिमाञ्चल क्षेत्रमा नै पहिलोपल्ट अक्सनमार्फत् खेलाडीको टिम तयार गरिने छ,’ उनले भने। यसले खेलाडीको आर्थिक पाटोलाई सहयोग गर्नुका साथै क्षमता विकास गर्न स्वच्छ प्रतिस्पर्धाको भावना जाग्ने उनले बताए। उनका अनुसार रूपन्देही जिल्लाका विद्यालय, जिल्ला, क्षेत्रीय र राष्ट्रियस्तरमा खेल्ने खेलाडीलाई अक्सनमार्फत् टिममा आबद्ध गराइने छ।
उनले खेलाडीलाई अक्सनमार्फत खरिद गरिँदा न्युनतम पनि स्थानीय खेलाडीले ३ देखि ५ हजार, राष्ट्रिय खेलाडीले ५ देखि १० हजार तथा टिम कप्तानले १५ हजार पारिश्रमिक पाउने जानकारी गराए।
प्रतियोगिता असोज २२ देखि ३१ सम्म तिलोत्तमा नगरपालिकास्थित नवजीवन क्लबको मैदानमा हुनेछ। आठ टिमले प्रतिस्पर्धा गर्ने प्रतियोगिता विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँ पुरस्कार पाउने छन्।
व्यक्तिगत पुरस्कारमा म्यान अफ दी सिरिज हुनेले १५ हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही ७ हजार ५ सय, इमर्जिङ प्लेयरले ५ हजार पाउने छन्। फेयर प्ले टिमले २५ हजारसहित ट्रफी जित्नेछ।

प्रकाशित : श्रावण १५, २०७४ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?